monks

चीनमा जब भिक्षुहरू पनि ब्यापारतिर लागे

सामान्यतः आम मानिसका विचारमा बौद्ध भिक्षुको कार्यक्षेत्र के हो?

परम्परागत रूपमा बाहिरी सांसारिक मायामोहको जालोबाट अलग भएर, गुम्बाभित्र रहेर भिक्षुहरूले बौद्ध सूत्रहरू जपिरहनुपर्छ। एउटा निश्चित घेराभित्र रहेर निरन्तर ध्यानस्थ हुनुपर्छ। विश्वका अधिकांश भिक्षुहरूले गेरू वस्त्र धारण गरेर सादगी जीवनयापन अपनाउँदै अरूका सामु सात्विक जीवनको उदाहरण देखाउनुपर्छ।

सांसारिक माया मोहको दुनियाँलाई परित्याग गरेको व्यक्तिले गुम्बाभित्र बसेर बुद्ध सूत्र अध्ययन गर्ने र सारा जीवन ध्यानमा बिताउने भन्ने मानसिकताका आधारमा कतिपयले बुद्ध धर्मको प्रवर्जनलाई अनुत्पादक क्षेत्र भनेर आलोचना गर्ने गरेका छन्। पापकर्म हुनसक्ने भयले भिक्षुहरू आम मानिस सरह काममा खटिनँ सक्दैनन्।

उनीहरूले सांसारिक मायाको दुनियाँलाई त्यागेपछि उनीहरूका लागि खाने पिउने कुरा कहाँबाट प्राप्त हुन्छ त? उनीहरूलाई कसले पाल्छ, जबकि मानव शरीर सक्रिय राख्नका लागि खानु त अनिवार्य नै हुन्छ।

वर्षौँ अघि फर्केर हेर्ने हो भने कुङ फुको उद्गम थलो चीनको, हनान प्रान्तस्थित शाओलिन मन्दिरमा यी सबै कुराहरू सीमित हुन्थे। तर जतिजति समय गुज्रिँदै गयो, उतिउति शाओलिनको विश्वव्यापी गतिविधिहरूले तीव्रता पाउन थालेका छन्। भिक्षुहरू जपतपलाई एकापट्टि राखेर व्यावसायिक जीवनमा पनि अग्रसर देखिन्छन्। भिक्षुहरूको त्यो परम्परागत थलोले व्यापारिक रूप लिन थालेको छ।

सन् १९८९ मा शाओलिन भिक्षुहरूले मार्सल ग्रुप स्थापना गरेदेखि उनीहरू अनेकानेक देश र क्षेत्रतर्फ उडिरहेका देखिन्छन्। त्यो उडानको लक्ष्य हो, मार्सल आर्टस् अर्थतन्त्र। उनीहरूले ठाउँठाउँमा लडाइँ कलाको परम्परा देखाउँदै कल्याणकारी कोषका लागि दूतको भूमिका पनि निर्वाह गरिरहेका देखिन्छन्। त्यति मात्रै हैन, सन् २००४ को जुनमा शाओलिनले अष्ट्रियाको भियनामा प्रथम समुद्रपार शाओलिन् ऊ शू कला केन्द्र खोलेदेखि निरन्तर यस्ता कला केन्द्रहरू फैलाउँदै लगेको छ।

शाउलिनका यस्ता संस्थाहरूले अमेरिका, बेलायत, जर्मनी, अष्ट्रेलिया, इटाली जस्ता मुलुकहरूमा बुद्धिज्मको व्यापारिक पाटोलाई अंगीकार गरिसकेको छ। कैयौं भिक्षुहरू समुद्रपार गरी ऊ शू मार्सल आर्टस् कसरी खेल्नुपर्छ भनेर प्रशिक्षण दिन व्यस्त छन्।

सन् २००४ मा दुई दर्जनभन्दा बढी शाओलिन् शिष्यहरूले अमेरिकाको क्यालिफोर्नियामा साताव्यापी साँस्कृतिक आदानप्रदान गतिविधि देखाए। उनीहरूको प्रभावले मार्च २१ तारिखका दिन त्यहाँ सोङशान शाओलिन टेम्पल दिवस मनाउन थालियो।

त्यस्तै सन् २००६ को मार्च २३ मा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले शाओलिन भ्रमण गरे। जो सत्तासीन पहिलो विदेशी नेताका रूपमा थिए।

सिंगापुरका राष्ट्रपति एसआर नाथन र पूर्व अमेरिकी विदेशमन्त्री हेनरी किसिञ्जरले पनि सो टेम्पल घुमेका थिए। अझ शाओलिनले वर्षेनी विश्वका नामी सेलिब्रिटीहरूलाई भेला गरेर ‘शाओलिन चन’ बारे बहस चलाउने गरेको छ।

१९९८ मा शाओलिन मन्दिरले केक र चन चिया सहित शाओलिन् औद्योगिक विकास कम्पनी लिमिटेड खोल्यो। जसका १०० घरेलु ट्रेडमार्का छन्। २००७ मा शाओलिन अस्पतालले चाउचाउ, कफी लगायत वस्तुहरूको लोगो दर्ता गर्न निवेदन दिएको थियो तर अस्वीकृत भयो। जे भएपनि शाओलिन मन्दिर शारीरिक र मानसिक व्यायामको केन्द्र मात्रै नभएर एक व्यवसायिक केन्द्रको रूपमा पनि विकसित हुन थालेको देखिन्छ।

शाओलिन नामका स्कुलहरूको संख्या बढ्दै गएका छन्, मार्सल कला पनि सिकाउने गरी। चन सँस्कृतिलाई प्रवर्धन गर्नका लागि सांगीतिक कार्यक्रमहरू गर्ने, विभिन्न चलचित्रका लागि स्टण्टका लागि माग हुने, वार्षिक लाखौं पर्यटकलाई आकर्षित गर्ने, स्टेज सो गर्ने जस्ता गतिविधिले चिनियाँ बौद्ध धर्मलाई व्यावसायिक रूप दिन थालेको छ।

nepalkhabar

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks