facebook

पैसा नतिरी ‘फेसबुक पेज’ बाट आफ्नो व्यापारको आम्दानी बढाउने १० जुक्तिहरू !

हिजोआज बढ्दो सामाजिक सञ्जालको प्रयोगसँगै धेरैले आफ्नो व्यवसायको ‘फेसबुक पेज’ खोली आफ्नो व्यापार बढाई नाफा कमाइ रहेको भेटिन्छ । बिना कुनै शुल्क, केही मिनेट मै आफ्नो व्यवसायको पेज खोली त्यसलाई आफ्नो मर्जी अनुसार प्रयोग गर्दै व्यापारिक फाइदा लिन सकिने हुँदा आजकाल सबै जसो व्यवसायका पेज फेसबुकमा भेटिने गरेका हुन् ।

फेसबुक पेजको प्रयोग विज्ञापनका लागि मात्र नभई आफ्नो बस्तु तथा सेवा, सिधै आफ्नो ग्राहकसम्म पुर्‍याउनका लागि समेत गर्न सकिने हुँदा फेसबुकमा आफू कसरी अरू भन्दा फरक देखिने भनी राम्ररी सोच्नु पर्ने हुन्छ । त्यस्तै पेजबाटै आफ्ना लक्षित ग्राहकहरूसम्म कसरी सिधै पुग्ने भनी निकै कसरत गर्नु पर्ने हुन्छ ।

यसका लागि फेसबुकले दुईवटा उपायहरू दिएको छ, एउटा तपाईँले फेसबुकले मागे जति पैसा तिरेर आफ्नो ग्राहकसम्म पुग्न सक्नु हुन्छ भने अर्को कुनै शुल्क नतिरी । आज हामी फेसबुकलाई कुनै पैसा नतिरी कसरी आफ्नो ग्राहकसम्म पुग्ने भनी चर्चा गर्दछौ । यसका लागि निम्न लिखित विभिन्न तरिकाहरू अपनाउनु पर्ने हुन्छ :

१. इनभाइट फ्रेन्डस्

‘इनभाइट फ्रेन्डस्’ अर्थात् साथीहरूलाई निमन्त्रणा । पेजमा धेरै लाइकले आफ्नो व्यवसाय अन्तर्गतका क्रियाकलापहरू धेरै व्यक्तिहरूमाझ पुग्ने कुरा जनाउँछ । त्यसकारण सर्वप्रथम आफ्ना फेसबुकमा भएका साथीहरूलाई इनभाइट फ्रेन्डस् बटन थिची आफ्नो पेज लाइक गर्न निमन्त्रण गर्नुपर्छ । याद राख्नुहोस् जति धेरै लाईक त्यति धेरै मानिसहरू समक्ष तपाईँको व्यवसाय फैलनेछ ।

२. नियमित पोस्ट

पेजमा नियमित रूपमा पोस्ट गर्नाले तपाईँले पोस्ट गरेको समयमा धेरै मानिसहरूले हेर्न सक्ने सम्भावनालाई बढाइ दिन्छ । फेसबुकमा सक्रिय पेजहरूले दिनमा दुई देखि तिन वटासम्म पोस्टहरू गर्ने गरेको भेटिन्छ । यस्ता पोस्टहरूमा आफ्नो सरसामग्रीको आकर्षक तस्बिर, भिडियो आदि राखी त्यसका बारेमा थप जानकारी (कच्चा पदार्थ, मूल्य, ब्रान्ड आदि) लेखिदिने हो भने इच्छुक व्यक्तिहरू त्यसका बारेमा सोधखोज गर्न कमेन्ट तथा म्यासेज बक्समा आइपुग्नेछन् ।

३. ह्यास ट्याग

आफ्ना पोस्टहरूमा ‘ह्यास ट्याग’(#) को प्रयोग गर्नाले सो ह्यास ट्यागमा लेखिएको शब्द टाइप गरी खोज्दा त्यस सम्बन्धी सम्पूर्ण पोस्टहरू एकैसाथ देखिन्छ । जस्तै: तपाईँको किताब पसल छ भने आफ्ना किताबहरूका फोटोका क्याप्सनको अन्त्यमा #Bookstore, #Novels #Coursebooks आदि ह्यास ट्यागहरू राखिदिने हो भने सो शब्दहरू खोज्नाले आफूले गरेको सबै पोस्टहरू एकैसाथ देखिन्छ भने अरू कसैले यही ‘ह्यास ट्याग’(#) राखी कुनै पोस्ट गरेको भए यस सँग सम्बन्धित पोस्टहरू एकैसाथ भेटिन्छ । जसले गर्दा धेरै भन्दा धेरै व्यक्तिहरूले तपाईँलाई भेटाउन सजिलो हुन्छ ।

