– डा. भोजराज अर्याल
सोल- संयोगवश गत २०७१ साउनको दोस्रो साता दक्षिण कोरियाको हाङडोङ विश्वविद्यालयको निमन्त्रणामा ग्लोबल लिडरसिप तालिममा भाग लिने सिलसिलामा दोस्रोपल्ट दक्षिण कोरिया जाने मौका मिल्यो। कोरियामा प्रोफेसर जीन वान आनद्वारा प्रस्तुत ‘कोरियाको आर्थिक विकास र उद्यमशीलता’ सम्बन्धी कार्यपत्रको छलफलमा सहभागी भइयो।
उक्त छलफल खासगरी विगत चालीस वर्षमा कोरियाको विकास कसरी यस ण्रूपमा हुनसक्यो भन्ने कुरामा केन्दि्रत थियो। दक्षिण कोरियाको जीडीपी सन् १९६१ मा ९२ डलर भएकोमा सन् २०११ सम्ममा आइपुग्दा कसरी २२४२४ डलर हुन सम्भव भयो भन्ने कुरामा केन्दि्रत थियो। दोस्रो विश्व युद्धपश्चात् तत्कालीन सोभियत संघ र अमेरिकाले सांघाईमा कोरियालाई टुक्र्याउने सम्झौता गरे।
सोभियत संघ र चीनले उत्तर कोरियालाई सघाए भने अमेरिकाले दक्षिण कोरियालाई सघायो। कोरियामा सन् १९५० देखि १९५३ सम्म भीषण युद्ध भयो। करिब तीस लाख कोरियनको मृत्यु हुनपुग्यो र एक प्रकारले कोरिया तहसनहस भयो। त्यसपछि अन्ततः विधिवत् रूपमा नै एउटा सिङ्गो कोरिया उत्तर र दक्षिण कोरियामा विभाजित हुनपुग्यो।
युद्धबाट तहसनहस भएको दक्षिण कोरियामा त्यसताका गरिबी, अशिक्षा, डर र त्रासमात्र थियो। कतिपय परिवारका सदस्यहरू नै कहाँ पुगे उनीहरूलाई पत्तो थिएन। आर्थिक रूपले जीर्ण भएको दक्षिण कोरियालाई सन् १९६० को दशकसम्म कसैले पत्याउने अवस्था थिएन। व्यापार घाटा पनि अत्यधिक थियो। सरकारी बजेटको ५८ प्रतिशतसम्म विदेशीदातामा निर्भर हुनुपथ्र्याे।
सन् १९६५ तिर कोरियनहरू काम खोज्ने सिलसिलामा भारत र नेपालमा समेत आउने गर्थे।
दक्षिण कोरियाको भाग्योदय तब भयो, जब उनीहरूले एउटा स्पष्ट दृष्टिकोण भएका नेता पार्क चुङ हे लाई ६० को दशकमा राष्ट्रपतिका रूपमा पाए। उनले व्यापार घाटा कम गर्न आफ्ना निर्माण कम्पनीलाई मध्यपूर्वमा काम गर्न पठाए। हजारौं दक्षिण कोरियालीलाई सहारा मरुभूमि तथा साइवेरियाजस्तो प्रचुर गर्मी भएको ठाउँमा समेत काम गर्न पठाए।
यसैगरी सन् १९७६ देखि १९७८ सम्ममा ७८०० कामदारलाई जर्मनीका खानीहरूमा काम गर्न पठाए, जहाँ १००० मिटरदेखि ३००० मिटरसम्म गहिरा जमिन मुनिका खानीमा काम गर्नुपथ्र्याे। त्यस्तै १०,०३० जना नर्सहरूलाई पनि जर्मनको हस्पिटलहरूमा काम गर्न पठाइयो। सन् १९७४ मा हजारांै कामदारलाई बिल्डिङ बनाउने काममा मध्यपूर्व र मरुभूमिमा काममा पठाइयो।
कोरियाका तत्कालीन राष्ट्रपति पार्क चुङ हे उद्योग र कृषिको विकास नगरी देशले फड्को मार्न सक्तैन भन्ने कुरामा विश्वास गर्थे। त्यसैले उनले उद्योगको विकासका लागि उद्योगीका समस्या सुन्ने र सल्टाउँदै जाने प्रयास थाले। जस अनुसार राष्ट्रपति पार्कले प्रत्येक महिना उद्योगीहरू तथा सम्बन्धित मन्त्रीहरूलाई एकै ठाउँ बोलाई उद्योगीहरूको समस्या सुन्न लगाउँथे र मन्त्रीहरूले पनि उनीहरूको नीतिगत समस्या समयमा नै सल्टाइदिन मद्दत गरे।
जब राज्यको तर्फबाट सम्भव हुनेजति सुविधा दिएपछि कम्पनीहरू उत्पादन र बजारीकरण गर्न पनि सक्षम हुँदै गए, तब राष्ट्रपति पार्कले उद्योगीहरूलाई बोलाएर निश्चित परिणाममा आफ्ना उत्पादन निर्यात गर्नैपर्ने सीमा तोकिदिए। परिणामस्वरुप दुर्लभ विदेशी मुद्रा देशमा भित्र्याउन सम्भव भयो। राष्ट्रपति पार्कले कृषिको विकासमा पनि विशेष ध्यान दिए। दक्षिण कोरिया पनि नेपालजस्तै पहाडी मुलुक हो। पचहत्तर प्रतिशत पहाड रहेको उक्त मुलुक १९५० को दशकसम्म पचास प्रतिशत पहाडहरू र उजाड डाँडामात्र थिए, तर अहिले कोरियामा रुख नभएको खाली ठाउँ देख्न पाइँदैन। चौडा बाटो, अनगिन्ती फ्लाइओभर तथा सुरुङ मार्गले सुसज्जित दक्षिण कोरियामा अहिले आधुनिक कृषि प्रणाली अपनाइएका फलफूलका बगानहरू यत्रतत्र देख्न सकिन्छ।
दोस्रो विश्व युद्धपश्चात् कोरिया टुक्रिनुपरेको पीडा, त्यसैगरी १९१० देखि १९३५ सम्म जापनिजको कोलोनी रहेको र जापनिजले कोरियनमाथि गरेको दमन, महिलामाथि गरेको अन्याय, बलात्कारजस्ता कारणले गर्दा प्रत्येक कोरियनको मस्तिष्कमा जसरी पनि जापानीहरूलाई जित्नैपर्छ भन्ने भावना जाग्न पुग्यो। परिणामस्वरुप आफूसँग भएको मानवीय संशाधनको विकास गरी हरेक क्षेत्रमा प्रतिस्पर्धी बन्न सफल भयो। सन् १९८८ मा ओलम्पिक गेम भने सन् २००२ मा विश्वकप फुटबलको आयोजना गर्न सफल भयो।
दक्षिण कोरियाको भ्रमणकै क्रममा हामीलाई त्यहाँस्थित विश्व प्रसिद्ध केही कम्पनीहरूको भ्रमण गर्ने अवसर मिल्यो।
हुन्डाई कम्पनी दक्षिण कोरियाको पोहाङ सहर नजिकै समुद्रको किनारमा अवस्थित रहेछ। प्रत्येक १० सेकेन्डमा एक कार उत्पादन गर्ने क्षमता राख्ने रहेछ। उत्पादित कारलाई अर्डरअनुसार नजिकै रहेको समुद्री जहाजबाट सिधै सम्बन्धित देशमा पठाइँदो रहेछ। करिब ३,५०० देखि ७,००० वटा कार एकैपटक सिपमेन्ट गर्न मिल्ने भीमकाय समुद्री जहाज पनि पहिलोपटक देख्ने मौका मिल्यो।
त्यस्तै पोस्को कम्पनी विश्वको पाँचौं ठूलो स्टिल उत्पादन कम्पनी रहेछ। अष्ट्रेलिया र भारतबाट कच्चा फलाम ल्याएर विभिन्न प्रविधि प्रयोग गरेर गुणस्तरीय स्टिल उत्पादन गरी विश्व बजारमा निर्यात गरिँदो रहेछ। फलाम खानी नै नभए पनि अन्य देशबाट फलाम आयात गरी विश्व बजारमा फलाम तथा स्टिल निर्यात गर्ने दक्षिण कोरिया चौथो मुलुकमा पर्दोरहेछ।
यसैगरी अर्को विश्व प्रशिद्ध कम्पनी सामसुङ घुम्ने अवसर प्राप्त भयो। प्रोफेसर आनको भनाइमा सामसुङ कम्पनीमा कार्यरत कर्मचारी ज्यादै दक्ष छन्। विश्व प्रसिद्ध अमेरिकन कम्पनी आइफोनसँग टक्कर लिन सफल उक्त कम्पनीमा कुनै समस्या आयो भने प्राविधिकहरू उक्त समस्याको समाधान नभइकन घर फर्किन पाउँदैनन्।
यस्तै लगनशीलता र दृढ विश्वासको कारणले दक्षिण कोरियाको विकास सम्भव भएको आनको धारणा छ।
कोरियाको भ्रमणबाट फर्केलगत्तै साउनको तेस्रो शनिबार वागमती सफाइमा सहभागी हुन जाँदा कोरियाली राजदूत चोई योङ जीन आफ्ना ४० भन्दा बढी सहयोगीका साथ वागमती सफाइ अभियानमा सहभागी भएको पाएँ।
त्यसैले कोरियालीले जस्तै हामीले पनि जहाँ छौं, त्यहींबाट आआफ्नो काम गरेमात्र पनि कोरियाजस्तै नेपालको पनि विकास हुनसक्ने देखिन्छ।paanakhabar
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks