ट्रायल दिँंदा ध्यान दिनुपर्ने पक्षहरू

एट फिगरसँग नतर्सिनुहोस्
लाइसेन्स लिन ट्रायल दिने क्रममा धेरैजना हडबडाएर नै फेल हुन पुग्छन् । विशेषगरी एट फिगरमा मोटरसाइकल कुदाउन तर्सिने गरेको पाइएको छ । एट फिगरमा तर्सिहाल्नुपर्ने कारण नै छैन । किनकि, एट फिगरमा सहज लागेको दाँया, बाँया जताबाट पनि छिर्न पाइन्छ । ध्यान गर्नुपर्ने कुरा के हो भने  मोटरसाइकल तथा स्कूटर स्टार्ट गरेर एट फिगरभित्र छिरिसकेपछि पहेँलो रेखा छुनु हुँदैन । खुट्टाले पनि टेक्न पाइँदैन र स्टार्ट त झन् बन्द हुने अवस्था आउनै दिनु हुँदैन ।

ट्राफिक बत्ती
एट फिगर कटाएलगत्तै अगाडि जेब्राक्रश आउँछ । जेब्राक्रशमा जानुभन्दा अघि ट्राफिक बत्तीमा ध्यान दिनुपर्दछ । यदि रातो र पहेँलो बत्ती बलेको भए जेब्राक्रश नपुग्दै बाइक रोक्नुपर्छ । यस्तोमा जेब्राक्रशलाई बाइकले छुनु हुँदैन । यदि हरियो बत्ती बलेको भए नरोकीकन अघि बढ्नुपर्छ ।

Learn English - Dew Meaning in English to Nepali below

यू टर्न र साइड लाइट
यू टर्नमा छिर्नुभन्दा अगाडि कता मोडिने हो त्यहीँतर्फको साइड लाइट बाल्नुपर्छ । त्यसपछि साइड लाइट बालेको–बाल्यै गर्नु हुँदैन । यू टर्न सकिनासाथ स्पीड ब्रेकरमा छुनुभन्दा अगाडि साइड लाइट अफ गरिसक्नुपर्छ । युटर्नमा पनि पहेँलो धर्का छुनु हुँदैन । साथै, खुट्टाले पनि टेक्न पाइँदैन ।  साइड लाइट बालेन वा प्रयोजन सकेपछि अफ गरेन भने ट्रायल फेल हुन्छ । साइड लाइट ढिलो बन्द गरेमा वा उल्टोे साइड लाइट बलेमा पनि फेल हुन्छ । हर्न निषेधित भएकाले यो त झन् बजाउनै हुँदैन ।

उकालोमा
उकालोमा दुवै धर्काहरू नछोईकन स्टप लेखेको ठाउँमा रोक्नुपर्छ । ट्राफिक प्रहरीले अगाडि बढ्न सङ्केत नदिएसम्म अगाडि जानु हुँदैन । उकालोमा रोक्दा दुवै वा एउटा खुट्टा भुइँमा राख्न पाइने व्यवस्था छ । यहाँ पनि स्टार्ट बन्द गर्न पाइँदैन । त्यसैले, चनाखो भएर बस्नुपर्छ । क्लच र एक्सिलेटरबाट हात नहटाईकन बस्नुपर्दछ ।

ओरालोमा
ओरालोमा रोक्दा पनि अगाडिको धर्का नछोई रोक्नुपर्छ । स्टप लेखिएको भागलाई भने छुवाउनु पर्छ । यहाँ पनि ट्राफिक प्रहरीले अगाडि बढ्न सङ्केत गरेपछि मात्र अगाडि बढ्नुपर्छ । उकालोमा जस्तै ओरालोमा रोक्दा पनि एउटा वा दुवै खुट्टाले टेक्न पाइन्छ ।

हेल्मेट
हेल्मेट लगाउँदा केहीले फित्ता बाँड्न बिर्सन्छन् । यो पनि ट्रायल फेल हुने एउटा कारण हो । त्यसैले, हेल्मेट लगाइसकेपछि फित्ता बाँड्न कहिले पनि बिर्सनु हुँदैन ।

abhiyan.com.np