मूल्य वृद्धिसँगै काठमाडौंमा घरजग्गा कारोबार पाँच वर्षमा साढे २ गुणाले बढ्यो

काठमाडौं, १ कात्तिक । काठमाडौं जिल्लामा ५ वर्षमा घरजग्गा कारोबार साढे दुई गुणाले बढेको छ । आर्थिक वर्ष २०६८/६९ मा १८ हजार ९ सय १० कित्ता कारोबार भएको घरजग्गा गएको आव २०७२/७३ मा बढेर ६५ हजार ७ सय २० कित्ता पुगेको भूमिसुधार तथा व्यवस्थापन विभागले जानकारी दिएको छ ।

काठमाडौं जिल्लाका पाँचओटा मालपोत कार्यालयको तथ्याङ्कअनुसार गत आवमा उक्त सङख्याको घरजग्गा कारोबार भएको प्रमाणीकरण भएका छन् । गएको वर्षमात्र एकै वर्षमा ६५ हजार ७ सय २० घरजग्गा किनबेच भएका छन् ।

अघिल्लो आर्थिक वर्ष २०७१/७२ मा ३३ हजार ८ सय २७ घरजग्गा कारोबार प्रमाणीकरण भएकोमा गएको वर्ष कारोबारको संख्या दोब्बर भएको छ । गएको आवमा अघिल्लो आवको भन्दा ३१ हजार ८ सय ९३ घरजग्गा बढी कारोबार प्रमाणीकरण बढी भएको छ ।

खासगरी भूकम्पयता काठमाडौं बसाइँको आकर्षण बढ्दै गएकोले यहाँको जग्गा खरीद बिक्री पनि ह्वात्तै बढेको छ । साथै जग्गामा गरिएको लगानीले आकर्षक प्रतिफल दिने भएकाले पनि उपत्यकामा जग्गा कारोबारीको सङ्ख्या बढिरहेको विभागका निर्देशक सुशीलप्रसाद आचार्यले बताए । राजधानी केन्द्रित भौतिक पूर्वाधारहरूको निर्माणले गर्दा काठमाडौंको जनसङख्या वृद्धिदर कम हुने लक्षण देखिएको छैन । त्यस्तै बसाइँसराइ गरेर काठमाडौंमा आउनेको संख्या पनि बढिरहेको छ ।

घरजग्गा किनबेच भएको कित्ता
आर्थिक वर्ष     कित्ता संख्या
२०७२/७३     ६५,७२०
२०७१/७२     ३३,८२७
२०७०/७१     १९,७९०
२०६९/७०     ४४,९२७
२०६८/६९     १८,९१०
स्रोतः भूमिसुधार तथा व्यवस्थपान विभाग

जग्गा खरिदमा न्यून मूल्याङ्कन

जग्गाको कारोबारी बढ्दैसँगै राज्य ठगिने क्रमपनि बढ्दै गएको छ । किनबेच भएका अधिकांश घरजग्गाको मालपोत मूल्याङ्कन २ लाख ५० हजारदेखि ४ लाख ५० हजार रुपैयाँ प्रतिआना कायम गरिएको छ । तर, वास्तविक किनबेच भने प्रतिआना ४ लाखदेखि ९ लाख रुपैयाँसम्ममा हुने गरेको घरजग्गा व्यवसायीहरूले बताउँछन् । राज्यलाई तिर्नुपर्ने घरजग्गा रजिष्टेश दस्तुर छल्नका लागि कारोबारी( किन्ने र बेच्न) हरु घरजगाको न्यून मूल्याङ्कन गर्दै आएका छन् ।

अहिले बैंकहरूले घरजग्गा खरीदका लागि कम दरमै ऋण दिइरहेकाले पनि यसको खरीद बिक्री बढेको हो । नेपालमा आपूmले जम्मा गरेको पैसा सुरक्षितरूपमा राख्ने अरू विकल्प नहुँदा अर्थात घरजग्गामा गरेको लगानीले उचित प्रतिफल दिने भएकाले पनि कारोबार बढ्दै गएको हो ।

९० प्रतिशत घरजग्गा चक्रपथ बाहिर किनबेच

मालपोत कार्यालय डिल्ली बजार बाहेक सबै मालपोत कार्यालय चक्रपथ बाहिर छन् । मनमैजु र साँखु मालपोत चक्रपथभन्दा धेरै टाढा छन् भने कलङ्की र चाबहिल मालपोत चक्रपथसँगै बाहिर जोडिएका छन् ।

यी सबै मालपोत कार्यालयमा सबै जसो जग्गा चक्रपथ बाहिरकै किनबेच भएका छन् । काठमाडौंमा बसाइँ सर्नेको चाप बढ्दै जानु र चक्रपथभित्र खाली ठाउँ एकदमै कम भएकोले चक्रपथ बाहिरका ठाउँ धेरैको रोजाइमा परेको मालपोत कार्यालय, कलङ्कीका प्रमुख प्रेमप्रसाद दाहालले बताँउछन् । चक्रपथभित्रै घर जग्गा किन्ने मानिसको संख्या बढी हुने व्यवसायीहरू बताँउछन् । तर, चक्रपथभित्र ठाउँ नै खाली नभएको र जग्गा हुनेले पनि बेच्न नचाहने भएकाले कारोबार संख्या कम भएको उनीहरूको भनाइ छ ।

bikashnews.com