५० लाख तिरेर यो माछा किन्न तयार थिए मानिसहरु, यस्तो छ कारण

एजेन्सी। कुनै बेला मानिसहरुले ५० लाख रुपैयाँ मूल्यमा किन्न तयार भएको माछा एक साताअघि मरेको छ । गएको अक्टोबर १५ का दिन यो माछा मरेको हो । माछा मर्दा निकै ठूलो नोक्सानी भएको भए पनि यसका मालिकलाई भने कुनै गुनासो छैन । उनले यो माछाको लागि निकै ठूलो मूल्य पाएको भए पनि आफूले यसलाई आफ्नो सौभाग्य सम्झेर नबेचेको बताए ।

भारतको झाँसीको प्रतापपुराका राजेन्द्र कुमारले ३ वर्ष पहिले गोल्डफिस एक्वेरियम किनेका थिए । त्यतिबेलै उनले अस्कर प्रजातिको एउटा माछा पनि किने । सँगसँगै उनले अन्य प्रजातिका २० माछा पनि किनेका थिए । एक महिनामै अस्कर प्रजातिको माछा मात्र बाँच्यो र अरु सबै मरे । एक्वेरियम खालीजस्तो देखिएपछि उनले २० अरु माछा किनेर ल्याए । तर अर्कोपटक पनि विस्तारै सबै माछा मरे, अस्कर प्रजातिको त्यही एउटा माछामात्र बच्यो ।

त्यसपछि उनले अरु माछा ल्याउनै छोडे । विस्तारै त्यो माछा ठूलो हुँदै गयो र उसको शरीरमा रातो रंगको आकृति बन्न थाल्यो । एक दिन राजेन्द्रका साथी सादिक घरमा आउँदा माछालाई हेरेर त्यो रातो आकृतिमा अरबी भाषामा अल्लाह लेखिएको बताए । राजेन्द्रले नजिकैको मस्जिदका हाफिजलाई पनि यसबारे सोधे । हाफिजले पनि यही कुरा बताए । कुरा विस्तारै फैलिँदै गएपनि माछा हेर्न आउनेहरुको भीड बढ्न थाल्यो । त्यतिबेला हाइकोर्टका अधिवक्ता सुलेमान सिद्दिकि पनि त्यहाँ आएर यो कुरालाई चमत्कार भनेका थिए । विस्तारै यो कुरा हैदराबादसम्म पुग्यो । त्यहाँका एक मुस्लिम व्यापारीले राजेन्द्रलाई यो माछाको लागि ३० लाख भारु दिने प्रस्ताव गरेका थिए । तर, राजेन्द्रले यसलाई आफ्नो सौभाग्य सम्झेर बेच्न तयार भएनन् । त्यसपछि माछाको माग निकै बढ्यो तर राजेन्द्रले बेचेनन् ।

sankhuwasavaonline