ADSL internet bill payment from esewa

इन्टरनेटको आविष्कार कसरी भयो ?

इन्टरनेट आफैमा एउटा सञ्जाल नभइ विश्वभर छरिएर रहेका एउटा निश्चित नियममा काम गर्ने तथा एकैखाले सुविधा प्रदान गर्ने विभिन्न सञ्जालहरूको समूह हो। इन्टरनेट कुनै व्यक्ति वा संस्थाको योजना बमोजिम सुरुवात भएको हैन। त्यस्तै इन्टरनेट कसैको नियन्त्रणमा पनि छैन। इन्टरनेटको इतिहास खोतल्दै जाँदा संयुक्त राज्य अमेरिकाले विकास गरेको आर्पानेट सम्म पुग्न सकिन्छ। सन् १९५० को अन्त्य तिर जति बेला शीतयुद्ध चरम अवस्थामा पुगेको थियो, त्यति बेला अमेरिका जस्तोसुकै युद्धमा पनि भरपर्दो रुपमा काम गर्न सक्ने सञ्जाल प्रणालीको विकास गर्न लागिपरेको थियो। त्यतिबेला प्रयोग हुने सबै टेलिफोन प्रणाली केन्द्रीय स्तरमा काम गर्ने गर्थे, जुन अति नै असुरक्षित थियो। टेलिफोनको केन्द्रमा हमला भएको खण्डमा पुरै टेलिफोन प्रणाली नै ध्वस्त हुने सम्भावना थियो। त्यसैले टेलिफोन सञ्जाल प्रणालीको विकल्पको रुपमा अमेरिकाको Department of Defense ले RAND Corporation लाई एक सुरक्षित तथा भरपर्दो सञ्जाल प्रणालीको बिकास गर्ने काम सुम्पियो। त्यस RAND Corporation का Poul Baran नामक एक इन्जिनियरले स्विचिङ प्रविधिमा आधारित एक विकेन्द्रीत सञ्जाल प्रणालीको अवधारणा अगाडि ल्याए। Baran ले यस सम्बन्धी धेरै रिपोर्टहरू अमेरिकाको pentagon मा पठाए र अन्ततः Pentagon ले यस प्रकारको सञ्जाल विकास गर्ने जिम्मा अमेरिकाको त्यस बेलाको सबैभन्दा ठूलो टेलिफोन कम्पनी AT&T लाई दियो। तर AT&T जस्तो ठूलो कम्पनीले Baran जस्तो सामान्य व्यक्तिले विकास गरेको प्रविधिलाई पत्याउने कुरै भएन। स्विचिङ प्रविधिमा आधारित त्यस विकेन्द्रीत सञ्जाल प्रणालीको अवधारणा त्यसै तुहिएर गयो। निकै लामो समयसम्म पनि भरपर्दो सञ्जाल प्रणालीको विकास हुन नसकेपछि अमेरिकी सरकारले यस सम्बन्धी अध्ययन अनुसन्धान गर्नका निम्ति Advanced Research Projects Agency वा ARPA नामक संस्थाको सुरुवात गर्‍यो। सन् १९६७ तिर ARPA का निर्देशक Larry Roberts ले Poul Baran ले विकास गरेजस्तै Pocket Switching मा आधारित सञ्जाल प्रणाली को अवधारणा अगाडि ल्याए। यसै प्रविधिमा आधारित ARPANET नामक सञ्जाल प्रणालीको पनि उनले निर्माण गरे। यस प्रविधिद्वारा विभिन्न स्थानमा रहेका दुई कम्प्युटरहरूलाई जोड्न सकिन्थ्यो। यसरी सूचना आदानप्रदानका निम्ति कम्प्युटरमा Interface Message Processors अर्थात् IMP नामक मिनि कम्प्युटर जोडिन्थ्यो। फरक फरक स्थानमा रहेका यी दुई IMP हरुबीच टेलिफोन लाइनको माध्यमद्वारा ५६ किलोवाइटको गतिमा सूचना आदानप्रदान हुन्थ्यो। यस ARPANET सञ्जाल प्रणालीमा सर्वप्रथम क्यालिफोर्निया विश्वविद्यालय, क्याम्ब्रिज अनुसन्धान केन्द्र, UCSB र UTAH विश्वविद्यालय जोडिए। सन् १९७० को मध्यसम्ममा MIT, BBN Harvard र Systems Development Corporation पनि यस सञ्जालमा जोडिए। आउँदा वर्षहरूमा अन्य धेरै संघ संस्था तथा विश्वविद्यालयहरू यस सञ्जालमा जोडिए। ARPANET को यस स्वरूप नै इन्टरनेटको सुरुवात थियो। तर यो इन्टरनेटको सञ्जाल अहिलेजस्तो चलाउन सजिलो पक्कै पनि थिएन। यस ARPANET को प्रयोग केबल कम्प्युटर विज्ञ, इन्जिनियर तथा वैज्ञानिकहरूले गर्ने गर्दथे। सन् १९७२ मा Ray Tomlinson ले इन्टरनेटको सम्भवतः सबैभन्दा महत्वपूर्ण आविष्कार इमेलको बिकास गरे। इमेल ठेगानामा प्रयोग हुने प्रख्यात @ को छनौट पनि उनैले गरेका हुन्। यसबाहेक सञ्जालमा रहेका कम्प्युटरहरू चलाउन प्रयोग हुने telnet तथा फाइलहरू आदानप्रदान गर्न प्रयोग हुने ftp को विकास पनि त्यसैताका भयो। इन्टरनेटको यति विकास भइसक्दा पनि सूचना आदानप्रदान गर्न कुनै एक निश्चित प्रणाली थिएन। सन् १९७० को दशकमा Stanford विश्वविद्यालयका BOB Kahn र Vint Cerf ले TCP/IP नामक सूचना आदानप्रदान गर्ने प्रणालीको विकास गरे, जुन आज पनि प्रयोग हुने गर्दछ। यस प्रणालीको प्रयोग गर्ने पहिलो संस्था अमेरिकाकै Defense Department थियो। सन् १९८३ सम्ममा इन्टरनेटमा जोडिएका सबैले यस TCP/IP प्रणालीको प्रयोग गर्न थाले। सन् १९८० दशकको अन्त्यसम्ममा धेरै व्यापारिक संघसंस्थाहरू पनि इन्टरनेटमा जोडिन थाले जसले गर्दा इन्टरनेटको विकास द्रुत गतिमा हुन थाल्यो। इन्टरनेटको यति विकास भइसक्दा पनि सन् १९९० को सुरुवात सम्म इन्टरनेटको प्रयोग केवल अनुसन्धानकर्ता, सरकारी क्षेत्र तथा विश्वविद्यालयहरूले मात्र गर्थे। इन्टरनेट सर्वसाधारणले प्रयोग गर्न मिल्ने गरी सजिलो भइसकेको थिएन। तर सन् १९९० मा CERN अनुसन्धान केन्द्रका वैज्ञानिक Tim Barners Leeले विकास गरेको World Wide Web ले इन्टरनेटको नयाँ ढोका खोलिदियो। World Wide Web लाई हामी www को नामबाट पनि चिन्दछौ। धेरैले www लाई नै इन्टरनेट भन्ने गर्छन्, तर यो गलत धारणा हो। इन्टरनेट भन्नाले विश्वभर रहेका सञ्जालको समूहलाई जनाउँछ, जबकि www इन्टरनेटमा सूचना आदानप्रदान गर्न प्रयोग गरिने धेरै प्रणालीहरू मध्ये एक हो। www को निर्माणले इन्टरनेटमा सूचना आदानप्रदान गर्न धेरै सजिलो भए पनि अहिले जस्तो क्लिक गर्दै इन्टरनेट चलाउन सकिने सुविधा थिएन। यसरी क्लिक गर्दै इन्टरनेट चलाउन सकिने सफ्टवेयर, जसलाई Browser भनेर चिनिन्छ, यसको निर्माण Illinios स्थित National Centre for Supercomputer Application का अनुसन्धानकर्ता Marc Andreessen ले गरेका हुन्। यस पहिलो Browser को नाम Mosaic थियो। पछि उनै Marc Andreessen ले Netscape Corporation को पनि सुरुवात गरे जसले निर्माण गरेको Netscape Navigator नामक इन्टरनेट Browser निकै प्रख्यात पनि भयो। यसै इन्टरनेट Browser को सफलतालाई पछ्याउदै माइक्रोसफ्टले पनि Internet Explorer नामक Browser को विकास गर्‍यो, जुन अहिलेको एक प्रमुख ब्राउजरमा पर्दछ। इन्टरनेटको विकासका लागि अमेरिकी सरकारले लगानी गरेकाले पहिले सर्वसाधारणलाई इन्टरनेटको प्रयोग गर्ने अनुमति थिएन। तर www को सफलता पछि धेरै इन्टरनेट प्रदायक कम्पनीहरू खुले जसले सरकारी सञ्जालको भर नपर्ने गरि आफ्नै सञ्जालको विकास गरे। सन् १९९५ सम्ममा अमेरिकी सरकारले इन्टरनेट प्रयोग गर्न बन्देज लगाउने सम्पूर्ण नियमहरू खारेज गर्‍यो। अमेरिकामा AOL, Prodigy र CompuServe जस्ता चर्चित इन्टरनेट प्रदायक कम्पनीहरू सुरु भए। इन्टरनेटको प्रयोग विश्वव्यापी रुपमा पनि हुन थाल्यो। आजको दिन सम्ममा इन्टरनेटले लामो फड्को मारिसकेको छ। ARPANET मा जोडिएका ४ कम्प्युटरहरूबाट सुरु भएको इन्टरनेटमा अहिले एकैपटकमा १ अरब भन्दा बढि प्रयोगकर्ताहरू जोडिएर रहेको हुने गर्दछ। इन्टरनेटको विकासको क्रम अझै पनि जारी छ र भविष्यमा अहिलेको भन्दा द्रुत गतिको र उच्चस्तरीय सुविधायुक्त इन्टरनेटको विकास हुने कुरामा दुईमत नहोला।

Stock market ideas in Nepali language