तिहार पर्व : लक्ष्मी पुजा गरिँदै

काठमाडौंं (कार्तिक ६) । नेपाली हिन्दूहरुको दोस्रो ठूलो पर्व तिहारको तेस्रो दिन बिहीबार देशभर दीपावलीका साथ लक्ष्मीपुजा गरिँदैछ ।
गाउँघरमा घरको आँगन, पिँढी, दलान, कोठा गाईको गोबरले लिपेर सफा गरी घरका झ्याल ढोका साथै पानी सार्न प्रयोग गर्ने गाग्रीमा फूलका माला लगाएर सिगार्ने गरिन्छ । आज साँझ घरको सरसफाई गरी मुलढोकादेखि पूजा कोठासम्म चामलको पिठोबाट लक्ष्मीको प्रतिकात्मक पाइला बनाएर झिलिमिली बत्ती बालि लक्ष्मीको स्वागत गरिन्छ ।अध्यारोमा लक्ष्मीको बास नहुने मान्यताअनुसार घरघरमा दीपावली गरिन्छ ।
दीपावलीपछि घरको पूजा कोठामा आफूसँग भएका सुन चाँदीका गरगहना, नगद तथा फलफूल राखेर धनकी देवी लक्ष्मीको धुमधाम पूजा गर्ने चलन छ । लक्ष्मी पूजाका दिन घरमा लक्ष्मीको बास भए वर्षभरि आर्थिक संकट नपर्ने जनविश्वास रहिआएको छ ।
आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटीसमेत दिने गरिन्छ । भैलो खेल्न आउनेलाई दान दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

everesttimes