confused

बारम्बार ढोकामा ताल्चा लगाउन बिर्सें जस्तो लाग्छ ? ओसीडी पो भयो कि !

कुनैपनि सोचाई दिमागमा बारबार आइराख्ने अर्थात् त्यही कारणले गर्दा एउटै काम धेरै पटक गर्ने कसैको बानी छ भने अप्सेस्सिभ कम्पलसिभ डिस्अर्डर (ओसीडी) हुन सक्छ । यो समस्या बारम्बार आइराख्ने सोचाईले मानिसको व्यवहारमा परिवर्तन भएपछि चाल पाउन सकिन्छ । जस्तै, घरको ढोकामा ताल्चा लगाएर गएको भएपनि मान्छेमा ‘मैले ताल्चा लगाउन बिर्सें कि’ भन्ने  कुरा मनमा खेल्ने र बारम्बार फर्केर हेर्न आउने हुन्छ। ओसीडी मान्छे बुझ्ने भएपछि मात्र थाहा हुन्छ वा १० वर्षको उमेर कटेका जसलाई पनि देखिन सक्छ।

यो समस्या कसैलाई सरसफाईमा पनि  हुन सक्छ । यस्तो समस्या भएकाहरुले हात धोएको धोयै गर्नुपर्ने हुन सक्छ । त्यस्तै, उनीहरु घरमा पाहुना आएको समयमा घर सफा गरिरहने, तन्ना मिलाई रहने, केही अलिकति बिग्रियो भने सफा गर्न लागिहाल्ने हुन्छन्।

Learn English - Dew Meaning in English to Nepali below

यस्तो रोग लागेका बिरामीहरुले सामनहरु एक सेन्टिमिटर यताउता हुन दिदैनन् । यो भनेको एउटा सोच हो, जसले गर्दा उसको व्यवहारमा परिवर्तन आउँछ । सो गर्ने मान्छेलाई एक खालको मानसिक समस्या आइसकेको भन्ने पनि कतिपय उसका आफन्तलाई थाहा हुँदैन । यो उसको बानी हो भनेर वास्ता गरिएको हुँदैन।

यदि कुनै पनि मानिसको जीवनमा सोचाईले परिर्वतन पार्न थाल्यो भने त्यो नै ओसिडी हो ।

बारम्बार एउटै व्यवाहर गर्ने हुँदा ओसीडी लागेका बिरामीको आफन्तको जीवनशैली पनि परिवर्तन हुन्छ ।

यो रोग  वंशाणुगत पनि हुन सक्छ । हुर्किने वातवरणले पनि यस्तो रोग लाग्न सक्छ । यदि घरमा यसो नगर उसो नगर भनेर सबै कुरामा रोक लगाइयो भने पनि ओसीडी हुन सक्छ ।

बच्चाहरुलाई दिसा पिसावमा कन्ट्रोल गरियो  भनेपनि ओसीडी देखिन सक्छ । कुनै पनि मानिसको दिमागमा एउटै चिज बारम्बार आइरह्यो भने उसको दैनिकी बदलिन्छ ।
यो रोग लागि सकेपछि उसलाई त असर गर्छ नै ऊ वरिपरिको वातावरण पनि बिग्रन्छ । श्रीमतिमा सरसफाईको आसीडी छ भने श्रीमान्मा पनि यसको असर पर्छ । यस्तो बिरामीहरु सबै कुरा चुस्तदुरुस्त होस् भन्ने चाहन्छन् ।  अलिकति यताउता भयो भने छिटो–छिटो मिलाउने गर्छन् र यो प्रक्रिया दिनमै कयौंपल्ट दोहोरिन्छ ।

यस्ता मान्छेहरुले सबै कुराको दायरा बनाउछन् र अरुले पनि त्यस्तै गरुन् भन्ने चाहन्छन्। सबैकुरा सही ठाउँमा राख्ने बानी हुन्छ। जबसम्म सही ठाउँमा हुँदैन मिलाई रहने  बानी हुन्छ ।
समयमै यसको उपचार गरिएन भने यस्तो रोगका कारण समाजिक र पारिवारिक  सम्बन्ध बिग्रेका घटना पनि थुप्रै भेट्न सकिन्छ ।

यस्तो रोग लागेको मान्छेलाई बारम्बार ‘तँ यस्तो तँ उस्तो’ भन्नु हुँदैन । होच्याउनु हुँदैन। गिज्याउनु हुँदैन । गिज्याउनु भन्दा उनीहरुलाई सम्झाउने प्रयास गर्नुपर्छ । यो समस्या समयमै पहिचान गरेर उपचार गरिएन भने डिप्रेसनमा जाने पनि हुन सक्छ । देख्दा सामान्य समस्या भएपनि समयमै उपचार गरिएन भने यसले विकाराल रुप लिन सक्छ । त्यसैले समयमै पहिचान गरि समाधानको बाटो अंगाल्नुपर्छ ।

यसको रोकथाम भनेको मनोवैज्ञानिक उपचार हो । थेरापीबाट गर्ने उपचारमा  थटबलकिङ्ग टेक्निकले रोक्न सक्ने क्षमता बढाइदिन्छ । औषधि र थेरापीसँग सँगै गरियो भने यो रोग निको पार्न सकिन्छ ।

यस्तो प्रकारको समस्या भएको धेरैजसोले चालै पाउँदैनन्।  यसको समयमै पहिचान गरी उपचार गर्नुपर्छ । जुन नेपालमै सम्भव हुन्छ । मनोविज्ञ र मानसिक रोग चिकित्सहरुको सहयोगमा यो समस्याबाट मुक्ति पाउन सकिन्छ ।

(त्रिभुवन विश्व विद्यालयकी मनोविज्ञान केन्द्रीय विभागकी सहप्रध्यापक नन्दिता  शर्मासँग सिर्जना खत्रीले गरेको कुराकानीमा आधारित)

swasthyakhabar