quarrel

वास्तु नमिलेको घरमा अशान्ति

घर सुख, समृद्धि र आत्मशान्तिका लागि बनाइएको हुन्छ। यसले उन्नति, प्रगतिमा महत्त्वपूर्ण भूमिका खेलिरहेको हुन्छ। घर सुख, समृद्धि, खुसीयालीको प्रतीक हो। कसैलाई परिचय दिँदा नामपछि घर बताइन्छ। जन्मघर सबैको प्यारो हुन्छ। त्यसैले घर परिचय पनि हो। भविष्योत्तर पुराणमा लेखिएको छः पर गृहे कृता श्रोतस्मार्त क्रिया शुभाः। निष्फला स्युयतस्तासाम् भूमीशः फलमश्नुते। यसको अर्थ हुन्छ, प्रत्येक व्यक्तिको उपयुक्त घर हुनुपर्दछ किनकि दोस्रो वा भाडामा लिएको घरले धार्मिक उत्सवमा गरिने कुनै पनि कर्मले इच्छित फल दिँदैन।

हाम्रो जन्म एकै पटक हुन्छ अनि मृत्यु पनि। यस अवधिमा घरबारका लागि बिहे र सुन्दर जीवनयापनका लागि घरको भूमिका निकै नै उत्साहपूर्ण हुन्छ। तर खाइनखाइ वा विदेश वा स्वदेशमै दुःख गरी निर्माण गरिएको एउटा घरबाट शान्ति मिलेन भने यसको परिणाम दुःखद् हुन सक्छ। कलहको बीउ यसैबाट उत्पत्ति हुनसक्छ, नोक्सान भइराख्छ। अन्ततः घर त्याग्नुपर्ने बाध्यता हुन्छ। प्राचीन ग्रन्थ स्थापत्य वेदले कस्तो घरले सुख, शान्ति भित्र्याउछ भन्ने आद्योपान्त व्याख्या गरिदिएको छ। हामीले बस्दै गरेको घर धेरैले केही समयको अन्तरालमा बेच्नु परेका घटना सुन्दै आएका छौं। यसको मूल कारण यही वास्तु नै हो। तसर्थ गृह निर्माणका लागि वास्तुशास्त्रको नियम अँगाल्नु आवश्यक हुन्छ।

पहिल-ेपहिले घर, मठ, मन्दिर, धर्मशाला, पाटीपौवा निर्माण गर्नुपूर्व वास्तु हेर्ने गरिन्थ्यो र त्यसै अनुरुप घर बनाइन्थ्यो। घरमा सह भिन्त्रिथ्यो। सुख, शान्ति र समृद्धि हुन्थ्यो। तर पछिपछि आएर वास्तु नै नहेरी भवन बनाइन थालिए। अव्यवस्थित कोठालाई जसरी पनि प्रयोग गर्न थालियो। घरमा अशान्ति, दुःख भित्रिन थाले। वास्तु घर निर्माणका लागि अत्यन्तै आवश्यक छ। वास्तुले जीवनमा सहजता ल्याउछ। घरभित्रै प्रकाश भित्र्याउँछ। निरोगी बनाउछ। नेपालमा बनाइएका अधिकांश भवन वास्तुअनुरुपका छैनन्। खास विशेषज्ञद्वारा नक्सा बनाएर घर बनाउनु सुख, शान्ति कारक बन्दछ।

घर निर्माणसम्बन्धी कलालाई वास्तुशास्त्र भनिन्छ। मुलतः वास्तुशास्त्र मिलेन भने घरले टाटै पल्टाइदिन्छ। वास्तु भन्नाले प्रकृति वा पर्यावरण हो। यो प्राचीन कला वा विज्ञान हो। हरेक निर्माणका भवन वास्तुशास्त्रसम्मत हुनुपर्दछ। यसले प्रसन्नता दिलाउँछ, आर्थिक स्थितिमा सुधार, चरित्र निर्माण, घरमा मेलमिलापको वातावरण गराउँछ। वास्तुविपरीत निर्माण गरिएका घरले अनावश्यक यात्रा गरिराख्नु पर्ने, अपयश, दुःख, निराशा भइरहने, आपत्ति परिरहने, अनावश्यक शारीरिक कष्ट बल्झने, अशान्ति छाउने हुन्छ।

