पर्यटकीय क्षेत्रको बिकास गरेर पलायन युवाहरुलाइ रोजगारी दिनुपर्छ : डा. खतिवडा

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाले नेपालमा रहेका पर्यटकीय क्षेत्रको बिकास गरेर पलायन भएका युवाहरुलाइ रोजगारी दिनुपर्ने बताएका छन् ।
उनले नेपालमा वार्षिक २० लाख पर्यटक नेपालमा भित्र्याउन सके २० देखि २५ लाख युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउन सकिने बताए ।
रुपन्देही व्यापार संघको मुख्य आयोजनामा बुटवलमा सञ्चालित लुम्बिनी एक्स्पो–२०७२, अन्तर्राष्ट्रिय व्यापार मेलाको मंगलबार आयोजित समापन समारोहलाई संबोधन गर्दै उपाध्यक्ष खतिवडाले हाल ४० लाख नेपाली कामका शिलशिलामा विदेशमा रहेकाले त्यो जनशक्तिलाई स्वदेशमै रोजगार उपलब्ध गराउन पर्यटकीय क्षेत्रको विकास अपरिहार्य रहेको उल्लेख गरे ।

यसका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटो सञ्चालन र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नती जरुरी रहेको उनको भनाई छ ।
यी दुई विमानस्थलको काम छिटो सम्पन्न गर्न सके आफूले सोंचेको योजना पूरा हुने दावी गरे ।
समयमै विमानस्थलको काम सकिए वार्षिक १० लाख पर्यटक चाइनाबाट, ५ लाख भारतबाट र बाँकी ५ लाख तेस्रो मुलुकबाट भित्र्याउन सकिने र नेपाल आएका २० लाख पर्यटकबाट २० देखि २५ लाख नेपाली युवाले स्वदेशमै पर्यटकीय क्षेत्रमा रोजगारीको अवसर पाउने उनले बताए ।
मुलुकको आर्थिक विकास र उन्नतीका लागि प्रविधिलाई उन्नत बनाउँदै उद्यमशीलताको विकास गर्नुपर्नेमा खतिवडाले जोड दिए।

लुम्बिनी एक्स्पो सकियो ३६ करोड कारोबार : 

रुपन्देही व्यापार संघको आयोजना तथा नेपाल चेम्बर अफ कमर्सको सह आयोजनामा बुटवलमा संचालित लुम्बिनी एक्स्पो–२०७२, अन्तर्राष्ट्रिय व्यापार मेला ३६ करोड रुपैयां भन्दा बढी कारोबार गर्दै मंगलबार समापन भएको छ ।

मुलुकका विभिन्न स्थानका मेला-महोत्सवहरु स्थगित भएको अवस्थामा १४ दिनसम्म सञ्चालन भएको यो मेलामा लक्ष्य भन्दा बढी ३६ करोड रुपैयांको आर्थिक कारोबार भएको र ६ लाख दर्शकले अवलोकन गरेका आयोजकले जनाए ।

‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउ“सम्म व्यापार विस्तार’ भन्ने मुल नाराका साथ पुस ८ गतेदेखि सञ्चालन भएको मेलामा भारत,चीन,पाकिस्तान र बंगलादेशका ३० विदेशी सहित नेपालका औद्योगिक उत्पादन, कृषिजन्य, रेष्टुरां, गार्मेन्ट, जुत्ता÷चप्पल, अटो मोबाइल्स, सूचना प्रविधि, बैंक लगायतका ६ सय स्टल थिए ।
संघका अध्यक्ष एवं मेला आयोजक मूल समितिका संयोजक श्रीकृष्ण पोखरेलका अनुसार होटल तथा अन्तर्राष्ट्रिय स्टलमा सबैभन्दा बढी कारोबार भएको हो । मेला समापनका अवसरमा उत्कृष्ट स्टलहरुलाई पुरस्कृत गरिएको छ । स्वदेशी उद्योगतर्फ बुटवल स्टील फर्निचर उद्योग, घरेलु उद्योगतर्फ पाल्पा मदनपोखरा ढाका उद्योग, हस्तकलातर्फ नेपाल फर्निसिङ क्राफ्ट, अटोमोबाइल्सतर्फ लोक शुशिला अटो कन्सर्न बुटवल, कृषितर्फ बिजी ग्रुप गुल्मी, महिला उद्यमीतर्फ उपहार सामाजिक उद्यमी महिला सहकारी रुपन्देही तथा अन्तर्राष्ट्रियतर्फ बुद्ध पावर बुटवल र पार्ट किचन वेयर पाकिस्तान उत्कृष्ट स्टलका रुपमा पुरस्कृत भए ।
उनीहरुलाई राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाले प्रसंशापत्र प्रदान गरे ।