tudikhel old photo

टुँडिखेलको त्यो बाटुले चौतारी

रानीपोखरीसँगै हालको रत्नपार्क अगाडि पहिले एउटा बाटुलो चौतारी (चाकलाः फल्चा) थियो। त्यसको सँगै हात्ती चढिरहेका राजा प्रताप मल्लको परिवारै सहितको प्रस्तर मूर्ति थियो। तयतिबेला गाउँबाट काठमाडौँ आउने मानिसहरु यही चौतारीमा बास बस्थे। यो चौतारी भएको ठाउँसम्मलाई टुँडिखेल भनिन्थ्यो। पछि चौतारी भत्काएर रत्नपार्क बनाइयो। विष्णुमणि आचार्य अञ्चलाधीश भएको बेलामा रानी रत्नराज्य लक्ष्मीलाई खुसी तुल्याउन ठूलो टुँडिखेल टुक्रा पारी त्यसमा रत्नपार्क नामक पार्क निर्माण गरिएको थियो। रत्नपार्क व्यवस्थापनको लागि आयस्रोत जुटाउन त्यही बाटुले चौतारी भत्काइ यहाँ दुईतल्ले पार्क रेष्टुँरा बनाएर भाडामा दिइएको थियो। त्यसको साथै सातआठ ओटा कवल भएको पसल निकालेर त्यो पनि भाडामा लगाइएको थियो। चौतारी भत्काएपछि त्योसँगै रहेको महादेवको मूर्ति र हात्ती चढेका प्रताप मल्लको शालिक रानीपोखरी छेउमा सारियो।

बाटुले चौतारी भत्काइसकेपछि त्यसको सट्टामा गाउँघरबाट सहर आउनेहरु बास बस्नका लागि पहिलेको अञ्चलाधीश कार्यालय (हाल डिआइजी कार्यालय) छेउ एउटा, त्यसैको अगाडि एउटा, विद्युत प्राधिकरणको कार्यालय छेउ एउटा र मिनाग मन्दिर (हाल सहिदगेट छेउ) एउटा गरी चार ओटा टहरा बनाइदिएका थिए। ती टहराहरु पिलर ढलान गरेरै बनाइएका थिए। यो वि.सं. २०१७ सालपछिको कुरो हो। पछि नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार हुँदै गयो। धेरै विदेशी राजदूतहरु आउन थाले। तिनीहरु राजलाई आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्न त्यही बाटो भइ आउनुपथ्र्यो। बाटोमा पर्ने ती टहराहरुमा बास बस्ने ढाक्रेहरुले साह्रै फोहोर गर्ने भएकोले सरकारले टहराहरु जम्मै भत्काएर त्यसको ठाउँमा विद्युत प्राधिकरणको पारिपट्टि उत्तरतिर हाल पेट्रोल पम्प र मुस्लिम मस्जिदसँगै सुन्दरीजल जाने सरकारी स्टाफबस राख्न बनाइएको ग्यारेज भत्काएर तीन तल्ले धर्मशाला नै निर्माण गरिदियो। उक्त धर्मशालामा मानिसहरु फाट्टफुट्ट बास बस्न आउन मात्रै के थालेका थिए सरकारले धर्मशालाको भवन कब्जा गरी त्यहाँ पञ्चायती पुस्तकालय र सूचना विभागको कार्यालय राखिदिए। यसरी पहिलेदेखि रहँदै आएको एउटा ऐतिहासिक चौतारीको अस्तित्व नै समाप्त पारे। पछि त्यो घरलाई रातोघर नामाकरण गरियो। अहिले रातोघर पनि भत्काएर त्यो ठाउँमा सडक वारपार गर्न आकाशे पुल बनाइएको छ।

Learn English - Dew Meaning in English to Nepali below

यो त नमुना मात्रै हो। सरकारले यस्ता धेरै नै प्राचीन पुरातात्विक महत्वका सत्तल र पाटीहरु नष्ट गरेको छ। त्यसको रक्षा गर्ने कोही पनि छैनन्। पुरातत्व विभाग टुलुटुलु हेरेर मात्रै बसेको छ। यसमा सम्बन्धित निकायको ध्यान जानुपथ्र्यो, धर्म लोप गर्न नहुने थियो। यसरी प्राचीन स्मारक नष्ट गर्ने क्रममा भीमसेनस्थानको एउटा प्राचीन पाटी स्थानीय व्यक्तिले अतिक्रमण गरेका थिए। उक्त पाटीमा इन्द्रजात्राको बेला हाथुद्यः (भैरव) को मूर्ति प्रदर्शन गर्ने चलन थियो। आवश्यक मर्मत सम्भार नहुँदा भत्कनै लागेको त्यो पाटीसँगै बस्ने छिमेकीले आफ्नो नाममा सारी व्यक्तिगत सम्पत्ति बनाए। त्यो थाहा पाएर हामी गुठियारहरुले मुद्दा हाल्यौँ। त्यसपछि तिनीहरुले झन् जबरजस्ती पसल कवल समेत बनाए। पछि पुनरावेदन अदालत गयौँ। त्यहाँबाट हाम्रै पक्षमा फैसला भयो। यसरी काठमाडौँका यस्ता प्राचीन सार्वजनिक पाटीपौवाहरु धेरै नै नष्ट भइसकेका छन्।

वि.सं. २००४ सालतिर राणा प्रधानमन्त्रीहरुमध्ये उदारवादी मानिने पद्म शमशेरले श्री ३ हुँदा दुनियाँलाई केही अधिकार दिए विद्रोह नहोला कि भनेर काठमाडौँलाई ‘म्युनिसिपालिटी’ नामाकरण गरी जनप्रतिनिधि छान्ने व्यवस्थाको थालनी गरे। पञ्चायतकालमा त्यसलाई काठमाडौँ नगर पञ्चायत भन्न थालियो। २०४६ सालको जनआन्दोलनपश्चात त्यसको नाम नगरपालिका भयो र २०५३ सालमा महानगरपालिका घोषणा गरियो।

काठमाडौँमा केशव स्थापित मेयर भएपछि उनैको सक्रियतामा नेपालमा सार्क सम्मेलन हुनअघि रानीपोखरीको पार्क रेष्टुरेन्ट भएको भवन भत्काएर खुल्ला गर्ने र माइतीघर दोबाटोमा रहेका घरहरु भत्काएर पार्क बनाउने योजना पनि गरिएको थियो। त्यस्तै एयरपोर्ट सँगैको तिनकुने टहरा भत्काएर पार्क बनाउने योजना पनि गरिएको थियो। तर सम्मेलन नजिक आइपुगेकोले हतारमा माइतीघर मण्डला मात्रै निर्माण भयो। रत्नपार्कनेर कुनै निर्माण हुन नपाए पनि त्यहाँ रहेको त्यहाँ रहेको रेष्टुरेन्ट भवनहरु भत्काएर पहिलेजस्तै रानीपोखरी देखिनेगरी खुल्ला गरिनुलाई भने काठमाडौँ विकासका लागि एउटा प्रशंसनीय काम नै भन्नुपर्छ।

मानन्धरको काठमाडौँः अहिले र उहिले बाट

nepalkhabar