यसरी बन्दैछ बाहिरी चक्रपथ

सुरेश तामाङ/उज्यालो ।

काठमाडौँ, वैशाख ८– बाहिरी चक्रपथ विकास आयोजनाले भूकम्पपछि परिवर्तन गरेको चक्रपथको बैकल्पिक नक्सा बनाउने कामलाई अन्तिम चरणमा पुर्याएको छ । असार मसान्तभित्र उक्त नक्सा स्वीकृत गराउन नक्सा बनाउने कामलाई अन्तिम चरणमा पुर्याएको आयोजनाले जनाएको छ ।

नक्सा बनेर स्वीकृतिको प्रकृयामा जाने र लगत्तै चक्रपथ निर्माणका लागि स्थलगत प्रक्रिया थालिने आयोजना प्रमुख रमामैया मानन्धरले बताउनु भयो । ‘बैकल्पिक नक्सा बनाउँदै छौँ, त्यो झण्डै अन्तिम चरणमा पुगेको अबस्था छ’ उहाँले भन्नुभयो ।‘हामीले त्यो नक्सा फाइनल भइसकेपछि असार मसान्तभित्र स्वीकृत प्रकृया थाल्छौँ र लगत्तै काम दु्रत गतिमा बढाउन हामी फिल्डमा खट्छौँ’ आयोजना प्रमुख मानन्धरले भन्नुभयो ।

अझैपनि बाहिरी चक्रपथको महत्व नबुझेका कारण स्थलगत प्रक्रिया नै थाल्नुपर्ने उहाँले बताउनुभयो । ‘पहिले यसबारे नबुझेका र विरोध गरेकाहरु पनि हामी कहाँ सकारात्मक भएर बुझन आइपुगेका छन्’ उहाँले भन्नुभयो ।

आयोजनाले बैशाखमा गएको विनाशकारी भूकम्पपछि बाहिरी चक्रपथको नक्सा बैकल्पिक रुपमा परिवर्तन गर्न थालेको थियो । भूकम्पले धाप क्षेत्रमा घर निर्माण गर्नु हुन्न भन्ने पाठ सिकाएकाले यो क्षेत्रलाई संरक्षण गर्दै साविक कार्ययोजनामा परिवर्तन गर्दै बैकल्पिक नक्सा परिवर्तनको काम थालिएको आयोजनाले जनाएको छ ।

नयाँ बन्ने बैकल्पिक नक्सामा बाहिरी चक्रपथले काठमाडौ, ललितपुर र भक्तपुरका कृषियोग्य जमिन तथा पानीका स्रोत भएका क्षेत्रलाई संरक्षण गर्नेछ । नयाँ योजनाका कारण २५ हजार रोपनी कृषियोग्य जमिन संरक्षण हुने दाबी आयोजनाले गरेको  छ । उपत्यकाका तीनै जिल्लालाई जोड्ने सरकारले बाहिरी चक्रपथको अवधारणालाई अघि बढाउन ११ वर्षअघि योजना बनाएको थियो ।

कस्तो बन्छ बाहिरी चक्रपथ ?

७२ किमीको लम्बाईको परिकल्पना गरेको बाहिरी चक्रपथ काठमाडौँमा ३५.०८ किमी, ललितपुरमा १५.८० किमी र भक्तपुरमा २१.०५ किमी बनाइने आयोजनाले जनाएको छ । जग्गा एकिकरण गरी बन्न लागिएको चक्रपथमा झण्डै ६२ हजार रोपनी क्षेत्रफलमा व्यवस्थित वस्ती विकास गर्ने योजना राखेको छ ।

आठ लेनको बन्ने सडकको मध्य भाग राजमार्गका लागि छुट्याइएको छ भने त्यसको दायाँबायाँ भागमा लोकल रुटमा चल्ने सवारी साधन गुड्ने भनिएको छ ।साइकल ट्रयाकका लागि समेत पर्याप्त ठाउँ छुट्याइएको छ । लेन विभाजन गरिएका हरेक स्थानमा आकर्षक हरित पेटिका सहितको ५० मिटर चौडाइमा चक्रपथ बन्ने छ ।

चक्रपथको दायाँबायाँ २५० मिटर जग्गा एकिकरण गर्दै सडक, विद्युत, खानेपानी, सार्वजनिक पार्क, पिकनिक स्पट, विद्यालय, अस्पताल, खुला स्थान, सपिङमल, मनोरञ्जन स्थललगायत पूर्वाधारको व्यवस्थित बस्ती विकास गर्ने योजना राखेको छ ।

कसरी बन्छ चक्रपथ ?

आयोजनाले चक्रपथ जग्गा एकिकरण गरेर बनाउँदै छ । यसो गर्दा स्थानीय विस्थापित हुुनु नपर्ने र राज्यले पनि मुआब्जा बापतको रकम दिनुनपर्ने भएकाले यस्तो प्रक्रिया अपनाउन लागेको हो ।

ठूलठूला आयोजना गर्दा अन्तर्राष्ट्रिय स्तरमै जग्गा एकिकरण गर्ने प्रचलित रहेकोले नेपालमै यसको अभ्यास थालेको आयोजना प्रमुख मानन्धरले भन्नुभयो ।मानन्धरका अनुसार यस प्रक्रियाको अबलम्बन गर्दै राज्यले आयोजना निर्माण प्रभावित क्षेत्र पहिचान गर्ने र प्रभावित क्षेत्रका सम्पूर्ण जग्गा एकीकरण गर्ने भनिएको छ ।

यसका लागि आवश्यक जग्गा छुट्याएर बाँकी रहेका जग्गा जग्गाधनीलाई नै फिर्ता गरिने योजना छ । तर आयोजनालाई काम गर्न किर्तीपुर र कार्यविनाय नगरपालिकाले अहिलेसम्म् स्वीकृति दिएका छैनन् ।

बाहिरी चक्रपथको रुट

बन्न लागिएको बाहिरी चक्रपथ काठमाडौँमा चोभार, मच्छेगाउँ, सतुङ्गुल, नैकाप–पुरानो भञ्ज्याङ, सीतापाइला, नागार्जुनडाँडा, नेपालटार, गोङ्गबु, टोखागाउँ, चपली, कपन, जगडोल, सन्डोल, नयाँपाटी र थलीडाँछी क्षेत्र हुँदै जानेछ ।  त्यस्तै भक्तपुरमा चाँगुनारयण, दुवाकोट, झौखेल, बागेश्वरी, सुडाल, कटुन्जे, नयाँ ठिमीबाट दधिकोट र सिरुटार समेट्नेछ भने ललितपुरमा लुभु, सिद्धिपुर, ठैव, धापाखेल, ठेचो, छम्पी, खोकना र बुङ्मती हुँदै चोभारसम्म पुगेर टुंगिने छ ।

सुरुमै स्थानीय बासिन्दाको विरोध

चक्रपथ सहित व्यवस्थित बस्ती विकास गर्दा झण्डै सात हजार दुई सय रोपनी कृषियोग्य भूमि अधिकरण गर्नु पर्ने, अधिकरण गर्दा बाटोमा पर्ने जग्गाधनीहरु विस्थापित हुनु पर्ने, बस्ती विकास हुँदा खानेपानी तथा ढल निकासमा चाप पर्ने, परम्परागत बस्ती, धार्मिक मठमन्दिरको विनाश हुने, उपत्यका हरियालीका सट्टामा घरै घरले भरिने भो भन्दै स्थानियबाट विरोध भएको थियो ।

बैकल्पिक नक्सामा के छ ?

अबको बैकल्पिक रुपमा तयार पार्ने नक्सामा स्थानीयबासिन्दाको विरोधलाई सम्बोधन गर्ने आयोजनाले  विश्वास लिएको छ  ।

आयोजनाले नयाँ बैकल्पिक नक्सामा पहिलै वस्ती बसेका स्थान जस्तै खोकना, ठेचो जस्ता परम्परागत बस्ती, धार्मिक मठमन्दिर रहेका स्थानलाई संरक्षण र विकास गरेर स्याटलाइट सिटीको रुपमा वस्ती विकास गर्ने उदेश्यले बैकल्पिक नक्सा तयार पार्नेतिर गृहकार्य भईरहेको छ ।

चक्रपथको संरचनामा भने  ३४ पक्की पुल र भित्री चक्रपथबाट बाहिरी चक्रपथमा जोड्ने ४७ वटा सडक हुने छ ।

आयोजनाको अहिलेसम्मको खर्च

बाहिरी चक्रपथ निर्माणको लागि लागत छ अर्ब ३६ करोड रुपैंया लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । आयोजनाले हालसम्म विस्तृत अध्ययन प्रतिबेदन (डिपिआर), परामर्श तथा कर्मचारी तलबका लागि मात्रै नौ करोड ८८ लाख ४५ हजार पाँच सय ४६ रुपैंया रकम आयोजनाले खर्च गरिसकेको छ ।

यो विवरण आर्थिक वर्ष २०६१/०६२ देखी ०७०/०७२ सम्मको हो । आयोजनासँग १० वर्षको अवधिमा १७ करोड १६ लाख ९४ हजार तीन सय चार रुपियाँ वार्षिक वजेट थियो ।

भने १० करोड ४९ लाख ४४ हजार तीन सय ९८ रुपियाँ निकाशा गरी खर्च गरिएको थियो । सात करोड २८ लाख ४८ हजार सात सय ५७ रुपियाँ ८६ पैसा खर्च हुन बाँकी रहेको आयोजनाको खर्च विवरणमा उल्लेख छ ।

चक्रपथ बनेपछिको फाईदा

चक्रपथ बनेपछि फाईदै फाईदा हुनेछ । उपत्यकाको दक्षिण र पूर्वि भू–भागमा आवागमनको सुविधा बढ्ने, उपत्यकाको ग्रामिण र शहरी क्षेत्रको सेवा सुविधाको लागि पहुँच हुने, सिन्धुली बनेपा राजमार्ग लगायत उपत्यकासँग तराई जोड्ने फास्ट ट्रयाकमा जोडेर यातयातमा सहज पार्नेतिर बाहिरी चक्रपथले मुख्य भूमिका खेल्ने आयोजनाको दाबी छ ।

तीब्र जनसंख्या वृद्धि, अव्यवस्थित शहरीकरण, साँघुरो वस्ती, भित्री चक्रपथको क्षेत्रमा भौतिक सुधार कठिन र खर्चिलो, चक्रपथ बाहिरको खुला तथा कृषियोग्य भूमि समेत क्रमिक रुपमा अव्यवस्थित शहरीकरणले विगार्न थालिसकेको, खुला स्थलको अभाव र अवरुद्ध आवागमनले गर्दा वातावरणमा पारेको प्रभावलाई मध्यनजर गर्दै बाहिरी चक्रपथको परिकल्पना गरेको हो ।

ujyaaloonline.com

Stock market ideas in Nepali language