पैसा छ, तर कहाँ लगानी गर्ने भनेर चिन्तित हुनुहुन्छ ? वा, दु:ख गरी कमाएको/बचत गरेको पैसा कम ब्याज आउने गरी बैंकमा राख्नुभएको छ ? के त्यसलाई सुरक्षित तवरले लगानी गरी राम्रो प्रतिफल कमाउन चाहनुहुन्छ ? त्यसो हो भने, सेयरमा लगानी पनि एउटा राम्रो विकल्प हुन सक्छ । सेयर बजार त्यस्तो क्षेत्र हो, जसमा सचेत र विवेक पुर्याएर लगानी गरे छोटो समयमै मनग्य कमाइ गर्न सकिन्छ । तर सचेत भने हुनैपर्छ किनभने सधैं कमाउने ग्यारेन्टी पटक्कै हुँदैन ।
प्राथमिक बजार
प्राथमिक निष्कासन (आईपीओ/एफपीओ) र द्वितीय गरी सेयर बजारलाई दुई भागमा विभाजन गर्न सकिन्छ । कम्पनीले पहिलो पटक (सुरुमा) निष्कासन गरेको सेयरलाई प्राथमिक सेयर बजार भनिन्छ । चुक्ता पुँजीको निश्चित प्रतिशत सेयर सर्वसाधारणलाई वितरण गर्न कम्पनीहरूले प्राथमिक निष्कासन गर्छन् । कतिपय अवस्थामा फर्दर पब्लिक अफरिङ (एफपीओ) मार्फत पनि सर्वसाधारणलाई सेयर निष्कासन गरिन्छ ।
दोस्रो बजार
कम्पनीले सर्वसाधारणका लागि सेयर निष्कासन गरिसकेपछि ती सेयर दोस्रो बजारमा कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत गर्नुपर्छ । सूचीकृत भएको बढीमा सात दिनभित्र ती सेयरको कारोबार हुन्छ । यसलाई दोस्रो बजार भनिन्छ । दोस्रो बजारमा धितोपत्र ब्रोकर कम्पनीमार्फत सेयर खरिद/बिक्री हुन्छ ।
बजार प्रवेश
प्राथमिक सेयर (आईपीओ/एफपीओ) निष्कासनका लागि कम्पनीले राष्ट्रिय दैनिक पत्रिकामा सूचना (विवरणपत्र) प्रकाशन गर्नुपर्छ । त्यसमा कति रकमको सेयर खुलेको हो, कति मूल्यमा, कहिलेसम्म आवेदन दिन पाइन्छ, आवेदन फारम कहाँ पाइन्छ, लगानी गर्न सकिने न्यूनतम र अधिकतम सीमा कति होलगायत सम्पूर्ण विवरण हुन्छ । यसकारण प्राथमिक सेयरमा लगानी गर्नुअघि यस्तो विवरणपत्र हेर्नुपर्छ । त्यसपछि तोकिएको आवेदन संकलन केन्द्रमा गएर फारम भरेर बुझाउनुपर्छ । फारम भर्दा नागरिता र पासपोर्ट साइजको दुईवटा फोटो आवश्यक हुन्छ । प्राथमिक सेयरमा लगानीका लागि बैंक खाता र डिम्याट खाता अनिवार्य हुन्छ । सेयर भर्दा फारममा ती खाता नम्बर पनि उल्लेख गर्नुपर्छ । यसरी सेयर भर्दा नगद वा चेकमार्फत पैसा भुक्तानी गर्नुपर्छ । सामान्यतया ५० हजार रुपैयाँभन्दा धेरैको सेयर कारोबार चेकमार्फत गर्नुपर्ने व्यवस्था छ ।
कम्पनीले प्राथमिक सेयरको आवेदन संकलन मिति सकिएको ४५ दिनदेखि दुई महिनासम्ममा सेयर बाँडफाँड गर्नेछन् । बाँडफाँड भएको सेयर आफूलाई कति कित्ता पर्यो भनेर हेर्नुपर्छ । सेयर निष्कासनकर्ता (बिक्री प्रबन्धक) को कार्यालय, विभिन्न वेबसाइटमार्फत सेयर बाँडफाँडको नतिजा थाहा पाउन सकिन्छ । अचेल सेयर बजारसम्बन्धी ‘अनलाइन पोर्टल’ हरूमा पनि सेयर बाँडफाँडको नतिजा हेर्ने सुविधा छन् । सेयर परेको प्रमाणपत्र र नपरेको रकम सुरुमा आवेदन संकलन गरेकै स्थानबाट फिर्ता पाइन्छ । आफूलाई परेको सेयर बिक्री गर्नका लागि दोस्रो बजारमै जानुपर्छ ।
डिम्याट सेयरको मात्र कारोबार
नेपाली सेयर बजारमा गत वर्षदेखि अभौतिक सेयर (डिम्याट अर्थात् कागजी रूपमा रहेको सेयर विद्युतीय माध्यममा परिणत गर्ने प्रक्रिया) को कारोबार हुँदै आएको छ । भौतिक (कागजी) सेयरको कारोबार गर्दा हुने विभिन्न झन्झट न्यूनीकरण गरी सेयर बजारलाई व्यवस्थित, पारदर्शी, सुरक्षित र आधुनिक बनाउने उद्देश्यले डिम्याट सेयर मात्र कारोबार सुरु गरिएको हो । यो व्यवस्था लागू भएपछि प्राथमिक निष्कासनमा परेको सेयर ‘डिम्याट’ रूपमै पाइन्छ । तपाईंलाई परेको सेयर तपाईंको डिम्याट खातामा सीधै जम्मा हुन्छ । यसकारण सेयर फारम भर्दा डिम्याट खाता अनिवार्य चाहिन्छ । सेयरमा लगानी गर्ने हो भने यस्तो खाता खोलिराख्दा हुन्छ ।
कसरी खोल्ने डिम्याट ?
डिम्याट खाता पनि बैंक खाता जस्तै हो । यस्तो खाता खोल्नका लागि धितोपत्र बोर्डबाट निक्षेप सदस्यता (डिपोजिटरी पार्टिसिपेन्ट अर्थात् डीपी) सेवाका लागि अनुमति पाएका कम्पनीमा गएर यस्तो खाता खोल्न सकिन्छ । हाल धितोपत्र ब्रोकर, बैंक तथा वित्तीय संस्था, मर्चेन्ट बैंकर, हस्तान्तरण प्रतिनिधिलगायत संघसंस्थाले बोर्डबाट अनुमति लिएर यस्तो सेवा सञ्चालन गरेका छन् । आफूलाई पायक पर्ने कुनै कम्पनीमा गएर ‘डिम्याट’ खाता खोल्नुपर्छ । यसका लागि नागरिकताको फोटोकपी र दुईप्रति पासपोर्ट साइजको फोटो चाहिन्छ । यस्तो खाता खोल्न एक खाता बराबर १ सय ५० रुपैयाँभन्दा बढी शुल्क लिन नपाइने व्यवस्था बोर्डले गरेको छ ।
पहिले खरिद गरेको सेयर भौतिक (कागजी) प्रमाणपत्रका रूपमा पाइन्थ्यो । त्यो व्यवस्था हटेकाले अहिले विद्युतीय रूपमा डिम्याट खातामा जम्मा हुन्छ । डिम्याट खाता खोल्दा कम्पनीले बैंकको जस्तै चेकबुक दिन्छ । सेयर बिक्री गर्दा चेक काटेर दिनुपर्छ । खरिद गरेको अवस्थामा उक्त सेयर लगानीकर्ताको डिम्याट खातामा जम्मा हुन्छ । यसकारण अहिले सबै प्रकारका सेयर कारोबारका लागि डिम्याट खाता अनिवार्य गरिएको हो । डिम्याट सेयरको मात्र कारोबार सुरु भएपछि कागजी सेयर पनि डिम्याट गर्नुपर्छ । त्यसका लागि आफूसँग भएको सेयर डिम्याट खाता खोलेको कम्पनी वा सम्बन्धित बिक्री प्रबन्धक डिम्याट गराउनुपर्छ । त्यसपछि मात्र कारोबारका लागि योग्य हुन्छन् ।
दोस्रो बजारमा कारोबार
प्राथमिक बजारको तुलनामा दोस्रो बजार बढी जोखिमपूर्ण छ । यो बजारमा कारोबारका लागि लगानीकर्ताले धितोपत्र ब्रोकरकहाँ जानुपर्छ । लगानीकर्ताको आदेशबमोजिम सेयरको खरिद र बिक्री गरिदिनका लागि धितोपत्र बोर्डबाट अनुमतिप्राप्त कम्पनीलाई स्टक ब्रोकर (धितोपत्र दलाल) भनिन्छ । सर्वप्रथम कुनै एक ब्रोकर कम्पनीमा गएर लगानीकर्ता परिचयपत्र नम्बर (इन्भेस्टर्स आईडी) लिनुपर्छ । उक्त नम्बर लिनका लागि ब्रोकर कार्यालयमा गएर एउटा फारम भर्नुपर्छ । लगानीकर्ताको पूर्ण पहिचानसहितको उक्त फारमसँगै आफ्नो नागरिकताको फोटोकपी पनि बुझाउनुपर्छ । त्यसपछि मात्र दोस्रो बजारमा लगानी गर्न बाटो खुल्छ । दोस्रो बजारमा सेयर कारोबारका लागि सर्वप्रथम लगानी गर्ने कम्पनी छनोट गर्नुपर्छ । त्यसपछि ब्रोकर कम्पनीमा गएर खरिद आदेश दिनुपर्छ । यस्तो आदेशपछि ब्रोकरले तपाईंका लागि सेयर खरिद गरिदिन्छ । सेयर कारोबार भएपछि प्राप्त गरेको रकम, धितोपत्र वा कागजात प्राप्त गरेकै दिन वा भोलिपल्टसम्म सम्बन्धित पक्षलाई बुझाउनुपर्नेछ । सेयर बिक्री गर्न चाहेको हो भने पनि ब्रोकर कम्पनीमा गएर बिक्रीका लागि आदेश दिनुपर्छ । यसरी बिक्री भएको सेयरबापतको पैसा त्यही दिन वा भोलिपल्ट ब्रोकर कम्पनीले भुक्तानी दिनेछ ।
‘टी प्लस थ्री’
दोस्रो बजारमा सेयर खरिद/बिक्री भएको तीन दिनभित्र हिसाब मिलान गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । यसैलाई ‘टी प्लस थ्री’ भनिन्छ । सेयर बजारको भाषामा कारोबार भएको दिनलाई ‘टी प्लस जिरो’ भनिन्छ । त्यसको भोलिपल्ट ‘टी प्लस वान’ हो । यो रकम राफसाफ (सेटलमेन्ट) गर्ने दिन हो । यस दिन कारोबार भएको सेयर रकम ब्रोकरले सीडीएसको खातामा स्थानान्तरण गरिदिनुपर्छ । अर्को दिन ‘टी प्लस टु’ भनिन्छ । यस दिन सेयर बेच्नेले बेचेको सेयर सीडीएसमा जम्मा गर्नुपर्छ । अन्तिम दिन ‘टी प्लस थ्री’ हो । उक्त दिन सीडीएसले सेयर बिक्री गर्नेलाई पैसा र खरिद गर्नेलाई सेयर प्रदान गर्छ । तर यी सबै काम ब्रोकरमार्फत हुने भएकाले लगानीकर्ताले झन्झट व्यहोर्नु पर्दैन ।
बैंकिङ सुविधा
सेयर कारोबारमा लगानी गर्नका लागि बैंक तथा वित्तीय संस्थाबाट ऋण सुविधा पनि पाइन्छ । हाल बैंक तथा वित्तीय संस्थाले सेयर धितो राखेर र ब्रोकरको जमानीमा (सेयर धितो नराखी) गरी दुई प्रकारले ऋण दिंदै आएका छन् । सेयर धितो राखेर पाइने ऋणका लागि लगानीकर्ताले सेयर प्रमाणपत्र (हाल डिम्याट खातामा सेयर रहेको प्रमाणित कागजात) धितो राख्नुपर्छ । बैंक तथा वित्तीय संस्थाले धितोमा रहेको सेयरको बजार मूल्यको बढीमा ५० प्रतिशत रकम बराबर ऋण दिन्छन् । यसअघि ६० प्रतिशत रहेको उक्त सीमा चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत घटाएर राष्ट्र बैंकले ५० प्रतिशतमा झारेको हो ।
ऋणको ब्याजदर
बैंक तथा वित्तीय संस्थाले सेयर खरिदका लागि प्रवाह गर्ने ऋणमा एकै प्रकारको ब्याजदर पाइँदैन । नियमित रूपमा बैंकिङ कारोबार गरिरहेका, नियमित आम्दानीको स्रोत भएका, राम्रा (ब्लु चिप) कम्पनीका सेयर भएका लगानीकर्ताले केही सस्तो ब्याजदरमा ऋण पाउँछन् । अन्य लगानीकर्ताले भने केही महँगो ब्याज तिर्नुपर्छ । पैसा नभएको भन्दै हाल अधिकांश बैंकले सेयर (मार्जिन प्रकृतिको) लगानीमा ऋण प्रवाह रोकेका छन् । यसअघि (अधिक तरलता हुँदा) बैंक तथा वित्तीय संस्थाले औसत ७ देखि ८ प्रतिशतमा यस्तो कर्जा प्रवाह गरेका थिए । अहिले यो बढेर ११ देखि १३ प्रतिशतसम्म पुगेको बैंकर बताउँछन् । सेयरमा लगानीका लागि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिंदा नागरिकताको फोटोकपी, धितोमा राख्ने सेयर, डीपी कम्पनीमार्फत डिम्याट खातामा सेयर रहेको प्रमाणीकरणलगायत बैंकले माग्ने कागजात चाहिन्छ ।
नबुझी लगानी गरे डुबिने डर
सेयर बजारमा लगानी गर्दा सधैं नाफा मात्र हुन्छ भन्ने छैन । कहिलेकाहीं नोक्सान पनि बेहोर्नुपर्छ । कम्पनीबारे नबुझी हल्लाका भरमा लगानी गर्दा नोक्सानको सम्भावना धेरै हुन्छ । धेरैले ठूलो सम्पत्ति गुमाएका पनि छन् । तर कम्पनीको अवस्था, विगत ४/५ वर्षयताको कारोबार, कम्पनीको व्यावसायिक रणनीति, उद्देश्य, मुनाफा वितरणको अवस्था, राजनीतिक अवस्था, नियामक निकायका निर्देशनलगायत पक्ष अध्ययन गरी लगानी गरे लगानी डुब्ने सम्भावना कम हुन्छ । आफूले लगानी गरेको कम्पनीका बारेमा सधैं अपडेट भइराख्नुपर्छ । वित्तीय अवस्थामात्रै होइन, सम्बन्धित कम्पनीका सञ्चालक र उक्त कम्पनीसँग सम्बन्धित नियामक निकायका निर्देशन पनि हेर्नुपर्छ ।
कसरी बन्ने जानकार ?
सेयर बजारसम्बन्धी जानकारीका लागि बजारमा विभिन्न पुस्तक उपलब्ध छन् । केही संघसंस्थाले सेयर कारोबारसम्बन्धी तालिम पनि दिंदै आएका छन् । सेयर बजारलाई नै लक्षित गरी विभिन्न पत्रपत्रिका, अनलाइन पनि खुलेका छन् । त्यसबाट पनि धेरै जानकारी पाउन सकिन्छ । कम्पनीहरूको वेबसाइट, मासिक तथा वार्षिक पत्रपत्रिका, वासलातलगायत सञ्चालक समितिका निर्यणहरूबाट पनि महत्त्वपूर्ण जानकारी प्राप्त गर्न सकिन्छ । यस क्षेत्रका विज्ञहरू, अग्रज लगानीकर्ता, धितोपत्र ब्रोकरलगायतबाट पनि धेरै सूचना पाउन सकिन्छ ।
“१० वर्षमै नसोचेको कमाएँ”
– दीपराज खत्री, सेयर लगानीकर्ता
मेरो घर कैलालीको धनगढी हो । अहिले मेरो अधिकांश समय सेयर बजारको ‘बुलिस’ र ‘बियरिस’ ट्रेड विश्लेषणमै खर्च हुन्छ । कम्पनीहरूको सैद्धान्तिक र प्राविधिक पक्षका साथै ‘मार्केट ट्रेन्ड’ अध्ययन गरी सेयर खरिद र बिक्रीसम्बन्धी निर्णय गर्नु मेरो दैनिकी बनेको छ । म दशकअघि सेयर बजारमा प्रवेश गरेको हुँ । सुरुमा ६० हजार रुपैयाँबाट प्राथमिक निष्कासन (आईपीओ) मा लगानी सुरु गरेको थिएँ । मेरो ‘पोर्टफोलियो’ अहिले करिब डेढ करोड रुपैयाँ पुगेको छ । एक दशकमा सेयर बजारबाट धेरै कमाएँ ।
पहिलो पटक आईपीओमा लगानी गर्दा प्लस टु पढ्दै गरेका २० वर्षे लक्का जवान थिएँ । अग्रज दाजुहरूको कुरा सुनेर सेयरमा लगानी गर्ने इच्छा जाग्यो तर मसँग पैसा थिएन । दाजुहरूकै सल्लाहअनुसार आमाको सुनको गहना बैंकमा धितो राखेर ६० हजार रुपैयाँ कर्जा निकालेँ । त्यो पैसा तत्कालीन क्लिन इनर्जी डेभलपमेन्ट बैंकको आईपीओमा हालँे । सेयर बाँडफाँड हुँदा ४० कित्ता मात्र पर्यो । त्यसपछि खुलेका सबै कम्पनीका प्राथमिक निष्कासनमा लगानी गर्दै आएको छु ।
पहिलो संविधानसभाको चुनावभन्दा एक महिनाअघि मात्र दोस्रो बजारमा प्रवेश गरेको मैले हालसम्म सेयर मार्केटमा १ करोड ५० लाख रुपैयाँ बराबरको ‘पोर्टफोलियो’ बनाइसकेको छु । सेयर बजारमा आफूलाई भाग्यमानी ठान्छु । इन्डेक्सले पनि सपोर्ट गर्यो, यसकारण राम्रो कमाइ गर्न सकियो । यसअघि नेप्से परिसूचक १ हजार ७ सय बिन्दुमा रहँदासम्म मैले आफ्नो पोर्टफोलियोको करिब ८० प्रतिशत सेयर बिक्री गरी मुनाफा सुरक्षित गरेँ । यसपालिको वृद्धिमा सबै लगानी उठाएर पनि राम्रो मुनाफा आर्जन गरेँ ।
सेयर बजारमा लगानी गरी धेरै कमाउन कम्पनीको अवस्था, कम्तीमा पनि ३ वर्षको ट्रेन्ड, सेयर प्रतिफल, कम्पनीको वासलात, व्यावसायिक रणनीति, नियामक निकायको निर्देशन, कम्पनीको अन्य पक्षबारे सूक्ष्म तवरले अध्ययन गर्नुपर्छ ।
(कुराकानीमा आधारित)