sachin

सचिनले नभुल्ने क्रिकेट जीवनका ८ घटना

चर्चित ब्याट्सम्यान सचिन तेन्दुल्करलाई भारतीय क्रिकेटमा ‘गड अफ क्रिकेट’को उपनाम पनि दिइन्छ । ११ वर्षको उमेरदेखि क्रिकेट ब्याट घुमाउन थालेका उनी सन् २०११ मा भारतले विश्वकप जित्दा टिमको प्रमुख खेलाडी थिए । अन्तर्राष्ट्रिय स्पर्धामा धेरै कीर्तिमान बनाएका भारतीय क्रिकेट टिमका पूर्वकप्तान सचिनको क्रिकेट जीवनका केही पाटा रोचक र मार्मिक लाग्छन् :

बल बिगारेको आरोप
सन् २००१ मा भारतीय टिम दक्षिण अफ्रिका भ्रमणमा थियो । आफ्नो क्रिकेट करिअरमा धेरैपटक दक्षिण अफ्रिकी भूमिमा टेकेँ, तर २००१ को भ्रमण सधैँभर याद आइरहन्छ । त्यो वेला मलाई बल बिगारेको आरोप लगाइएको थियो । तर, मैले जानाजान बल बिगारेको थिइनँ । इंग्लिस अम्पायर माइक डेनेसले बल बिगारेको रिपोर्ट बुझाउँदै मलाई जरिवानासमेत लगाए । वास्तवमा आउट फिल्ड फिजेका कारण मैले बलमा लागेको हरियो घाँस निकाल्ने प्रयास मात्र गरेको थिएँ । यो कुरा सत्य हो कि मैले बलमा टाँसिएको घाँस बुढी औँलाले कोट्याउँदै निकालेको थिएँ । इमानदारी साथ मैले अम्पायर माइकलाई पनि जानकारी दिएँ । तर, अन्तर्राष्ट्रिय मिडिया र दक्षिण अफ्रिकी खेलाडीले मलाई बल बिगारेको आरोप लगाइछाडे ।

साइमन्डको त्यो भाषा
सन् २००७-०८ को प्रसंग हो । भिवी सिरिज खेल्न हामी अस्ट्रेलियाको भ्रमणमा थियौँ । त्यो भ्रमण मेरो जीवनमा अहिलेसम्मकै विवादास्पद रह्यो । प्रतिस्पर्धाका दौरान खेलाडीबीच रंगभेद विवाद चल्यो । हुन त विवादको बिउ, अस्ट्रेलियन खेलाडीले नै रोपेका थिए । मलाई अझै पनि सम्झना छ । क्रिजमा हरभजन सिंह (भज्जी) र म थियौँ । भज्जी आक्रामक रूपमा ब्याटिङ गरिरहेका थिए । अस्ट्रेलियन बलरलाई त्यो पाच्य भएन । क्रिकेटमा विपक्षी ब्याट्सम्यान राम्रो खेलिरहँदा उसलाई आउट पार्न विभिन्न रणनीति अपनाइन्छ । त्यसैमध्ये अस्ट्रेलियन बलर एन्ड्यु साइमान्डले पनि वाकयुद्ध सुरु गरे । नन स्ट्राइकमा रहेका हरभजनलाई साइमन्डले हिन्दी भाषामै भने, ‘तेरी माँ कि…’ आफ्नै आमासँग जोडेर यस्तो तल्लो किसिमको शब्द प्रयोग हुँदा भज्जीको ठाउँमा जो–कोही भए पनि रिस उठ्नु स्वाभाविक नै हो । अझ पन्जाबका सरदार भज्जीले कसरी सहन सकून् । हरभजनले तत्काल साइमन्डतर्फ वचनबाण फर्काए, ‘साइमन्ड तिम्रो अनुहार त बाँदरको जस्तो छ र मलाई लाग्छ तिम्रो पूर्खा पक्कै पनि बाँदर हुनुपर्छ ।’ क्रिजमा साइमन्ड र हरभजन हात हाल्ने अवस्थामा पुगिसकेका थिए । धेरै परिश्रमपछि हामीले परिस्थितिलाई नियन्त्रणमा ल्यायौँ । तर, सिरिज चलिरहँदा दुवै खेलाडीबीच फाटफुट वाकयुद्ध चलिरह्यो ।

Learn English - Dew Meaning in English to Nepali below

बेलायतमा अंग्रेजी समस्या
युवा अवस्थामै इंग्लिस काउन्ट्री खेल्ने अवसर पाएँ । सन् १९९२ मा भारतबाट सर्वाधिक महँगो रकममा काउन्ट्री खेल्ने मबाहेक अरू कोही क्रिकेटर थिएनन् । बेलायतजस्तो विकसित राष्ट्रमा काउन्ट्री खेल्न पुग्दा भाषाको समस्या आएको थियो । त्यसताका मेरो अंग्रेजी खासै राम्रो थिएन, औसत थियो । योर्कसायर क्लबको आफ्नै होटेलमा म बसेको थिएँ । हाम्रो टिम म्यानेजरले लबीमा तत्काल आउन निर्देशन दिनुभयो । मैले उहाँको फास्ट अंग्रेजी लवज खासै राम्रोसँग बुझ्न सकिनँ । केवल यति मात्र बुझेँ कि, पाँच मिनेटभित्र लबीमा झर्नुपर्छ । मेरो एउटै मात्र सिद्धान्त छ, जहाँ पनि समयमै पुग्नुपर्छ । म्यानेजरको कुरा सुनेपछि म हतारमा लबीमा पुगेँ । लबीमा रहेका अन्य साथीहरू मपट्टि हेर्दै हाँस्न थाले । मलाई अलिअलि जाडो लागेको थियो । शरीरको माथिल्लो र तल्लो भागमा चिसो महसुस भइरहेको थियो । एसी चलिरहेको अवस्थामै पनि किन चिसो भयो भनेर आफ्नो शरीरतिर नियाल्दा त केवल टावेल मात्रै लगाएको रहेछु । अझ टाई मेरो घाँटीमै थियो । त्यसवेला टाई मेरो घाँटीमा किन थियो भन्ने अहिलेसम्म रहस्यमयी छ ।

घमन्डी प्रशिक्षक च्यापेल
साढे दुई दशक लामो क्रिकेट यात्रामा करिब एक दर्जन प्रशिक्षकसँग काम गर्ने अवसर जु¥यो । तिनै प्रशिक्षकमध्ये अस्ट्रेलियन गे्रज च्यापेल पनि एक थिए । क्रिकेट बोर्डले सन् २००७ को विश्वकपमा भारतलाई च्याम्पियन बनाउनुपर्छ भनेर च्यापेललाई विशेष आग्रहमा बोलाइएको थियो । आफ्नो जमानामा च्यापेल अस्ट्रेलियाकै महान् क्रिकेटर थिए । अस्ट्रेलियन लिजेन्डरको साथ पाउँदा हामी हर्षित भएका थियौँ । तर, उनी हामीले सोचेभन्दा ठ्याक्कै विपरीत देखिए । एकदमै रिसाहा, घमन्डी र शंकालु स्वभाव थियो । प्रशिक्षणका क्रममा उहाँ कसैको कुरै नसुन्ने र आफ्नै मात्र कुरा लागू गर्नुपर्ने व्यवहार देखाउँथे । विश्वकप तयारीका क्रममा युवा क्रिकेटर हुनुपर्छ भन्ने अडान लिए । त्यस वेला उनले युवा खेलाडीलाई स्थान दिनुपर्छ भन्दै मलाई सन्यास लिन सुझाब दिए । च्यापेलले हामीलाई विश्वकपमा अहिलेसम्मकै खराब नतिजा दिलाए । भारत पहिलोपटक विश्वकपको पहिलो चरणबाटै बाहिरियो । उनी जति अवधि हामीसँगै रहे, कुनै पनि दिन रमाइलो भएन । यसकारण पनि म उनलाई भुल्न सक्दिनँ ।

गल्फ बललाई पानीमा भिजाएर खेलेँ
बाल्यकालमा म जहाँ हुर्किएँ, त्यहाँ नजिकै एउटा गल्फ कोर्स थियो । घरको वरिपरि दर्जनौँ गल्फ बल हुन्थे । गल्फ बल सानो भए पनि निकै कडा हुन्छ । गल्फ बल हिर्काउन कठिन लाग्छ । कयौँपटक सामान्य काठले गल्फ बल हिर्काउँदा ब्याट दुई–तीन टुक्रा हुन्थ्यो । बच्चाको दिमाग त हो, मैले गल्फ बल नरम बनाउन पानीमा घन्टौँसम्म पनि भिजाएँ !

तर, जति नै भिजाए पनि नरम हुने कुरै भएन । धेरैपटक गल्फ बल लिएर कोठाको भित्तामा क्रिकेट अभ्यास गरेँ । क्रिकेटका कतिपय कटहरू गल्फ बलबाटै सिकेको हुँ ।

शतक बनाउन नसक्दा बाथरुममै रोएँ
सन् १९९० मा न्युजिल्यान्डविरुद्ध टेस्ट खेलमा केवल १२ रनले टेस्ट शतक बनाउनबाट चुकेँ । थप १२ रन बनाएको भए, मेरो नाममा एउटा इतिहास बन्ने थियो । टेस्ट इतिहासमा सबैभन्दा कम उमेरको ब्याट्सम्यानले शतकीय इनिङ खेलेको इतिहास चर्चिने थियो । मेरो क्याच तत्कालीन किवी फिल्डर जोन राइटले समातेका थिए । क्रिजबाट म धुरुधुरु रुँदै बाहिरिएँ । मेरो आँसु रोकिएको थिएन । म ड्रेसिङ रुमको बाथरुममा गएँ, त्यहाँ लगभग सात मिनेटजति रोएँ । मलाई इतिहास रच्नबाट चुकाउने राइट, पछि भारतीय टोलीका प्रशिक्षक बने । उनले मलाई भनेका थिए, ‘वास्तवमा मैले त्यसवेला तिम्रो क्याच लिनु हुन्न थियो, तर के गरूँ खेलको अवस्था नै त्यस्तै थियो, मैले क्याच लिनैपर्ने थियो ।’

उफ् ! त्यो कन्डक्टर
सर्दाश्रम क्रिकेट एकेडेमीमा प्रशिक्षण लिँदा म सात वर्षको मात्र थिएँ होला । सार्वजनिक बसमा चढेर एकेडेमी पुग्थेँ । एक दिन मैले सबै सामग्री (किट्स) एउटा ठूलो ब्यागमा राखेको थिएँ । सकी–नसकी ब्याग बोक्दै बसमा चढेँ । दुईजनाको सिटमा मैले नै कब्जा जमाएँ । एउटा सिटमा म बसेँ र अर्कोमा क्रिकेट सामग्री राखेको भारी ब्याग । बस कन्डक्टरले मलाई दुईवटा टिकट काट्नुपर्छ भने । कन्डक्टरले ब्याग काखमा राख्नुपर्ने, नत्र दुईजना व्यक्तिबराबर पैसा तिर्नुपर्ने भन्दै दबाब दिए । तर, त्यतिखेर मसँग एकजना व्यक्तिको टिकटको मात्रै पैसा थियो । अब के गर्ने भन्ने भयो । तत्कालै एउटा उपाय आयो, क्रिकेट मैदानमाझैँ हेल्मेटदेखि ब्याटसम्म लगाएर सिटमै बसेँ । ब्यागमा केही सामग्री मात्रै राखेँ । कन्डक्टर ट्वाल्ल परेर मलाई हेरिरहे । एकजनाको मात्रै टिकटमा यात्रा गर्न सफल भएँ । ओर्लिंदा निकै अप्ठ्यारो परेको थियो, किनभने गाडीबाट झर्दै गर्दा ब्याट्सम्यानझैँ देखिन्थेँ ।

विश्वकप फाइनलको अघिल्लो रातभर गीत सुनेँ
जीवनकै एउटै मात्र सपना थियो, विश्व च्याम्पियन हुनु । धेरैपटक नजिक पुगेर पनि विश्वकपको ट्रफी उचाल्न पाइनँ । सन् २०११ मा घरेलु मैदानमै आयोजित विश्वकपको उपाधि हामीले जित्यौँ । भारतकै भूमि, अझ आफ्नो घरेलु मैदान वाँखडेमै मैले जीवनकै एक मात्र ठूलो सपना पूरा गरेँ । त्यो विश्वकपको एउटा रमाइलो घटना के छ भने हामीले सेमीफाइनलमा पाकिस्तानलाई पाएका थियौँ । पाकिस्तानविरुद्ध खेल्न फ्रेस हुनुपर्छ । पाकिस्तानसँग खेल्ने अघिल्लो रात मैले एउटा मीठो हिन्दी गीत सुनेको थिएँ । आइप्याडमा लगातार सात घण्टा ‘बडे अच्छे लगते हे’ गीत सुनेँ । त्यो गीतबाटै म पाकिस्तानविरुद्ध खेल्न फिट मात्र भइनँ, मानसिक रूपमै हराउन सक्छु भन्ने भावना जागृत भयो ।

http://www.enayapatrika.com