जग्गैविना तरकारीखेती!!

केही समय अघिसम्म २/४ रोपनी जमीन नभई तरकारीखेती गर्नु व्यर्थको परिश्रम मानिन्थ्यो । यद्यपि, घरायसी उपभोगका लागि करेसाबारीमा तरकारी लगाउने प्रचलन भने पुरानै हो । तर, अहिले उन्नत जातका बीउबिजन तथा खेती गर्ने प्रविधिको विकासले थोरै जमीन हुनेहरूले पनि व्यावसायिक तरकारीखेती गर्न सक्ने भएका छन् । साथै, घरको छत, बार्दली र पेटीमा समेत तरकारीखेती गर्न थालिएको पाइन्छ । यसरी उत्पादित तरकारी आफूले उपभोग गरेर बढी भएको बेच्न पनि सकिन्छ । यसरी तरकारीखेती गर्ने विधिबारे सरकारले समेत प्रचारप्रसार थालेको छ । किसानले मात्र होइन, कोठा बहालमा लिएर बस्ने विद्यार्थीलगायतले समेत यस्तो किसिमको तरकारीखेती शुरू गरेका छन् । यो अभियान काठमाडौं उपत्यकालगायत शहरी क्षेत्रमा लोकप्रिय बन्दै गएको छ ।

Nepali typing

माटोको तयारी

सबै किसिमको तरकारीखेतीमा माटोको व्यवस्थापन प्राथमिक विषय हो । सामान्यतया तरकारी बालीका लागि खुला र घमाइलो ठाउँ राम्रो हुन्छ । त्यसकारण दक्षिण, पश्चिम र पूर्वी मोहडा भएको उज्यालो ठाउँ छनोट गर्नुपर्छ । हावा धेरै चल्छ भने त्यसबाट तरकारी बचाउन आवश्यकताअनुसार सानाठूला रूख लगाउन सकिन्छ । गमला, बोरा वा प्लाष्टिक थैलामा तरकारी लगाउने हो भने घामपानीको अवस्था हेरेर उपयुक्त ठाउँ छनोट गर्नुपर्छ । त्यसरी गरिने बालीका लागि खोल्न र बन्द गर्न मिल्ने गरी प्लाष्टिकको छानो दिन पनि सकिन्छ । तरकारीखेतीका लागि जमीन समथर तर पानी नजम्ने थोरै भिरालो हुनुपर्छ । जमीनको माटोभित्र समेत हावा खेल्न सक्ने हुनुपर्छ । यसका लागि माटो खुकुलो बनाउनुपर्छ । पानी जम्ने खालको जमीन छ भने अग्लो ड्याङ तथा पानी निकासीको व्यवस्था गर्नुपर्ने हुन्छ । माटो खकुलो, हल्का र दोमट हुनुपर्छ । बढी बलौटे वा बढी चिम्ट्याइलो छ भने त्यहीअनुसार व्यवस्थापन गरेर मात्र बाली लगाउनुपर्छ । बढी चिम्ट्याइलो माटो छ भने आवश्यकताअनुसार बालुवा मिसाउनुपर्छ । कुनै तरकारीको जरा निकै लामो र गहिरोसम्म जाने हुन्छ भने कुनैको छोटा जरा हुन्छन् । जरा बढ्न सहज हुने गरी माटोको सतहमुनि पराल, गोबर, सुकेको काठ आदि राख्न सकिन्छ । गोबरले पराल, पात, काठ आदिलाई विस्तारै प्राङ्गारिक मलमा परिणत गर्ने भएकाले बालीको उत्पादनमा पनि सहयोग पुग्छ ।

तरकारी हलुका अम्लीय माटोमा राम्रो फस्टाउने भएकाले माटोको पीएच मान ६ देखि ७ भित्र पर्ने हुनुपर्छ । बढी वा कम अम्लीय माटो छ भने त्यसको मात्रा बढाउन वा घटाउन प्राङ्गारिक एवम् रासायनिक पदार्थ बजारमा खरीद गर्न पाइन्छ ।

बीउको तयारी

तरकारीखेतीका लागि माटो मात्र राम्रो बनाएर पुग्दैन । बीउ पनि राम्रो हुनुपर्छ । यसका लागि भरपर्दो स्रोतबाट ल्याएको बीउ वा बिरुवा मात्र छनोट गर्नुपर्छ । बीउ छनोटका लागि विज्ञहरूको परामर्श लिन पनि सकिन्छ ।

घरेलु कीटनाशक औषधि

प्राङ्गारिक तरकारी बालीका लागि घरेलु कीटनाशक औषधि तयार गर्न सकिन्छ। गाईभैंसीको पिसाब, तितेपाती, कालोपाती (वनमारा), असुरो, सिस्नु, नीमलगायतको झोल विभिन्न तरीकाले बालीमा छर्नाले रोगकीरा लाग्न पाउँदैन। यदि रोगकीराको सङ्क्रमण भएको छ भने पनि त्यसको प्रयोगले नियन्त्रण गर्न सकिन्छ ।

अहिले लगाइने केही तरकारीबाली

भदौ, असोज र कात्तिकका महीनाहरूमा पहाड र तराई दुवै स्थानमा रायो साग, पालुङ्गो, लसुन/प्याज, ग्याँठ गोभी, धनिया, गाजर/मुला, काउली, खुर्सानी, भेडेखोर्सानी, गोलभेँडा, भण्टा, बोडी/सिमीलगायतको बीउबिरुवा रोप्न उपयुक्त हुन्छ । स्वीसचार्ड भने बाह्रैमास खेती गर्न सकिन्छ । जुन तरकारीखेती गर्ने भए पनि बीउबिरुवा रोप्नुअघि त्यसलाई आवश्यक माटो, घाम र हावापानीको मात्रा बुझ्नुपर्ने हुन्छ । साथै, ती तरकारीमा लाग्न सक्ने रोगकीराको व्यवस्थापन कसरी गर्ने तरीका पनि जान्नुपर्छ । बीउबिरुवा बेच्नेहरूले पनि यसबारे सल्लाहसुझाव दिन सक्छन् ।

krishibajar.com

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks