चिकित्सकको दशैं टिप्स : मासु र मदिरा कम सेवन गर्नुहोस

चिकित्सकहरुले चाडबाडको समयमा ‘मासुभन्दा सुप खान, मदिराभन्दा पानी खान’सुझाव दिएका छन् । विश्व मुटुरोग दिवसको पूर्वसन्ध्यामा नर्भिक इन्टरनेसनल हस्पिटलद्वारा आयोजित एक कार्यक्रमका सहभागी चिकित्सकहरुले जिब्रोका लागिभन्दा जीउ (शरीर)का लागि खाना खान आग्रह गरेका छन् ।

उनीहरुले माछा, मासु, मदिरामा भन्दा सागपात, फलफूलमा ध्यान दिन आम समुदायलाई आग्रह गरे । चिकित्सकहरुले खानपानकै कारण मुटुरोग लाग्ने हुदा रोग लाग्न नदिन खानपिनमा सजग भइ नियमित व्यायाम गर्न सुझाव समेत दिएका छन् ।

सुर्तीजन्य पदार्थको प्रयोग, अस्वस्थ्य आहार व्यवहार, मद्यपान, ज्यादा मोटोपन, शारीरिक निष्क्रियताजस्ता जीवनशैलीका कारण उच्चरक्तचाप, मधुमेय र मुटुरोगका बिरामी बढिरहेको छ । विश्व स्वास्थ्य सङ्गठनले नेपालको जनसङ्ख्याको झन्डै आठ प्रतिशत मानिस कुनै न कुनै प्रकारका मुटुरोगबाट ग्रसित रहेको उल्लेख गरेको छ ।

‘कठिन होइन स्वस्थ मुटुको उपाय रोजौँ’ भन्ने नाराका साथ यसवर्ष भोलि विविध कार्यक्रमको आयोजना गरी नेपालमा पनि विश्व मुटुरोग दिवस मनाइँदै छ । विश्व मुटु महासङ्घको आह्वानमा हरेक वर्ष सेप्टेम्बर महिनाको अन्तिम साता विश्व मुटुरोग दिवस मनाइने गरिन्छ ।

कार्यक्रममा अस्पतालका मुटुरोग विशेषज्ञ डा. भारत रावतले चाडबाडका समयमा माछा, मासु, मदिराभन्दा फलफूल र सागसब्जीमा जोड दिन आग्रह गर्नुभयो । उहाँले मुटुरोगको उपचारभन्दा रोग लाग्न नै नदिन विशेष सावधानी अपनाउन सुझाव दिनुभयो ।

अर्का मुटरोग विशेषज्ञ सुनिल झाले ‘रक्तचाप, मधुमेह, कोलस्टोरलाई नियन्त्रणमा राख्न सुझाव दिँदै दिनहुँ व्यायाम गरेमा मुटुरोगबाट बच्न सकिन्छ’ भन्नुभयो । मनोपरामर्शदाता स्नेहा अग्रवाल चौधरीले मुटु स्वस्थ रहेमात्र जीवन र मन दुवै स्वस्थ रहने भन्दै मुटुको विशेष ख्याल गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले आफु ८७ वर्षको भए पनि चिकित्सकले दिएको सुझाव पालना गरेका कारण स्वस्थ्य रहेको अनुभव सुनाउनुभयो ।

अस्पतालका कार्यकारी निर्देशक मेघा चौधरी शाक्यले अस्पतालले मुटुरोगका उपचारका साथसाथमा मुटुरोगबारे आम समुदायलाई जनचेतना जगाउने कार्यक्रम पनि सञ्चालन गरिरहेको बताउनुभयो ।

कार्यक्रममा अस्पतालमा मुटुरोगको सफल उपचार गरेका तथा अस्पतालमा उत्कृष्ट सेवा प्रदान गरेका डा पङ्कज जलान, डा. यादव भट्ट, अर्जला वैद्य र डा. रमेश चौख्यानीलाई सम्मान गरिएको थियो ।

Trek