brick

जापानी प्रविधिको इँटा बजारमा

काठमाडौं । प्रचलनमा रहेका चिनियाँ इँटाको विकल्पमा जापानी प्रविधिको इँटाको उत्पादन नेपालमै शुरू भएको छ । हालसम्म चिनियाँ इँटा प्रयोग गरी घर बनाउने सोचिरहेकाहरूका लागि नयाँ प्रविधिको यो इँटा राम्रो विकल्प हुन सक्छ । सुपर इको ब्रिक इन्नोभेशन प्रालिले नेपालमै जापानी प्रविधिको ‘वाटरप्रूफ’ इँटाको उत्पादन थालेको हो ।

भक्तपुरको बागेश्वरीमा कारखाना स्थापना गरी अत्याधुनिक प्रविधिको इँटा उत्पादन तथा विक्रीवितरण शुरू गरिएकोे कम्पनीका प्रबन्ध निर्देशक सुनील लोहियाले जानकारी दिए ।  जापानीको १२ प्रतिशत लगानी रहेको उक्त कम्पनीले इँटामा प्रयोग हुने रसायन पनि जापानबाटै ल्याउने गरेको छ । भक्तपुरको माटोबाट बन्ने यो इँटा सिमेण्टसँग सजिलै जडान हुनेगरी बनाइएको कम्पनीको भनाइ छ । सिमेण्टमा जडान गर्न सजिलो हुने र रङरोगन पनि गरिरहनु नपर्ने भएकाले यो इँटाबाट निर्माण गरिएको भवनको लगानी अन्य भवनको भन्दा कम हुने कम्पनीको दाबी छ ।

हाल चिनियाँ इँटाजसरी प्रयोग गरिएको छ, ठीक त्यसैगरी यसको प्रयोग गर्न सकिने लोहियाको भनाइ छ । अहिले तीन कलरमा इँटा उत्पादन गरिए पनि छिट्टै अन्य कलरमा पनि उत्पादन गर्दै जाने कम्पनीले जानकारी दिएको छ । कम्पनीले फिक्का, गाढा र धेरै गाढा गुलाबी रङमा इँटा उत्पादन गरिरहेको लोहियाले जानकारी दिए । यो इँटा हरेक हिसाबले किफायती भएको उनको भनाइ छ ।

‘हाम्रो इँटा हलुका हुन्छ, सीधा हुन्छ र रङ पनि लगाउनुपर्दैन,’ लोहियाले भने, ‘सहजै यताउता पार्न सकिन्छ, भाँचिने, फुट्ने कम हुन्छ, त्यसैले पनि यो किफायती छ ।’

इँटाको मूल्य भने तीन प्रकारको छ । इटाको रङअनुसार मूल्य निर्धारण गरिएको लोहियाले जानकारी दिए । ९ इञ्च (२३० एमएम)को इँटाको मूल्य २२, २० र १८ रुपैयाँ छ । त्यसैगरी, फिक्का रङको इँटाको १८, गाढाको २० र गहिरो गाढाको २२ रुपैयाँ मूल्य निर्धारण गरिएको छ । भर्खर उत्पादन शुरू गरिएको र सबैतिर डिपो नभए पनि कम्पनीबाट सीधै अर्डर गर्न सकिने बताइएको छ । त्यसका लागि कम्पनीको वेबसाइट, फेसबूक वा फोनमार्फत सम्पर्क गर्न सकिनेछ ।

२० करोड रुपैयाँको लगानीमा शुरू भएको उद्योगको दैनिक १ लाख इँटा उत्पादन गर्ने क्षमता छ । १ सय रोपनी क्षेत्रफलमा फैलिएको उद्योगले २ सय जनालाई रोजगारी दिँदै आएको लोहियाले बताए ।

abhiyan