महानगरपालिकाले घरजग्गा कर घटायो

काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०७३/०७४ देखि लागू हुने गरी घरजग्गा कर घटाएको छ।
यसअघि मूल सडक अन्तर्गत ३ आनासम्म ३ हजार र त्यो भन्दा बढीलाई प्रतिआना १ हजार ५ सय रुपैयाँ तिर्नु पर्थ्यो। तर अब भने यस्तो मूल सडक अन्र्तगत प्रतिआना १ हजार र एक रोपनीभन्दा धेरै भएमा २० हजार भन्दा बढी तिर्नु पर्दैन।
त्यस्तै सहायक पिच सडक अन्तर्गत यसअघि ३ आनासम्मलाई ३ हजार र त्यो भन्दा बढीलाई एक हजार रुपैयाँ लिने व्यवस्था थियो। तर अब भने प्रतिआना ८ सय र एक रोपनी माथिलाई १५ हजार रुपैयाँभन्दा बढी दस्तुर नलिने भएको छ।
काठमाडौं महानगरपालिकाको राजस्व महाशाखा प्रमुख ध्रुव काफ्लेकाअनुसार सेवाग्राहीले करको रकम बढी भएको गुनासो गर्न थालेपछि महानगरपालिकाले कर घटाएको हो। उनले भने, ‘कर बढी भयो भन्ने धेरै गुनासो आउन थाल्यो। साथै उनीहरुले यस्तो कर रकम तिर्न नसक्ने बताएपछि हामीले घटाएका हौं।’
उनकाअनुसार बाटो प्रमाणित भएको कच्ची बाटोमा रहेको ३ आनासम्मको घरजग्गामा प्रतिआना २ हजार र त्यो भन्दा बढीमा प्रतिआना ८ सय रुपैयाँ कायम थियो। तर अब भने यस्तो घरजग्गामा प्रतिआना ५ सय र एक रोपनी माथिको हकमा १० हजार रुपैयाँ मात्रै कर लाग्ने भएको छ।
गोरेटो बाटो प्रमाणीत भएको तर बाटो भएको वा नभएको दुवैलाई ३ आनासम्म १ हजार र त्यसन्दा बढीलाई प्रतिआना ८ सय रुपैयाँ लिने गरिन्थ्यो। अब भने यसमा कमी आउँदै प्रतिआना ३ सय र १ रोपनी बढीमा ७ हजार कर लाग्ने भएको काफ्लेले जानकारी दिए।
गत २०७२ फागुन १ गतेबाट लागू भएको घरको मूल्याङ्कन दरलाई पनि महानगरपालिकाले परिवर्तन गरेको छ। साना घरधनीलाई मर्का परेको भन्दै महानगरपालिकाले दरमा परिवर्तन गरेको हो।
गत फागुनमा गरिएको संसोधनका कारण ठूला करदाताको तीन गुणासम्म कर घट्न गएको थियो भने मझौलाको हकमा तीन गुणासम्म वृद्धि भएको थियो। यसकारण मझौला करदातालाई मर्का परेको महाशाखा प्रमुख काफ्लेले जानकारी दिए।
यस्ता मझौला करदातालाई लक्षित गर्दै महानगरपालिकाले आर्थिक वर्ष २०७१/०७२ मा तिरेको रकमको १५ प्रतिशत भन्दा बढी कर तिर्नु नपर्ने व्यवस्था गरेको छ। त्यस्तै भूकम्पबाट घरजग्गा पूर्णरुपमा क्षति भई ‘क’ वर्गको भूकम्पपीडित प्रमाणपत्र लिएका घरजग्गाको कर नलिने भएको छ।
kinmel.setopati.com

प्रकाशित मिति: सोमबार, साउन १०, २०७३

 

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks