साउदीको कमाइले गाउँमा घर र काठमाडौंमा जग्गा

सागरविक्रम बस्नेत/रामेछाप

रामेछाप, असोज २ – साउदी अरबमा दुई वर्ष गरेको मेहनतको कमाइले रामेछापको मन्थली–८ का लेखनाथ काफ्लेले घर बनाउनुभयो । ऋण गरेर काठमाडौंमा किनेको आठ आना जग्गाको ऋण पनि तिर्नुभयो । थप कमाइको सपनामा उहाँ तीन महिनामै साउदी नै फर्किनुभयो । २०६९ सालमा दोश्रो पटक साउदी उड्दै गर्दा बुवाआमालाई पनि आफैंसँग राख्ने थप सपना सुनाएको आमा सीताले अझै विर्सनुभएको छैन । थप कमाइ सबै जोगाउने र बुबा आमालाई सुख दिने लेखनाथको सपना १९ महिनाभन्दा धेरै टिकेन । २०७१ साल असोज ३० गते काममा जाने क्रममा लेखनाथ चढेको गाडी सडक छेउको पर्खालमा ठोक्कियो र उहाँको ज्यान गयो ।

विदेश गएर घरको आर्थिक अवस्था सुधार्ने लेखनाथको सपना धेरथोर पूरा त भयो तर दोस्रो पटकको कमाई ल्याएर बुबाआमासँगै बस्ने सपना भने अधुरै भयो । लेखनाथको कुरा गर्यो कि बुवा मेदीनीप्रसाद भक्कानो छोडेर रुन थाल्नुहुन्छ । आमा सीता त लेखनाथको निधन भएको खवर आएदेखि नै टोहोलाइरहने हुनुभएको छ । ‘एकै ठाउँमा बसिरहँदा छोराको याद धेरै आउने भएकाले उहाँ कहिले भैंसी र बाख्रा चराउन त कहिले घाँस दाउरा गरेर मन वहलाउन जानुहुन्छ ।छोरा गुमाएका काफ्ले दम्पतिलाई छोरा दोश्रो पटक जाँदाको ऋण कसरी तिर्ने भन्ने चिन्ता पनि छ । पैसा कमाउन विदेश गएका छोरा उतैबाट कहिल्यै घर नर्फकिने बाटो लाग्दाको पीडा त छँदैछ बाँकी रहेको एक लाख रुपैयाँ ऋण र त्यसको ब्याज कसरी तिर्ने भन्ने चिन्ताले पनि सताएको छ । पहिल्यैदेखिको ऋण तिरेर घर बनाउन अनि काठमाडौंमा जग्गा किनेका लेखनाथले दोस्रो पटक जाँदा लिएको एक लाख रुपैयाँ भने तिर्नुभएको थिएन । ‘जग्गा किन्दाको ऋण, पहिलाको ऋण, घर बनाएको ऋण गरी बिदेशबाट ल्याएको सवै पैसा सकिएपछि ऋण काढेर गएको थियो’ मेदिनी भन्नुहुन्छ ।

पूरा भएन बिहे गर्ने सपना

सीता र मेदीनीनाथका ४ जना छोरामध्ये लेखनाथ कान्छा हुनुहुन्थ्यो । दुईजना छोराको विहे भइसकेको काफ्ले परिवारमा अव विहे गर्ने पालो लेखनाथकै थियो । दोस्रोपटक साउदी जाने बेलामा उहाँले दुई वर्ष बसेर फर्किएपछि विहे गर्ने योजना सुनाउनुभएको थियो ।

‘ऋण तिरेर जग्गा पनि किनें अव जाँदाको ऋण तिर आएपछि चाहिँ बिहे गर्छु भनेको थियो’ सीताले भन्नुभयो । तीन छोरामध्ये जेठा र माइला छोरा छुट्टिएर गाउँमै बस्नुहुन्छ । साँइला छोरा कामका लागि काठमाडौंतिरै हुनुहुन्छ । त्यसैले लेखनाथका बुवाआमा अहिले साइली बुहारीसँग बस्नुहुन्छ । छोराको ज्यान गएपछि एकोहोरिएका मेदिनीप्रसाद र सीतालाई सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र मन्थलीका मनोसामाजिक परामर्शकर्ता प्रमिला घिमिरेले परामर्श पनि दिइरहनुभएको छ । ‘उनी आएर सम्झाउँदा केहिबेर मन बुझे जस्तो हुन्छ तर पनि कसरी विर्सिनु र ? मेदिनीले भन्नुभयो ।