निजी घरको प्राविधिक निरीक्षण तेस्रो पक्षबाट गराइने

काठमाडौं : सरकारी अनुदानमा निर्माण हुने निजी घरको निरीक्षण तेस्रो पक्षबाट गरिने भएको छ । भूकम्प प्रभावितले बनाउने नयाँ घर, प्रबलीकरण (रेट्रोफिट) र मर्मतको निरीक्षण तेस्रो पक्षबाट हुने भएको हो ।

यस्तै, सरकारी अनुदान नपर्खी आफैंले घर निर्माण गरेका प्रभावितको घरको निरीक्षण पनि उनीहरूले नै गर्नेछन् । प्राधिकरणले निजी आवास ‘पुनर्निर्माण प्राविधिक निरीक्षण कार्यविधि २०७३’  गरेर निरीक्षण गर्ने व्यवस्था गरेको हो ।

प्राधिकरणका सहसचिव एवं प्रवक्ता रामप्रसाद थपलियाका अनुसार नयाँ आवास, प्रबलीकरण र मर्मत तथा पहिल्यै बनाइसकेका भवनहरूको प्रमाणीकरणका लागि प्राविधिक निरीक्षण कार्यविधि बनेको छ ।

“सरकारले खटाएका प्राविधिकहरूको सल्लाहमा बनेका निजी घरको पुनः प्रमाणीकरणको कामसमेत गर्नसक्ने गरी कार्यविधि बनाइएको छ,” उनले भने ।

प्राधिकरणले तेस्रो पक्ष प्राविधिक अनुगमन टोली गठन गरी गुणस्तरीय ढंगले निर्धारित समयावधिभित्रै निजी आवासहरूको पुनर्निर्माण/प्रबलीकरण वा मर्मतसम्भार भए/नभएको विषयमा नमुना रूपमा पाँच प्रतिशत घरको प्राविधिक निरीक्षण गर्ने जनाएको छ ।

प्राधिकरणका अनुसार, एक प्रतिशत घरहरू जग निर्माण कार्यदेखि निर्माण सम्पन्नताको प्रमाणपत्र उपलब्ध गराउँदासम्म सोही घरहरूको अनुगमन हुनेछन् । यस्तै, बाँकी चार प्रतिशत जुनसुकै घरहरू नमुनाका रूपमा छनोट गरी अनुगमन हुने प्राधिकरणले जनाएको छ ।

टोलीले गरेको सिफारिसअनुरूप प्राविधिक सहायता टोली, निरीक्षण टोली, सुपरीवेक्षण टोली तथा सम्बद्ध निकाय एवं व्यक्तिले निजी आवास पुनर्निर्माण कार्यमा आवश्यक सुधार गर्नुपर्ने व्यवस्था कार्यविधिमा गरिएको छ ।

प्राधिकरणले निजी आवास पुनर्निर्माण कार्यमा सहयोग उपलब्ध गराउने दातृ निकाय वा संस्थासँग समन्वय गरी निजी आवास पुनर्निर्माण कार्यको अनुगमनका लागि तेश्रो पक्ष अनुगमन टोलीको व्यवस्था मिलाइने जनाएको छ ।

सम्बन्धित दातृ निकाय वा संस्थाले समेत आ–आफ्नो सहयोग परिचालनको अवस्थाका सम्बन्धमा अनुगमन गर्न सक्ने व्यवस्था गरिएको छ । कार्यविधिमा पुनर्निर्माण कार्य सम्पन्नताको निरीक्षण प्रक्रिया, प्रबलीकरण÷मर्मत सम्भार कार्यको निरीक्षण प्रक्रिया उल्लेख छ ।

तेस्रो पक्षबाट प्राविधिक अनुगमन प्रक्रिया, अनुदान सम्झौताअगावै पुनर्निर्माण भएका घरहरूको निरीक्षण प्रक्रियालगायतबारे पनि कार्यविधिमा उल्लेख गरिएको छ ।

प्राधिकरणले भूकम्पबाट क्षति भएका निजी घरको पुनर्निर्माण, प्रबलीकरण वा मर्मत गर्नुपर्ने संरचना भूकम्प प्रतिरोधात्मक बनाउनका लागि सिफारिस गरिएको प्राविधिक ढाँचा, स्तर, सोको डिजाइन र निर्माणमा प्रयोग हुने निर्माण सामग्रीको गुणस्तर यकिन गर्न समेत गर्न सक्नेछन् ।

पुनर्निर्माण कार्यमा खटिएका प्राविधिकहरूका लागि निरीक्षणको एकीकृत प्रकृया तोक्न आवश्यक भएकाले पनि निरीक्षण कार्यविधि तयार पारिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले प्रबलीकरण गर्ने गरी प्रभावित तोकिएकोमा नयाँ निर्माण गर्नुपर्ने तथा नयाँ निर्माण गर्नुपर्ने नभई प्रबलीकरण गरे पुग्ने भएमा सोका लागि समेत सुविधा पाउनेछन् । यसका लागि आवश्यक निवेदन दिएर प्राविधिक रूपमा उपयुक्त देखिएमा परिवर्तन गर्न पाउने व्यवस्था गरिएको छ ।

karobardaily.com