सबै प्रकारका घर, गाउँ, बस्ती वा नगर यसै अनुरुप हुनुपर्दछ। घर शब्दले सामान्य आश्रयस्थल मात्र नबुझाई औद्योगिक तथा व्यापारिक भवन, अस्पताल, देवालय, कार्यालय भवन, विद्यालय आदि जस्ता संरचनालाई बुझाउँछ। प्रकृति प्रदत्त जग्गाम मानव निर्मित कुनै पनि भवनका झ्याल, ढोका र भित्री कोठामा सरसामान मिलाएर भित्र बास गर्नुको आनन्द नै बेग्लै हुन्छ। कुनै भवन वा घरमा प्रवेश गर्नासाथ आनन्दाभूति हुने वा कुनैमा पस्दा खिन्नता हुने वास्तु विज्ञानसँग सरोकार छ। आजभोलि सहरबजारमा बनेका भवनहरु भाडामा लिँदा पनि बैंक तथा व्यापारिक प्रतिष्ठानले वास्तुविद्सित परामर्श लिएका हुन्छन्। कुनै वास्तुदोष देखिएमा संरचना भत्काएर पुनः निर्माण गर्दछन्। यसले समग्र घरको स्वरुप र समृद्धिबारे व्याख्या गर्दछ। जमिनको बारेमा पनि छुट्टै वास्तु हेर्ने गरिन्छ। आयाताकार वा वर्गाकार घडेरीलाई वास्तुशास्त्रले सुख, समृद्धि, ऐर्श्वर्य र शान्तिकारक मानेको छ।

शौचालयः घरमा शौचालय उत्तर पश्चिम दिशामा बनाउन राम्रो हुन्छ। यसबाहेक उत्तर, पश्चिम वा दक्षिण दिशामा पनि बनाउन सकिन्छ। तर यदि इशान दिशामा शौचालयमा बनाइएको छ भने कुनै हालत भने त्यो स्वस्थ्यकर मान्न सकिन्न। न त त्यस घरमा बस्नेले शान्ति नै पाउन सक्छन् न स्वस्थ्यकर जीवन रहन्छ। शौच गर्दा उत्तर वा दक्षिण दिशामा फर्केर बस्नु राम्रो हुन्छ। तर पूर्व वा पश्चिम दिशातिर फर्केर दिशापिसाब गर्नु राम्रो मानिन्न। एउटामात्र झ्याल उत्तर, पूर्व वा दक्षिणतिर भएको ठीक हुन्छ। तर धारो भने उत्तर वा दक्षिणतिर फर्केको शुभ मानिन्छ। ढोका भने दक्षिण, पश्चिम या आग्नेय दिशातिर खुल्ने हुनुपर्दछ।

स्नान कक्ष : स्नान कक्ष भान्साकोठाको आमुन्नेसामुन्ने हुने गरी ढोका राख्नु हुन्न। ढोका उत्तर वा पूर्व दिशातिर फर्केको हुनुपर्दछ। पूर्व दिशामा बनाइएको स्नानकक्ष उत्तम मानिन्छ। तर यसबाहेक दक्षिण, पश्चिम, नैऋत्य दिशामा पनि बनाउन सकिन्छ। धारो पूर्वतिरको भित्तामा भएको शुभ हुन्छ। पूर्वतिर फर्केर नुहाउनु र पानीको फोहोर एक फिट माथिको दूरीमा हुनुपर्दछ। ऐनाको प्रयोग स्नान कक्ष बाहिर रहनु पर्दछ। गिजर, हिटर जस्ता विद्युतीय उपकरण आग्नेय दिशामा राख्नुपर्दछ। तर वासिग मेसिन दक्षिणतिर राख्नुपर्दछ।

भान्सा कोठा : गृहिणी रहने अधिकांश समय बिताउने भान्सा कोठा हो। यस कोठा गर्मी, लामखुट्टे, साङ्ला आदि जस्ता किटपतङ्ग, धुवाँको निकास, प्रदूषण, प्रकाश, वायु सञ्चालन आदि खाना बनाउनु पूर्व नै जरुरी हुन्छ। तापको प्रभाव यसमा रहने हुँदा दक्षिण पूर्व दिशामा भान्साकोठा बनाउनु उत्तम मानिन्छ। यो स्वास्थ्य र मानसिक दृष्टिले उपयुक्त हुन्छ। यसबाहेक अन्य दिशामा बनाइएका भान्सा घर शुभ मानिन्न। उत्तर पूर्वमा बनाइएको भान्सा घरले खर्च गराउने, अशान्ति ल्याउने हुन्छ भने पूर्व दिशामा भएको भान्सा कोठाले गृहिणी अस्वस्थ्य भइराख्ने र सुखका बाबजुद पनि अप्रसन्न भइरहने हुन्छ। त्यसरी नै दक्षिण दिशामा भएको भान्साले अशान्ति र मानसिक तनाव निम्त्याउने र दक्षिण-पश्चिम दिशामा भएको भान्सा कोठाले बिरामी र चिन्ता जन्माउने हुन्छ। पश्चिम दिशातिरको भान्सा कोठाले बेलाबखतमा कलह गराउने, उत्तर-पश्चिमको भान्साकोठाले भारी खर्च र तनाव गराउने हुन्छ।

अध्ययन कक्ष : अध्ययन कक्षका लागि पश्चिम दिशालाई सवोर्त्तम मानिन्छ। यस स्थानमा चन्द्रमा, बुध, बृहस्पति तथा शुक्र यिनै चार ग्रहको शुभ प्रभाव सजिलैसँग प्राप्त हुन्छ। बुधबाट बुद्धिको विकास हुन्छ। यो लेखनकलाको कारक हुन्छ। बृहस्पतिले महत्वाकांक्षी बनाउँछ, जिज्ञासा बढाउँछ। चन्द्रमाले कल्पना शक्तिको विकास गर्दछ र शुक्रले प्रतिभा वृद्धि गर्दछ। नैऋत्य दक्षिण (पश्चिम दिशा) मा किताब राख्ने, इशान (पूर्व-उत्तर) दिशामा सरस्वतिको तस्वीर राख्ने र त्यसभन्दा मुनि जल पात्रमा जल अध्ययन कक्षमा राख्नु अति राम्रो हुन्छ। यस कक्षमा फिल्मी अभिनेताका फोटा राख्नु अशुभ मानिन्छ।

वास्तु दोष निवारण

भान्साघर ठीक स्थानमा राखिएको छैन भने आग्नेयकोणमा साँझ बिहान अनिवार्य रुपमा बल्न बाल्नुपर्छ।

बिमको दोष भएका सिलिङलाई ढाकिदिनु पर्छ। बीमको दुवैतिर बाँसुरी झुण्ड्याइ दिनुपर्छ।

दोकानको प्रवेशद्वारमा गणपतिको मूर्ति या स्टिकर लगाउनुपर्छ।

द्वार दोष र वेध दोष भएमा शंख, सीपी, कौडी, सुनको तुश रातो कपडामा बेरेर गेटमा झुण्ड्याइ दिनुपर्छ।

यदि दोकानमा चोरी हुन्छ या आगोको प्रकोप रहन्छ भने भौमयन्त्र स्थापना गर्नुपर्छ। यो यन्त्र पूवोर्त्तर कोण या पूर्व दिशामा र्फशको मुनि दुर्इ फिट गहिरो खाडल खनेर स्थापित गर्नुपर्छ। त्यसरी नै घरको सबै प्रकारका दोष निवारणका लागि गेटमा तुलसी गमलामा रोप्नुपर्छ।

समग्रमा भन्दा वास्तुशास्त्र हेरेर निर्माण गरिएको कुनै पनि घर आनन्ददायक हुन्छन्। तर जथाभावी रुपले यस अनुसार निर्माण गरिएका घरमा सदा अशान्ति भित्रिन्छ। घरमा बस्दा असहज हुने, मन नरमाउने, नकरात्मक विचार उत्पन्न हुने, अन्ततः घरै बिक्री गर्नुपर्ने स्थिति आउनुको कारण वास्तुसम्मत नबनाइएको घर परिणाम पनि हो। तसर्थ घर बनाउनु पूर्व वास्तु दोषबाट बच्न हरतरहले सक्दो प्रयास गर्नुपर्दछ। सामान्यतया यसैसँग सम्बन्धित पुस्तक अध्ययन गरेर पनि सामान्यतया निर्माण गर्न सकिन्छ तर जग्गाको स्थिति, दिशा हेर्नका लागि वास्तुविद्सँगै परार्मश गर्नु उपयुक्त हुन्छ। घर निर्माण गर्नु पूर्व शुभ साइतमा शिलान्यास गर्ने र निर्माण भइसकेपछि विधिपूर्वक गृह शुद्धि र कलशपूजा गरी गृहप्रवेश गर्ने पुरानो प्रचलन हो। भनिन्छ, वास्तुपूजा गरी बसोबास गरिएको घर सौभाग्यवर्द्धक हुन्छ।

– कल्याण पन्त

http://eadarsha.com