ढाड दुख्नु (Back Pain)

परिचय :

समान्यतयाः गर्दनको पछाडी (घिच्रो) र नितम्ब (चाक) बीचको मध्यरेखामा हुने दुखाईलाई ढाड दुख्नु भनिन्छ । मेरुदण्डको निर्माणमा सहभागी हड्डी र मांसपेशी लाई असर गर्ने रोग र अवस्थाले ढाड दुख्छ । यस्तो दुखाई मेरुदण्ड मा जहाँ कहिँ पनि हुन सक्दछ । तर मुख्य गरेर मेरुदण्डको तल्लो भागको समस्या बढी देखिएको छ । मांसपेशी कडा भए झैँ अथवा घाऊ भए झैं अथवा खुट्टा पसार्दा वा मेरुदण्ड चल्दा भएको तीब्र दुखाई दुखेको ठाउँ बाट अन्यत्र सरे झैं अनुभव हुन्छ ।

 

ढाड दुख्नु का कारणहरू :

  • शारीरिक एवं चोटपटक सम्बन्धी कारणहरूः मेरुदण्ड भाँच्चिनु वा मेरुदण्डको भाग चिरिनु, मेरुदण्डको आन्तरिक भाग उछिट्टिनु, मेरुदण्ड र जोर्नी सम्बन्धी जन्मजात समस्या हुनु ।
  • वाथ एवं हड्डी खिइने रोगः वाथ अर्थात् विभिन्न कारण ले जोर्नी दुख्ने र सुन्निने रोग र उमेर अनुसार मेरुदण्ड खिइने र नशा थिचिने समस्या ले ढाड दुख्न सक्छ । तेस्तै  हड्डी को संक्रमण, हड्डीको मासी (क्याल्सियमको कमीले हड्डी कमजोर हुनु), अस्थिमृदुता (osteomalacia) आदि ले पनि ढाड दुख्न सक्छ ।
  • पछाडिको मांसपेशीमा तनाव: जुन अत्यधिक भारोत्तोलन, भार अनुपयुक्त तरीकाले उचाल्नु, नमिल्दो आसन र नियमित व्यायामको कमीका कारण हन्छ ।
  • मूत्रनलीको समस्या: जस्तै मृगौलामा पानी जम्नु, मृगौलाको पत्थरी, मूत्राशय, मूत्रनलीको तल्लो भागमा संक्रमण आदिद्वारा तल्लो ढाडमा  दुखाई हुन सक्दछ ।
  • गर्भावस्था, महिनावारीमा  र महिनावारी पछिको समयमा सामान्यतयाः ढाड दुखेको हुन्छ ।

 

चिकित्सक कहाँ कति बेला जाने ?

धेरैजसो ढाडको दुखाई छोटो हुन्छ र घरेलु उपचार र दुखाई कम गर्ने औषधीबाट निको हुन्छ । तर निम्न अवस्थामा भने  चिकित्सकीय सल्लाह लिनु जरुरी हुन्छ-

  • दैनिक जीवनका क्रियाकलाप नै गर्न नसकिने गरी ढाड दुखेमा ।
  • ज्वरांश र सामान्य विसंचो सँगै ढाड दुखेमा ।
  • ढाडको दुखाई कडा भएमा, केही समय पछि निको नभएमा वा आराम गर्दा वा उत्तानो पर्दा पनि दुखेमा ।
  • खुट्टामा झमझम वा कमजोरी भएमा वा उभिँदा वा हिड्दा गाह्रो भएमा ।
  • यदि आन्द्रा वा मूत्राशयमा नियन्त्रण नभएमा यो स्नायुगत समस्या वा उपचारको अवस्थाको कारण हुन सक्दछ । जसको उपचार उचित तवरले गर्नुपर्दछ ।

 

उपचार को विकल्प :

ढाडको दुखाईको उपचार दुखाई के कति कारणले भएको हो सोही अनुसार गर्नुपर्दछ । ढाडको दुखाईको पहिचान रक्त परीक्षण, मूत्र परीक्षण, एक्सरे, सीटी स्क्यान, एम.आर.आई आदि विभिन्न तरीकाबाट गर्न सकिन्छ । उपचारको मुख्य लक्ष्य दुखाईबाट छुटकारा पाउनु र हिडडुलमा सहयोग पुरयाउनु हो ।

  • दुखाई र जलन कम गर्न इबुप्रोफेन, पारासिटामोल जस्ता जलन/सुजन प्रतिरोधक ननस्टेरोइड औषधीहरूको आवश्यकता पर्दछ । तातो वा बरफको स्थान विशेषमा गरिने प्रयोगले पनि जलन र दुखाई लाई कम गर्न सक्दछ ।
  • ओछ्यान मा सुतेर गरिने पूर्ण आरामलाई राम्रो मानिदैन । सहन सकिने हलुका काम गर्नु राम्रो हुन्छ । चिसो वा तातो ले सेक्ने जस्ता घरेलु उपचार ले कम नभएमा चिकित्सक ले दुखाई कम गर्ने औषधी दिन सक्दछन् ।
  • हड्डी खिइने रोगबाट ढाड दुख्ने भएमा पर्याप्त क्याल्सियम सहितको भोजन सँगै हर्मोन को उपचार गर्नुपर्दछ ।
  • हाडमासी को संक्रमण को उपचार सही एण्टिवायोटिकद्वारा गरिन्छ ।
  • मूत्रनली को समस्याका कारण ढाड दुख्ने भएमा कारण र समस्या अनुरूप एण्टिवायोटिक वा शल्यक्रिया वा दुबै द्वारा उपचार गरिन्छ ।

 

घरेलु उपचार :

  • भूईमा लम्पसार परेर मांसपेशीको तल्लो भागलाई तन्काउने र मांसपेशीको तल्लो भागलाई तन्काउन घुंडा खुम्च्याएर छातीमा ल्याउने ।
  • मनौबैज्ञानिक तनाव र थकाईसँग सम्बन्धित ढाडको दुखाई कम गर्न नियमित हल्का व्यायाम गर्न सकिन्छ ।
  • ढाडको मालिसले बाउँडिएको निको भई ढाडको दुखाई कम गर्न मद्दत पुग्दछ र मांसपेशीमा संचो हुन्छ । दुखाई मार्न मल्हमसँगै मालीसले पनि दुखाइमा काम गर्छ ।
  • मनतातो पानीमा नुहाउनाले सामान्य तनाव दूर हुन्छ र संचो हुन मद्दत पुग्दछ । मनतातो पानीले बाउँडिएको र तन्किएको मांसपेशीमा संचो हुन्छ । पानीको तापक्रम ४० डिग्री सेल्सियस भन्दा बढी हुनुहुँदैन ।
  • नरम तकिया सँगै नरम तन्नामा आरामदायक सुताईको वातावरण बनाउनुपर्छ ।
  • यदि अन्य विधिद्वारा बाँउडिएको कम गर्न मद्दत नपुगे वा दुखाई लामो भएमा दुखाई कम गर्न ५०० मिलिग्रामको ओरल पारासिटामोल औषधी प्रयोग गर्नुपर्दछ । दुखाई कम गर्ने अन्य औषधी लिनु भन्दा अघि चिकित्सकसँग सम्पर्क गर्नुपर्दछ ।
  • लामो समयसम्म कुप्रिएर बस्न हुँदैन । प्रत्येक २० देखि ३० मिनटसम्म उठबस गर्ने र खुट्टा तन्काउने गर्नुपर्दछ । बस्दा डँडाल्नोलाई सिधा राखी सामान्य बसाई हुनुपर्दछ ।
  • छोटो कुर्कुच्चा भएको र आरामदायक जुत्ता लगाउनुपर्दछ । अग्लो कुर्कुच्चा भएको जुत्ताले झन् बढी गाह्रो र असर पार्न सक्दछ । साथै तल्लो डँडाल्नोमा दबाब सिर्जना गर्न सक्दछ ।
  • विशेषतः गर्भावस्थामा र बच्चा जन्मिसकेपछि केही महीना लामो समयसम्म उभिनु हुँदैन ।
  • लामो समय उभिएर गर्ने काम नगर्ने ।
  • खानासँगै पर्याप्त मात्रामा क्याल्सियम र भिटामिन डी लिने ।
  • http://niroginepal.com