थाङ्कामा नलेखिएको जीवन

रामेछाप बेथानका वरिष्ठ थाङ्का कलाकार मानबहादुर दोङ (६०) कुनै समय थाङ्का लिएर मखनटोल जान्थे । फुटपाथमा तन्ना बेच्ने व्यापारीलाई थाङ्का बेचेर आउँथे । उनी ठमेल पनि पुग्थे । पर्यटकलाई बाटोमा माला बेच्दै हिँड्ने व्यापारीलाई थाङ्का बेचेर फर्किन्थे । केही वर्षपछि उनले थाहा पाए, थाङ्का किन्ने दुवैजना त्यही थाङ्का विदेशीलाई बेचेर अर्बपति भइसकेछन् ।

४० वर्षदेखि थाङ्का लेख्दै आएका चौंरी–देउराली, काभ्रेका धावा दोर्जे लामा (५५) को पनि कथा उस्तै छ । उनी पनि ठमेलमा थाङ्का लिएर जान्थे । सडकमा अम्बा बेचिरहेका व्यापारीले उनको थाङ्का किन्थे । केही वर्षपछि उनले थाहा पाए, अम्बा बेच्नेले पनि राजधानीमा पाँच वटा घर बनाइसकेछन् ।
माथिका केही उदाहारण थाङ्का कलामा आबद्ध खाइबा (वरिष्ठ कलाकार) हरूका अनुभूति हुन् । उनीहरूको थाङ्काको मूल्य वर्षौं एउटै हुन्थ्यो । ग्राहकले लिन मान्दैन भन्दै लिन आनाकानी गरे जस्तो गर्थे । तर, कैयौं गुणा बढी मूल्यमा विदेशीलाई थाङ्का बेच्थे ।

के हो थाङ्का ?

थाङ्का बुद्ध दर्शनसँग सम्बन्धित चित्रकला हो । लामा तथा भिक्षुहरूले बुद्ध दर्शनको प्रचारका लागि थाङ्काको प्रयोग गर्थे । तामाङ भाषामा ‘थाङ्का’, ‘थाँगु’ भनिने यस चित्रकलालाई नेपाल भाषामा ‘पौभा’ भनिन्छ । नेपालबाटै विकास भएको थाङ्का तिब्बत पुगेर महायानी सम्प्रदायको विकाससँगै फस्टाएको मानिन्छ । शुरुमा थाङ्कालाई कसले डिजाइन गर्‍यो भन्नेबारे अनभिज्ञता छ । यद्यपि थाङ्काभित्रकै चित्रकला ‘कालचक्र मण्डला’लाई दलाई लामाले डिजाइन गरेको आम धारणा छ ।

थाङ्का प्रायः चीन, जापान, फ्रान्स, जर्मनी, अमेरिका, बेलायत निर्यात हुन्छ । मृतकको सम्झनामा थाङ्का चित्रको तल परिवारका सदस्यहरूको नाम लेखी बुद्धको मूर्ति र ‘छ्योइ’ (पुस्तक)सँगै पूजाकोठामा राख्ने चलन छ । कोठाको सजावटमा पनि यसको प्रयोग गरिन्छ ।

वरिष्ठ पौभा कलाकार लोक चित्रकार थाङ्काभन्दा ‘पौभा’ फरक कला भएको तर्क गर्छन् । उनी ‘थाङ्का’ तिब्बती शब्द र ‘पौभा’ नेपाली शब्द भएको जिकिर गर्छन् । पाचौंं शताब्दीबाटै विकास भएको पौभा १६ औं शताब्दीमा तिब्बत पुगेको उनको धारणा छ ।

विदेशीहरू नेपालबाट फर्किँदा चिनोस्वरूप थाङ्का लिएर जान्छन् । तर, नेपालबाट वार्षिक कति मूल्य बराबरको थाङ्का बाहिरिन्छ भन्नेबारे यकिन तथ्यांक छैन । ठूलो परिमाणमा थाङ्का बाहिर लैजाँदा पुरातत्व विभागबाट अनुमति लिनुपर्ने प्रावधान छ । विभागसँग नयाँ र पुरानो प्रमाणित गर्नेबाहेक कुनै नीति छैन । तर, जानकारहरू वार्षिक अर्बौंको थाङ्का बाहिरिने गरेको बताउँछन् ।

today.annapurnapost