यसरी चुरोटको हानी कम गर्न सकिन्छ

तपाईं चुरोट तान्नु हुन्छ ? चुरोटले तपाईंको स्वास्थ्यमा गम्भीर असर गर्ने भएकाले सकेसम्म चुरोट त्याग्नुहोस् । चुरोटबाट बच्नका लागि पहिलो उपाय त्याग्नु नै हो ।

चुरोटमा पाइने निकोटिनको कुलत रसायनले धेरैलाई चुरोट छोड्न गाह्रो हुन्छ । चुरोटको सिधा असर मांशपेशी, स्नायु कोष र स्मरण शक्तिमा पर्छ । यसरी संवेदनशील अंगमा प्रहार गर्ने चुरोटको निकोटिनले रक्तचाप र मुटुको चालमा समेत असर गर्छ । विशेष गरी चुरोट तान्नाले रक्तचाप र मुटुको चाल बढ्छ ।

चुरोट तान्नेहरुलाई कुलत छोड्न अत्यन्त गाह्रो हुन्छ । त्याग्नु नै उपयुक्त उपाय भए पनि त्याग्न नसक्नेले हानी कम गर्ने उपाय अपनाएमा स्वास्थ्यमा सामान्य सुधार आउन सक्छ । हानी कम गर्ने वैज्ञानिक विधि छैन । घरायसी विधि नै उपयुक्त हुने गरेको छ । चुरोटले शरीरमा निकोटिनको मात्र बढाउने हुनेले त्यसलाई कम गर्न विभिन्न उपाय अपनाउन सकिन्छ । यसका लागि सबैभन्दा उपयुक्त फलफूल सुन्तला हो । चुरोटबाट हुने हानी कम गर्न सुन्तला सँगै ब्रो काउली, अदुवा, पालुंगो, गाजर, कागती, अनार खानु उपयुक्त हुन्छ ।

प्रशस्त सुन्ताला खाएमा निकोटिनको तलतल कम हुन्छ भने ब्रो काउलीमा भिटामिन सी र बी पाइन्छ । यसले फोक्सोलाई निकोटिनले गर्ने असरबाट केही हदसम्म जोगाउछ । धेरैले विभिन्न औषधिका रुपमा प्रयोग गर्ने अदुवाले समेत शरीरमा उत्पन्न हुने विकार फाल्न सहयोग गर्ने गर्दछ । अदुवाले निकोटिनबाट शरीरमा उत्पन्न हुने विकारलाई नियन्त्रण गर्न सहयोग गर्छ । त्यत्तिमात्र नभई अदुवाले रक्तनलीमा हुने विषादीलाई समेत हटाउन महत्वपूर्ण काम गर्छ ।

भान्सामा धेरै प्रयोग हुने गाजरमा भिटामिन सी र भिटामिन एले मानिसलाई मानसिक स्फूर्ती प्रदान गर्दछ । धुम्रपानबाट शरीरमा कम भएको भिटामिन सी र एबाट हुने असरबाट गाजरले जोगाउने गर्छ । सँगै, कागती समेत धुम्रपानबाट हुने असर कम गर्ने महत्वपूर्ण फल हो । कागतीले निकोटिनका कारण छालामा देखिएको रोगलाई कम गराउछ । कागतीमा पाइने भिटामिन सीले निकोटिनसँग जुद्धने क्षमताको विकास गर्छ ।