म्युचल फण्ड भनेको के हो ? सामान्य जानकारी सहित | What is a Mutual Fund?

म्युचल फण्ड (Mutual Fund) भनेको साना-साना लगानीकर्ताहरुबाट संकलित कोष हो जसको व्यवस्थापन र संचालन पोर्टफोलियो म्यानेजरले गर्ने गर्छन । जो व्यक्तिलाइ दोश्रो बजारबाट (secondary market) शेयर खरिद-बिक्रि गर्न जोखिम महसुस गर्छन, अथवा बजारको राम्रो ज्ञान छैन, अथवा दोश्रो बजारमा समय दिने फुर्सद छैन वहाँहरुको लागि म्युचल फण्ड एउटा राम्रो लगानीको अवशर हुनसक्छ। नेपालमा म्युचल फण्डलाई नेपाल धितोपत्र बोर्डले (Securities Board of Nepal – SEBON) नियमन र निरीक्षण गर्दछ। नेपालमा म्युचुअल फण्ड जारी गर्ने, व्यवस्थापन गर्ने र निरीक्षण गर्ने सम्पूर्ण कार्य म्युचुअल फण्ड नियमावली २०६७ ले निर्धारण गरे अनुसार र धितोपत्र बोर्डले तोके बमोजिम हुने गर्दछ ।

म्युुचुअल फण्डबाट संकलित रकम पोर्टफोलियो म्यानेजरले सेयर, बण्ड र ऋणपत्र, सरकारी धितोपत्र, र फिक्स डिपोजिटमा लगानी गर्ने गर्छन् । यसरी गरेको लगानीबाट आएको प्रतिफललाई ईकाई धारीहरुलाई वहन ईकाईको आधारमा समानुपातिक तवरले वितरण (profit sharing) गरिन्छ ।

म्युचल फण्डका फाइदाहरु यसप्रकार छन् (benefits of mutual funds):

पैसा लगानी गर्ने थप उपकरण
सानै श्रोतबाट पनि लगानी गर्न सकिन्छ
प्रोफेसनल व्यवस्थापक
सहजै र छिटो किनबेच गर्न सकिने
न्युन कारोबार शुल्क
पारदर्शिता

म्युचुअल फण्डका प्रकारहरु (types of mutual fund):

संरचनागत रुपमा म्युचुअल फण्ड २ प्रकारका हुन्छन्:
१. खुल्ला समाप्ति कोष
२. बन्द समाप्ति कोष

१. खुल्ला समाप्ति कोष : खुल्ला समाप्ति कोष भन्नाले लगानीकर्ताले आफुसंग भएको ईकाई जुनसुकै समय बर्षे भरी किन्न र बेच्न सकिने र दोश्रो बजारमा सुचिकृत नहुने कोष भन्ने बुझाउछ। यस प्रकारको खुल्ला समाप्ति म्युचुअल फण्ड येती नै ईकाई जारी गर्नुपर्छ भन्ने कुनै तेस्तो रोकावट हुदैन र माग बढेको खण्डमा ईकाई धारी जति नै भए पनि जारी गर्नसकिन्छ। येदि ईकाई धारीहरुले बेच्न चाहेमा कोषले नै किन्न पनि सक्छ।

२. बन्द समाप्ति कोष : बन्द समाप्ति कोषले निश्चित संख्यामा तोके बमोजिमको ईकाई जारी गर्ने गर्छन र नेपालमा ५ बर्षे र ७ बर्षे बन्द समाप्ति कोषहरु हाल संचालनमा रहेका छन्। बन्द समाप्ति कोषले निश्चित पुंजी IPO को माध्यमबाट संकलन गर्ने गर्छन। त्येसरी संकलित कोषलाई दोश्रो बजारमा कारोबार पनि गर्न सकिन्छ। बजारको माग र ईकाईको लाभ दिन सक्ने आधारमा दोश्रो बजारमा ईकाईको मुल्य निर्धारणा हुने गर्दछ। तोकिऐको समय सिमा जस्तै नेपालमा चलेको समय सिमा ५ बर्ष सकिए पछि लगानीकर्ताले ईकाईको लगानी सहितको लाभ फिर्ता पाउछन्।