४. ट्याग

आफ्नो पोस्ट कुनै व्यक्तिहरूसँग सम्बन्धित छ अथवा आफूले चिनेका कुनै व्यक्तिहरूलाई काम लाग्न सक्ने किसिमको छ भने उनीहरूलाई ट्याग गर्नाले सही सूचना सही ठाउँमा पुग्नेछ । यसका साथै ट्याग गरिएको व्यक्तिका साथीहरूले समेत ट्याग गरिएको पोस्ट देख्न सक्ने हुँदा छोटो समयमा राम्रो प्रचार हुन्छ ।

५. शेयरिङ्ग

फेसबुकमा पेजहरू सँगसँगै निश्चित उदेश्यले खोलिएका ग्रुपहरू हुन्छन् । आफ्नो पोस्टलाई अन्य पेजहरू वा ग्रुपहरूमा शेयर गरी धेरै भन्दा धेरै व्यक्तिहरूसम्म पुर्‍याउन सकिन्छ । जस्तै तपाईँको सामान महिलाहरूले मन पराउने किसिमको छ भने महिलाहरूको फेसबुक समूहमा सेयर गर्दा धेरै ग्राहक एकै पटकमा आकर्षित हुने सम्भावना बढ्छ ।

६.भिडियो

फेसबुकको नयाँ नीति अनुसार यसले फोटोलाई भन्दा भिडियोलाई बढी प्राथमिकताका साथ धेरै माझ पुर्‍याउन मद्दत गर्दछ । त्यसैले आफ्नो व्यवसायको वस्तु वा सेवा झल्किने भिडियोहरू बनाइ समयसमयमा पोस्ट गर्नाले ग्राहकहरूलाई आकर्षित गर्न सकिन्छ । त्यस्तै फेसबुक लाइभ भिडियोबाट तपाईँको सन्देश तुरुन्तै आफ्नो ग्राहक माझ पुर्‍याउन सक्नु हुन्छ ।

७.रिप्लाई

आफ्ना ग्राहक अथवा सोधपुछ गर्न आउने व्यक्तिका जिज्ञासा/प्रश्नहरूको उत्तर जति सक्दो छिटो र छरितो रूपमा दिन सक्नुपर्छ ।ग्राहकले यस्ता जिज्ञासाहरू फेसबुक म्यासेज, कमेन्ट मार्फत वा सिधै पेजको वालमा लेखेर पनि तपाईँलाई पठाउन सक्छन् । आफ्ना ग्राहकहरूसँग जति नजिक भइयो उनीहरू पनि आफूसँग त्यति नै नजिकिन्छन् ।

८.अफर

फेसबुक पेजमा आफ्नो सामानको एउटा फोटो र त्यस सम्बन्धी सम्पूर्ण जानकारी राखी त्यसलाई लाईक र सेयर गर्नेहरू मध्यबाट एक जाना लाई लक्की ड्र बाट त्यही सामान उपहार दिने अफर राख्दा ग्राहकहरूको ध्यान छिटो पोस्टतर्फ केन्द्रित हुनसक्छ । साथै यस्ता पोस्टहरू छिटो र धेरै मात्रामा शेयर हुने सम्भावना अत्याधिक हुन्छ । यो तरिकालाई छिटो समयमा बजारमा आफ्नो स्थान बनाउने तरिकाका रूपमा लिन सकिन्छ ।

९. शुभकामना सन्देश

दसैँ, तिहार, छठ, सक्रान्ति, होली आदि लगायतका चाडपर्वहरूमा आफ्ना ग्राहकहरूलाई फेसबुक पेज मार्फत शुभकामना सन्देशहरू पठाउन सकिन्छ । त्यस माथि पनि तपाईँले बिक्री गर्ने समान यस्ता चाडपर्वसँग सम्बन्धित छ भने त यसले अझ व्यापार पनि बढाउन सक्छ । जस्तै तपाईँ घ्यूको व्यवसाय गर्नु हुन्छ भने तपाईका ग्राहकलाई तिहारको शुभकामना दिँदै “यसपालिको सेल रोटी हाम्रो ब्रान्डको घ्यूमा पकाउन नभुल्नु होला” भनी सम्झाउन सकिन्छ ।

१०. समय

धेरैजसो नेपालीहरूले कुन समयमा बढी फेसबुक चलाउँछन् होला? कुनै पनि फेसबुक पेज सञ्चालकले यो कुराको हेक्का राख्न निकै जरुरी हुन्छ । काम सकेर बेलुकी फेसबुक खोल्नेहरूको सङ्ख्या दिउसो फेसबुक चलाउनेहरूको भन्दा बढी हुन्छ । त्यसकारण बेलुकी पोस्ट गर्नाले आफ्नो पोस्ट धेरैले देख्ने सम्भावना हुन जान्छ । यसरी नै आफ्ना ग्राहकहरू फेसबुकमा कुन समयमा बढी सक्रिय हुन्छन् भन्ने कुराको जानकारी पाउन फरक फरक समयमा पोस्ट गरी जाँच गरिराख्नु पर्ने हुन्छ ।

www.udhyaminepal.com

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks