काठमाडौं । नेपालको दुर्गम तथा पहाडी क्षेत्रमा बिषालु च्याउ खाएर मर्नेको संख्या बर्षेनी बढ्दो छ । बर्षात्को समयमा हरेक बर्ष ३० देखि ४० जनाले ज्यान गुमाएको तथ्याङ्कले देखाउँछ । यो त अस्पतालमा आएकाहरुको मात्र आंकडा हो । कतिपय अवस्थामा त घर परिवार नै सखाप भएको पाइन्छ । यो समस्या नेपालको मात्र होइन विश्वब्यापी नै छ । एक तथ्याङ्कसार अमेरिकामा पनि हरेक १ लाख जनामा पाँच जना विषालु च्याउ खाएरै अस्पतालमा भर्ना हुने गरेको पाइएको छ । यद्यपी त्यहाँ च्याउ खाएरै मुत्यु भएको तथ्याङ्क पच्चीस बर्ष यता भेटिएको छैन ।
कस्ता च्याउ बिषालु हुन्छन् र कसरी चिन्ने ?
नेपालमा हजार भन्दा बढि च्याउका प्रजातीहरु पाइन्छन् । तीमध्य करिब ११० जातका च्याउ मात्र खान योग्य छन् । परम्परागत रुपमा १३ प्रजातिका च्याउ औषधि रुपमा प्रयोग गर्ने गरिएको छ भने ४५ प्रजातिका च्याउ विषाक्त भएको अनुमान छ । सामान्य देखेको भरमा मात्र च्याउ विषालु वा अविषालु भनेर छुट्याउन गाह्रो हुन्छ । यसका लागि प्रशस्त अनुभव र बिज्ञताको खाँचो चाहिन्छ । नेपालमा खासगरि च्याउ पहाडि क्षेत्रमा पाइने र परम्परागत अनुभवका आधारमा नै यसको संकलन गर्ने गरिएको छ । कहिलेकाहिँ च्याउ आफैंमा बिषाक्त नभए पनि हामीले संकलन तथा र भण्डारण तरिकाले पनि विषाक्त बनाउँछ । सामान्यतया अहिलेसम्मका अनुसन्धानका आधारमा निम्न तरकिाले विषालु प्रजातिका च्याउहरु छुट्याउन सकिन्छ ।
च्याउ भाँच्दा चोप निस्कियो भने र छुँदा त्सको रङमा परिवर्तन आएमा त्यो विषालु हो ।बैजनी तथा गाढा रातो रङका च्याउ प्राय विषालु हुन्छन् ।च्याउको माथि रहने छाता छाम्दा चिल्लो सतही भयो भने त्यो खानयोग्य हो तर खस्रो एबं तलमाथि उठेको देखिएमा बिषालु हो भनि अनुमान गर्न सकिन्छ ।नमिठो गन्ध, तीतो स्वाद, धेरै झुस भएका र माटो तथा गोबर काठ दाउरमा उम्रेका च्याउ खाँदा बिचार पुर्याउनु पर्दछ ।
बिषालु च्याउको वरिपरि किराहरु नलाग्ने हुन्छ, त्यसैले यी च्याउहरु देख्दा राम्रा तथा चिटिक्क परेका आकर्षक देखिन्छन् ।च्याउलाई कुखुराको अण्डा एबं दुधमा राख्दा केहि समय पश्चात दुध फाटेमा एबं अण्डा जमेमा पनि उक्त च्याउ विषालु हुनसक्छ ।यी च्याउ जाँच्ने सामान्य बिधी मात्र हुन् । यसैका मात्र आधारमा विषालु हो वा होइन भनि छुट्याउन गारो हुन्छ यसका लागि अनुभव र बिज्ञता नै आबश्यक छ । तर गाँउघर जहाँ च्याउ संकलन गरिदै आएको छ त्यहाँ अलिकति भएपनि सहजता होस् भनेर यहाँ प्रस्तुत गरिएको हो ।
विषाक्त च्याउ खाँदा देखिने समस्या
च्याउको विषको असर च्याउको प्रकार, खाएको मात्रा, उमेर समूह, एवं संकलन गरेको स्थान आदिमा भर पर्दछ । च्याउमा धेरै प्रकारका टक्सिनहरु पाइन्छन् जस्तै अमाटोटक्सिन, ओरेलिन, सिलीकोविन आदि । अहिलेसम्म च्याउले शरीरमा पार्ने प्रभावका आधारमा १४ प्रकारको विषाक्तताको पुष्टि भएको छ । बिषालु च्याउ खाइसकेपछि यो हाम्रो शरीरको कलेजोमा पुग्दछ र शरीरको पित्तसँग मिलेर नयाँ किसिमको तत्वको निर्माण गर्दछ, जसले बिस्तारै हाम्रो मृगौलाको काम गर्ने क्षमतामा कमी गराउँदै जान्छ । र अन्तमा कलेजो तथा मृगौला फेल हुन्छ र मानिसको मृत्यु हुन्छ । च्याउको बिषाक्तताको असर सामान्यदेखि अत्यन्त जटिलसम्म छ अर्थात् ९५ प्रतिशतसम्म घातक अवस्था पनि हुन्छ । बालक तथा बृद्धहरुमा च्याउको बिषाक्तताको असर छिटो तथा धेरै देखिन्छ भने वयस्क ब्यक्तिमा अलि कमै हुन्छ । च्याउ खाएको ६ घण्टा देखि २४ घण्टा पछिसम्म पनि यसका असरहरु देखिन्छन् । कतिपय बिरामीले पेटको तल्लो भाग दुखेको, छटपटी भएको, आँखा वरिपरि अँध्यारो भएको महशुस गर्छन् भने कतिलाई पखाला लाग्ने र बान्ताहुने जस्ता लक्षण पनि देखिन्छन् ।
च्याउको विषबाट बच्न के गर्ने ?
सकभर आफुले चिनेको र अभ्यस्त भएको च्याउ मात्र संकलन गर्ने वा बजारमा विक्रीवितरण गर्ने र खाने ।
संकलन गर्दा वा भण्डारण गर्दा पलास्टिकको झोला, फलाम एबं टिनको बाकसहरु प्रयोग नगर्ने वा च्याउलाई खुला राख्ने नगुम्साउने ।
सकभर दुई प्रजातिका फरक– फरक च्याउहरु सँगै मिसाएर नपकाउने र जुनसुकै च्याउ पनि पकाउनु भन्दा अघि १० देखि १५ मिनेट बफाएर पकाउने ।
उमाल्दैमा, फ्रिजिङ गर्दैमा र अन्य प्रोसेसिङ गर्दैमा च्याउको विष नाश हुँदैन, त्यसैले यो भ्रमबाट मुक्त रहने ।च्याउको विष लाग्दै गरेको अवस्था छ भने शरीररबाट यसलाई जतिसक्यो चाँडो बाहिर निकाल्न प्रयास गर्नुपर्दछ । यसका लागि बिरामी होशमै छ भने नुन पानी खाान दिएर बान्ता गराउने वा पखाला लगाउने कुनै बिधी अपनाउने ।परम्परागत रुपमा प्रयोग गरिदै आएको लसुन ,दही तथा टिमुरको पनि प्रयोग गर्न सकिन्छ तर सबै भन्दा बुद्धिमानी छिटो भन्दा छिटो अस्पताल पुर्याउनु नै हो ।
तसर्थ यसका लागि सरकारले पत्रपत्रिका, रेडियो तथा टेलिभिजन मार्फत जनतामा सचेतना फैलाउन जरुरी छ । बिभित्र निकायबाट च्याउको व्यावसायिक खेतिका बारेमा तालिम त दिइन्छ तर दुर्भाग्य च्याउको बिषाक्तताको बारेमा खासै बुझाउने चलन छैन । यस बारेमा सबेैले बेलैमा सोचेर च्याउ सेवनका कारण हुने मूत्यु र बिरामी दर घटाउनुपर्छ ।
डा गोकर्ण दहाल, हान्याङ स्कुल अफ मेडिसिन, दक्षिण कोरिया/ स्वास्थ्यखबर बाट
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks