money

पैसा कसरी कमाउने ?

काठमाडौं – धेरै नेपाली युवा रोजगारीको खोजीमा बिदेशिएका छन् । तर रोजगारी खोज्दै भारतबाट नेपाल छिरेका धमेन्द्र महतो काठमाडौंमै मनग्गे पैसा कमाइरहनुभएको छ । उहाँ भन्नुहुन्छ – मैले काठमाडौंमा कमाएको पैसाले नै परिवार पालेको छु, जन्मथलो मोतिहारीमा १५ /१६ लाखमा जग्गा किने । ६/७ लाख खर्च गरेर पिल्लर हालेर पक्की घर बनाएको छु । यो सबै मलाई काठमाडौंको कामले नै त हो दिलाएको ।

सुरुवाती दिन

मेरो नाम धमेन्द्र महतो हो । स्थायी घर भारतको मोतिहारी जिल्लामा पर्छ । अहिले काठमाडौंको बौद्ध तीनचुलिमा बस्छु । ६ बर्षको हुँदा नै बुवाको साथ लागेर म काठमाडौं आएको हुँ । अब त यतै रक्तिएको पनि २० बर्ष भइसकेछ ।

Nepali typing

गाउँमा हुँदा हाम्रो आर्थिक अवस्था साह्रै कमजोर थियो । त्यसैले बुबा कमाउन काठमाडौं आउनुभएको थियो । उहाँले पछि हामीलाई पनि काठमाडौं लिएर आउनुभयो । हामी यतै हुर्कियौं, पढ्यौं र बढ्यौं । म बौद्धमा रहेको श्री महेन्द्र उच्च माध्यमिक विद्यालयमा पढ्थें ।

मेरो बुबा सुरुमा तरकारी बेच्ने काम गर्नुहुन्थ्यो । पसल पसलमा अर्डर लिनुहुन्थ्यो र कलिमाटी पुगेर तरकारी ल्याएर दिनुहुन्थ्यो । पछि उहाँले तरकारी बेच्ने घुम्ती साईकल पसल गर्न थाल्नुभयो ।

रहर हुँदाहुँदै छुट्यो पढाई

म स्कुल जान्थें । तर गरिवको छोरो धेरै दिन विद्यार्थी हुन पाएन । सात कक्षा पढेपछि मेरा लागि विद्यालयको कापी किताव भन्दा घर चलाउन दुई चार पैसाको कमाई बढी आवश्यक भयो । त्यसैले जेनतेन गर्दै धानेको मेरो पढाई त्यसभन्दा उँभो लागेन । रहर त मेरो पनि एसएसली पास गरेर सेनामा जागिर खाने थियो । तर बाध्यताले मैले विसं २०५८ सालमा विद्यालय छोडें ।
मेरो बुबाले परिवार चलाउन धेरै प्रयत्न गर्नुभयो । तरकारी व्यापारपछि उहाँले साइकलको रिपेयरिङको काम थाल्नु भयो । यो काम बुबाले आठ नौ बर्ष गर्नुभयो । तर त्यसपछि उहाँ बिरामी भईरहन थाल्नुभयो । त्यसपछि हो मैले विद्यालय छोडेको ।

पढाई छोडेपछि मैले बौद्ध तीनचुलीमै धर्मेन्द्र साईकल मर्मत तथा बिक्री केन्द्र खोलें । बिस्तारै पसल बिस्तार गर्दै मैले र्साइकल पनि बेच्न थालें । व्यवसाय थालेको तीन चार बर्षमै मैले मेरो जन्मथलो भारतको मोतिहारीमा जग्गा जोडें । काठमाडौमा अहिले हाम्रो नौ जनाको परिवार छ । भाई बहिनी बोर्डिङ स्कुलमा पढ्छन् । सबैको खर्च कटाएर अहिले पनि मासिक करिव ३५÷४० हजार रुपैया बचाउँछु । पसलमा काम गर्ने ४ जना कामदार छन् ।

सफलताको रहस्य

ग्राहकलाई मिठो बोलिदिए पुग्छ । उनीहरु हामीबाट असल व्यवहार खोज्छन् । मुसुक्क हाँसेर व्यवहार गर्‍यो भनें व्यापारमा सफलता पाईन्छ । विदेश गएर मात्र पैसा कमाउन सकिन्छ भन्ने होईन, परिश्रम गर्नेलाई पैसा यहिं छ ।

हुन त म पनि विदेशमा नै छु । तर मलाई आफु विदेशमा छु भन्ने कहिल्यै लाग्दैन किनभने मेरो बाल्यकाल यहीँ (काठमाडौंमा) बित्यो । त्यसैले नेपाल नै मेरा लागि त घरजस्तो हो ।
मान्छेसँग बोल्न जानेको यहिं हो, मिलेर बस्न सिकेको पनि मैले यहिं हो । त्यसैले त होला, भारतबाट आउने अरु साथीलाई यहाँ भैया भन्ने चलन छ, तर मलाई कसैले त्यसो भन्दैन । आफैले राम्रोसंग बोलेपछि कोही दाई भन्छन्, कोही मिस्त्री साहेब भन्छन् । कसै कसैले त डाक्टर साहेब पनि भन्छन् साईकलको डाक्टर । (यति भनिसक्दा उनी खितित्त गर्दै लामो हाँसो हाँसे)

राम्रो सेवाः मिठो मेवा

मेरो पसल बौद्धको तीनचुलीमा छ । तर मेरो पसलमा कालीमाटी, स्वयम्भु देखिका मान्छे पनि साईकल बनाउन आउँछन् । यसको पनि एउटा कारण छ ।

पञ्चर भएको साईकल बनाउन आउनेहरुको ब्रेक पनि मिलाईदिन्छु अनी साईकलको अवस्था के कस्तो छ भनेर उनीहरुलाई भनिदिन्छु । त्यसैले ग्राहकले विश्वास गर्छन् । २० रुपैयाँको ठाउँमा ३० रुपैयाँ दिएर जान्छन् ।

मलाई लाग्छ कति कमाउने भन्ने कुरा आफैंमा भर पर्छ । आफ्नै व्यवहार र कामले हो पैसा कमाउने । मैले काठमाडौंमा कमाएको पैसाले नै परिवार पालेको छु, जन्मथलो  मोतिहारीमा १५/१६ लाखमा जग्गा किने । ६/७ लाख खर्च गरेर पिल्लर हालेर पक्की घर बनाएको छु । यो सबै मलाई काठमाडौंको कामले नै त हो दिलाएको ।

कमाउन पूँजी होईन मेहनत चाहिन्छ

मेरो बुबाले काठमाडौं आउँदा लगभग भारु ५ सय रुपैयाँ लिएर आउनु भएको थियो । नेपालमा त्यो ८ सय रुपैयाँ हुन्छ । काठमाडौ आईपुग्दा लागेको बाटो खर्च कटाएर उहाँसँग बचेको नेपाली ६ सय रुपैंयाबाट पसल खोल्नु भएको थियो ।

मैले चाहिं १२ बर्ष अघि पसल खोल्दा १४ हजार ऋण लिएर थालेको थिएँ ।

रमाईलो कुरा त के छ भने मैले चलाई रहेको यो पसल बेचेर यहाँको साथी बिदेश जानु भयो । म बिदेशबाट आएर यहाँ व्यापार गर्दैछु । काम गर्नकै लागि विदेश जाने नेपाली साथीहरुलाई मेरो सल्लाहः तपाई एकछिन एकपटक काठमाडौंलाई हेर्नुहोस् । पूरा भारतबाट आएका मान्छेले यहाँ कमाएर पैसा भारत लगिरहेका छन् । तपार्ईचाहिं बिदेश जानुहुन्छ ? त्यसबाट के फाईदा हुन्छ ? विदेशमा अप्ठ्यारोमा परियो भनें कसले हेर्छ ? यहाँ त तपाईको आमा बुबा हुनुहुन्छ । दिदीबहिनी हुनुहुन्छ । छरछिमेकी हुनुहुन्छ । अप्ठेरोमा पनि केही सजिलो त यहि हुन्छ नि ।

तपाई विदेशमा गएर पनि महिनाको १२/१५ हजार कमाउनु होला । त्यति रकम त यहाँ पठाएर खर्च भईहाल्छ । तपाई नेपाल फर्किंदा कति बच्छ र ? विदेशको कमाई भनेको दुई चार बर्ष मात्रै हो । बरु यहाँ केही गर्नु भयो भने तपाईको मान्छेसँग चिनजान हुन्छ । बिस्तारै आम्दानी पनि बढ्दै जान्छ ।

विदेश जानु भनेको राष्ट्रलाई नै घाटा हो । नेपाललाई नै घाटा हो । हामी जस्तो युवा नेपालमा नै केही गरे धेरै फाईदा हुन्छ । त्यो रकम नेपालमा नै बस्छ । विदेश कसैका लागि पनि सुरक्षित छैन ।

तपाईले पनि याद गर्नु भएकै होलाः साउदी, दुवई, मलेसिया, कतारमा कहिले के, कहिले के काण्डमा को जेल गयो ? कसको ज्यान गयो ? कसलाई मृत्युदण्डको सजाय भयो भनेर खबर आईरहन्छ । विदेशमा मात्र गएर कमाउनु पर्छ भन्ने छैन् । केही गर्छु भन्ने सोच आयो भने गरिहाल्नुस् ।

नेपालमा त केही पनि छैन भन्ने साथीहरु धेरै भेट्छु । तर म आफै विदेशबाट यहाँ आएर पैसा कमाएको छु । मसँग पैसा नै छैन के गर्ने होला भन्ने चिन्तामा डुबेका साथी भेट्छु अनि म आफैलाई प्रश्न गर्छ मसँग पनि थिएन तर मैले त गरें नि आफै उत्तर भेट्टाउँछु । कति नेपाली साथीहरु हुनुहुन्छ मैले पढ्न सकेको छैन त्यहि भएर काम पाएको छैन भन्नुहुन्छ । यसको उत्तर पनि मसँगै छ । मैले पनि कति नै पो पढेको छु र ? जम्मा ७ कक्षा त हो । तर मैले सीप सिकें, हिम्मत गरें, काम प्रति ईमान्दार भएँ । अहिले आफुले मात्रै पैसा कमाएको छैन, काठमाडौमा ४ जनालाई रोजगार दिएको छु । नौ जनाको परिवार पालेको छु ।

उदाहरण अरु धेरै छन्

महिनामा १०/२० हजार कमाउन बिदेश जानै पर्दैन ।

१. मेरै पसलमा दिन दिनै प्लाष्टिक झोला बेच्ने एकजना साथी हुनुहुन्छ । उहाँले ५/१० हजार लगानी गरेर साईकलमा प्लाष्टिक बेच्दै हिड्नु हुन्छ । कमाई दिनको ७/८ सय हुन्छ । यता उता खर्च कटाउँदा पनि ६/७ सय त जसरी पनि बचत हुन्छ ।

२. मैले चिनेको एकजना दाई हुनहुन्छ उहाँले महिनाको कम्तिमा २० हजार यस्तै ग्यास घर घरमा पुर्‍याएर कमाउनु हुन्छ । मेहनत हामीले गर्नु पर्यो, त्यसै बसेर त केही हुन्न । काम थाल्यो, दुई चार दिन भित्रै सोचे जस्तो भएन भनेर निरास भएर पनि काम चल्दैन किनभनें काम सधैं एकनासको हुन्न । धैर्य गर्न सक्नु पर्‍यो ।

विदेश जान खोज्ने मेरो एकजना साथीलाई बुवाले सम्झाएको एउटा क्षण मलाई मेरो जीवनकै मोड हो जस्तो लाग्छ । मेरो साथी एउटा होलसेल पसलमा काम गथ्र्यो । त्यहाँबाट पाउने मासिक तीन हजार तलबले केही भएन अव विदेश जान्छु भन्ने निष्कर्षमा उ पुगेको थियो । तर बुवाले तेरो श्रीमती छ, बच्चा छ । भोलि केही भयो भने कसले हेरिदिन्छ ? बरु नेपालमै आफै व्यावसाय गर भनेर सम्झाउनु भयो ।

थोरै पैसामा पनि आफैं केही गर्न सक्छस् भनेर बुबाले १५ सय रुपैयाँ दिनुभयो । उसले त्यही पैसाबाट चाउचाउ, चुरोट बेच्न थाल्यो । एउटा साईकलमा आफैले झोला पनि बेच्दै हिँड्न थाल्यो । अहिले उता किराना पसल ठूलो भईसक्यो ।

साईकलको घुम्ति झोला व्यापार पनि चम्केको छ । अहिले उ साईकलमा हैन, मोटरसाईकलमा प्लाष्टिकको झोला र अन्य सामान बेच्दै हिंड्छ । पानी पुरी, चटपटे यिनीहरु त झन सजिलो व्यापार हो । यिनीहरुमा हामीलाई घाटा होला भनेर कहिल्यै नसोचे पनि हुन्छ । कालिमाटीबाट ल्याएर सब्जी बेच्नुस् त्यसमा पनि निक्कै फाइदा हुन्छ । सबै भन्दा ठूलो कुरा आफैले मेहनत गर्नु पर्‍यो ।

काम थोडी सानो हुन्छ ?

तपाई जति पढेपनि कुनै कामलाई सानो कहिल्यै भन्न मिल्दैन । कुनै मान्छेलाई तपाई जति सुकै पढि राख्नुस् उसले गरि खाएको छ भने सानै व्यापार होस् उसको जे सुकै होस् व्यापारलाई हामीले कहिले पनि सानो भन्नु हुदैन । उसले गरिखाने माध्यम परिश्रम र सीप हो । अझ म त के भन्छु व्यापार भन्दा पनि सीप सिक्नुस् । तपाईले सीप सिक्नु भयो भने सधैं काम लाग्छ । गाडी बनाउने सीप सिक्नुहोस् काठमाडौमा यति धेरै गाडी छन् तपाई कहिल्यै बेरोजगार बस्नु पर्दैन ।

तपाई मेकानिक बन्नु भयो भने ६ महिना एक बर्षसम्म लाग्छ तर एक बर्ष गरेको लगानीले तपाई जीवनभर महिनामा २० २५ हजार कमाउने हैसियत बनाउनु हुन्छ । डेण्ट पेण्ट गर्न जान्नेहरुले पनि त्यसरी नै पैसा कमाई रहेका छन् । मैले १२ बर्षदेखिको व्यापारबाट सिकेको कुराः लगनशील भएर धैर्यतापूर्वक काम गर्नुपर्छ र पैसालाई चिन्नसक्नु पर्छ, यसलाई टिप्न जान्नु पर्छ, पैसा यहीँ (काठमाडौमै) छ अन्यत्र खोज्न हिंडिरहनु पर्दैन ।

(उज्यालो अनलाईनका लागि दीपेन्द्र खनियाले गरेको कुराकानीमा आधारित)

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks