नेपालजस्तो मुलुकमा जाँड रक्सी संस्कृतिको एक भाग रहँदै आएको छ। विशेष गरी चाडपर्व, भोज, जन्मदिन, विवाह वा अन्य सामाजिक समारोहहरूमा यसको प्रयोग सामान्यजस्तै देखिन्छ। तर, जब यो दैनिक बानी र लतको रूपमा बदलिन्छ, तब यसले मानिसको स्वास्थ्य, परिवार, सामाजिक सम्बन्ध र आर्थिक अवस्थामा गम्भीर असर पार्न थाल्छ। त्यसैले, समयमै जाँड रक्सीको लत छुटाउनु अत्यन्त आवश्यक हुन्छ।
प्रोत्साहनात्मक भनाइ
“तपाईंलाई बदल्न सक्ने सबैभन्दा ठूलो शक्ति तपाईं आफैं हुनुहुन्छ।”
“आज शुरु गर्नुहोस्, किनभने भोलि फेरि ढिला हुन सक्छ।”
“जाँड रक्सी छोड्न चाहने मानिसलाई भन्नुस् कि – बुद्धले सिंङ्गो राज्य त छोड्नु भयो तपाईं एउटा जाँड छोड्न सक्नुहुन्न?”
जाँड रक्सीले पार्ने नकारात्मक असरहरू
१. स्वास्थ्यमा असर
रक्सीले मानव शरीरका सम्पूर्ण अंगहरूमा घातक असर गर्छ। यसले कलेजोमा क्षति, यौन दुर्बलता, हृदयघात (कार्डियोमायोपेथी), मानसिक रोग (डिप्रेसन, चिन्ता), उच्च रक्तचाप, पाचन समस्या, मधुमेह, प्यान्क्रियाटाइटिस, स्ट्रोक, मुटुको समस्या र क्यान्सर जस्ता घातक रोगहरू सिर्जना गर्छ।
२. पारिवारिक समस्या
- झगडा, घरेलु हिंसा
- विश्वासको संकट
- सम्बन्ध विच्छेद
३. आर्थिक असर
- काममा ध्यान नलाग्ने
- रोजगारी गुम्ने
- अनावश्यक खर्च
४. सामाजिक प्रतिष्ठा
- समाजमा बदनाम
- सामाजिक बहिष्कार
- एक्लोपन र तिरस्कृत जीवन
कुलतले आम्दानीको बर्बादी, रोजगारीको हानि, पारिवारिक हिंसा, र आपराधिक गतिविधिमा लाग्न बाध्य बनाउँछ। यसले व्यक्तिको सामाजिक प्रतिष्ठा नै नष्ट गर्छ।
जाँड रक्सी छुटाउने असरदार उपायहरू
१. मनस्थितिमा परिवर्तन गर्नुहोस् (Self-realization)
लत छुटाउन सबैभन्दा पहिलो र महत्वपूर्ण कुरा भनेको “मलाई जाँड रक्सीले क्षति पुर्याएको छ” भन्ने बोध हुनु हो। जबसम्म व्यक्तिमा आत्मबोध हुँदैन, तबसम्म सुधार सम्भव हुँदैन।
२. लक्ष्य निर्धारण गर्नुहोस्
- “मैले आजदेखि रक्सी नपिउँ” भन्ने प्रतिबद्धता गर्नुहोस्।
- स-साना लक्ष्यहरू बनाएर अघि बढ्नुहोस् – जस्तै एक हप्ता, एक महिना र एक वर्ष नपिउँ भन्ने प्रतिबद्धता।
३. नकारात्मक साथ छोड्नुहोस्
- जाँड रक्सी खाने साथीहरूसँग दूरी बनाउनुहोस्।
- त्यस्ता ठाउँ नजानुहोस् जहाँ तपाईं प्रलोभनमा पर्न सक्नुहुन्छ।
४. भगवानको भक्ती, ध्यान र योगको अभ्यास गर्नुहोस्
- भजन सुनेर आनन्द लिनुस्।
- नियमित ध्यान र प्राणायामले मानसिक शान्ति दिन्छ।
- स्ट्रेस घटाउँछ र आत्मनियन्त्रण बढाउँछ।
५. व्यस्त रहनुहोस्
- खाली समय जाँड रक्सी तर्फ लैजान्छ, त्यसैले आफ्ना दिनचर्या व्यस्त बनाउनुहोस्।
- नयाँ सीप सिक्नुहोस्, खेलकूद, किताब पढ्नुहोस्, घुम्न जानुहोस्।
६. पारिवारिक र सामाजिक सहयोग
- परिवार, साथीभाइ र आफन्तको सहयोग अत्यन्तै आवश्यक हुन्छ।
- सकारात्मक कुरा गर्ने, प्रोत्साहन दिने र साथ दिने प्रयास गर्नुपर्छ।
७. व्यवसायिक परामर्श र पुनर्स्थापना केन्द्र (Rehabilitation Centers)
- मनोचिकित्सा र परामर्श (Psychotherapy)
- जडीबुटीले तनाव नियन्त्रणमा सहयोग गर्छ तर चिकित्सकको परामर्श बिना प्रयोग नगर्नु।
यदि लत धेरै छ भने, विशेषज्ञको सल्लाह लिनु अत्यन्त आवश्यक हुन्छ। नेपालमा विभिन्न पुनर्स्थापना केन्द्रहरू उपलब्ध छन्।
८. सफल व्यक्तिहरूको कथा पढ्नुहोस्
जो व्यक्तिहरूले सफल जीवन बिताइरहेका छन्, तिनको जीवनकथा पढ्दा प्रेरणा मिल्छ।
कुलतको चरण र लक्षणहरूको अवलोकन
कुलत एकाएक विकसित हुँदैन; यो क्रमिक प्रक्रिया हो:
- इन्टक्सिकेसन (नशा): रक्सी सेवनपछि तुरुन्त देखिने अवस्था जहाँ व्यक्ति अनुपयुक्त व्यवहार (बढी बोल्ने, लाज नमान्ने) देखाउँछ।
- हानिकारक प्रयोग (हार्मफुल युज): शारीरिक, मानसिक, सामाजिक समस्या थाहा हुँदै पनि बेला-बेलामा मदिरा सेवन गरिरहने अवस्था।
- दुव्र्यसन (डिपेन्डेन्स): शरीर र मस्तिष्कले रक्सी नलिइकन सामान्य काम गर्न नसक्ने अवस्था। यहाँ नखाएमा हातकम्पन, झमझमाइ, डर, निद्रा समस्या, बेहोसी, र तलतल लाग्ने गम्भीर लक्षणहरू देखिन्छन्।
जाँड रक्सी छुटाउनु सजिलो छैन, तर असम्भव पनि होइन। मानसिक दृढता, आत्मनियन्त्रण, सामाजिक सहयोग, र आवश्यक परेमा उपचारको माध्यमबाट यो कुलत छुटाउन सकिन्छ। स्वस्थ र सफल जीवनको लागि आजै बाटो परिवर्तन गर्नुहोस्।