
यासेर अल सलेह
प्राकृतिक संसाधनमाथिको निर्भरता कम गर्दै विविधीकृत र लचिलो अर्थतन्त्र निर्माण गर्ने कोसिस गरिरहेका मध्यपूर्वी एशियाली देशका सरकारहरूले दुबईबाट पाठ सिक्न सक्छन् । र, दुबईको कथा निकै रोचक छ ।
एक पुस्ताभन्दा कम समयमा नै दुबईले आफूलाई लगानी, व्यापार र ‘हाई एण्ड’ संस्कृतिको प्रमुख केन्द्रका रूपमा स्थापित गरिसकेको छ । सन् २००८ को विश्वव्यापी वित्तीय सङ्कटका बेला (रियल इस्टेटको मूल्य वृद्धिको फोकाकै कारण) निकै नराम्ररी धक्का बेहोरे पनि दुबईको अर्थतन्त्रमा चाँडै नै पुनर्बहाली आयो । सन् २०२० को ‘वर्ल्ड एक्सपो’लगायत कार्यक्रम आयोजना गर्न दुबईले गरेको प्रयासले पनि यही पुष्टि गर्छ ।
सङ्कटका समयमा समेत कसरी दुबई जीवित रहन मात्रै होइन, समृद्ध पनि हुन सफल भयो भन्ने जान्न अझ गहिरिएर नियाल्नु जरुरी छ । त्यसैले गएको गर्मीयाममा मैले लचिलो आर्थिक वृद्धिदर प्राप्त गर्न दुबईले अवलम्बन गरेको पद्धति र आउँदा दिनमा यसले सामना गर्न सक्ने चुनौतीबारे अनुसन्धान शुरू गरेँ । यसक्रममा मैले ४० भन्दा बढी सरकारी अधिकारी र उच्च वर्गका व्यवसायीसँग गहन छलफल गरेँ र आफूले पत्ता लगाएका तथ्यलाई ‘सेकेण्डरी’ स्रोतहरूसँग पनि भिडाएँ ।
दुबईको आर्थिक वृद्धिदर र लचकताको मुख्य श्रेय यसले अपनाएको एबीएस् (एण्टी–लक ब्रेकिङ सिष्टम) मोडललाई जान्छ । यो भनेको विदेशी लगानी आकर्षित गर्ने, नयाँ शैलीले दुबईको ब्राण्डिङ गर्ने र राज्यको नेतृत्वअन्तर्गत विकास गर्ने मोडल हो । जसरी एण्टी लक ब्रेकिङ सिष्टमले कारलाई डरलाग्दो अवस्थामा समेत नियन्त्रणबाहिर जान दिँदैन त्यस्तैगरी, दुबईको यो तीनधारे रणनीतिले पनि त्यहाँको विकास एजेण्डालाई ट्र्याकमा राखिरह्यो, सङ्कटको समयमा समेत ।
राज्यको नेतृत्वमा हुने विकासका सन्दर्भमा दुबईले अपनाएको विधि अन्य खाडी मुलुकको जस्तै हो । त्यहाँको समाज जातिगत परम्परामा बाँधिएको छ । त्यसकारण त्यहाँका शासक कुलीन वर्ग र त्यसको नेतृत्व गर्ने राजपरिवारले आर्थिक विकासको दिशा र ढाँचा निर्धारणमा अभिभावकीय र सर्वशक्तिमान भूमिका खेल्न पाउँछ । यसको अर्थ के हो भने ‘दुबई, इङ्क’ले बदलिँदो आर्थिक परिस्थितिअनुरूप आफूलाई छिट्टै र सहजै ढाल्न सक्छ ।
दुबईलाई कहिलेकाहीँ ‘मरुभूमिको सिङ्गापुर’ पनि भन्ने गरिन्छ । किनकि सिङ्गापुरजस्तै यसले पनि राज्यनिर्देशित उच्च आर्थिक वृद्धिको अनुभूति गर्न पाएको छ र सक्रिय एवम् दूरदर्शी नेतृत्वको लाभ पाएको छ, जुन नेतृत्वले थोरै मात्रै प्राकृतिक संसाधन भएको सानो शहरी राज्यलाई महत्त्वपूर्ण अन्तरराष्ट्रिय ‘इण्ट्रेपट’ (विदेशका उत्पादनहरू ल्याएर विदेशीलाई नै बेच्ने) केन्द्रका रूपमा बदल्यो ।
त्यस्तैगरी, आर्थिक वृद्धिको लक्ष्य प्राप्त गर्न आवश्यक विदेशी लगानी र कामदारहरूलाई आकर्षित गर्न दुबईले आफ्नो ब्राण्डिङ पनि निकै राम्ररी गर्यो । न्यूयोर्क, साङ्घाई र लस भेगासले आर्किटेक्चर (वास्तुकला)का माध्यमबाट आफ्नो छविलाई उच्च बनाए जस्तै गरी दुबईले पनि शहरको परिदृश्य (सिटीस्केप) र गगनचुम्बी भवनहरूका माध्यमबाट आफ्नो नवप्रवर्तनमुखी पहिचान सम्प्रेषण गर्छ । दुबईमा १ सय ५० भन्दा धेरै गगनचुम्बी भवन छन् । न्यूयोर्क र हङकङमाबाहेक अन्य कुनै पनि शहरमा यति धेरै गगनचुम्बी भवन छैनन् ।
दुबईमा संसारकै पहिलो थ्री–डी प्रिण्टेड कार्यालय भवन छ, मानवनिर्मित अद्भुत टापुहरू छन्, ‘साततारे होटल’ छ (विश्वमा यस्तो होटल यही एउटा मात्रै भएको दाबी गरिएको छ), अक्वेरियम, इण्डोर स्कीइङ र स्काईडाइभिङको समेत सुविधा भएका शपिङ मल र विभिन्न आइकोनिक भवन र मनोरञ्जन पार्क पनि छन् । दुबईले विश्वमै सबैभन्दा महँगो घोडादौड प्रतियोगिता ‘दुबई वल्र्ड कप’ र अन्य भव्य स्पोर्टस् कार्यक्रम पनि आयोजना गर्ने गरेको छ ।
दुबईको राजनीतिक स्थिरता, सुरक्षा, सहिष्णुता, सांस्कृतिक विविधता र उच्च जीवनस्तरले पनि यसको ब्राण्डलाई झनै बलियो बनाएको छ । विश्वभरबाट दक्ष शीप भएका प्रवासी कामदारहरू दुबईप्रति आकर्षित हुनुको कारण पनि यही हो । यसबाहेक पनि, विदेशी लगानीकर्ताका लागि समेत एमिरेट अफ दुबई आकर्षक स्थानका रूपमा रहेको छ । त्यहाँ लगानीका लागि विशेष आर्थिक क्षेत्र छन् जुन अन्य थोरै देशमा मात्रै छन् ।
दुबईबाट ४ घण्टाको उडानले भ्याउने परिधिभित्र २ अर्ब मानिसहो बसोवास छ । त्यसकारण पर्यटक र लगानीकर्ता दुवैका लागि दुबई आकर्षक स्थानका रूपमा देखिनु आश्चर्यजनक होइन । मैले कुरा गरेका व्यक्तिहरूमध्ये एक व्यावसायिक महिलाले के भनिन् भने, ‘उच्च सङ्ख्यामा अरब युवा दुबई आउन र ‘दुबई सपना’ जिउन मरिहत्ते गरिरहेका छन्, विश्वभरिका लगानीकर्ता र पर्यटकका लागि अति नै लोकप्रिय आकर्षण बन्न आवश्यक सबै तत्त्व दुबईसँग छन् ।’
दुबईले उच्च शीप भएका कामदार तथा लगानी आकर्षित गर्ने आफ्नो प्रतिस्पर्धात्मक लाभ अझ बलियो बनाउन यस्तो श्रमनीति लिएको छ जसले न्यून शीप भएका विदेशी कामदाहरू समेत भित्र्याउन सक्छ । र, यस्तो नीतिले गर्दा उसको आर्थिक वृद्धिदर उच्च रहेको छ । तर, विदेशी कामदारमाथि मात्रै भर पर्दा भविष्यमा संरचनात्मक समस्या निम्तन सक्छ । अप्ठ्यारो समयमा कम्पनीहरूले सजिलै कर्मचारी कटौती त गर्न सक्छन् तर स्थिति सुध्रिँदै जाँदा आवश्यक श्रमिक बजारमा पाउन यस्तो परिस्थितिमा मुश्किल पनि हुन्छ । विशेषगरी, उच्च शीपयुक्त कामदारलाई हटाउनुभन्दा आकर्षित गर्न धेरै समय लाग्छ ।
अर्को जोखीम पनि छ । लामो अवधिदेखि यस एमिरेट्सले राजनीतिक र आर्थिक स्थिरताको लाभ उठाउँदै आएको भए पनि कुनै ठूलो खालको मध्यपूर्वी क्षेत्रीय उथलपुथल भयो भने यसले सबै प्रकारका शीपयुक्त विदेशी कामदारहरूलाई दुबईबाट बाहिरिन प्रेरित गर्न सक्छ । त्यस्तो अवस्थामा धेरै तलब दिने वाचा र त्यहाँको आकर्षक जीवनशैलीले समेत विदेशी कामदारलाई टिकाउन गाह्रो हुनेछ । तसर्थ विदेशी श्रमिकमाथिको निर्भरताले गर्दा भविष्यमा आइपर्ने ‘झट्का’ झेल्न सक्ने दुबईको दीर्घकालीन आर्थिक क्षमता नै धरापमा छ ।
यस्तो जोखीम उत्पन्न हुन पनि सक्ला भनेर सचेत हुँदै दुबईको नेतृत्व वर्गले भर्खरै मात्र स्थानीय मानव पूँजीको विकास गर्ने लक्ष्यसहित शिक्षा प्रणालीमा व्यापक हेरफेर गर्ने एउटा बृहत् योजना नै पारित गरेको छ । दुबईका शासक शेख मोहम्मद बिन रशिदले भनेका छन्, ‘हामी नयाँ पुस्ताका त्यस्ता विद्यार्थीको विकास गर्ने सोचमा छौं, जो भविष्यमा विकास हुन सक्ने औजारहरू प्रयोग गर्न समर्थ हुनेछन् ।’
शैक्षिक क्षेत्रमा गरिएको सुधारको फल प्राप्त हुन एक पुस्ता वो सोभन्दा बढी समय कुर्नुपर्छ । शिक्षामा उच्च लगानी गर्ने एवम् उत्तर माध्यमिक तहको पढाइ पूरा गराउनेलाई राष्ट्रिय महत्त्वका रूपमा राखेर सिङ्गापुरले अन्ततः उच्च शीपयुक्त स्थानीय प्रतिभाहरूको विकास गर्ने जग बसालिसकेको छ । विज्ञान र गणित विषयमा हुने अन्तरराष्ट्रिय परीक्षणहरूमा सिङ्गापुरका युवाहरूले उच्च अङ्क प्राप्त गरिरहेका छन् ।
एबीएस् मोडलले दुबईको आर्थिक लचकताको मात्र होइन, विश्वव्यापी वित्तीय सङ्कटपछि दुबईको अर्थतन्त्रमा कसरी यति छिट्टै पुनर्बहाली भयो भन्ने विषयको समेत व्याख्या उपलब्ध गराउँछ । साथै, नयाँ चुनौतीहरूले सृजना गरेको स्थितिअनुरूप रणनीति बनाउन पनि यस एमिरेट्सलाई यही मोडलले नै सघाउँछ । कारमा भएको एण्टी–लक ब्रेकिङ सिष्टमले खतरनाक अवरोधलाई छल्न कारको गति कम गर्ने वा बाटो नै बदल्ने काम गर्न चालकलाई सहज भएको छ । त्यस्तैगरी राज्यको नेतृत्वअन्तर्गत रहेको विकास संयन्त्रले पनि दुबईलाई आफ्नो आकर्षण र ब्राण्डिङ क्रियाकलापलाई आफ्नो देशको लक्षित आर्थिक वृद्धिदर एवम् मध्यपूर्व र सो क्षेत्रभन्दा बाहिरसमेतको बदलिँदो परिस्थितिअनुरूप हेरफेर गर्न सक्छ ।
अर्कोतर्फ, यदि सरकारले ‘अल्पविकसित स्वदेशी मानवपूँजी’सँग सम्बन्धी संरचनात्मक समस्या समाधान गर्न सकेन भने त्योचाहिँ वास्तवमै डरलाग्दो तरीकाले कार चलाइरहेको जस्तो हुनेछ । त्यो भनेको यस्तो तरीका हो जसमा अगाडि आइपुगेका अप्ठ्याराहरू चक्का ‘लक’ भएमा मात्र छलिन्छ ।
यासेर अल–सलेह एम्बीआर्एस्जी (पहिलाको दुबई स्कूल अफ गभर्मेण्ट)का फ्याकल्टी मेम्बर हुन् । मध्यपूर्वमा उनका कैयौं पुस्तक र शैक्षिक लेख प्रकाशित भएका छन् । ‘द प्रोस्पेक्ट फर सष्टेनेबल इनर्जी इत्रोभेशन विदिन आयल–रिच गल्फ कर्पोरेशन काउन्शिल’ पुस्तकका लेखकसमेत रहेका यासेर ‘इकोनोमिक डाइभर्सिफिकेशन पोलिसिज इन नेचुरल रिर्सोसेज–रिच कण्ट्रिज’ पुस्तकका सह–सम्पादक हुन् ।
abhiyan.com.np
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks