नेपालमा पर्यटनको फस्टाउन नसकेको कारण बारे यसो भन्छन् ब्यबसायी

ठमेल केन्द्रित पर्यटन व्यवसाय ः
अहिले पनि नेपालमा पर्यटनको क्षेत्रमा पर्याप्त सम्भावना छन् भन्ने कुरा गरिंदै आइएको भएपनि नेपालमा पर्यटन क्षेत्र राम्रो तवरले सबै ठाउँमा फस्टाउन सकेको छैन । यसको पछाडि नेपालमा अहिले काठमाडौं भन्दा बाहिरका जिल्लाहरुमा पर्यटन क्षेत्रको विकासको निम्ति पूर्वाधारको विकासमा हामी केन्द्रित हुन नसक्नु हो । नेपालमा अहिले पर्यटन व्यवसायको सबैभन्दा बढी काम काठमाडौंबाट नै हुने गर्छ । त्यस मध्ये पनि ठमेललाई विशेष रुपमा पर्यटकीय क्षेत्रको रुपमा नै लिने गरिएको छ ।
सुविधा विस्तार गर्न सकेनौं ः
अहिले पनि नेपालमा पर्यटकहरुलाई बाह्य जिल्लाहरुमा काठमाडौंको तुलनामा उपलब्ध हुने सुविधा निकै नै कम छ । खासगरी काठमाडौंमा भएका होटल, इन्टरनेटको पहुँच, यातायात पुर्वाधार, एयरपोर्ट लगायतका कारणले गर्दा नै नेपालमा अहिले पर्यटन व्यवसाय यस किसिमले फस्टाउन सकेको हो । यद्यपि नेपालमा पर्यटन व्यवसायमा आवद्ध अधिकांश एजेन्सीहरु काठमाडौंमा नै भएपनि ती एजेन्सीहरुले भ्रमण गराउने ठाउँहरु भनेका काठमाडौं उपत्यका भन्दा बाहिरका मरोरम प्राकृतिक दृश्यहरु नै हुन् ।
अहिले काठमाडौं उपत्यकामा मात्र सीमित रहेको पर्यटन क्षेत्र आगामी दिनहरुमा भने काठमाडौं भन्दा बाहिरका जिल्लाहरुमा पनि विस्तार हुनु जरुरी छ । कुनै एक ठाउँमा मात्र केन्द्रित रहेर सबै ठाउँको समान तवरले विकास हुन नसक्ने भएको कारणले गर्दा हामीले आगामी दिनमा नेपालको पर्यटन व्यवसाय काठमाडौं भन्दा बाहिरी जिल्लामा नै विकास तथा विस्तारमा केन्द्रित हुनुपर्छ । यसको पछाडि नेपालको राजनीतिको असर पर्यटन व्यवसायमा पनि देखिएको छ ।
नयाँ रुट बनाउँदा प्रभावकारितामा पनि ध्यान दिउँ ः
पछिल्लो समय नेपालमा सडक यातायातको पहुँच नेपालका अधिकांश ठाउँहरुमा विस्तार हुँदै गएसँगै पहिलेको तुलनामा अहिले टे«किङ रुट छोटिएको छ । यातायातको विकास भएको ठाउँमा रुट छोटिएको र यातायात नभएको ठाउँमा सामानहरु पाउन कठिन र अत्यन्तै महँगो भएको कारणले गर्दा नेपालमा पर्यटनमा पनि नराम्रो प्रभाव पर्दै आएको छ । विगतमा अन्नपुर्ण रुटमा २१ दिन लाग्ने गरेकोमा अहिले भने सो रुट १५ दिनमा सीमित भएको छ । नेपालमा प्रयाप्त ठाउँहरु भएका र ती ठाउँहरुलाई नयाँ रुटको रुपमा विकास गर्न सकिने भए पनि अहिले सम्म नेपालमा सरकारले त्यसमा खासै चासो नराखेको र पर्यटन व्यवसायीहरु पनि सीमित दायरा भन्दा माथि उठ्न नसकेको कारणले गर्दा नयाँ रुटमा हामीले पर्यटन विस्तार हुन नसकेको हो । यद्यपि हाल नेपालमा विगतमा सुरक्षित रहेको पर्यटकीय क्षेत्रलाई समेत समेटिने किसिमले ग्रेट हिमालयन रुटको रुपमा ल्याउने प्रयास गरिएको छ । यस रुटमा एक सय दिनको प्याकेजमा भ्रमण गर्न सकिने भएपनि अहिलेको अवस्थामा यति धेरै लामो रुट सम्म घुम्न जाने पर्यटकहरु पाउन पनि गाह्रो हुन सक्छ ।
पर्यटनको क्षेत्रमा अहिले काम गर्ने मानिसहरु पाउन गाह्रो छ । पछिल्लो समय नेपालमा भएका शिक्षित व्यक्तिहरु सबै किसिमका कामहरु गर्नको निम्ति तयार हुने अवस्थामा छैैनन् । पढेलेखेका मानिसहरुले भारी बोक्ने सामान उचाल्ने लगायतका कामहरु गर्नको निम्ति सहज रुपमा तयार हुँदैनन् ।
कृत्रिम संरचनामा पनि केन्द्रित हुने कि ः
अहिले सम्म प्राकृतिक सम्पदाहरुको तुलनामा मानवनिर्मित सम्पदाहरु कम भएको कारणले गर्दा नेपालमा आउने मानिसहरु सबै जसो प्राकृतिक वस्तुहरु हेर्न नै आउने गरेका छन् । यसको अलावा नेपालमा हामीले पर्यटनमा आगामी दिनमा मानवनिर्मित सम्पदाहरुको निर्माणमा पनि विशेष जोड दिनु जरुरी छ । यी संरचना पनि पर्यटनको आकर्षणका केन्द्र हुन सक्छन् । विगतमा नेपालमा भएका परम्परागत मूल्य र मान्यता बोकेका मन्दिर तथा गुम्बाहरुमा पनि अघिल्लो बर्षको भूकम्पले निकै नै असर पारेको छ । यसले गर्दा हाल पर्यटकहरुलाई आकर्षित गर्ने संरचनाहरु नेपालमा निकै नै कम छन् । त्यस बाहेक नेपाल सरकारले पनि यहाँ नेपालमा भएका सम्पदाहरुको राम्रो तवरले प्रचार प्रसार गर्न सकेको छैन ।
बजेटको सदुपयोग हुनुपर्छ ः
अहिलेको अवस्थामा नेपालमा पर्यटनको प्रवद्र्धन गर्ने काम विनियोजित बजेट सिध्याउनको निम्ति मात्र केन्द्रित छ । नेपालमा पर्यटनको विकासको निम्ति भनेर लिइएको बजेट सही तवरले खर्र्च हुन सकेको छैन । पर्यटनको प्रवद्र्धनको निम्ति ल्याइने बजेट पनि त्यत्तिकै फ्रिज भइरहेको छ । यस्तो अवस्थामा पर्यटन क्षेत्र राम्रो तवरले विकास हुन सक्छ भन्न सकिंदैन ।
नर बहादुर गौतम हाल  नर्बा टे«क्स एण्ड एक्सपिडिसन प्रा.लि. संचालन गर्दै आएका छन्

setoghar.com