सेयरमा लगानी गर्दै हुनुहुन्छ ? पढ्नुहोस् १० ‘इन्भेस्टमेन्ट टिप्स्’

सेयरमा गरिने लगानी अन्य क्षेत्रमा गरिने लगानीको तुलनामा बढी जोखिम र अनिश्चित हुने गर्दछ । त्यसैले यसमा गरिने लगानी बढी संवेदनशील हुन्छ । यसमा हुने उतारचढावलाई सेयरबजारको सुन्दरता मानिन्छ । स्टक मार्केटमा जोखिम र अनिश्चितताभित्र खेलेर नै मुनाफा आर्जनको अवसर प्राप्त गर्ने हो । जोखिमलाई अवसरमा परिणत गर्न सक्ने व्यक्ति नै यस क्षेत्रमा सफल हुनेगरेका छन् । यसर्थ यसमा लगानी गर्दा बढो बुद्धिमानी र विवेकपूर्ण तरिकाले लगानी गर्नु आवश्यक हुन्छ । हचुवाको भरमा सेयर बजारमा छिर्दा घर सम्पत्ति गुमाएका उदाहरण धेरै छन् । सानो लगानीबाट पनि करोडपति बनेका उदाहरण पनि यही बजारमा छन् । त्यसैले एउटै बजारमा यी दुई अवस्था आउनुका पछाडि कसले धेरै विवेकपूर्ण ढङ्गले विश्लेषण गरेर लगानी गर्यो भन्ने कुरा हो । बजारको राम्रो ज्ञान भएको व्यक्ति करोडपति भयो भने बजारको ज्ञानविना लगानी गरेको व्यक्तिले नोक्सान ब्यहोर्नुपर्यो । त्यसै पनि नेपालको सेयर बजार परिपक्व बन्न सकेको छैन । सीमित बजार क्षेत्र, सूचीकृत कम्पनीमा विविधता नहुनु, एउटै प्रवृत्तिका लगानीकर्ता, मार्केट मेकर र संस्थागत लगानीकर्ताको अभाव, प्राविधिक तथा नीतिगत कुराहरुमा यथोचित प्रगति हुन नसक्नु, लगानीकर्ताहरुमा सेयर साक्षारताको अभाव, बजारमा सूचनाको चुहावट, बजारमा सीमित व्यक्तिको प्रभाव, लगानीकर्ताको कमजोर आत्मविश्वास र हल्ला संस्कृति, नियामकको कमजोर सुपरिवेक्षण जस्ता कारणहरुले नेपाली पुँजी बजार सधैँ अस्थिर बन्ने गरेको छ । यसर्थ पनि आफ्नो लगानीमा जोखिम कम गर्न लगानीकर्ता सधैँ चनाखो हुनुपर्ने देखिन्छ । सेयर बजारलाई पूर्ण रुपमा जोखिमरहित बनाउन सकिन्छ भन्ने त होइन तर तथ्यगत बजार विश्लेषणबाट गरिने लगानीलाई धेरै हदसम्म सुरक्षित गरेर नाफा कमाउन सकिन्छ । सेयरको लगानी सफल बनाउनका लागि केही इन्भेस्टमेन्ट टिप्स् यहाँ प्रस्तुत गरिन्छ ः

१. स्पष्ट योजना बनाउनुहोस्
हामीले बजारमा गएर एउटा चाउचाउ किन्दा त कुन चाउचाउ किन्ने ? कुन कम्पनीको चाउचाउ मीठो छ भन्ने जस्ता योजना बनाएर जान्छौँ भने अझ सेयरमा लगानी गर्दा खरिदपूर्वका योजनाहरु अपरिहार्य हुन्छन् । तपाईंले कतिको लगानी गर्ने हो ? तपाईंले गर्ने लगानी अल्पकालीन गर्ने हो या दीर्घकालीन ? न्यूनतम कति नाफा भएपछि बजारबाट निस्कने हो ? या यदि घाटा नै हुने स्थिति आएमा कतिसम्म होल्ड गर्ने हो ? तपाईंसँग रहेको पुजी ऋणमा हो या होइन ? तपाईंको पुजी कति समयसम्म बजारमा परिचालन गर्न सक्नुहुन्छ यस्ता विविध कुराहरुको स्पष्ट योजना बनाएर मात्र पुजी बजारमा छिर्नु उपयुक्त हुन्छ । मानौं तपाईंले कोहीसँग एक महिनाका लागि ५ लाख ऋण खोजेर सेयरमा लगानी गर्नु भयो । सेयर सधैँ बढ्छ भन्ने ग्यारेन्टी हँुदैन । यदि त्यो एक महिनाको अवधिमा तपाईंको सेयर घटेर ३ लाख मा झर्यो भने तपाईंलाई दुई लाख नोक्सान पर्न जान्छ । किनभने तपाईंसँग प्रयाप्त स्रोत नभएको अवस्थामा त्यो ऋण तिर्नको लागि तपाईंलाई घाटा सहेरै सेयर बेच्ने बाध्यता आइपर्छ । त्यसकारण तपाईंले सकेसम्म दीर्घकालीन लगानीको सोच बनाउनुहोस् । आफ्नो पुँजी कमसेकम पनि ६ महिना एक वर्षसम्म बजारमा रहँदा फरक नपर्ने होस् । चाहे त्यो ऋणमा लिएको होस् या त तपाईंको आफ्नै पैसा । यसो भयो भने यदि सेयरमा घाटा हुने स्थितिमा पनि तपाईंले सेयर होल्ड गरेर आफ्नो लगानी उठेपछि बेच्न सक्नुहुन्छ । तपाईंलाई घाटामै सेयर बेच्नुपर्ने बाध्यता आउँदैन । तपाईंको लगानी सुरक्षित हुन्छ । बजारमा त्यस्ता धेरै लगानीकर्ता भेटिन्छन् जसले आफ्नो पर्याप्त स्रोतविना मुनाफा कमाउने आसमा छोटो अवधिका लागि ऋण खोजेरै लगानी गर्ने अनि बजार घटेको अवस्थामा पनि त्यो ऋण चुक्ता गर्नका लागि लाखौँ घाटा खाएर भए पनि सेयर बेच्ने काम गरेका हुन्छन् । तसर्थ तपाईंको लगानी कस्तो प्रकृतिको हो त्यसैअनुसार लगानी गर्नु आवश्यक हुन्छ ।

२. उपयुक्त कम्पनीको छनोट
धितोपत्र बजारमा सूचीकृत सबै कम्पनी राम्रा हुन्छन् भन्ने छैन । यहाँ कुनै कम्पनीले लगानीकर्तालाई राम्रो प्रतिफल दिएका छन् भने कुनैले राम्रो प्रतिफल दिन सकिरहेका छैनन् । त्यसैले सेयर बजारमा राम्रो आम्दानी गर्नका लागि पहिलो सर्त भनेकै राम्रो कम्पनीको छनौट गर्नु हो । यसका लागि कम्पनी विश्लेषण गर्नुहोस् । कम्पनी विश्लेषणको आधारभूत मापदण्ड भनेको कम्पनीका वार्षिक तथा त्रैमासिक प्रतिवेदनहरु हुन् । त्यसको अध्ययन गर्नुहोस् । त्यसको अलावा कम्पनीको व्यवस्थापकीय पक्ष, संस्थागत सुशासन, कम्पनीको लगानी नीति, लाभांश वितरणको इतिहास, मूल्य आम्दानी अनुपात, स्थापनाको अवधि, नेटवर्थ, प्रतिसेयर आम्दानी पुँजीकोष अनुपात, निष्कृय कर्जालगायत विविध वित्तीय सूचकहरुको अध्ययनबाट उपयुक्त कम्पनीको छनौट गरी लगानी गर्नुहोस् । यसो भएमा लगानी जोखिममा पर्ने सम्भावना कम हुन्छ । बजारमा जस्तोसुकै उतारचढाव आए पनि त्यस्ता कम्पनीले दिने आकर्षक प्रतिफलका कारण तपाईंको लगानी सुरक्षित हुन्छ । बजारमा एभरेस्ट, नवील, इन्भेस्टमेन्ट , स्टेन्डर्ड चार्टड, एस बी आई लगायतका केही राम्रा कम्पनीहरुलाई ब्लु चिप सेयरको रुपमा हेरिन्छ । तपार्इंले यस्तै यस्तै राम्रा कम्पनीलाई आधार मानेर अन्यको विश्लेषण गर्नुहोस् ।


३. पोर्टफोलियो म्यानेजमेन्टमा ध्यान दिनुहोस्

सेयरमा लगानी गरेर तपाईं सफल बन्न चाहानुहुन्छ भने तपाईंले लगानी गर्दा लगानीको विविधतालाई उचित तालमेल मिलाउनु अनिवार्य छ । बजारमा बैङ्किङ, जलविद्युत, बिमा, होटल, उत्पादनमूलक समूहहरुका सेयरहरु सुचीकृत छन् । यस्ता समूहहरु सधैँ एउटै प्रवृत्तिमा रहँदैनन् । बजारमा देखिने प्रभावअनुसार कहिले बैङ्किङ सूचक घटेको हुन्छ त कहिले बिमा सूचक बढेको हुन्छ । त्यसकारण तपाईंले विविध समूहमा लगानी गर्नुभयो भने एउटा समूहमा नोक्सान हुने स्थिति आयो भने अर्को समूहमा आउने वृद्धिले त्यसलाई सन्तुलनमा ल्याउन मद्दत गर्छ ।

४. म्युचुअल फन्डको सहयोग लिनुहोस्
तपाईं सेयर बजारमा नयाँ हुनुहुन्छ भने तपाईंलाई यस क्षेत्रको आवश्यक ज्ञान र अनुभवको कमी हुनसक्छ । यस्तो अवस्थामा तपाईंले नबुझी हचुवाको भरमा लगानी गर्नुभयो भने तपाईंलाई ठूलो नोक्सानी हुन्छ । यस्तो अवस्थामा तपाईंले म्युचुअल फन्डहरुको सहयोगमा लगानी गर्नु उपयुक्त हुन्छ । यस्ता फन्डहरुले कम्पनीको राम्रो विश्लेषण गरी तपाईंको लगानीलाई सुरक्षित बनाउन राम्रो विज्ञता प्रदान गर्छन् । केही निश्चित शुल्क तिरेपछि उनीहरुले तपाईंको पुँजीलाई उपयुक्त कम्पनीमा लगानी गरिदिन्छन् । यसबाट तपाईं अनुभवकै कमीले हुने जोखिमबाट बच्न सक्नुहुनेछ ।

५. इन्ट्री घट्दो चक्रमा गर्नुहोस्
सेयर बजार एउटा चक्र हो । यसमा घट्ने र बढ्ने चक्र निरन्तर जारी रहन्छ । सेयर बजारको आधारभूत नम्र्स नै घटेको बेला किन्ने र बढेको बेलामा बेच्ने हो । तर हाम्रो बजारको प्रवृतत्ति बजार बुलिस्ट ट्रेन्डमा रहेको समयमा उत्साहित भएर लगानी गर्ने । अनि घट्दो बजारमा चाहिँ अत्ताल्लिएर बेच्ने छ । तपाईंले यस्तो गर्नुभयो भने तपाईं सेयर बजारमा सफल बन्न सक्नुहन्न । किनभने सेयर सधैँ बढिरहने पनि होइन र सधैँ घटिरहने पनि होइन् । तपाई बुलिस्ट बजारमा प्रवेश गर्नुभयो भने तपाईंले राम्रो आम्दानी गर्न सक्नुहुन्न । किनभने तपाईको प्रवेश नै बजार बढेर एउटा चरण पार गरिसकेपछि भएको छ भने अब बजार धेरैमाथि जान त सक्दैन । त्यसैले लगानी गर्दा जहिले पनि घटेको समयमा नै गर्नुपर्छ । जुन समय अहिलेको वर्तमान बजारमा देखिएको छ ।

६. सेन्टिमेन्टलाई नियन्त्रण गर्नुहोस्
नेपाली पुँजी बजारमा अस्वाभाविक उतारचढाव आउनुको एक महत्वपूर्ण कारण भनेको लगानीकर्ताको कमजोर मनोविज्ञान देखिएको छ । बजारमा आउने सामान्य हल्ला र सूचनाले भारी उतारचढाव आउने गरेको छ । यसबाट समग्र पुँजी बजार नै अस्थिर हुने गरेको छ । कुनै स्पष्ट कारणविना नै ठूलो अन्तरले बढ्ने र घट्ने प्रवृत्ति देखिएको छ । यसर्थ पुँजी बजारमा छिरेपछि चाहिनेभन्दा बढी उत्साहित र हतोत्साहित हुने प्रवृत्तिलाई त्याग्नुपर्छ । बजार घट्न लाग्यो भन्दैमा अताल्लिँदै लाखौँ नोक्सानी खाएर सेयर नबेच्नुस् । किनभने बजार सधैँ घटिरहँदैन । तपाईंले निश्चित समय सेयर होल्ड गरेर बजार बढेपछि बेच्नुहोस् । सेयर किनेपछि एउटा निश्चित रकम बढेपछि बेच्नुहोस् । यदि तपाईंले बढेको समयमा सेयर नबेची अझै बढ्ने आशामा बस्नुभयो भने त्यो सेयर घटेर फेरि तपाईंलाई नोक्सान हुने स्थिति पनि आउन सक्छ ।

७. टाइमिङ मिलाउनुहोस्
बजार चक्रमा प्रवेश गर्ने र बाहिरिने उपयुक्त समय चयन गर्दा सेयर बजारमा नाफा कमाउन सजिलो हुन्छ । यसर्थ घट्दो बजारमा प्रवेश गरी बढ्दो बजारमा निस्किनु उपयुक्त हुन्छ । बजार बढी नै उतारचढावपूर्ण छ भने निश्चित समय पर्ख र हेरको रणनीति अपनाउनुहोस् ।

८. सल्लाहका लागि एउटैको भर नपर्नुहोस्
हाम्रो बजारमा सेयर साक्षारताको अभाव र आधिकारिक परामर्शदाताहरुको व्यवस्था नहुनाले सेयर खरिदसम्बन्धी निर्णयका लागि अधिकांश लगानीकर्ताहरु पुराना र ठूला लगानीकर्ताहरुको भर पर्नुपर्ने स्थिति छ । यस्तो अवस्थामा कहिले काहीँ उनीहरुले दिने सुझाव पनि उपयुक्त नहुँदा लगानीकर्ताहरुले गलत कम्पनीको सेयर खरिद गर्ने गरेका छन् भने कतिपय स्थितिमा त ठूला लगानीकर्ताले आफ्नो स्वार्थ अनुरुपको सुझाव दिँदा लगानीकर्ताले नोक्सानी बेहोर्नुपरेको गुनासो सुनिन्छ । यसकारण तपाईं सकेसम्म त आफूले किन्ने कम्पनीको आफै नै कम्पनी विश्लेषण गर्ने प्रयास गर्नुस् । त्यो सम्भव छैन भने धेरैभन्दा धेरै जानकारहरुसँग परामर्श गरी विकल्पहरुको तुलना गरेर लगानी गर्नुहोस् ।

९. मूल्य समायोजन गर्न सिक्नुहोस्
तपाईंले कुनै ए कम्पनीको १०० कित्ता सेयर १००० मा किन्नुभयो । कारणवश बजार घटेर उक्त कम्पनीको सेयर मूल्य ५०० आयो । यो स्थितिमा तपाईं अताल्लिएर घाटामै सेयर नबेच्नुहोस् । बरु पुरानो सेयरको मूल्य समायोजन गर्नको लागि तपाईंले घटेको ५०० मूल्यमै थप १०० कित्ता सेयर किन्नुहोस । अब तपार्इंले खरिद गरेको जम्मा २०० कित्ता सेयरको मूल्य प्रतिकित्ता ७५० मा आयो । यसअघि घटेको रु ५०० बाट तपाईंको खरिद मूल्यसम्म आउन ५०० थप बढ्नुपर्नेमा थप सेयर खरिद गरी मूल्य समायोजन गरेपछि २५० बढ्दा नै तपाईंले आफ्नो लगानी उठाउन सक्नुहुन्छ ।

१०. सूचनाप्रति सधैँ चनाखो रहनुहोस्
पुँजी बजार एउटा त्यस्तो क्षेत्र हो जहाँ यससँग सम्बन्धित सूचनालाई मूल्यमा परिणत गर्न सकिन्छ । त्यसैले सेयर बजारलाई प्रभाव पार्ने सूचनाहरुको जानकारीको लागि नेप्से, धितोपत्र बोर्ड, राष्ट्र बैङ्क, अर्थ मन्त्रालय, बिमा समिति तथा सूचीकृत कम्पनीहरुका सूचना तथा जानकारीप्रति सधैँ अपडेट रहनुहोस् ।
अतः पुँजी बजारमा सफल बन्नका लागि लगानीकर्ता संयम र विवेकशील हुनु जरुरी छ । जसबाट जोखिमको न्यूनीकरण गरी नाफा कमाउने उद्देश्यलाई सार्थक पार्न सकियोस् ।

ratopati.com

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks