मामाभाञ्जाले शुरू गरे व्यावसायिक कालिज पालन

कास्की । पोखरामा मामाभाञ्जाले जङ्गलमा पाइने कालिजको व्यावसायिक पालन शुरू गरेका छन् । व्यवसायीद्वय मामा पदम अधिकारी र भाञ्जा सोमनाथ लामिछानेले बेल्जियमबाट कालिजको अण्डा ल्याएर ह्याचरीबाट प्रशोधन गरी व्यावसायिक रूपमा कालिज पालन शुरू गरेका हुन् ।

उनीहरूले ठूलो क्षेत्रफल भएको क्षेत्रमा घाँस, स–साना रुख र घाँस रोपेर वरिपरि तारबार घेरेर व्यावसायिक कालिज पालन शुरू गरेका हुन् । उनीहरूले गगनगौंडापारि लामगादीमा सोमनाथ लामिछानेको १९ रोपनी पाखोवारीमा कालिजपालन गरेका हुन् । उनीहरूले २०७२ माघदेखि नेपाल वाइल्ड फूड प्रडक्ट प्रालि नामक कम्पनी  दर्ता गरेर व्यावसायिक कालिज पालन शुरू गरेका हुन् । १ करोड रुपैयाँको लगानीमा खोलिएको फार्ममा अधिकारीको ८० प्रतिशत र लामिछानेको २० प्रतिशत लगानी रहेको छ ।

Learn English - Dew Meaning in English to Nepali below

२३ वर्षदेखि बेल्जियममा व्यवसाय गर्दै आएका युवा व्यवसायी अधिकारीले बेल्जियमबाटै कालिजका अण्डा ल्याएर ह्याचरीमार्फत चल्ला उत्पादन गरी व्यावसायिक पालन थालेका हुन् । २ वर्षअघि थालिएको कालिज उत्पादन अहिले फैलिँदै गएको छ । बेल्जियममा काम गर्ने क्रममा उनले व्यावसायिक कालिज पालन देखेका थिए । त्यहीँ आफैंले खानका लागि छुट्टै कालिज पाल्ने गरेका उनले स्वदेशको जन्मथलो आएर व्यावसायिक कालिज उत्पादन गर्ने योजना बनाएका हुन् ।

विदेशमा सिकेको नयाँ व्यवसाय, कसैसँग प्रतिस्पर्धा गर्नै नपर्ने र प्रशस्त सम्भावना भएकाले व्यावसायिक पक्षीपालन शुरू गरेको अधिकारीले बताए । शुरूमा १ हजार २ सय अण्डा ल्याएर काठमाडौंको एक ह्याचरीमा चल्ला उत्पादन गर्न लगाएर उनले त्यसलाई पोखरामा व्यावसायिक पालन गर्न थालेका हुन् । ‘कालिजको मासु र अण्डा स्वादिष्ट र स्वस्थकर हुने भएकाले बजारमा माग उच्च हुने सम्भावना देखेर उक्त व्यवसाय थालेका हौं,’ अभिकारीले भने, ‘हामीले कालिज पालन थालेको चर्चा चलेपछि काठमाडौं, विराटनगरलगायत स्थानबाट माग आएको छ ।’ उनका अनुसार कालिज पालनका बारेमा चर्चा, परिचर्चा चल्न थालेपछि उनको फार्ममा दैनिकजसो कालिजको मासु र अण्डा लिन र व्यावसायिक पालनका लागि सल्लाह लिन आउनेहरूको भीड नै लाग्न थालेको छ ।

अधिकारीले हाल दुईओटा ह्याचरी मेशिन ल्याएर आफैंले चल्ला उत्पादनसमेत थालेका छन् । अब एकैपटकमा ४/५ हजार चल्ला उत्पादन गर्न मिल्ने ह्याचरी मेशिन ल्याउने योजनामा रहेको उनले बताए । २ लाखभन्दा बढी कालिज पालन गर्ने योजनामा आफूहरू रहेकोसमेत उनको भनाइ थियो ।

आहारका रूपमा कालिजले मकै, गहुँ, घाँस, कीरा, फट्याङग्रा र सागपातलगायत खानेकुरा खाने गर्दछन् । हाल सातओटा केजमा तार जाली लगाएर कालिज पालन व्यवसाय गरिएको छ । उनीहरूले अहिले बाख्रा तथा तित्रा पालनका साथै फलफूल र तरकारी खेतीसमेत गर्दै आएका छन् । डेढ किलोग्राम तौल भएको कालिज विक्रीका लागि उपयुक्त मानिन्छ । उनीहरूले अहिले प्रतिगोटा ३ हजारमा कालिज विक्री गर्दै आएका छन् ।

abhiyan