nepse

नेप्से परिसूचक गणनाका पाँच आधार नेप्से परिसूचक, सेन्सेटिभ, फ्लोट, सेन्सेटिभ फ्लोट इन्डेक्स, समूहगत परिसूचकहरु

देशको आर्थिक अवस्था झल्काउने एउटा महत्वपूर्ण क्षेत्र हो सेयर बजार । त्यसैले त रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाइनलगायतका सञ्चार माध्यमका आर्थिक समाचारहरुमा सेयर बजारका अपडेटहरु समावेश गरिएकै हुन्छन् । सेयर बजारका समाचारविना सञ्चार माध्यामका आर्थिक बिटहरु पूर्ण रहन सक्दैनन् । त्यसैले पनि सेयर बजारको विकास र विस्तारमा सञ्चार माध्यामको भूमिका अतुलनीय छ । सञ्चार माध्याममा हामीले दिनहुँ सेयर बजार परिसूचक अघिल्लो दिनको तुलनामा यति अङ्कले बढ्यो या घट्यो भन्ने समाचारहरु के देख्न र सुन्ने छौँ । दैनिक कारोबारको आधारमा परिसूचकमा उताबचढाव आउने गर्छ । हामीले दैनिक समाचार र सूचनाहरुमा सुन्ने नेप्से परिसूचक के हो त ? यो कसरी गणना गरिन्छ ? यो प्राविधिक पाटो भएकाले सेयर कारोबार गर्नेहरुलाई पनि यसको गणना विधिको बारेमा थाहा नहुन सक्छ । नेपाल स्टक एक्सचेन्जले गर्ने नेपाली पुँजीबजारको परिसूचक गणना विधि एक पटक जान्ने प्रयास गरौँ । नेपाल धितोपत्र बोर्डले दोस्रो पुँजीबजारको सूचकाङ्क निम्न आधारमा गर्ने व्यावस्था गरेको छ ।

१. नेप्से परिसूचक
हामीले प्रायः सुनिरहने सूचक हो– नेप्से परिसूचक । यो नै पुँजीबजारको मापन गरिने महत्वपूर्ण परिसूचक हो । यसलाई अर्थतन्त्रकै ब्यारोमिटरको उपमा पनि दिइने गरिन्छ । सरकारको बजेट लगायतका विभिन्न आर्थिक प्रतिवेदनहरुमा देशको सेयर बजारको अवस्था जनाउनको लागि यही नेप्से परिसूचकलाई नै समावेश गरिन्छ । यसको गणना नेप्सेमा सूचीकृत संस्थापक र साधारण सेयर दुवैको आधार वर्ष मूल्य र वर्तमान सेयर मूल्यका आधारमा गरिन्छ । हाल नेप्सेमा सूचीकृत कुल सेयरमध्ये करिब ६५ प्रतिशत संस्थापक र ३५ प्रतिशत साधारण समूहका सेयर छन् । सेयरको कारोबार धेरै पहिलेदेखि हुने गरेको भए पनि नेप्से परिसूचक भने वि.सं २०५० साल माघ ३० (इ.सं १९९४ फेब्रुवरी १२) गतेबाट आधिकारिक रुपमा गणना गर्न थालिएको हो ।

२. सेन्सेटिभ इन्डेक्स
नेप्सेमा सूचीकृत क वर्गका कम्पनीहरुको परिसूचक हो सेन्सेटिभ इन्डेक्स । नेप्सेमा क वर्गमा सूचीकृत कम्पीहरुको आधार वर्ष मूल्य र वर्तमान सेयर मूल्यका आधारमा यसको गणना गरिन्छ । धितोेपत्र सूचीकरण विनियमावली, २०५३ को विनियम १४ को उपविनियम (२) ले व्यवस्था गरेको शर्तहरु (चुक्ता पँुजी कम्तीमा रु. २ करोड भएको, साधारण सेयरधनीहरुको सङ्ख्या कम्तीमा १००० भएको, कम्तीमा तीन वर्षदेखि लगातार मुनाफामा रहेको, सेयरको किताबी मूल्य चुक्ता मूल्यभन्दा कम नभएको र आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र उक्त आर्थिक वर्षको कारोबार तथा आय–व्यय विवरण पेश गरेको) पूरा गर्ने कम्पनीहरुलाई नेपाल स्टक एक्सचेन्जले ‘क’ वर्गमा वर्गीकृत गर्दै आएको छ । आर्थिक वर्ष २०७२/७३ मा १३१ वटा कम्पनीहरु ‘क’ वर्गमा वर्गीकृत भएका छन् । वर्गीकरण अनुसार वाणिज्य बैङ्क समूहबाट २६ अन्य समूहबाट १ जलविद्युत् समूहबाट ३ होटल समूहबाट १, बिमा समूहबाट १७ वित्त समूहबाट २५ विकास बैङ्क समूहबाट ५६ उत्पादन तथा प्रशोधन समूहबाट १ कम्पनी ‘क’ वर्गमा परेका छन् । नेप्सेले वि.सं. २०६३ पौष १७ गतेदेखि सेन्सेटिभ इन्डेक्सको गणना कार्यको सुरुवात गरेको हो ।

३. फ्लोट इन्डेक्स
नेप्सेमा सूचीकृत सर्वसाधारणको लागि जारी भएका कारोबार योग्य सेयरको आधार मूल्य र वर्तमान मूल्यको आधारमा फ्लोट इन्डेक्सको गणना गरिन्छ । नेप्सेमा सूचीकृत साधारण सेयर समूहका करिब ३५ प्रतिशत सेयरको उतावचढाबको आधारमा यसको गणना गरिन्छ । कारोबारीय सेयरहरुलाई आधार मानेर यसको गणना गरिने भएकाले यसबाट कारोबारको यथार्थपरक चित्रण हुन्छ । नेप्सेले यो परिसूचकको गणना २०६५ साल भाद्र ३० गतेदेखि सुरुवात गरेको हो ।

४. सेन्सेटिभ फ्लोट इन्डेक्स
नेप्सेले क वर्गमा वर्गीकरण गरेका कारोबारयोग्य सेयरको आधार मूल्य र वर्तमान मूल्यलाई आधार मानेर यो सूचकाङ्क निकालिन्छ । क वर्गका कारोबार योग्य सेयरहरुको आधारमा यसको गणना हुने हुँदा यसबाट वास्तविक सेन्सेटिभ इन्डेक्स पत्ता लाग्छ । हाल नेप्सेले १३१ कम्पनीहरुलाई क वर्गका कम्पनीमा वर्गीकृत गरेको छ । यसको सुरुवात पनि २०६५ भाद्र ३० बाट नै भएको हो ।

५. समूहगत परिसूचकहरु
नेप्सेले सेयर कारोबारको मापन गर्दा विभिन्न समूह छुट्टयाएर पनि गर्ने गरेको छ । हाल नेप्सेले ९ वटा समूहगत परिसूचक मापन गर्ने गरेको छ । वाणिज्य बैङ्क, विकास बैङ्क, वित्त कम्पनी, होटल, उत्पादन तथा प्रशोधन, ब्यापार, जलविद्युत र अन्य समूहका परिसूचकहरुलाई नेप्सेले गणना गर्दै आइरहेको छ ।

तथ्याङ्क स्रोत : धितोपत्रबोर्ड

ratopati.com