४० करोडको जग्गा हडप्ने आमाछोराको यस्तो योजना

पोखरा : सबै कागजपत्र किर्ते बनाएर करिब चालिस करोड मूल्य पर्ने जग्गा हडप्ने आमाछोराको योजना खुलासा भएको छ।

किर्ते योजनामा संलग्नरामेछापको चुरचुरे ८ घर भई काठमाडौं बस्ने ७० वर्षीया गंगामाया कार्की र उनका २५ वर्षीय छोरा टंकबहादुर पक्राउ परेका छन्। काठमाडौंको कालीमाटीमा बस्दै आएकी गंगामाया र छोरा गत शनिबार पोखरा आइपुगेका थिए।

उनीहरूले आइतबार एक होटलमा बसेर जग्गा नामसारी गर्दा चाहिने नागरिकता, मृत्यु दर्ता, फुकुवापत्र, छाप, हस्ताक्षरसहितका कागजपत्र बनाएको अनुसन्धानबाट खुलेको छ। गिरोहमा संलग्न थप तीनजना फरार छन्। पक्राउ परेकी एक युवतीको नाम र ठेगाना प्रहरीले खुलाएको छैन।

दुई वर्षअघि मृत्यु भएका पोखरा ४ गणेशटोलका कृतिकुमार बाटाजुको नामको पोखरा १७ स्थित होटल ग्रान्डअगाडि मुलबाटोमा रहेको ६ रोपनी दुई आना, दुई पैसा, दुई दामको जग्गा गिरोहले गंगामायालाई बाटाजुकी श्रीमती हर्षकुमारी बनाएर नामसारी गर्न लागेका थिए। जग्गाको प्रचलित मूल्य करिब ४० करोड भएको प्रहरीले जनाएको छ। २०५९ चैत्र २ गते कृतिकुमारको मृत्यु भएको थियो। त्यसको २० दिनपछि नै हर्षकुमारीको पनि निधन भएको थियो।

पोखरा र काठमाडौंमा जग्गा दलाली गर्ने गरोहको योजनामा गंगामायाको नाममा उक्त जग्गा नामसारी गर्न लागिएको थियो। मालपोत कार्यालय कास्कीमा मोठ भिडाएर मालपोत अधिकृतको दस्तखत गर्न लाग्दा शंकास्पद ठानेर खोजबिन गर्दा किर्ते गरिएको खुलासा भएको थियो। मालपोत अधिकृत केशवराज भट्टराईले फुकुवापत्रमा करिब दुई साताअघि पोखराबाट सरुवा भइसकेका पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत महेश बरालको नाम देखेपछि फाइल रोकेका थिए।

‘पहिले नै सरुवा भइसकेका कार्यकारी अधिकृतको नाम र हस्ताक्षर रहेको पत्र बुधबारको मितिमा देखेपछि शंका लागेर रोकें,’ उनले भने, ‘बुझ्दै जाँदा हस्ताक्षर, थर, लेटरप्याड, फन्ट सबै किर्ते पाइएपछि प्रहरीलाई खबर ग:यौं।’

अधिकृतले नमिल्ने बताएर फाइल रोकेलगत्तै किर्ते गर्न पुगेको गिरोह मालपोतबाट फरार भएको थियो। लेखापढी गरेका कृष्णप्रसाद सैंजुले फाइल झुट्टा भएको बुझेपछि हारगुहार गरी गिरोहको खोजीमा लागेका थिए।

सादा पोशाकका प्रहरीसहितको टोलीले गंगामाया र एक युवतीलाई लेकसाइडको जरेवरस्थित होटल होलीडेबाट बुधबार राति समातेको थियो भने टेकबहादुरलाई काठमाडौं जान लाग्दा पृथ्बीचोकबाट समातेको थियो। ‘टेकबहादुरको मोबाइलको लोकेसन पत्ता लगाएर खोज्दै जाँदा बस कुरिरहेको अवस्थामा फेला पार्‍यौं,’ कास्कीका अनुसन्धान अधिकृत देवीप्रसाद पौडेलले भने।

कास्कीका प्रहरी नायवउपरीक्षक केदार रजौरेले पोखरा र काठमाडौंमा जग्गाको दलाली गर्ने गिरोहको सक्रियतामा करोडौंको जग्गा हड्प्ने प्रयास भएको बताए।

हड्प्ने प्रयास भएको बताए।

Stock market ideas in Nepali language