coffee beans

फैलिँदो कफी व्यवसाय

यस्तो लाग्छ, सहरमा कफी पसल खोल्ने फेसन नै चलेको छ । अब आधुनिक कफी पसलका लागि योग्यताको प्रमाणपत्र ठमेल वा दरबारमार्गसँग मात्र रहेन, अहिले व्यस्त सडकछेउछाउ पनि मान्छे रोकिएर कफी पिउने अवस्था छ । जताततै सफा कफी पसल देखिन थालेका छन् । आकर्षक सजावटका कफी पसलमा ग्राहक पनि बढिरहेका छन् ।
स्वदेश वा विदेशका कफी सपमा काम गरेका, कफी बनाउने (बरिस्ता) तालिम लिएका कफी व्यवसायमा तानिएका छन् भने काठमाडौंमा कफी पारखी देखेरै होला विदेशका कफी चेनले पनि यहाँ आउटलेट खोलिरहेका छन् । सहरमा केही लाखदेखि झन्डै करोड रुपैयाँ लगानीमा कफी सप खुल्ने क्रम चलिरहेको छ ।सचिन कार्की, रमेश श्रेष्ठ, राजेश अधिकारी र सुरेश मिल्ने साथी थिए÷छन् । संघर्षको क्रममा श्रेष्ठ र अधिकारी अस्ट्रेलिया पुगे ।

website designing
अस्ट्रेलियामा कफी पसलमै काम गर्दै गर्दा विज्ञता हासिल गरेका रमेशले तीन वर्षअघि काठमाडौं आएका बेला साझेदारीमा कफी व्यवसाय सुरु गर्ने प्रस्ताव गरे । उपयुक्त ठाउँ खोज्ने जिम्मा सचिनलाई लगाए । एकदिन दरबारमार्गमा एक तलामाथि टुलेट लेखेको देखेपछि सचिनले तत्कालै रमेशलाई बोलाए । दुवैले ठाउँ देखेपछि रमेशले तुरुन्त त्यही कफी पसल खोल्ने निर्णय सुनाए ।
रमेशको डिजाइनमा बनाउँदै जाँदा करोड रुपैयाँ खर्च भयो, नाम कफी पसल नै राखियो । सञ्चालन गरेको डेढ वर्षसम्म त कमाएको पैसाबाट भाडा तिर्नपर्‍यो । ‘दुई जनाले यहाँ र दुई जनाले अस्ट्रेलियामा कमाएको पैसा कफी पसलमै लगानी गर्नुपर्‍यो । एक वर्षदेखि त नाफामै छ,’ सचिन सुनाउँछन् । अबचाहिँ उनीहरु दोस्रो आउटलेट खोल्न ठाउँ हेर्दैछन्, झम्सिखेल र नयाँ बानेश्वरमा ठाउँ खोजिरहेका छन् । ‘अहिलेसम्म दुई जना अस्ट्रेलियामै छन्, यहाँ बस्ने दुई जनाको पनि मुख्य पेसा अडिट हो,’ सचिन थप्छन्, ‘आउटलेट बढ्दै गए चारै जनाको मुख्य पेसा यही हुनसक्छ ।’
रवि टिवडेवालको परिवारको ट्रेडिङका साथै वित्तीय क्षेत्रमा लगानी छ । रविले चाहिँ भर्खरै कफी व्यवसायमा हात हाले । भारतको कफी चेन सप क्याफे कफी डे (सीसीडी)को आउटलेट उनकै लगानीमा खुलेको छ, जाउलाखेलमा । सहरमा कफी पसल उदाउँदो व्यवसायको रूपमा देखिएपछि उनलाई पनि कफी पसल खोल्न मन लाग्यो । एकाध पसल खोलेर उनको चित्त बुझ्नेवाला थिएन, धेरै आउटलेट खोल्न कफीका जानकार थिएनन् । यसैले उनले विदेशी कफी पसल चेनसँग सम्पर्क गरे । सीसीडीसँग कुरा मिल्यो ।
‘कफी पसल खोल्ने लहर ५ वर्षयता सुरु भएको हुनपर्छ,’ हिमालयन जाभाका मालिक गगन प्रधान सुनाउँछन्, ‘तर पछिल्लो समय कफी सप रफ्तारमा खुलिरहेका छन् ।’ कपी सप खुल्ने क्रम रोकिनेवाला छैन । पोखरा त यसै पनि कफी सप खुल्ने ठाउँ नै हो । बुटवल, भरतपुरलगायत भाइब्रेन्ट सहरमा पनि यो फैलिनेवाला छ । सचिन कार्कीको भनाइमा कफी सप खोल्ने लहर आउनुमा दुई कारण छन्, एउटा विदेशमा कफी सपमै काम गरी फर्किएका वा देखेका नेपालीको यहाँ कफी व्यवसाय गर्ने हुटहुटी, अर्को हिमालयन जाभाले १८ वर्षमा जसरी कफी सपको नेटवर्क विस्तार गरेको छ, त्यहाँ काम गरेकाको रोजाइमा पनि कफी सप खोल्ने भयो । यस बीचमा कफी ट्रेनिङ दिने इन्स्टिच्युट पनि खुलेका छन् । तालिम लिनेको दुईवटै लक्ष्य हुन्छन्, विदेश जाने वा यही कफी पसल खोल्ने । हिमालयन जाभाको ट्रेनिङ स्कुलले वर्षमा झन्डै एक हजारलाई तालिम दिन्छ ।
हिमालयन जाभाका कामदारको दुई लक्ष्य हुन्छ, कफीमा दक्ष भएर बिदेसिने वा आफ्नै व्यवसाय सुरु गर्ने । गगनका अनुसार विदेशमा युरोप, अमेरिका क्यानडा आदि पश्चिमा देश नै ताक्छन् । आकर्षक जागिरको ग्यारेन्टी भए खाडी जाने हुन् । बिदेसिने आकर्षक गन्तव्य नपाएकाले पनि यतै कफी सप खोलेर बसेका छन् । गगनले भनेजस्तै एकदिन कफी सप खोल्छु भनेर १० वर्षअघि अर्जुन चौहान हिमालयन जाभामा काम गर्न पुगेका थिए । बरिस्ताको सहयोगी भएर उनले भुइँ पुछ्ने काम पनि गरे । तर, मर्दा रोजगार हैन रोजगारदाता बन्छु भन्ने सपना बोकेर विस्तारै आफैं बरिस्ता भए । दक्षता थपिने क्रम रोकिएन, ट्रेनर पनि भए ।
एसोसियएन अफ अमेरिकन क्याफेको सदस्य जाभालाई ट्रेनिङका लागि एक जना उत्कृष्ठ बरिस्तालाई मनोनयन गर्न प्रस्ताव आएपछि गगनले अर्जुनकै नाम पठाए । अमेरिकामै लुकेर बसेनन्, एकदिन रोजगारदाता बन्छु भन्ने सपना थियो, फर्किए । अहिले अर्जुन जाभाको जागिर छाडेर हाइल्यान्ड बिन्ज क्याफे खोलेर बसेका छन् । जाभामा जागिरे छँदै उनले भक्तपुरको सुकुल ढोकामा हाइल्यान्ड बिन्ज खोलेका थिए, साझेदारीमा ।
जाभामै काम गर्ने एउटै जिल्ला (रामेछाप) का साथी दुर्गा श्रेष्ठ उनको साझेदार बने । उनले गौशालामा सानो कफी सप खोले । त्यो कफी सप चलेपछि बत्तीसपुतलीमा नौ सय वर्ग फिटमा कफी पसल खोले, जाभाको जागिर पनि छाडे । गुणस्तरीय कफी कसरी सर्भ गर्ने भन्ने ज्ञान पूरा छ, यसैले दुईवटै पसलको व्यापार उनले अनुमान गरेभन्दा राम्रो भयो ।
लगनखेलको ललितपुर मलमा भर्खरै हाइल्यान्ड बिन्ज सञ्चालनमा आएको छ । जाभाका उत्पादन भएकाले हाइल्यान्ड बिन्जले जाभास्तरकै गुणस्तरीय सेवा दिन प्रयास गरिरहेको छ । ‘अबको दुई वर्षमा आठवटा कफी पसल पुर्‍याउने लक्ष्य छ,’ अर्जुन मुस्कुराउँछन् । उहाँका अनुसार सन १९९९ मै हिमालयन जाभा खुले पनि लामो समय (२०११) सम्म ठमेलमै सीमित थियो । यसबीचमा माग आएपछि काठमाडौं गेस्टहाउस, लिंकन स्कुल एकाध ठाउँ एसप्रेसो मेसिन राखेर स-सानो पसल चलाइदिए पनि जाभा विस्तार हुन सकेको थिएन । सिटी सेन्टरमा फ्रेन्चाइज गरी जाभा खुलेपछि जाभाको आक्रामक विस्तार सुरु भयो ।
त्यसपछि काठमाडौंमा ठडिने प्रत्येकजसो मलमा जाभाको आउटलेट खुल्न थाल्यो । अर्जुन सिटी सेन्टरमा जाभाको आउटलेट खुल्नुलाई ‘टर्निङ प्वाइन्ट’ मान्छन्। ठमेलको कफी सपमा विदेशी र कफी बुझेकामात्र जान्थे, सिटी सेन्टरमा सबैले कफीको स्वाद लिन थाले । मापसे चेकिङले पनि काठमाडौंमा कफी पिउने बानी बसाल्न सघाएको अर्जुनको बुझाइ छ । बेलुका साथीभाइ भेट्ने भन्नेबित्तिकै भट्टीमै भेला हुने चलन थियो ।
मापसे चेकिङ सुरु भएपछि आफ्नो सवारीको व्यवस्थापन, घर केमा पुग्ने ग्यारेन्टी भएपछि मात्र भट्टीमा भेट्ने चलन सुरु भयो । यसपछि सप्ताहान्तमा सबै चाँजोपाजो मिलाएर भट्टीमा भेला हुने, नत्र कफी सपमा भेटघाट गर्ने चलन धेरै सहरियाले चलाए ।
कडा कम्पिटिसन
अन्तर्राष्ट्रिय चेन बरिस्ता लावजापछि सीसीडी काठमाडौंको बजारमा प्रवेश गरिसकेको छ । सीसीडी एकाध आउटलेट चलाउने गरी आएको छैन । ६ महिनादेखि काठमाडौंका साथै प्रमुख बजार अध्ययन गरिरहेको उसले चाँडै दरबारमार्ग, कालिमाटी, नयाँबानेश्वर आदि स्थानमा आउटलेट खोल्ने सुरमा छ । उसको त ४० वटा आउटलेट खोल्ने योजना छ । यसबाहेक चाँडै स्टारबक्स काठमाडौंमा कदम राख्ने गाइँगुइँ छ । गगन नै एक वर्षभित्रै स्टारबक्स नेपाल छिर्ने अनुमान लगाउँछन् ।
सहरमै छ्यापछ्याप्ती कफी सप खुलिरहेका बेला विदेशका चर्चित ब्रान्डसमेत आक्रामक रूपमा आउने देखिएपछि गगन स्वयम् तिनलाई सकेसम्म कम स्पेस दिने गरी आक्रामक बनेका छन् । स्थापनाको १२ वर्षसम्म ठमेलको एउटा कफी पसलबाट कफी सर्भ गरेको हिमालयन जाभा पछिल्ला ६ वर्षमा दुई दर्जन ठाउँमा फैलिइसकेको छ । पछिल्लो समय त गगन अझ आक्रामक भएर जाभाको विस्तारमा छन् । उनी आफ्नै लगानीमा हुन्छ कि फ्रेन्चाइज गरेर हुन्छ, प्रमुख सहरका ठाउँठाउँमा छ्यापछ्याप्ती कफी पसल खोल्न लागिपरेका छन् । जाभाको विस्तार नेपालमा मात्र होइन, विदेशमा पनि भइरहेको छ ।
अब चाहिँ कडा कम्पिटिसन हुने अर्जुन बताउँछन् । केही दिनको बरिस्ता ट्रेनिङ लिएर पाँच लाखको मेसिन किनेर कफी पसल खोल्दैमा हुनेवाला छैन । स्थानीय ब्रान्डले गुणस्तरका साथै हस्पिटालिटीमा कडा मेहनत गर्नुपर्ने छ । बजारमा कफीको मागभन्दा सप्लाई धेरै हुन लागिसकेको व्यवसायी बताउँछन्।
कफी पिउने पश्चिमा संस्कृति हो । सुरुमा नेपालमा कफी पारखी थिएनन्, कफी खान पनि सिकाउनु पर्ने हुन्थ्यो । विस्तारै कफीका पारखी बढ्दै गए । सञ्चालनमा आएकै कफी पसलले नै कफी पिउन सिकाएका हुन् । कतिपयले विदेशमा देखेर सिके । नेपालीमा कफी पिउने बानी बस्न थालिसकेको छ । ‘हामीले कफी कल्चर बढाइदियौं, एकसरो बजार खडा भइसकेको छ’, प्रधान भन्नुहुन्छ । नेपालमा कफी पारखी बढेकै कारण विदेशी बहुराष्ट्रिय ब्रान्डले आँखा लगाउन थालेका हुन् ।

Learn English - Dew Meaning in English to Nepali below

annapurna post