शून्यबाट सत्र ब्रान्डेड आउटलेट

झट्ट हेर्दा पूजारी जस्ता । निधारमा सधैँ टीका । हातमा औंलाभरी औंठी । दैनिकी पनि धर्मकर्मबाटै सुरु गर्छन् । बिहान पाँच बजे उठेर धार्मिक अनुष्ठान । अफिस पुगेपछि हुनमान पाठ । अनि सुरु हुन्छ, वीरगञ्जका रुपेश पाण्डेको दैनिकी । वीरगञ्जका पाण्डेले काठमाडौंमा व्यावसायिक यात्राको उचाइ लिएका छन् । काठमाडौं न्युरोडमा रहेको उनको अफिस कोठा पनि धार्मिक पोस्टरले सजाइएको छ । टेवलमाथि गीता, रामायण, श्रीमद्भागवतका किताब राखिएको छ । पाण्डेको अफिस धार्मिक गुरुको जस्तो देखिन्छ तर यो अफिसबाट अन्तर्राष्ट्रिय ब्रान्डेड कपडासहित १७ आउटलेटको ‘कन्ट्रोल’ हुन्छ ।
वीरगन्जका रुपेश पाण्डे धर्मकर्ममा विश्वास त गर्छन् तर उनी स्थापित व्यवसायी हुन् । वीरगञ्जबाट व्यवसाय बिस्तार गर्दै काठमाडौं आएका पाण्डेले करिब दुई दशकमै काठमाडौंमा व्यवसायको साम्राज्य जमाएका छन् ।
जोखिम मोल्दा सफलता
व्यवस्थापनमा स्नातक गरेपछि उनीसँग दुई विकल्प थिए । आफ्नै बाबुले गर्दै आएको शिक्षण पेसा गर्ने कि जोखिम लिने तर उनले जोखिम मोले । पारिवारिक सल्लाह शिक्षण पेसा गर्ने थियो । उनलाई लाग्यो आफूले मात्र जागिर खाएर हुँदैन, अरुलाई पनि रोजगारी दिनुपर्छ । शिक्षण पेसा बौद्धिक भए पनि आर्थिक उपार्जनको रुपमा ठीक नभएपछि  व्यवसाय रोजे ।
तीन लाख लगानीबाट सुरु गरेको व्यवसायमा अहिले करोडौं लगानी पुगेको छ । वीरगञ्जबाट सुरु भएको व्यवसाय देशभर फैलिएको छ । लत्ताकपडाको बिक्रीको सिकाइले अन्तर्राष्ट्रिय ब्रान्डेड कपडा नेपाल भित्राउन आत्मबल बढेको छ । सटरबिना गोदामबाट सुरु भएको व्यवसायमा अहिले काठमाडौंमा ‘अन्तर्राष्ट्रिय ब्रान्डका आउटलेटमा’ विस्तार भएको छ ।
सफलता चुमिरहेका पाण्डेले व्यावसायिक यात्रामा उचाई लिँदैछन् । आरपी ग्रुपका प्रबन्ध निर्देशक पाण्डे नेपालमा कपडाका अन्तर्राष्ट्रिय ब्रान्ड भित्राउने स्थापित व्यवसायी हुन् । उनी कुनै व्यापारिक घरानाको उत्तराधिकारी होइनन् । अग्रजको संगत, आफ्नै मेहनत, परिश्रम र दृढ इच्छाशक्तिले यो सफलता पाएका हुन् ।
शिक्षक पेशा अंगालेका बाबुले माविमा अध्यापन गराउन भन्दा निकै दोधारमा थिए । ‘सुरुमा निकै अलमलमा परेँ, मावि शिक्षक बन्ने कि अन्य क्षेत्रमा जाने,’ विगत स्मरण गर्दै पाण्डे भन्छन्, ‘त्यस बेला गरेको सही डिसिजनले यो अवस्थामा आएँ ।’ पाण्डेले यसका अलावा जग्गा जमिन, खाद्यान्न, पेट्रोलियम पदार्थको ढुवानी लगायतका व्यवसायमा पनि आबद्ध छन् ।
अन्तर्राष्ट्रिय ब्रान्डका आउटलेट
‘सुरुका दिनमा इन्डियाबाट लत्ताकपडा ल्याउने र हेटौंडा, वीरगञ्ज, चितवनमा बेच्ने गरेँ,’ उनले भने । वीरगञ्जबाट व्यापार सुरु गरेको भए पनि २०५७ सालमा पहिलो पटक कुलेश्वरमा गोदाम राखेका थिए । चार वर्ष काठमाडौंमा होलसेलरलाई सामान बिक्री गरेपछि उनले व्यावसायिक यात्रालाई ‘यु टर्न’ गरे । वीरगञ्जबाट लत्ताकपडा, काठको व्यापार गर्दागर्दै काठमाडौंमा व्यापार गर्न छिरेका पाण्डेले उच्च पदस्थ व्यक्तिको हात–हातमा ‘ब्रान्डेड ब्याग’ देखे । इटलीमा बनेको ‘डमिलानो इटालिया’का ब्रान्डेड ब्यागले उनलाई उत्सुकता र कौतुहला जगायो ।
व्यवसायमा नयाँ–नयाँ क्षेत्रमा काम गर्नुपर्छ भन्ने मान्यता राख्ने पाण्डेले सोधखोज गरे । ब्रान्डेड ब्याग, जुत्ता प्रयोग गर्ने उच्च सरकारी कर्मचारी, व्यापारी, राजनीतिज्ञले यहाँ होइन विदेश जाँदा सपिङ गर्दा रहेछन् । ‘मनमनै गमेँ मैले किन सुरु नगर्ने ?’ उनले भने ।
भारतबाट लत्ताकपडा आयात गर्ने पाण्डेले भारतकै एक व्यवसायीको सहयोगमा इटलीको कम्पनीले तयार गरेको ‘डमिलानो इटालिया’ ब्रान्डको आउटलेट काठमाडौंमा सुरु गरे । त्यहाँबाट ब्रान्डेड सामानमा हात हालेका पाण्डेले अहिले राजधानीमा १७ आउटलेट खोलिसकेका छन् । तीमध्ये आठ अन्तर्राष्ट्रिय ब्रान्डका सो रुम हुन् ।
२०६४ मा न्यूरोडमा ‘जय अम्बे साडी’को सो रुम खोलेका थिए । ‘उपभोक्तालाई सन्तुष्टि दिएपछि एक वर्षमा साडीको बिक्री वितरण राम्रो भयो,’ पाण्डेले भने, ‘त्यसपछि शाखा बिस्तार सुरु गरेँ ।’ जयअम्बेको सो रुम न्युरोड, मैतीदेवी, बानेश्वर, शंखमूलमा बिस्तार गरेका छन् । महिलाका लागि लक्षित साडी सो रुमपछि बालबच्चादेखि वृद्धसम्मका लागि ‘फेसन स्टोर’का आउटलेट सुरु गरे । अहिले शंखमूल, मैतीदेवी, न्युरोड, चाबहिलमा फेसन स्टोरका आउटलेट छन् ।
जय अम्बेमा महिलाका लागि साडी लगायतका आइटम छन् भने फेसन स्टोरमा बच्चादेखि वृद्धसम्मका लागि सबै प्रकारका कपडा रहेका छन् ।
पछिल्ला वर्ष नेपाली उपभोक्ता पनि ब्रान्डेड सामान प्रयोग गर्न लालायित छन् । विदेश जानेक्रम निकै बढ्दो छ । विदेश जाँदा ब्रान्ड देखेपछि सपिङ गर्न थालेको उनको अनुभव छ ।
ब्रान्डेड कपडा लगाउने संस्कृतिको विकास भएको उनी बताउँछन् । ‘आम्दानी हुनेको आकर्षण ब्रान्डेड सामानमै छ,’ पाण्डेले भने, ‘सस्तो मूल्यका सामान छिटो फाट्ने भएकाले पनि ब्रान्डले बजार लिँदै गएको हो ।’
ब्रान्डेड सामान टिकाउ हुने भएकाले उपभोक्ताको मन जितेको बताउँछन् । ‘ब्रान्डेड सामानको गुणस्तर निकै राम्रो र विश्वसनीय छ’ उनले भने, ‘त्यसैले सबैको आकर्षण छ ।’
नेपाली बजारमा विश्वभरका सबै ब्रान्ड भित्रिनेक्रम जारी रहेको उनले बताए । ‘अब एक÷दुई वर्षमा नेपाली प्रयोगकर्ताले सबै ब्राण्ड रोजीरोजी उपभोग गर्न पाउनेछन्,’ पाण्डेले भने ।
ब्रान्डेड सामान किन्नका लागि दरबार मार्गका आउटलेटमै जानुपर्छ भन्ने बाध्यता पनि अन्त्य गरेको पाण्डे बताउँछन् । पाण्डेले नेपाल आठ वटा अन्तराष्ट्रिय ब्राण्डका कपडा ल्याएर आउटलेट सञ्चालन गरेका छन् ।
ललितपुरको लवीमा मलमा भारतको इण्डियन टेरियन आउटलेट, दरबारमार्गमा इटालीको डमिलानो इटालिया, रोसो ब्रुनेलियो र अमेरिकाकाको जोस ए व्याङ्क, फ्रान्सको सेलिओ, भारतको डब्लु, ओरेलिया ब्रान्डका कपडा होलसेल तथा आउटलेटबाट बिक्री गरिरहेका छन् । पाण्डेले ललितपुरकै लबिम मलमा भारतको लुइस फ्लिपी ब्रान्डको आउटलेट सञ्चालन गर्ने तयारीमा छन् ।
करिब ३७ देश घुमेका पाण्डेले नयाँ–नयाँ अन्तर्राष्ट्रिय ब्रान्डलाई नेपाल भित्राउँदै छन् । उनले अन्तर्राष्ट्रिय रेस्टुरेन्टका चेन नेपालमा सञ्चालन गर्ने योजना बनाएका छन् । युरोपको बर्गर किङ, नन्दोज रेस्टुरेन्टलाई काठमाडौं, पोखरा र धरानमा बिस्तार गर्ने तयारीमा रहेको बताए ।
संघर्षले सफलता
कसैको प्रेरणा भन्दा पनि उनी व्यक्तिगत संघर्षबाट यो स्थानमा आएका हुन् । ‘धेरै संघर्ष गर्दै अघि बढेको छु,’ पाण्डेले भने, ‘व्यापारमा धेरै दुःख गर्नुपर्छ ।’ व्यवसाय गर्दा सामान उपलब्ध गराउने पार्टी र उपभोक्तालाई भगवान मानेर इमान्दारीका साथ काम गर्नुपर्ने बताउँछन् । ‘आफ्नो व्यवसायको स्टक, स्टाफ, गुणस्तरको नियमित मनिटर गर्नुपर्छ,’ उनले भने, ‘सिस्टममा व्यवसाय गर्ने हो भने नेपाल जस्तो काम गर्ने वातावरण विश्वमा कहीँ छैन ।’ उनले आफूले तय गरेको जीवनको यात्रामा सन्तुष्ट छन् । ‘त्यति बेला टिचर भएको भए म एक्लैले जागिर गरेर आफ्नो परिवारको गुजारा चलाइरहेको हुन्थेँ,’ पाण्डेले गर्वका साथ भने, ‘एक सय बढीलाई रोजगारी दिएको छु । सरकारलाई कर तिरेको छु ।’
सिस्टममा व्यवसाय
पाण्डेका सबै आउटलेट कर्मचारीको जिम्मामा सञ्चालन गरेका छन् । उनी मुस्किलले सातामा एक दिन पुग्छन् । हिसाबकिताब त अफिसमै बसेर हरेक शुक्रबार केलाउँछन् । त्यसको लागि सिस्टम विकास गरेका छन् । सफ्टवेयर कम्युटराइज सिस्टममा लगेकाले कुनै झन्झट नभएको उनी बताउँछन् । ‘हरेक आउटलेटमा सफ्टवेर राखिएको छ,’ उनले भने, ‘मेसिनले बारकोड बढेपछि सामान बेच्दा बिक्री भएका सबै सामानको कम्युटराज रेकर्ड र विल हुन्छ ।’ त्यो रेकर्डलाई उनले हेर्छन् । सिस्टमको व्यवसाय भएकाले न राज्य ठगिन्छ न व्यवसायी । सबै आउटलेट स्टाफकै जिम्मामा छाड्नु पर्ने भएकाले पद्दति बसालेको बताए । ‘हप्ताको एक पटक सबै आउटलेटमा पुग्छु,’ पाण्डेले भने, ‘हरेक दिन आउलेटबाट खरिद बिक्री कारोबार विवरणको मेल आउँछ । सबै बिजनेस सिस्टममा गैसकेको छ ।’ धेरै व्यापारीलाई आफू पसलमा नबस्दा दुरुपयोग हुने चिन्ता हुन्छ, उनलाई भने यो समस्या छैन ।
व्यवसायीहरुलाई अन्डर इन्भ्वाइसिङ (न्यून विजकीकरण)को आरोप लाग्ने गरेको छ । पाण्डेले भने रहेक सामानमा सम्बन्धित कम्पनीले एमआरपी तोकेर पठाउने व्यवस्था भइकाले आफू यो झन्झटमा नलागेको बताउँछन् । उनका हरेक आउलेटमा सम्बन्धित कम्पनीले मूल्य तोकेको ट्याग लगाएको छ । ‘बारकोड राखिएको छ, जति सामान बिक्यो त्यसको जानकारी कर कार्यालयमा पनि जान्छ,’ उनले भने ।
आध्यात्मिक व्यवसायी
आरपी ग्रुपका प्रबन्ध निर्देशक पाण्डे धर्मकर्ममा पनि निकै विश्वास गर्छन् । पाण्डेको हरेक दिनको सुरुवात पूजाआजाबाट हुन्छ । विहान उठेर कमलादीको गणेश मन्दिरमा पुगेर पूजा गरेपछि मात्र उनी अन्य काममा लाग्छन् । धर्मकर्म र घुमफिरमा निकै सोख भएका पाण्डे मन शान्तिका लागि धार्मिक क्षेत्रमा पनि रुचि जागेको बताउँछन् । ‘धर्म आस्था र विश्वासको संयोजन हो,’ उनी भन्छन्, ‘टेन्सन भयो भने भगवान सम्झिन्छु । मनमा शान्ति दिलाउँछ ।’
औंलाभरी औँठी लगाउने पाण्डे जहावरलाल विश्वविद्यालय(जेएनयु) का लेक्चरको सुझावअनुसार लगाएको बताउँछन् । ‘वहाँ (जेएनयूका लेक्चरर)सँग हस्तरेखा बारेमा राम्रो ज्ञान रहेछ,’  विगत स्मरण गर्दै पाण्डेले भने, ‘ती लेक्चररले दिएका सुझाब मेरो जीवनमा मेल खाँदै पूरा भएपछि उहाँकै सल्लाहअनुसार हातमा पाँच औँठी लगाएको हुँ ।’ आस्था र विश्वास नै जीवन चलाउन आधार भएको उनको बुझाइ छ । ‘यसले नै मेरो जीवनमा सफलता दिएको छ,’ पाण्डेले भने । आफू मात्र होइन अरुलाई पनि बचाऊँ भन्ने उनको भावना छ । मानव सेवा मात्र नभएर पशुपंक्षीको पनि सेवा गर्नुपर्छ भन्ने ध्येय राख्छन् । दिनहुँ एक किलो मकै परेवालाई दिन्छन् । त्यसमै उनलाई आत्मसन्तुष्टि छ ।
एक छोरा, दुई छोरीका बाबु पाण्डेका बाबु भने राजनीतिज्ञ हुन् । स्थानीय तहको निर्वाचनमा पर्साको परवानीपुर गाउँपालिका अध्यक्षमा जितेका छन् तर उनलाई राजनीतिमा रुचि छैन । उनको व्यवसायमा श्रीमती र भाइले सघाउँछन् ।

shukrabar

Learn English - Dew Meaning in English to Nepali below

See more on youtube channel English to Nepali https://www.youtube.com/channel/UCGY-zO8qA-mqbOnYZYKoVGw/videos

https://www.youtube.com/watch?v=cgquKIB6mx8