नेपालको अर्थतन्त्रमा सबैभन्दा बढी योगदान गर्ने क्षेत्र पर्यटन

टेम्पल टाइगर ग्रुपका कार्यकारी अध्यक्ष वसन्तराज मिश्र नेपालका पुराना पर्यटन व्यवसायी हुन् । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) इन्टरनेसनलको निवर्तमान सचिव तथा कोषाध्यक्ष मिश्रले लामो समय अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपाली व्यवसायीको प्रतिनिधित्व गर्दै आएका छन् । पाटा नेपाल च्याप्टरका पूर्वअध्यक्षसमेत रहेका उनले नेपाल पर्यटन बोर्डको कार्यसमिति सदस्यका रूपमा काम गरिसकेका छन् । नेपालमा खर्चालु तथा गुणस्तरीय पर्यटक भित्राउने व्यवसायीमध्येका मिश्रले नेपाल एसोसिएसन अफ टुर अपरेटर्सका पूर्वअध्यक्षका रूपमा समेत काम गरिसकेका छन् । नेपाली अर्थतन्त्रको महत्वपूर्ण मेरुदण्ड पर्यटनलाई बनाइनुपर्नेमा जोड दिँदै आएका मिश्रले संघीय व्यवस्थामा पर्यटनको महत्व यसरी बताए :

राष्ट्रिय उद्योगका रूपमा पर्यटन
विश्वका धेरै मुलुकमा संघीय संरचना कार्यान्वयनको अवस्थामा छ । हामी पहिलोपटक यसप्रकारको व्यवस्था अँगाल्ने प्रयासमा छौँ । पर्यटक आगमनको ठूलो सम्भावना भएका नेपालजस्ता मुलुकका लागि पर्यटन राष्ट्रिय उद्योग हो । नेपालमा पर्यटनलाई प्राथमिकताप्राप्त उद्योगको मान्यता प्राप्त भए पनि त्यसअनुरूप यसको विकास र विस्तार पर्याप्त छैन । आज मानिस नेपालमा पर्यटक आगमनबाट एउटा वर्गले मात्र फाइदा लिएको ठान्छन् । सर्वसाधारणलाई ‘पर्यटकीय कल्चर’सँग अभ्यस्त बनाउन सकिएको छैन । तर, पर्यटन एकसाथ धेरै क्षेत्रमा रोजगारी सिर्जना र उत्पादन वृद्धि गरी अर्थतन्त्रमा योगदान पु¥याउन सक्ने उद्योग हो । संघीय संरचनाभित्र पनि पर्यटन राष्ट्रिय उद्योगकै रूपमा अझ विकसित हुने अपेक्षा गर्न सकिन्छ ।

Learn English - Dew Meaning in English to Nepali below

See more on youtube channel English to Nepali https://www.youtube.com/channel/UCGY-zO8qA-mqbOnYZYKoVGw/videos

स्थानीय तह पर्यटन विकासको आधार
नेपालमा व्यावसायिक पर्यटनको प्रारम्भ साहसिक पर्यटकीय गतिविधिका माध्यममार्फत भएको हो । जतिवेला नेपालमा तारे होटेल र रिसोर्ट खुलेका थिएनन्, त्यसवेला ग्रामीण भेगका जनताका घरमा वास बसेर, उनीहरूले पकाएको खाएर पर्यटक पदयात्रा र पर्वतारोहणमा जाने गर्थे । आज हामी होमस्टे विकासको अवधारणामा छौँ । तर, नेपालमा लामो समयदेखि होमस्टेले पर्यटकलाई सेवा दिएका थिए । फरक यत्ति हो, त्यसवेला यसले व्यावसायिक रूपमा लिएको थिएन । यसलाई पेसा मानिएको थिएन र संगठित बन्न सकेको थिएन । यसको मतलव नेपालमा पर्यटकीय जग स्थानीय स्तरसम्मै पुगेको छ । अब संघीय संरचनाभित्र त्यसलाई पुनर्जागरण गरी व्यवस्थित र विकसित बनाउनुपर्ने आवश्यकता छ ।

स्थानीय तहमा बढ्नेछन् पर्यटकीय पूर्वाधार
संघीय संरचनाको सबैभन्दा महत्वपूर्ण पक्ष अब विकासका लागि स्थानीय सरकारबीच हुने स्वस्थ प्रतिस्पर्धा हो । त्यसक्रममा नेपालको पूर्व मेचीदेखि पश्चिम महाकाली र हिमाल, पहाड, तराईका कुनै पनि स्थानीय सरकारले पर्यटनलाई अलग गरेर योजना तथा कार्यक्रम बनाउनै सक्दैन । किनकि अन्ततः नेपालको अर्थतन्त्रमा सबैभन्दा बढी योगदान गर्न सक्ने क्षेत्र पर्यटन नै हो । नेपालमा आज पनि विश्वभरका मानिस घुमघामका लागि आउन चाहिरहेका छन् । नेपाल आइसकेका पर्यटकलाई हामी विश्वस्तरीय सेवा दिन सक्षम छौँ । तर, समस्या पूर्वाधार (विमानस्थल र सुरक्षित सडक)को हो । अब संघीय व्यवस्थाभित्र जब स्थानीय तह र सरकारले विकासको नेतृत्व गर्छन्, त्यसवेला पूर्वाधार विकासले गति लिने र अन्ततः यसले पर्यटक आगमन सहज बनाउने अपेक्षा गर्न सकिन्छ ।

संकटमा पनि नडगमगाएको विरासत
पर्यटन नेपाली अर्थतन्त्रका लागि कति महत्वपूर्ण छ भन्ने सन्दर्भमा हामीले विगतबाट केही पाठ सिक्न सक्छौँ । ठुल्ठूला राजनीतिक द्वन्द्वका बीचमा पनि पर्यटक आगमन निराशाजनक स्थितिमा जानुपरेको थिएन । हामी राजनीतिक स्थायित्व खोजिरहेका छौँ । अब कल्पना गरौँ, जब हामीस“ग पर्याप्त पूर्वाधार हुनेछन्, देशमा शान्ति र स्थायित्व आउनेछ, त्यसवेला पर्यटक आगमन कति बढ्ला ? कुनैवेला नेपालमा गार्मेट उद्योग फस्टाए, पछि खस्किए । कुनैवेला गलैँचा उद्योग फस्टाए, पछि खस्किए । अहिले ह्यान्डिक्राफ्ट फस्टाएको छ, कुन वेला के हुन्छ थाहा छैन । तर, पर्यटन जस्तोसुकै संकटमा पनि नडगमगाएको उद्योग हो । अब समय घर्किसकेको छ । अगाडि बढ्नुको विकल्प छैन, भविष्य उज्ज्वल छ ।

सबैको हातमा अवसर छ, सदुपयोग गरौँ
विगतमा केन्द्र सरकारले दिएको अधिकार र सीमित स्रोत साधनका आधारमा गुज्रिएका ग्रामीण स्तरमा अब जनताको सरकार बन्दै छ । जनताले आफ्नो क्षेत्र आफैँ बनाउने यो ठूलो अवसर हो । तर, हामी जात, धर्म र समुदायका विषयमा झगडा गर्न लाग्यौँ, गुट र पार्टीको स्वार्थमा सीमित भयौँ भने यो व्यवस्था अभिसाप बन्न सक्छ । हामीलाई राजनीतिक स्थिरता चाहिएको हो । संघीयताको बिउ रोप्दा हुर्किरहेको बिरुवालाई सोझो रूपमा हुर्कने वातावरण प्रदान गर्नुपर्छ । त्यसपछि मुलुकमा आर्थिक क्रियाकलापले गति लिन्छन्, विकास निर्माण र पूर्वाधार विकासका गतिविधि वृद्धि हुन्छन् । यसमा पर्यटन अछुतो रहने सम्भावना छैन ।

लगानी वातावरण बनाउने अवसर
पहिलो चरणको निर्वाचन सम्पन्न भइसकेका स्थानीय तहमा जनप्रतिनिधि योजना निर्माणमा व्यस्त छन् । निर्वाचनले एक किसिमको राजनीतिक स्थायित्व प्रदान गर्छ । पर्यटन व्यवसायीले आजको दिनमा मुख्य पर्यटकीय क्षेत्रस्थित स्थानीय सरकारले ल्याउने योजना र सुविधालाई नजिकबाट नियालिरहेका छन् । पहिलो चरणको निर्वाचनका क्रममा काठमाडौं, पोखरा र भरतपुरमा पर्यटन व्यवसायीको खास चासो थियो । भरतपुरमा व्याप्त पछिल्लो अन्योलले व्यवसायीमा पनि निराशा छाएको छ । जनकपुर र लुम्बिनी रहेको क्षेत्रमा के होला भन्ने अन्योल छ । त्यसकारण, संघीयताको सफल कार्यान्वयन हुनु भनेको मुलुकका हरेक तहमा लगानीको वातावरण बन्नु हो । हामीले पर्यटन विकासका सन्दर्भलाई काठमाडौं, पोखरा र सगरमाथामा केन्द्रित गरेका छौँ । भोलि यसको दायरा फराकिलो हुनेछ । त्यसवेला हरेक प्रदेश र स्थानीय तहले लगानीकर्ता आकर्षित गरी लगानी वातावरण बनाउनेछन् ।

सातै प्रदेशमा प्रतिस्पर्धी पर्यटन
नेपालका सातवटै प्रदेश पर्यटकीय सम्भावना बोकेका क्षेत्र हुन् । हिजो केही क्षेत्रमा बढी प्रचार भयो, केही क्षेत्रमा बढी पूर्वाधार विकास भयो, कुनै क्षेत्र पछाडि पारिए, त्यो एउटा पाटो हो । तर, सम्भावनाको दृष्टिकोणबाट कुनै पनि प्रदेश कमजोर छैनन् । अब जननिर्वाचित प्रतिनिधि र स्थानीय सरकारले यो सम्भावनालाई कसरी उजागर गर्छन्, सोही आधारमा पर्यटन विकासले गति लिन्छ । हामीले वडा सदस्यदेखि राजनीतिक दलका घोषणापत्र हेर्दा पर्यटन विकासको मुद्दा कतै पनि छुटेको छैन । स्थानीय तहका वडा–वडामा पर्यटकीय पूर्वाधार विकास र पर्यटनमार्फत आयस्रोत वृद्धि, रोजगारी सिर्जना, होमस्टे विकास र लगानीमैत्री वातावरणका मुद्दा उठाइएका छन् । यो पर्यटन र अर्थतन्त्रका लागि सकारात्मक सन्देश हो ।

बजारीकरणका अवसर
पर्यटन प्रवद्र्धन र बजारीकरणका दृष्टिकोणबाट संघीय राज्य व्यवस्था महत्वपूर्ण हुन्छ । यसवेला बजारीकरण र प्रवद्र्धनका काम दोब्बर हुन्छन् । किनकि अन्तर्राष्ट्रिय ट्राभल मार्टमा एउटा मुलुकबाट केन्द्र सरकारको प्रतिनिधित्व हुन्छ भने आफ्नो क्षमताका आधारमा हरेक प्रदेशले पनि भाग लिन पाउँछन् । यसवेला मुलुकको पर्यटन प्रवद्र्धनका लागि दोहोरो फाइदा हुन्छ । भोलि करमा दोहोरोपन नहुने ग्यारेन्टी गर्ने र गन्तव्यलाई प्रतिस्पर्धी बनाउने हो भने पर्यटक एउटा प्रदेश मात्र होइन, एकसाथ सम्पूर्ण मुलुकको भ्रमणमा आउन थाल्छन्, जुन विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोत हुनेछ ।

बसाइ अवधि बढाउन
काठमाडौं उपत्यका पर्यटकलाई लामो समय राख्न सकिने गन्तव्य हो । तर, पछिल्लो अवस्था हेर्दा यहाँ व्यवसायीले दुई दिन पनि पर्यटक अड्याउन मुस्किल भइसक्यो । तर, सधैँभर यो अवस्था नरहला । हिजो काठमाडौं उपत्यकामा केन्द्रित तारे होटेल आज उपत्यकाबाहिर आकर्षित भइरहेका छन् । अन्तर्राष्ट्रिय चेन ब्रान्ड नेपाल आउने क्रम बढेको छ । होटेलमा अर्बौं रुपैयाँको लगानी आकर्षित भइरहेको छ । यसले समग्रमा नेपाललाई एक लोकप्रिय गन्तव्यका रूपमा चित्रण गर्छ । जब प्रदेशहरूले पर्यटक आकर्षित गर्न छुट्टाछुट्टै प्याकेज र सुविधा ल्याउन थाल्छन्, त्यसपछि स्वाभाविक रूपमा पर्यटक बसाइ अवधि लम्बिन थाल्नेछ ।

enayapatrika.com