​कथा : अरबेकी स्वास्नी

  • यम घिमिरे

एसएलसी पास गरेर क्याम्पस पढ्ने ठूलो सपना देखेकी थिई, घरकी काइँली छोरी पार्वतीले। सेन्ट-अप परीक्षामा गुल्टेको गुल्टेई गरेपछि घरका सबैले सान्त्वना दिनुको साटो ‘यल्ले गधाको तक्मा पाउने भई, सात पटक पुर्‍याउपछि सरकारले गधाको तक्मा दिन्छ रे’ भनेर खिल्ली गरे।

जेठी दिदी पराईघर गइसकेकी थिई। ऊ मास्तिरका दुइटी दिदी माइली र साइँली बिए तेस्रो वर्षमा पढ्न थालिसकेका थिए। अन्तिमको भाइ तिर्लोकको त कुरै नगरौं। बुढेसकालमा जन्मेको पिण्डपानीको दाता तिर्लोकलाई त बाले सहरमा बोडर्स गर्देका। बाउआमाको पुलपुले छोरो आफ्नो भाइ तिर्लोकको असाध्ये माया लागे पनि आफू चैं घरमा बसेर बाख्रालाई घाँस काट्दै पढ्नुपर्ने अनि भाइलाई चैं सहरमा राखेर पढाएको देख्दा पार्वतीका कन्सिरी तातेर आउथे बेलाबेला।

Learn English - Dew Meaning in English to Nepali below

अरु बहिनीभन्दा अलिक बेग्लै पाराकी थिई, पार्वती। आफूलाई चित्त बुझेन भने दिदीसिदी नभनी मुड्कीले बर्साउँथी माइली र साइँलीलाई। उस्तै परे भाइलाई पनि लबटाले दिन्थी। बाबुआमाले हकारे भने कहिलेकाहीँ आफ्ना कोठाबाट खाना खान पनि निस्कन्न थिई र चुकुल ठोकेर बस्थी।
‘यस चैं राँडले त कसरी गरिखान्छे पोइको घर?’ आमा पार्वतीको रौद्र रुप उत्रेका बेला पिर गर्दै भन्थिन्।

अरु दिदीहरु जस्तो किसान बाबुआमाको गच्छेअनुसारको खायोलायोमा पार्वतीलाई अलिक नपुग्ने। धेरै सपना र आकांक्षा नभएका, घरको कामधन्दा र एकोहोरो पढाइमा लागेका दिदीहरुलाई एक-दुई कुर्तासुरुवालका जोडीले पुग्दा उसलाई पाइन्ट चाहिने। फेरेन लब्लीको क्रिम, दुई-तीन रङका ओठेलाली, ओलेको फाउन्डेसन लेप र खासाकै सही एउटा-दुइटा अत्तर त उसले आफ्नो निजी बाकसमा जसरी नि जोगार गरेकी हुन्थी।

एकदिन मिल्ने साथीको हुलामालामा लागेर आमाले कमाइदिएको छँदाखाँदाको नाकको फुली फुकालेर बुच्चो प्वाल मात्रै लिएर आइछे पार्वती।
बाले घँसेटाले सोरुलाझैं गरे, काइँलीको नाकको फुली गायब भएको देख्दा।

किन टेर्थी पार्वती, ‘लाउन मन लागेन फुकालेँ, केके न दिएँ भन्ने लाग्या छ भने लैजाओ न तिमेरको टिलो, यी यहाँ छ।’ यत्ति भनेर कागजमा पोको पारेको फुली बाआमाका अघि पछारी उसले। फुलीको डल्लो गुड्किँदै गएर बलेसीमा अडियो।
बाआमाले मुखामुख गरे।

‘के दिनमा जन्मिछे यो राहू जन्मिन पनि, पूर्वजन्मकी साहु आइछे डंकिनी,’ बजारिएको फुली टिप्दै आमाले भनिन्।

‘यो पारे सैंताललाई अब घरमा राखेर काम छैन, पढेर नि खाइन। एउटा कन्पारामा लिखा पर्‍या लठुवा खोजेर छिटो पन्साइहाल्नुपर्ने भो जेमराजलाई,’ बाले हुर्केकी छोरीको विद्रोह देखेर काबु भएको स्वरमा भने।

‘तिमेरले खोजिरहनुपर्दैन, म आफैं खोज्छु, के चिन्ता लिन्छौ मेरो,’ पार्वतीले ठाडै खाई बालाई।

‘पारे पोइल जाने भई अब, बोलिसक्नु छैन अचेल, कालले परकपरक बटार्दै छ तँलाई हिजोआज,’ बाले थपे।

‘गए जाउँला नि… के हो पारे भन्या? खालि अर्काको नाम बिगार्‍या छ… ‘पारु’ भन मलाई, कि बोलाउँदै नबोलाओ,’ पार्वती यति भन्दै फन्केर भित्र पसी।

खोइ किन हो पार्वतीलाई घरका सबै मान्छेलाई चिथोरूँ जस्तो लाग्छ आजकाल। सबैको सोच, बोली, व्यवहार, चालढाल उसको सोच र गतिसँग पटक्कै मेल नखाने पाउँछे ऊ।

***
पार्वतीले पढाइ छोडेर सिलाइकटाइको तालिम लिन थालेको तीन महिना भइसकेको थियो। पढाइ सेन्टअप अनुत्तीर्ण। सिप कौशलमा अलिअलि सिलाइकटाइ। रुपरङकी राम्री, शिलसोभाउकी मुखाले। के गरूँ, कसो गरूँ, बाख्रा पालूँ कि पोइल जाऊँ जस्तो अस्थिर मानोदशा। उसको वर्तमान जीवनी भन्नुस् वा बायोडाटा; यति हो।

सिलाइकटाइ सिकाउँथिन् शान्ता दिदी। उनैको छोरो रोशनसँग आँखा जुधाउँदा जुधाउँदै पार्वतीको त केही होलाहोला जस्तो पो हुन थाल्या छ हिजोआज।

रोशन १२ कक्षामा पढ्छ, गाउँकै स्कुलमा। खासै पढेर खाने भन्दा पनि आमाको करढिपीले पढ्न जानुपरेको जस्तो गर्छ। उसको मोटरबाइक छैन तर गाउँमा बाइक हुनेको नित्यको नि:शुल्क डाइबर हो ऊ। जसले जहाँ साथी जाउँ भने नि अर्काको बाइक घ्यार्र स्टार्ट गरेर उनलाई भनेको ठाउँमा ढुवानी गर्न डाइबर सिटमा बसेर तयार भइहाल्छ। दिन राम्रा परेका छन् भने अरुले किनेको बियर, सेकुवा, कोकाकोला, फ्यान्टा पनि भेटिहाल्छ, नभए बाटामा भेटिने ट्युबवेलको पानी अन्जुलीमा थापेर घटघटी पिएर भए नि ऊ कन्दनी छिरिहाल्न दिदैन। तर जाउँ भनेको ठाउँमा नाइँ, भ्याउँदिन, जान्नँ भन्दैन।

‘अब झ्याप्प पासपोर्ट बनाउने हो अनि हान्ने हो साउदी जिन्दगीमा, गिरिजा पढेर प्रधानमन्त्री भएको हो र, खप्परमा लेख्या छ भने हुन्छ क्या तोर्पे, एकदिन हुन्छ,’ उस्तै गतिमतिको खैनी पार्टनर ज्याकीसँग बोलेको रोशन।

‘त्यो रोशन भन्ने नाम्लेसँग के काम पर्छ तेरो? हिजो सोमबारे हाटमा सँगै हिँड्दैथ्यौ अरे,’आमाले पार्वतीको सातो टिपिन्।

‘के पर्नु नि, गाउँका मान्छेसँग बोल्नु नि नहुने मैले? बोल्दैमा र हाँस्दैमा के हुन्छ?’ पार्वतीले टाटी टिक्न दिइन आमालाई।
एकदिन अचानक माइली दिदी सरलाले पार्वतीको ओछ्यानका खुट्टापट्टि डसनामुनि रोशनको कालो चस्मा लाएको फोटो भेटाई। फोटोको पीठमा लेखिएको थियो-
‘आई लब यु भन्न त मन लाग्छ पारु
रिसाउँछेउ कि भन्ने डर लाग्छ,
चोखो माया त दिन मन लाग्छ पारु
अन्तै लगेर बिसाउँछेउ कि भन्ने डर लाग्छ।’

***
फोटो काण्डको एक सातापछि भाउन्नेबाट साइँला मामा झिकाइए।

‘केटो खाइलाग्दो नै छ, पढाइले पो के हुन्छ र अहिले, काठमान्डु गएर डबल एमए गर्नेले भन्दा अरब जानेले छिटो प्रगति गर्छन् अहिलेको जमानामा,’ साँइला मामाले कुरो निकाले।

‘पढाइ चैं सुठ्ठीसारो हाम्री पारेको भन्दा नि कम?’ बाले खै के खै के जस्तो गरे।

‘आठ पढ्दै थियो रे। सारै दुखेर एक वर्ष स्कुल जानै सकेन रे, अर्को वर्षदेखि जानै मानेनछ। ठिकै छ नि, चार-चार बिघा जमिन छ, के खाउँ के लाउँको दु:ख छैन। दुई भाइमा कान्छो सानैमा दरभंगा भासिएको रे बाँचीबर्ती टुंगो छैन, खोलो फर्किने १२ वर्ष नाघिसक्यो मान्छे फर्केर आउने अत्तोपत्तो छैन। नन्द, आमाजू, देउरानी, जेठानीको कर्कशो नि परेन। उ: बेला गाउँकै ठूलो घर भएकाले ठूलाघरे भनेर चिन्छन् सबैले। बाउआमा सोझा छन्, आफैं घरमुली हुन्छिन् भान्जी,’ मामाले फिनिसिङ रन्दामाथि एक मानु तेल दलेर कुरा झिके।

पार्वतीले हुन्छ भन्न सकेकै छैन। तर दुई पढेलेखेका दिदी, मामा र बाआमाका सहस्र सिफारिस सुन्दा नाइँ भन्यो भने कतै सुखसयलको भाग्यलेखा नै पो उम्कने हो कि भन्ने मनमा चैं परेको छ।

ल म त मानूँला रे, रोशनले तिमीबिना मरिहाल्छु नि भनेर भाँजो हाल्यो भने! केटाहरुको केही भर हुन्न, जे नि गर्दिन्छन्… मनमा डर गढेको छ पार्वतीको।

‘तिमीसँग त यसो ट्याम पास पो गर्‍या त, बिहे त कहाँ गरिन्छ त गाउँमा…’ पार्वतीले रोशनको नारी छामिहेरी।

‘नगरे नगर न त,  तिमी मात्रै छेउ र, तिमीभन्दा ब्युटीफुल ऐश्वर्या नै लेख्या छ कि बा खप्परमा,’ रोशन पनि जंगियो।

‘लु भो… मलाई नि राजेश हमाल नै लेख्या छ कि बा।’

ख्यालख्यालमै पारु र रोशनको झगडा पर्‍यो त्यो दिन। दुवै रिसाएर छुटे।

पारुको मन रोशनलाई साइड लाएर साइँला मामा र परिवारकाले भनेकै केटासँग लगन झिकेर सुखभोग गर्ने लोभले फेरिएको छ। रोशनको सायरीमा जस्तै अन्तै लगेर माया बिसाउने दाउ पलाउन थालेको छ पारुलाई।

रोशनको पनि कतारको भिसा यही बेला आयो। पारुलाई समय दिएर भुल्नेवाला थिएन रोशन। पारुको मायाले भन्दा धन कमाई ल्याउने र एउटा साँढे गोरुजत्रो पल्सर चढ्ने सपनाले डोर्‍याएको थियो उसलाई।

रोशन जहाज चढ्यो, पारु डोली चढी।

***
बेहुला घर गएपछि काइँलीले महादेवकी जहानको ‘पार्वती’ नाम सदाका लागि त्यागेर आफूलाई पूर्णकालीन ‘पारु’ बनाई।

लोग्ने जनक आफूले सोचेभन्दा अलिक निम्जा ग्रहको नै रहेछ भन्ठानी पारुले। अह्राएको काम लुरुलुरु गर्ने। गोरु जोत्ने, गोरुगाडा कुदाउने, बेलाइती गाईलाई कुँडो काट्ने, गोबर ग्यासमा गोबर भर्ने, पम्पसेट चलाएर गहुँमा पानी पटाउने। बाबुले आर्जेको सम्पत्ति खनीजोती खाने। पतिदेवको यसरी नै जिन्दगी चलाइरहेको बुझी पारुले।

धान दुई बाली लाग्ने, गहुँ-मकै उस्तै सप्रिने, तोरी फुलेर मंसिरमा हराभरा हुने। जनकले नगरेको केही थिएन। खामारमै ट्रक बोलाएर मंसिरमा धान बेच्ने गाउँका थोरै पौरखी किसान परिवारमा ठूलाघरे जनकको नाम पनि आउँथ्यो।

जोरीपारीका जस्तो विदेश गई रुप्प्याँ ल्याएर बजारमा मुण्डा घर बनाउने। कुम्ले टिभी फालेर फलेकजस्तो पातलो टिभी भित्तामा टाँग्ने। इँटाजत्रो फोन चलाउने। भट्भटे किनेर नाङ्लोजत्रा आँखा भएको चस्मा भिरेकी जोईलाई पछाडि बोकेर भेडेटार लाने। नारिएर सिनेमा जाने र रेस्टुराँमा खाने। स्वास्नीका गहनाको तृष्णा मेट्न भनेजति पहेँलो धातु जोड्ने। ठूलाठूला ऐनाजडित दराज र ड्रेसिङ सजाउने। बुढाबुढीको गनगनबाट पर बजारमा दुई जना मात्रै बसेर अँगालोमा रमाउने। …कुनै पनि चलेका चलनको सपनाबाट टाढा रहेछ जनक त। बरु एउटा ट्र्याक्टर किनेर आफ्नो पनि जोत्ने सारा गाउँलेको पनि जोतिदिएर घरै बसीबसी ट्रयाक्टर डाइबर हुने सपना पो;  पारुले यही बुझी।

‘यस्तो पाराले हुन्छ? जमाना कहाँबाट कहाँ पुगिसक्यो, सधैं गोठालो जस्तो काममा जोतिएर हुन्छ? विदेश जानुपर्छ अब,’राति ओछ्यानमा पारुले जनकलाई मन्त्रदान गरी, ‘विदेश गए पैसैपैसा हुन्छ, बजारमा घर हुन्छ, पैसा भएपछि गाउँघरमा इज्जत हुन्छ। सधैं माग्नेजस्तो भएर धुलोमैलोमा डुबेर काम चल्दैन। तुरुन्त पासपोर्ट बनाउन जिल्ला गइहाल्नू भोलि नै।’

‘नजाने विदेश। यत्रो खेतीपाती छ, नपुग्दो केही छैन, खेत सधैं पहेँलपुर छ बालीनालीले, विदेशमा गएर टिपेर ल्याउने होइन पैसा। बाआमा पनि मान्नुहुन्न। भाइ हराएदेखि बाआमाको मन नराम्ररी बिग्रिएको छ, मैले नि छोडेर हिँडेपछि के गति होला, खेत बाँझै हुन्छ, बुढाबुढीले के गर्नु यत्रो घरखायल?’ जनकले उसको शान्त र स्वाभाविक शैलीमा उतर दियो।

त्यस उपरान्त पारु विदेशको कुरा लिएर सधैं किचकिच गर्न थाली जनकसँग। कहिले रोई, कहिले हुति निख्रिएको छोरो मान्छे भनी, कहिले घुर्क्याएर भात नखाई सुती, कहिले प्रणयलापमा सजिली भइन, कहिले माइत गएर बस्छु भनेर धम्क्याई।

जनकले बुहारीको गनगन बाआमालाई बतायो। सन्तानका नाममा दुई छोरा। एउटा छोरो बाँच्या छ कि छैन बाह्र वर्षदेखि बेपत्ता छ। भएको एउटा पनि बुहारीका करकापमा विदेश जाने कुरा गर्छ। जनकका कुरा सुनेर दिन त्यसै अँध्यारो भएर आयो बाआमाको।

‘हेर बुहारी, हामीलाई के नपुग्या छ र जनकलाई विदेश जानुपर्‍यो? विदेश गएका सबैको उन्नति हुन्छ भन्ने छ? अन्नपानी, सागसब्जी, दूधदही सबैथोक उब्रेर बेच्न पुग्या छ, घरमा घर छ, बजारमा भिटा छ, तिमीलाई माग्या गहना पुर्‍याएको छ… कान्छो पनि हरायो… ,’ बोल्दाबोल्दै बाको गला अड्कियो। आमाले रसाएका आँखा पुछिन्।

‘जाँदैन जनक साउदी। सुखले दु:ख, दु:खले काल खोज्छ भन्या यही हो,’ आफ्नो मिजासबमोजिम आमाले अलिक कडा प्रतिवाद गरिन्।

‘जमाना तपाईंका पालाको छैन आमा, दुनियाँका छोरा विदेश गएर चकचकी गर्‍या छन्, हाम्रा चैं त्यही लिँडे गोरुका पुच्छर निमोठ्दै बस्दै गर्नु भन्ने छ? के गर्छन् बुढा भन्दा हली छ भन्नुपर्ने मैले चैं? छोरालाई नपठाउने हो भने म जान्छु,’ पारु कड्केर बोली।

अरब जान मन्जुरी नदिए एउटा भएको सन्तानको घरबार नै तलमाथि पर्ने खतरा आइपर्‍यो घरमा। कि जनकलाई जा भन्नुपर्‍यो कि बुहारीलाई जान छोड्दिनुपर्‍यो। बाआमा ठूलो बिलखबन्दमा परे।

अन्तिममा जनकले उपाय निकाल्यो- एकपल्टलाई पारुको चित्त बुझाउन गइदिने। मर्नुभन्दा बौलाउनु निको भनेर भारी मनले सगुनले होइन आँसुले बिदा गरे जनकलाई बाआमाले।

जनकको जहाजले साउदीको पखेटा लायो। यता पारुको मनले जनकले कमाइपठाउने धनमा उसका मनमौजी सपनाका चल्ला कोरल्यो।

***
रेमिट्यान्स लाहुरेका करामतले गाउँमा एकादुका गर्दै हातेफोन देखा पर्न थाले। फोन गर्न माथि बजार धाएर जानुपर्नेमा ओछ्यानमा सुतेर विदेशमा गफ गर्न पाइने भयो। पारुका हातमा पनि इँटाजत्रो विदेशी फोन हात पर्ने नै भयो।

बिस्तारै फेसबुक छ्यापछ्याप्ती भयो। पारु किन पछि पर्थी, खोलिहाली फेसबुक। कोणकोणबाट खिचेका फोटाको भारी दिनैपिच्छे हाल्न थाली पारुले।

पारु पहिलेजस्तो सासूससुरासँग गफ गर्ने, आँगन-सिकुवामा टहल्ने गर्न छोडी। एक छिन समय पायो कि त्यहि पाप्रोसँग नारिएको मात्रै देखिन थाल्यो। राति अबेरसम्म पनि एक्लै खितखित हाँसेको सुन्छन् बाआमा।

अचेल पारुले एउटा नयाँ साइकल किनेकी छे। उसलाई त स्कुटी नै हान्ने सुर थियो तर यसपालि मुख फोरिहाल्न सकिन जनकसँग।

नयाँ साइकल किनेपछि पारु घर बस्न छोडेकी छे। फेरीफेरी कुर्तासुरुवाल लाउँछे। कुनै मटक्कली रे, कुनै अनारकली, कुनै अम्रेला, कुनै बाहुलामा जाली भएका, कुनै पातापाखुरा बुच्चै भएका। उसको मन त छालामा लिपिक्कै टाँसिने जिन्स लाउने हो नि। घरका बुढाबुढीले फुट्या आँखाले हेर्ने बुझेपछि उसले नयाँ आइडिया सोची- घरबाट झोलामा जिन्सको प्यान्ट हालेर साथीकहाँ गएर फेर्ने अनि बेलुका फर्किँदा सासूससुराका अघि जस्तातस्तै कुर्तासुरुवालमा आउने। यो रहस्य त उसका फेसबुके फोटाले अस्ति नै देखाइसकेका थिए।

बिहानै भात खाएर टाउकामा चस्मा हालेर निस्किन्छे पारु र बेलुका आउछे। कहाँ हिँडेकी भन्दा ‘ल्यांग्वेज’ सिक्न भन्छे। कुन ल्यांग्वेज सिकेकी, किन सिकेकी ऊ खुलस्त बताउदिनँ। के हो ल्यांग्वेज भन्या, ल्यांग्वेज सिक्दा केमा जान्ने भइन्छ आमाबालाई नमोनारायण केही थाहा छैन।

बेलुका फिर्दा अलिकति टमाटर, खानेतेल, बोडी, प्याज, सर्बत बनाउने स्क्वासको झोल वा त्यस्तै केहीथोक बोकेर आउँछे। पहिले सागपात खाइनखाई हुन्थ्यो, अहिले किनेर खान थाले। बेलाइती गाई चाकर नपुगेर हाडछालाको पन्जर मात्रै छ। छिमेकीसँग एक लिटर दूध किनेर बाआमा आँत भिजाउन थालेका छन्। पारु रेमिट्यान्सका करामतले कोक, फेन्टा र पेप्सीका जम्बो बोतल आफ्ना कोठामा लुकाएर एक्लै घुटुघुटु पार्न सक्ने गच्छेकी भएकी छे। पहिले ट्रकमा धान बेच्ने घरका मान्छे अहिले एक भकारी अर्काले दिएको कुतको धानमा चित्त बुझाउँछन्। खेत आधाभन्दा बढी बाँझै छ। दुनियाँका बस्तुभाउ पगाहा लाउने खर्क बनेको छ खेत। सम्झेर ल्याउँदा बाआमाको भक्कानो अमिलिन्छ। गर्न सक्नु केही छैन, आँखा भिजाउँछन् बस्छन्।

***
एकदिन अचानक साउदीबाट रोशनको ‘फ्रेन्ड रिक्वेस्ट’ झुल्कियो फेसबुकमा। पारुले स्वीकार नगर्ने कुरै थिएन।

रोशन : तिमीले धोका दियौ।

पारु : उहिलेका कुरा खुइले। नयाँ के छ तिम्रो ?

‘म घर आउँदै हो वैशाखमा।’

‘के ल्याइदिन्छौ त मलाई?’

‘उही पुरानै माया।’

‘बितेका कुरा गरेर के फाइदा?’

‘आउने बित्तिकै एउटा पल्सर हान्ने हो।’

‘ए, बस्न पाइएला नि त्यसो भा तिम्रो पल्सरमा।’

‘पछाडिको सिट त तिम्रै लागि हो नि सधैं।’

ल ल… म सुतेको …बाई।

***
जनक साउदी गएको पनि दुई वर्ष भयो। आज जाऊँला, भोलि जाऊँला भन्दाभन्दै उतै बिते उसका दिन। साथीभाइ, घुमफिर, मस्ती, खानपान उसको पनि जीवनले अलिअलि रङ बदलेको छ। पारुलाई तीन-चार महिनामा तीस-चालीस हजारको दरले खर्च पठाउनु, बेलाबेला बाआमालाई सन्चै छ भनेर फोन गर्नु, एकोहोरो काममा जोतिएर चल्नु र उब्रेको समय फेसबुकमा नानाथरी रमाइलो गर्दै समय काट्नु उसको दैनिकी हो। उसलाई जिन्दगी यस्तै रहेछ, यसैगरी बिताइदिन्छु भन्न मन लाग्छ अचेल त।

यता बाआमा छोरो छिटो आएर जायजन्म गर्दिए, बुढेसकालमा ‘म छु नि’ भन्दिए हुन्थ्यो भन्ने सपनामा दिन गनेर बस्छन्। जनक आउँछु-आउँछु भन्छ तर आउँदैन।

***
टिङटिङ… पारुको मोबाइल बज्छ।

‘के हो, जाने होइन?’ उताबाट रोशनको स्वर सुनिन्छ।

‘लिन आऊ न त।’

‘तिम्रो सासूससुराले को हो भन्दा के भन्छेउ नि?

‘फुपूको छोरो भान्दाइ लिन आउनुहुन्छ भनूँला क्या, के डराको?’

बिहान दस बजेको थियो। भात खाएर बाआमा बरण्डामा आराम गरिरहेका थिए। एउटा भटभटे घरअगाडि बाटामा आएर ट्याँट्याँ हर्न बजाउन थाल्यो।

‘आमा, भान्दाइ लिन आउनुभयो। म गएँ है, बेलुका आउँछु, नत्र भोलि चाँडै आउँला,’ बिदा मागेर पारु हिँडिहाली। घरमुली सासूससुराले जा-नजा केही भन्नै पाएनन्। अपरिचित ठेट्नो बुहारी लिएर हुँइकिइहाल्यो।

‘बुहारीको भान्दाइ हुँदा त घरमा आउनुपर्ने, च्यास्या खाएर जानुपर्ने, ढोगभेट हुनुपर्ने, बाटबाटैबाट… के चालामाला हो यस्तोर? आमाले बासँग भनिन्। बाले ट्वाँ परेर बाइक गएतिर हेरे।

बाइक हुँइकिरहेको छ। निब्यागभित्र मोबाइलको रिङ बजेपछि निकालेर बोल्न थाली पारु।

‘के छ खबर?’ जनकले फोन गरेको रहेछ।

‘ठिक छ। हजुरको के छ?’

‘बाइकको जस्तो आवाज आउँछ त?’

‘सिटी सफारी ट्याम्पो चढ्या छु क्या।’

‘बाआमालाई के छ ? तिमी कहाँ हिँडेकी त?’

‘एकदम राम्रो छ। घडीको ब्याट्री सकिएछ, फेर्न आएकी। साह्रै गर्मी छ, एउटा फ्यान पनि किन्नुपरो भनेर… खर्च पठाइदिने होइन अलिकति?’

‘अस्ति भरखर २० हजार पठाको के गरेउ? ल ल बेलैमा घर जाऊ। बाई…’ जनकले यति बोलिनसक्दै फोन काटियो।

घर मास्तिर नपुग्दै एक्कासि बाइकले पन्चट खायो। रोशन ओर्लेर धकेल्न थाल्यो, पारु पछिपछि हिँडी। ख्यालख्यालमा हो कि साँच्चि नै हो- रोशन, पल्सर र रेमिट्यान्स जमानाको भुमरीमा खुब रमाएकी छे पारु।

छरछिमेकीहरु वैशाखको धूपमा पंखा हम्किँदै सिकुवा, आँगन, गाछीको सयाल, बार्दलीमा बसेका हुन्थे।  गाउँलेले ठूलाघरेकी बुहारी जनकका स्वास्नीलाई नौलोपौलो ट्यापे टाइपको मान्छेसँग बाइकका पछि लाग्या देखे।

देख्नेले आ-आफ्नै ढंगले जिब्रो चलाए- उ: हेर त, अरबेकी पारुको ताल… जनकेले डामेर छोडेकी साँढ ! लु हेर त रेमिट्यान्सको काल… डाँडाका जून भइसकेका ठूलाघरे बाआमाको बिजोक… सोझो जनकेले कुकुरले नपाको दु:ख पायो…।

pahilopost