मदिराले कलेजोमा पार्ने असर

पछिल्लो समय दुई नेपाली कलाकारले लिभर सिरोसिसबाट ज्यान गुमाए । यसले आम नेपालीमा लिभर सिरोसिसप्रति चासो चिन्ता जागेको पाइन्छ । तर चिकित्सकह्रूका लागि भने यी नयाँ घटना होइनन् । कलेजो बिग्रिएर अस्पताल आइपुग्ने ५० प्रतिशतभन्दा बढीको कारण मदिराको अत्याधिक सेवन नै हुने गरेको पाइन्छ । केही वर्षअघिसम्म ५० –६० वर्षको उमेरका मदिरा सेवनकर्तामा देखिने यो समस्या अहिले कतिपयको ३५ मै र धेरैको ४० वर्षमा देखिन थालेको छ । त्यसैले मदिराका कारण कलेजो बिग्रिएर अस्पताल पुग्नेको चाप बढ्दै गएको छ ।

Nepali typing

पछिल्लो दशकमा नेपालीह्रूको खानपान शैलीमा परिवर्तन आएको छ । अझ युवावर्गमाझ मदिराको कुलत अत्याधिक बढिरहेको छ । यसले कलेजो रोगको समस्या निम्त्याइरहेको छ । कुनै समय भाइरल हेपाटाइटिस (बी र सी) र अन्य कारणले कलेजो बिग्रिने समस्या धेरै रहेकोमा  पछिल्लो समय मदिराका कारण कलेजो क्षति बेहोरेका बढी छन् ।

लिभर सिरोसिसको अवस्था

लिभर सिरोसिस भनेको यस्तो अवस्था हो, जसमा कलेजोले काम गर्न छोड्छ । यसको विकल्प भनेको प्रत्यारोपण हो । जुन सेवा नेपालमा उपलब्ध छैन । लिभर सिरोसिस भनेको कलेजोमा देखिने कडापन हो । विभिन्न कारणले कलेजोमा लाग्ने रोगले त्यसका तन्तु र कोषिकाह्रू मर्दै जान्छन्  । जसका कारण कलेजो खुम्चिने र कडा हुने गर्दछ । कलेजोमा मरेर बचेका कोषिकाह्रूलाई हुर्कन दिने हो भने फेरि दुरुस्तै हुन सक्छन् । तर सही उपचार नपाउँदा वा त्यसपछि पनि मदिराको नियमित सेवनले बिग्रिने क्रम बढ्दै जान्छ  र सिरोसिसको अवस्थामा पुग्ने गर्छ । सुरुको अवस्थामा कलेजो सुन्निएपछि बिस्तारै सुक्दै जान्छ । त्यसभित्रको रक्तसञ्चार र पित्तसञ्चार प्रणाली पूर्ण रुपमा खराब भएर जान्छ । काम गर्न नसक्ने साना–साना गाँठाह्रूले कलेजोमा  ठाउँ लिन्छन्  । यसलाई लिभर सिरोसिस भनिन्छ ।

मुख्य कारण मदिरा

लिभरलाई सिरोसिसको अवस्थामा पु¥याउने अनेक कारण छन् । तीमध्ये नेपालमा भने मदिरा प्रमुख कारण भएको तथ्यांकह्रूले बताउँछन् । वीर अस्पतालमा पनि कलेजोको उपचारका लागि आउनेमध्ये अहिले धेरै मदिराको कुलतमा परेकाह्रू छन् । नेपालीमा हुने लिभर सिरोसिसको प्रमुख कारण मदिरा सेवन नै हो । नियमित रुपमा मदिरा सेवन गर्दा कलेजो सुन्निदै जान्छ । किनभने रक्सीको मात्रा बढेसंगै कलेजोमा बोसो जम्छ । कलेजोका कोशिकाह्रू मर्दै जान्छन् र फुल्दै जान्छन् । यस अवस्थामा हल्का जण्डिस देखा पर्ने गर्दछ । यसलाई ‘अल्कोहोलिक हेपाटाइटिस’ भनिन्छ ।’

यस अवस्थाबाट बिरामी बाँचेमा र रक्सी सेवन अझै गरेमा लिभर सिरोसिस हुन्छ । एकै बिरामीमा यी तीनै अवस्था अथवा बोसो जम्ने, जण्डिस देखिने र सिरोसिस हुने हुन्छ ।
कलेजो साँघुरिएर कडा हुँदा कलेजोको बाटो हुँदै जानुपर्ने रक्तनलीमा समस्या आएपछि रगत बान्ता हुने हुन्छ । कलेजो हुँदै जाने पित्तका नली र रक्त नलीह्रूलाई कलेजो खुम्चिँदा काममा पोर्टल भेन (पेटभित्रको सम्पूर्ण रगत कलेजोमा लिएर जाने नली)को चाप बढ्दै जान्छ र खाद्य नली र पेटका रक्त नलीह्रू फुटेर रगत वाक्ने र कालो दिसा हुने समस्या देखा पर्छ ।

कलेजो बिग्रिने कारण
सिरोसिस कलेजो बिग्रिएको अन्तिम अवस्था हो । यो अवस्थामा धकेल्ने मुख्य कारण मदिरा हो । त्यसबाहेक अर्काे ठूलो कारण भाइरल हेपाटाइटिस रहेको विश्वका विभिन्न अनुसन्धानले जनाएका छन्  । हेपाटाइटिसले लामो समयसम्म बिरामी बनाउने भएर अन्तिममा लिभर सिरोसिस समेत गराउने बताइन्छ । मदिरा र भाईरसबाहेक लिभर सिरोसिस गराउने रोग ह्रूमा अटोईम्युन हेपाटाइटिस, प्राइमरी बिलियरी सिरोसिस, विलसन डिजिज, ननअल्कोहलिक फ्याटी लिभर पर्दछन् ।

सबै अवस्थामा कलेजो बिग्रिदै गएको लक्षण नदेखिन सक्छ । जसले गर्दा पनि कलेजोको समस्या आउनुलाई गम्भीर रुपमा हेरिन्छ । तर सिरोसिस हुनुअघि हुने कलेजोमा बोसो जम्ने अर्थात् फ्याटी लिभरमा केही लक्षण देखिन्छन् । पेटको दायाँतर्फ केही माथि बिस्तारै तर निरन्तर दुखिरहने, पेट छाम्दा कलेजो सुन्निएको जस्तो लाग्ने, जहिल्यै थकाइ अनुभव हुने, वाकवाकी लाग्ने, भोक नलाग्ने, चिडचिडाहट, शरीरको रंग परिवर्तन लगायतका लक्षण देखिन सक्ने हुन्छन् । कलेजोमा बोसो जमेपनि लक्षण भने नदेखिन सक्छन् । अवस्था गम्भीर भए मात्रै यी लक्षण देखिने गर्छन् ।

कलेजोमा बोसो जम्ने समस्या देशको जनसंख्याको ७५ प्रतिशत वयस्कमा हुने आँकलन गरिएको छ ।  यीमध्ये ५० प्रतिशतभन्दा बढीलाई मदिराका कारण कलेजोमा बोसो जम्ने समस्या हुने गरेको छ । मदिराले शरीरका अन्य भागमा भएको बोसोलाई समेत असर गर्दछ र लिभर इन्जाइम बढाउँछ । मद्यपान गर्ने करिब ९० प्रतिशत व्यक्तिमा फ्याटी लिभरको समस्या देखिने गरेको बताइन्छ । फ्याटी लिभर र अल्कोहल दुवै मिल्दा कलेजो छिटो बिग्रिन्छ । शारीरिक सक्रियतामा कमी, फास्टफुड लगायत बोसो र चिल्लोयुक्त खाद्यपदार्थको अत्यधिक सेवनले गर्दा मदिरा सेवन नगर्नेहरूमा ‘नन अल्कोहलिक फयाटी लिभर’ को समस्या देखिएको छ ।

कलेजो बिग्रिन नदिन के गर्ने ?

मदिराको सेवन नगर्नु नै कलेजो नबिगार्ने पहिलो उपाय हो । कलेजोमा बोसो जम्न थाल्यो भने गाई, भैंसी, चौरी आदिको घ्यू सेवन नगर्ने, रातो मासु नखाने, अण्डाको पहेँलो भाग, चकलेट, दूधको तर, खुवा आदि जस्ता बोसो चिल्लोयुक्त खाद्यपदार्थ सेवन पनि छाड्नुपर्छ । नियमित व्यायाम गर्ने, मोटोपन घटाउने र बेला–बेला रगतको जाँच गर्ने गर्दा यसबाट जोगिन सकिन्छ । कलेजोमा जम्दै गएको बोसो नियन्त्रण नगर्दा बिस्तारै यो अंग कडा (फाइब्रोसिस) हँुदै जान्छ । फाइब्रोसिस अवस्थामा पुगिसकेपछि कलेजो पुनः सामान्य अवस्थामा फर्किन नसकेपनि उपचार र हेरचाह ग¥यो भने रोग बढ्नबाट रोकिन्छ । फाइब्रोसिसको अवस्थामा समेत रोगलाई रोक्ने प्रयास गरिएन भने सिरोसिस हुन्छ । सिरोसिस भइसकेपछि निको हुने संभावना भने कम हुन्छ ।

औषधि, खानपान, जीवनशैलीद्वारा कलेजोलाई झन् खराब हुनबाट भने जोगाउन सकिन्छ । मदिरा कति पिउने ? मदिरापान धेरैमा जीवनशैलीको एउटा हिस्सा जस्तै भइसकेको छ । विकसित देशका र शिक्षित भन्दा शिक्षित व्यक्तिले पनि मदिरा पिउने भएकाले सर्वसाधारणमा अनेक भ्रम छन् । त्यसैले मदिराले हानी गर्ने भनिएपनि उनीह्रू त्याग्न तयार हुँदैनन् । बरु सबैले खाने गरेको भन्दै आफैंलाई ‘कन्भिन्स्ड’ गर्ने गरेका हुन्छन् । मदिरा पिउदै नपिउनु राम्रो भएपनि पिउनैपर्नेका लागि विश्वमा केही अनुसन्धान भएका छन् । कति पिउँदा हानी नगर्ने, कति समयको अन्तरालमा पिउँदा ठीक हुने भन्ने जस्ता कुरालाई लिएर भएका अनुसन्धानका आधारमा चिकित्सकले मदिरा पिउने मात्रा निर्धारण गरेका छन् र त्यही अनुसार सल्लाह दिन्छन् ।

नियमित रुपमा अत्याधिक मदिरा सेवन गर्नेह्रूमा ५ देखि १० वर्षभित्र कलेजोको समस्या आउने गर्छ ।  अनुसन्धानह्रूका अनुसार पुरुषह्रूले दिनमा ८० ग्राम अर्थात् लगभग ८ युनिटभन्दा बढी अल्कोहोल लगातार ५ वर्ष सेवन गर्दा कलेजोमा समस्या निम्तिने जोखिम उच्च हुन्छ । महिलामा भने यसको झण्डै आधा मदिरा सेवनले पनि समस्या निम्त्याउने देखिएको छ । त्यसो भए कति मदिरा सेवनले हानी गर्दैन ? नियमित मदिरा सेवनका गर्नेका लागि बेलायतमा  भएको एक अनुसन्धानले हप्तामा २१ युनिट मदिरा सेवन गर्दा हानी नगर्ने पत्ता लगाएको छ । जसअनुसार पुरुषका लागि दिनमा ३ युनिटसम्म मदिरा सेवन हानीकारक मानिँदैन । तर महिलाका हकमा भने १४ युनिट मात्रै सेवन गर्न भनिएको छ  ।

जस्तै ४४० एमएलको क्यान बियरमा ३.५ प्रतिशत मदिरा छ भने २ युनिट अर्थात् महिलाले दिनमा १ क्यान बियरभन्दा बढी मदिरा पिउनुहुँदैन । यसैगरी ७५० एमएलको ४० प्रतिशत मदिरा हुने कुनै भोड्का अर्थात् ह्वीस्कीमा २८ युनिटसम्म मदिरा हुन्छ । यसरी युनिटको हिसाब गरिन्छ । प्रतिदिन ३ युनिटभन्दा बढी मदिरा पिउनेले केही दिन बिराएर मात्रै पिउनुपर्छ । अत्याधिक मदिरा सेवनले लिभरमा पु¥याएको हानी निको हुन समय लाग्ने भएकाले केही दिन बिराउन जरुरी छ । ३ युनिटभन्दा बढी मदिरा सेवन गर्नेले सातामा एकपल्ट मात्रै सेवन गर्नु उपयुक्त हुने देखिन्छ ।

महिलालाई किन चाँडै लाग्छ मदिरा ?

सामान्यतया पुरुषको तुलनामा महिलालाई मदिराको नशा चाँडो लाग्ने गरेको पाइन्छ । यसको बैज्ञानिक कारण छ । उनीह्रूको शरीर पुरुषको तुलनामा सानो र शरीरमा पानीको मात्रा कम हुने भएकाले मदिराले चाँडो असर गर्ने बताइन्छ । यसकारण पनि महिलालाई हप्तामा १४ युनिट अर्थात् दिनमा २ युनिट मात्रै मदिरा सेवन गर्दा उपयुक्त हुने अनुसन्धानले सुझाएको छ । पानीको मात्रा जति कम हुन्छ मदिराले त्यति नै चाँडो असर गर्छ । यसैगरी मदिराको असर चाँडो देखिने अर्काे बर्ग ‘ओ’ ब्लड ग्रुप भएकाह्रू पनि हुन् । उनीह्रूलाई पनि सामान्य व्यक्तिको तुलनामा चाँडो मदिराको असर देखिने अनुसन्धानह्रूले देखाएका छन् ।  कलेजो बचाउन मदिरा सेवन नगर्नु नै उत्तम उपाय हो ।

(प्रा. डा पौडेल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालमा कार्यरत छन् ।)

साभारः स्वास्थखबर अनलाइन

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks