महिलाका नाममा घरजग्गा स्वामित्व बढ्दै

सिन्धुली: सरकारले महिला, दलित र ज्येष्ठ नागरिकका नाममा घरजग्गा पास गर्दा राजस्वमा छुट दिन थालेपछि उनीहरूको स्वामित्वमा घरजग्गा दर्ता हुने क्रम बढेको छ । यी व्यक्तिलाई घरजग्गा रजिस्ट्रेसन पास गर्दा २५ देखि ३० प्रतिशतसम्म छुट दिने व्यवस्था छ । महिलाका नाममा समेत घरजग्गाको स्वामित्व बढाउने उद्देश्यले सरकारले महिलाको नाममा स्वामित्व दर्ता गर्दा लाग्ने राजस्वमा ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको छ ।

यससँगै जिल्लामा महिलाका नाममा रजिस्ट्रेसन पास गर्नेको संख्यामा झण्डै ४० प्रतिशतले वृद्धि हुँदै गएको जिल्ला मालपोत कार्यालयले जनाएको छ । राजस्व छुट पाउने भएपछि बर्सेनि २० देखि ४० प्रतिशतसम्मले महिलाको नाममा घरजग्गाको स्वामित्व दर्तामा वृद्धि हुँदै गएको निमित मालपोत अधिकृत भगिरथ सिग्देलले जानकारी दिए ।

उनका अनुसार चालू आवको १० महिनामा मात्र जिल्लाका एक हजार सात सय ५९ जना महिलाका नाममा घरजग्गा दर्ता भएको छ । यो संख्या सहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रमा धेरै छ । राजस्व छुटले ग्रामीण क्षेत्रका महिलामा घरजग्गाको स्वामित्व बढाएको छ । चालू आवको १० महिनाको तथ्यांकअनुसार एक हजार सात सय ५९ जना मध्ये ग्रामीण क्षेत्रका एक हजार एक जना महिलाको नाममा घर जग्गा पास भएको छ ।

उनीहरूका नाममा घरजग्गा दर्ता हुँदा ५४ लाख ३५ हजार रुपैयाँ राजस्वमा छुट भएको छ । यस्तै एक सय ८४ जना दलित महिला र १३ जना जेष्ठ नागरिकका नाममा समेत स्वामित्व रहने गरी घर जग्गा दर्ता भएको छ । बाँकी दुई महिनामा झण्डै त्यसको ३० प्रतिशत महिलाकै नाममा रजिस्ट्रेसन हुने अपेच्छा गरिएको छ । आर्थिक वर्ष ०७१/०७२ मा कुल ६ हजार आठ सय ६ वटा मालपोत पास गराएकोमा एक हजार पाँच सयभन्दा बढी महिलाको नाममा रजिस्ट्रेसन पास भएको थियो ।

गत आवको तुलनामा यस वर्ष उल्लेख्यमात्रमा महिलाले आफ्नो नाममा घर तथा जग्गा रजिस्ट्रेन गराएको सिग्देलले जनाए । उनले भने, ‘सरकारले नगरपालिका क्षेत्रका महिलाका लागि २५ प्रतिशत र गाविस क्षेत्रका महिलाका लागि ३० प्रतिशतसम्म मालपोत दस्तुरमा छुट दिने व्यवस्था गरेको छ । सोहीअनुसार आव ०७२/०७३ को यो अवधिसम्ममा ५४ लाख ३५ हजार रुपैयाँ राजस्वमा छुट पाएका छन् ।’

आव ०७१/०७२ मा मालपोत पास गराउने महिलाले ४९ लाख ६६ हजार रुपैयाँ राजस्वमा छुट पाएका थिए । ‘कार्यालयको हालसम्मको तथ्यांकअनुसार ग्रामीण क्षेत्रका एक हजार एक जना महिलाका नामा जग्गा पास भएको छ । सहरी क्षेत्रका सात सय ५८ महिलाले आफ्नो नाममा जग्गा पास गराएका छन् ।
चालू आवममा एक सय ८४ दलितले नाममा जग्गा रजिस्ट्रसन पासमा छुट पाएका छन् । मालपोत रजिस्ट्रेसन दस्तुर, सेवा शुल्क र घर जग्गा रोक्का दस्तुरमा महिलाको नाममा स्वामित्व प्राप्त हुने गरी पारित हुने लिखतमा सिन्धुलीलगायत पहाडी जिल्लाका नगर क्षेत्रमा २५ र गाविसमा ३० प्रतिशतसम्म छुट दिने व्यवस्था छ ।

७० वर्ष माथि उमेरका बृद्धको नाममा स्वामित्व दर्ता भएमा पनि महिलासरह राजस्वमा छुट दिने व्यवस्था छ भने सीमान्तकृत समुदायको नाममा राजिस्ट्रेसन पास गर्दा समेत सहरी क्षेत्रमा २५ र ग्रामीण क्षेत्रका भए ३० प्रतिशतसम्म छुट दिने सरकारी व्यवस्था छ ।

annapurnapost.com