नेपालमा पर्यटन विकासको सम्भावना

बासु त्रिपाठी
सदस्य, राष्ट्रिय पर्यटन परिषद

विश्व पर्यटन संगठन (युएनडब्लुटिओ) को परिभाषा अनुसार आफ्नो नियमित बासस्थानबाट बिदा मनाउने, व्यापार गर्ने वा यस्तै अन्य कुनै उद्देश्यले चौविस घण्टा भन्दा बढी समय र लगातारको एक वर्ष भन्दा कम समय बाहिर विताउन निस्कने व्यक्तिलाई पर्यटक भनिन्छ । यस्ता पर्यटकहरुलाई सःशुल्क घुमाउने, आवाशको व्यवस्था गर्ने, यातायत मिलाउने, दृश्यावलोकन गराउने आदि कार्य गर्ने क्षेत्रलाई पर्यटन भनिन्छ । यस्तो व्यवसायलाई पर्यटन व्यवसाय वा पर्यटन उद्योग भनिन्छ ।

प्राचीन समयमा रोमन रिपब्लिककै समयदेखि ठूला भवनहरु हेर्न, कलाकौशलको मजा लिन, नयाँ भाषा सिक्न, नयाँ संस्कृतिहरुको अनुभव लिन र विभिन्न प्रकारका स्वादिष्ट खानाहरुको स्वाद लिन धनी मानिसहरु आफ्नो घरबाट टाढाका ठाउँहरुमा जानका लागि निस्कन्थे । यसै क्रममा पर्यटक भन्ने शब्द सन् १७७२ मा र ‘पर्यटन’ भन्ने शब्द सन् १८११ मा प्रयोग भएका हुन् । फुर्सदको समय पर्यटकका रुपमा बाहिरी वातावरणमा बिताउने प्रचलन बेलायत लगायतका पश्चिमा देशहरुमा औद्योगिक क्रान्ति पछि शुरु भएको हो र यसैको क्रम बढ्दै गएर पर्यटन एउटा विशाल उद्योगको रुपमा विकसित हुन गएको हो । थमस कुकले ट्राभल एजेन्सी मार्फत समूहगत रुपमा पाहुनाहरुलाई घुमाउन थालेपछि यो व्यावसायिक रुपमा विकसित हुन थालेको हो । इन्डोनेशियाको बाली, कोलम्विया, ब्राजिल, क्युबा, मलेहिया, थाइल्याण्ड, अष्ट्रेलियाको क्वीन्स्ल्याण्ड लगायतका ठाउँहरु हिउँद तथा ग्रिष्म दुवै श्रृतुमा उच्च भ्रमण गरिने स्थानमा पर्छन् ।

संसारभरीकै लागि पर्यटन उद्योग सबैभन्दा ठूलो उद्योगको रुपमा परिणत भइसकेको छ । मानिसहरुको व्यस्तता, मुद्राहरुको सहज प्रयोग, अंग्रेजी भाषा अन्तर्राष्ट्रिय सञ्चारमाध्यम हुनु, सञ्चारको तिब्र विकास हुनु इन्टरनेटको सहज पहुँच हुनु, संसार एउटा सानो गाउँ जस्तो बन्दै जानु, अन्तर्राष्ट्रिय संगठनहरु स्थापित र विकसित हुँदै जानु शिक्षा, खेलकुद, सभा–सम्मेलनको अन्तर्राष्ट्रिय सञ्जाल बन्दै जानु आदि कारणले पर्यटन उद्योग विश्वव्यापी र विशाल उद्योग बन्दै गएको छ । सन् २००० पछाडिका केही वर्षमा विश्वमा आर्थिक मन्दी बढेको समयमा केही घट्न गएतापनि फेरी सकारात्मक मोड लिंदै अन्तर्राष्ट्रिय पर्यटकहरुको संख्याले २०१२को डिसेम्वरमा एक अरबको संख्या नाघिसक्यो ।

नेपाल संसारमै थोरै क्षेत्रफलमा सबै भन्दा बढी बिबिधता भएको देशमा पर्छ । विश्वका १० विश्व सम्पदा सूचीमा परेका सम्पदा नेपालमा हुनु, संसारको सबैभन्दा अग्लो हिमशिखर सगरमाथा, लगायतका ८ वटा ८००० मिटर माथिका हिमाल हुनु, उत्कृष्ट पदयात्रामा पर्ने अन्नपूणका हिम श्रृंखलाका साथै तराइँका फाँट र घना जंगल हुनु, भगवान गौतम बुद्धको जन्मस्थल लुम्विनीका साथै पशुपतिनाथ, मुक्तिनाथ, दामोदर कुण्ड लगायतका धार्मिक स्थल हुनु, पवर्तारोहण, पदयात्रा, ¥याफटिङ, जंगल सफारी, लगायतका साहसी गतिविधिको लागि उपयुक्त वातावरण हुनु, प्याराग्लाइडिङ, अल्ट्रालाइट, जीपलाइन लगायतका नरम साहसी गतिविधिको अन्तर्राष्ट्रिय संगम स्थल हुनु, अनुपम धरातलीय, जैविक, सांस्कृतिक विविधताको खानी हुनु, नेपालीहरुको जस्तै दुःखमा पनि हाँसी रहने अनुहार, अतिथिलाई सत्कार गर्ने बानी र संस्कार हुनु, अर्ब भन्दा बढी जनसंख्या भएका दुई छिमेकी राष्ट्र चीन र भारतको बीचमा अवस्थित हुनु आदिको कारणले नेपालमा पर्यटनको विकासको प्रचुर सम्भाव्यता भएको कुरामा दुईमत छैन ।

पर्यटन विकासका अथाह सम्भाव्यता बोकेको भए पनि नेपालमा अपेक्षित रुपमा यसको विकास हुन सकेको छैन । सन् १९५० भन्दा पहिलाको राणाशासनकालमा विदेशीलाई पर्यटकको रुपमा आयन्त्रण गर्ने नीति नै नभएको हुनाले यसको विकास हुने कुरै भएन । सन् १९७० को दशकमा आएर नेपालमा राजमार्गहरु बन्न थालेपछि पर्यटनले व्यवसायिक रुप लिन थालेको हो । सन् १९९० मा राजनैतिक व्यवस्था परिवर्तन भएर बहुदलिय व्यवस्था स्थापना भएपछि उकालो लाग्न थालेको पर्यटन उद्योग बेलाबेलामा आयोजना गरिने बन्द, हड्तालले प्रभावित भएकै थियो । सन् २००० तिर आइपुग्दा इन्डियन एयरलाइन्सको अपहरण, दरबार हत्याकाण्ड, राज्य र माओवादीबीच जनयुद्धकालमा भएको हिंसा, प्रति हिंसा लगायतका कारणले गर्दा पर्यटनमैत्री वातावरण बन्न सकेन । सन् २००६ मा भएको बृहत शान्ति सम्झौता पश्चात पुनः उकालो लाग्न थालेको पर्यटन उद्योगलाई राज्य र राजनैतिक पार्टीहरुको तर्फबाट प्राथमिकता प्राप्त क्षेत्र भनिएता पनि त्यसका लागि आवश्यक पूर्वाधार, नीतिनिर्माण र वातावरण निर्माण हुन सकेको छैन ।

नेपालको पर्यटन विकासमा अरु स्पष्टता आवश्यक देखिन्छ । काठमाण्डौंलाई प्रशासनिक लगायत अन्य क्षेत्रको केन्द्रको रुपमा विकास गर्नुपर्ने भएको हुनाले पोखरा, चीतवन लगायतका ठाउँलाई पर्यटनको हबको रुपमा विकसित गर्नुपर्छ, पूर्व, पश्चिम, हिमाली क्षेत्र, कर्णाली क्षेत्र लगायतका ठाउँमा हब–सब स्थापना गरी सोही अनुसारको वातावरण र पूर्वाधार निर्माण गर्नुपर्छ । पदयात्रा मार्गहरु जोगाउने र वैकल्पिक पदयात्रा मार्गहरुको खोज, पहिचान र विकासमा स्पष्ट नीति आउनु पर्छ । पर्यटकहरुको आगमन संख्या, बसाईंको अवधि, प्रति पर्यटक खर्च आदि बढाउन पर्यटकीय सम्पदा र बस्तुहरुको विविधीकरण तथा विकास गर्दै विश्व पर्यटन बजारमा बजारीकरण गर्नुपर्छ भने दक्ष जनशक्ति विकासमा पनि उतिकै ध्यान दिनुपर्छ । सरकारको तर्फबाट नीति निर्माण र पूर्वाधार निर्माणमा प्राथमिकता दिनुपर्छ भने नीति क्षेत्रको तर्फबाट गुणस्तरिय सेवा दिने र बजारीकरणमा विशेष ध्यान जानुपर्छ ।

अतः नेपालको विशिष्ट अवस्थिति, छिमेकी देशहरुबाट लिन सकिने फाइदाको सम्भाव्यता, नेपालमा भएका उत्कृष्ट, अतुलनीय र विश्व प्रसिद्ध पर्यटकीय सम्पदाहरु, धरातलीय, वानस्पतीय, जैविक, सांस्कृतिक लगायतका विविधताहरु, साहसिक गतिविधिको प्रचुर सम्भाव्यता लगायतका पक्षहरुलाई मध्यनजर गर्दै राज्य र निजी क्षेत्रको तर्फबाट ढुक्क भएर पर्यटनलाई बन्द, हड्ताल मुक्त क्षेत्र घोषणा गर्नुपर्छ । यस्ता अहम विषयमा सम्बद्ध पक्ष गम्भिर बन्न सक्ने हो भने नेपाल र नेपालीको अनुहारमा चमक ल्याई आर्थिक विकास गर्नमा पर्यटन उद्योगले महत्वपूर्ण योगदान गर्न सक्ने कुरामा शंका छैन । यसमा प्रतिबद्धता, इमान्दारी र शंवेदनशीलता प्रदर्शन गरी सबैको तर्फबाट जवाफदेही बन्नुपर्छ ।

http://khabarsewa.com