land painting

नेपालगन्जमा जग्गा किर्ते गरी किनबेच गर्ने गिरोह पक्राउ

बाँके : किर्ते गरी जग्गा किनबेच गर्ने गिरोहलाई बाँके प्रहरीले पक्राउ गरेको छ। नेपालगन्ज उपमहानगरपालिका–१८ का ७८ वर्षिया मालती कुम्हारको जग्गा किर्ते गरी किनेबेच गर्ने र जग्गा पास गराउन सहयोग गर्ने मालपोत कार्यालयका कर्मचारीलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको हो। कुम्हारको नाममा रहेको साबिक खासकारकाँदो–१ को १२ कट्ठा १६ धुर जमिन किर्ते गरी किनबेच गर्नेहरुको पहिचान गरी पक्राउ गरिएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकप्रसाद राईले बताए। एक करोड २ लाख ४० हजार रुपैयाँ पर्ने जग्गाधनी मालती कुम्हारको अनुपस्थितीमै किर्ते गरी किनबेच गरिएको प्रमाणित भएका कारण अभियुक्तहरुलाई पक्राउ गरिएको उनले बताए। जग्गा किनबेच गर्ने गिराहले संरक्षक समेत नक्कली बनाई २०७३ साल असार ३१ गते मालपोत कार्यालय बाँकेबाट खजुरा गाउँपालिका–८ का ३४ वर्षिय मोहम्द इस्हाक खाँको नाममा राजिनामा पास गरिएको र उक्त जग्गा तत्कालै अन्य व्यक्तिहरुको नाममा राजिनामा पास गरी ठगी गरेको प्रमाणित भएको प्रहरी उपरीक्षक राईले बताए।

जग्गा किनबेचमा १६ जना संलग्‍न किर्ते गरी जमिन किनबेच गर्ने १६ जना संलग्‍न देखिएको प्रहरीले जनाएको छ। नेपालगन्ज उपमहानगरपालिका–९ का उदित प्रसाद कहारले नक्कली जग्गा धनी बनेर जग्गा बिक्री गर्न औँठाको छाप किर्ते गरेका थिए। नेपालगन्ज  उपमहानगरपालिका–१८ का मिरा अहिरले जग्गा किन्‍ने मोहम्मद ईसहाक खाँको जग्गा किन्नका लागि मालती खाँसँग सम्पर्क गराउन सहयोग गरेका थिए। दुवैजनालाई प्रहरीले पक्राउ गरेको छ। जग्गा धनीको ज्वाँई नाता पर्ने बर्दिया बढैया गाउँपालिका–२, जमुनी बस्ने सूर्यलाल कुम्हारले जग्गा पास गर्न सहयोग गरेका थिए। राजिनामा लिखत तयार पार्ने काम  नेपालगन्ज उपमहानगरपालिका–५ का राजा खाँले गरेका थिए। उनलाई पनि प्रहरीले पक्राउ गरेका छ। जमिन किन्ने मोहम्मद इस्हाक खाँ र नक्कली संरक्षक छोरा बनेका नेपालगन्ज उपमहानगरपालिका–१०, गोसाईगाउँका २१ वर्षिय निरङ्कार विश्वकर्मा फरार रहेको प्रहरीले जनाएको छ। राजिनामा लिखतमा साक्षी बसेर उक्त घटनामा सहयोग गर्ने बर्दिया, ठाकुरबाबा गाउँपालिका–६ का हरि बहादुर बुढा क्षेत्री र खजुरा गाउँपालिका–७ का  सुशील कुमार प्रजापती फरार छन्। राजिनामा लिखितमा लेखक साक्षी बसी सहयोग पुर्‍‍याउने नेपालगन्ज उपमहानगरपालिका–१४ का ओम प्रकाश मिश्र र जग्गा किनबेचमा सहयोग गर्ने इस्हाक खाँका पत्नी खजुरा गाउँपालिका–८ का सोफिया विश्वकर्मा (खाँ) पनि फरार रहेको प्रहरी उपरीक्षक राईले जानकारी दिए। मालपोत कार्यालयका कर्मचारी विरुद्ध मुद्दा दायर प्रहरीले जग्गा पास कार्यमा संलग्न मालपोत कार्यालयका ३ जना कर्मचारीलाई समेत पक्राउ गरी मुलुकी ऐन ठगी महलको ४ नं. बमोजिम मुद्दा दायर गरेको छ। प्रहरीका अनुसार मालपोत अधिकृत पुष्पा श्रेष्ठ, नायव सुब्बा चन्द्र बहादुर डाँगी र नायव सुब्बा राम बहादुर खड्का विरुद्ध मुद्दा दायर गरिएको छ।जग्गा फिर्ता गराउन मुद्दा मोहम्द ईस्हाक खाँसँग जग्गा किन्ने नेपालगन्ज उपमहानगरपालिका–१० का अमित कुमार बस्नेत, सोही ठाउँकी प्रतिक्षा शाह (बस्नेत) र नेपालगन्ज उपमहानगरपालिका–१८ का संगिता शाही (मल्ल) विरुद्ध पनि प्रहरीले मुद्दा दायर गरेको छ । पीडितलाई जमिन दिलाउनका लागि अमित, प्रतिक्षा र संगिता विरुद्ध मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक वीर बहादुर थापाले बताए । उनले भने, ‘उनीहरु विरुद्ध मुद्दा दायर नहुँदासम्म पीडितले जग्गा फिर्ता नपाउने भएपछि मुद्दा दायर गरिएको हो।’
thahakhabar