पाउलोनियाँको खेती गर्नुस् : अनि यसरी बन्नुस् मालामाल

सम्भावनाको खोजी गर्दै माटोसँग खेल्न जान्ने हो भने स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् लेखनाथ नगरपालिका– १७ चैनपुरका किसान खगेन्द्र अधिकारी । पाउलोनीयाको बिरुवा उत्पादन गरी बिक्री वितरणबाट रू. ३५ लाख आम्दानी गरेर उनी समाजका लागि अनुकरणीय बनेका छन् ।

गृहलक्ष्मी मल्टी एग्रोफर्म संस्था दर्ता गरी उनले नर्सरीबाट करीब चार महीनाको अवधिमा ५० हजार पाउलोनियाका बिरुवा उत्पादन गरेर बिक्री गरेका छन् । अधिकारीले प्रति केजी. रू. दुई लाख ५० तिरेर चीनबाट पाउलोनियाको बीउ खरीद गरेका हुन् । ‘बिरुवा बिक्री हुँदैनकि भन्ने चिन्ता थियो, तर अर्को वर्षको लागि समेत बिरुवाको माग हुन थालेको छ’ उनले भने  ।

Learn English - Dew Meaning in English to Nepali below

कास्की, स्याङ्जा, पर्वत, गोर्खा, तनहुँलगायत जिल्लामा नर्सरीबाट प्रति बिरुवा रू. एक सयमा बिक्री गरेको उनी बताउँछन्  । नर्सरीमा हाल दुई जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । वार्षिक रू. पाँच लाख आम्दानी हुने सुन्तालाका बोट मर्न थालेपछि परीक्षणका रुपमा लगाइएका बिरुवा फस्टाएपछि उनले पाउलोनीया उत्पादनसँगै वृक्षारोपण समेत थालेका छन् ।

चैरनपुरमा २० रोपनी तथा कास्कीको देउराली गाविसमा ७० रोपनीमा चार हजारभन्दा बढी पाउलोनीयाका बिरुवा रोपेका छन् । वृक्षारोपण गरेको दश वर्षमा काठको रुपमा प्रयोग गर्न सकिने पाउलोनीयाबाट उत्पादन शुरु भएपछि काठ र फर्निचर उत्पादन गरी बिक्रीबाट वार्षिक रू. दुई करोड आम्दानी गर्ने उनको लक्ष्य छ । पछिल्लो समयमा विभिन्न फलफूलमा देखिएका रोगका साथै जलवायु परिवर्तनका कारण परम्परागत रुपमा लगाइएका फलफूल एवम् रैथाने वनस्पति मर्न थालेपछि त्यसको विकल्पका रुपमा यस क्षेत्रका किसानको पाउलोनिया प्रति आकर्षण बढेको हो ।

निजीस्तरबाटपाउलोनीयाको खेतीतर्फ आकर्षण बढेपनि व्यवसायिक खेतीतर्पm खासै पहल हुन नसकेको जिल्ला वन अधिकृत प्रभात सापकोटा बताउँछन् । ‘अन्य रैथाने जातका बिरुवाका लागि पाउलोनीया घातक हुने हुँदा वन क्षेत्रमाभन्दा झाडी भएको ठाउँमा रोप्न उपयुक्त मानिन्छ’ उनले भने । अन्य बिरुवाको तुलनामा दश गुणा बढी कार्बनडाईअक्साइड शोषण गर्ने र त्यतिनै बढी अक्सिजन बाहिर फाल्ने हुँदा पाउलोनीया जलवायु परिवर्तन अनुकुलनका लागि महत्वपूर्ण मानिएको छ ।

समुद्री सतहबाट चारसय मिटरदेखि दुई हजार तीनसय मिटरसम्मको उचाइमा रोप्न सकिने पाउलोनीया फस्टाउन माटोको पिएच पाँचदेखि आठसम्म हुनुपर्दछ । वृक्षारोपण गरेको दश वर्षमा एउटा बोटबाट ४० देखि ६० क्युफिट काठ उत्पादन भई रू. एक लाखदेखि रू. एक लाख ५० हजारसम्म आम्दानी लिन सकिन्छ । रासस