घरमा साना केटाकेटी छन् ? घरमा आउने पाहुना, कुनै विशेष चाड या परिस्थितिमा उनीहरूको हातमा पैसा परिरहेको हुन्छ । त्यो पैसा बच्चाले खर्च गर्छ या तपाईं नै मासिदिनुहुन्छ ? यो दुवैभन्दा फरक बाटो रोज्नुहोस् । सानो उमेरको बच्चा हो भने खुत्रुकेमा पैसा जम्मा गर्ने गराउनुहोस् । बजारमा खेलौनाजस्ता देखिने खुत्रुके पाइन्छन् । बच्चालाई उसको नाममा जम्मा भएको पैसा त्यही खुत्रुकेमा जम्मा गर्ने बानी बसाल्नुहोस् ।
केटाकेटीमा पैसा पाएपछि खर्च गरिहाल्ने बानी विकास गराउँदा पैसाप्रतिको महत्व बुझ्नै पाउँदैनन् । हातमा पैसा परेपछि खर्च गरिहाल्ने बानीको विकास हुन्छ । र, केही ठूलो भएपछि उनीहरूले पैसाको दुरुपयोग गर्न सक्छन् । उनीहरूको नामको पैसा अभिभावकले खर्च गरिदिँदा पनि मानसिक समस्या पैदा हुन सक्छ । अभिभावकले पैसा मासिदिएपछि उनीहरूमा पनि पैसा मास्ने नै चिज रहेछ भन्ने पर्न जान्छ । त्यसैले सानैदेखि खुत्रुकेमा जम्मा गरिदिएर पैसाको महत्व सिकाउनुपर्छ । वेला–वेला खुत्रुके खोलेर उनीहरूलाई पैसा देखाइदिँदा अझ प्रफुल्लित हुन्छन् ।
पैसा जोगाउने तथा पैसाको महत्व बुझाउने पाठ सिकाउँदा बच्चाको जम्मा भएको पैसामा वेला–वेला केही पैसा थपिदिने पनि गर्नुपर्छ । ‘तिम्रो पैसा यति भएपछि, हामी यति थपेर धेरै बनाइदिन्छौँ’ भन्दै बचतप्रति उत्साहित बनाउनुपर्छ ।
बच्चा केही ठूलो भएपछि उसको नाममा बैंक खाता खोलेर पैसा जम्मा गरिदिन सकिन्छ । केही रकम जम्मा भएपछि बिमा गराइदिन सकिन्छ । पैसाको मूल्य केही बुझ्ने भएपछि उनीहरूलाई बचत गर्दा भोलि हुने फाइदाबारे जानकारी दिनुपर्छ । भोलिका दिनमा पढ्न तथा अगाडि बढ्न पैसाले खेल्ने भूमिकाबारे दर्शाउनुपर्छ । यसो गर्दा उनीहरूले कुनै पनि मोडमा पैसाको दुरुपयोग गर्ने सम्भावना कम हुन्छ ।
पैसा बचत गर्ने बानीले केटाकेटीमा स्वभावतः पैसाप्रति सकारात्मक धारणा तय हुन्छ । पैसा थप जम्मा हुँदै जाँदा उनीहरूलाई पैसा जथाभावी मास्न हुँदैन भन्ने ज्ञान पैदा हुन्छ । पैसा दुरुपयोग गरेर विभिन्न कुलतमा फस्ने सम्भावना पैसाको महत्व बुझ्ने केटाकेटीमा कमै हुन्छ ।
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks