house construction materials effect

घर बनाउन रोजाइअनुसारका इट्टा, मूल्य प्रतिपिस १२ देखि ३९० रुपैयाँसम्म

इट्टा उद्योग संघका अनुसार हाल नेपालमा एक हजारको संख्यामा उद्योगहरु सञ्चालनमा छन्। यी उद्योगहरुबाट वार्षिक रुपमा ३ अर्ब इट्टा उत्पादन हुन्छ।

तर बजारमा इट्टाको माग त्यत्तिमै सीमित छैन। भूकम्प पश्चातको पुर्ननिर्माणका लागि मात्र सरकारले १२ अर्ब पिस इट्टाको आवश्यक्ता रहेको उल्लेख गरेको छ जुन वार्षिक रुपमा स्वदेशमै भइरहेको उत्पादन भन्दा ४ गुणा बढी हो।

Learn English - Dew Meaning in English to Nepali below

नयाँ प्रविधिका इट्टा बजारमा भित्रिरहेका छन्, जसको प्रयोग भूकम्पपछिको पुर्ननिर्माणमा मात्र नभएर घर, व्यवसायिक भवन, होटल, विद्यालय तथा कारखानाका संरचना निर्माणमा प्रयोग भइरहेका छन्।

हाल बजारमा परम्परागत माटो पकाएर तयार पारिने इट्टाबाहेक ‘होलो कंक्रिट ब्लक, लाइट वेट ब्रिक र कम्प्रेस्ड प्रविधिमा आधारित इट्टा प्रयोग गर्नेको संख्या बढेको छ।

सस्तो, कम समय धेरै काम गर्न सकिने, पानी तथा ध्वनी प्रतिरोधात्मक, वातावरणमैत्री जस्ता विशेषता भएकाले यसतर्फ आकर्षण बढ्दै गएको व्यापारीहरु बताउँछन्।

परम्परागत इट्टाको फाइदा भन्दा धेरै असर भएको दावी गर्छन् जापानी प्रविधिको कम्प्रेस्ड इट्टा उत्पादनका संचालक सुनिल लोहिया। गह्रौ, महँगो, माटो पोल्दा वातावरणमा प्रतिकुल असर गर्ने, कृषि योग्य जमिनमा ह्रास ल्याउने जस्ता समस्या रहेकाले तिनको विकल्प बढेको उनको भनाइ छ।

‘भूकम्प जस्तो विपत्तीमा पनि उत्तिकै जोखिमपूर्ण हुन्छ, यदि हामीसँग यो भन्दा सस्तो, सुरक्षित, किफायती र आधुनिक प्रविधि उपलब्ध छ भने किन त्यही पुरानो इट्टामा जोखिम मोेल्ने?’ लोहियाले भने।

तर पहिलेदेखि नै प्रयोग हुँदै आएको परम्परागत शैलीका इट्टा खोज्नेको संख्या कम नभएको बताउँछन् इट्टा उद्योग संघका अध्यक्ष महेन्द्र बहादुर चित्रकार।

चित्रकारले भने, ‘समयसँगै नयाँ प्रविधि भित्रनु स्वाभिवक हो। तर त्यसले परम्परागत वा माटो पोलेर बनाएको इट्टालाई विस्थापित गर्न सक्दैन।’ अन्य देशमा यस्ता इट्टा तयार पार्न सुहाउँदो माटो नहँुदा अन्य प्रविधिको विकास भएको उनको दावी छ। घर बनाउन अनुकुल समयका रुपमा हिउँदलाई लिइन्छ। तर घरको आधारस्तम्भ इट्टा कस्तो प्रयोग गर्ने भन्ने अन्यौल धेरैमा हुनसक्छ।
चलेका विभिन्न इट्टामध्ये कस्तो इट्टा प्रयोग गर्ने त ?

परम्परागत इट्टा


यो श्रेणीमा आगोमा माटो पकाएर तयार पारिने इट्टा पर्छन्। यस्ता इट्टा पहिलो र दोश्रो गरी दुई श्रेणीमा विभाजन गरिएको हुन्छ। माटोको गुणस्तर राम्रो भएको, राम्ररी पाकेको, तामाको रङ्ग र सँग्लो इट्टा पहिलो श्रेणीमा पर्छन्। यी श्रेणीको दुई इट्टा ठोक्किँदा धातुको आवाज आउँछ भने सामान्य उचाईबाट झर्दा फूट्ने सम्भावना कम हुन्छ।

दोश्रो श्रेणीमा भने कम पाकेका, एकनासको साइज तथा सँग्लो नभएका इट्टा पर्छन्। डिपिसी गर्न, जग पुर्न, बाहिरी पर्खाल उठाउन वा अन्य सहायक काम गर्नमा यी प्रयोग गरिन्छ।

काठमाडौंको कालो हुने भएकाले तराईको माटो इट्टाका लागि गुणस्तरीय मानिन्छ। त्यसैले तराईबाटै आयात गरेर धेरैले काठमाडौँ वा अन्य स्थानमा घर बनाउने गरेको चित्रकार बताउँछन्। यद्यपी भट्टाहरुको उत्पादनमा आफ्नै मापदण्ड हुने भएकाले कम गुणस्तरीय ठान्नु गलत हुने उद्योगीहरु बताउँछन्।

साइज, गुणस्तर र श्रेणीका आधारमा परम्परागत इट्टाको मूल्य प्रतिपिस १२ देखि २२ रुपैयाँसम्म पर्छ।  उनका अनुसार प्रति तला १ हजार स्क्यायर फिटको आधारमा साढे दुई तलाको कुल २५०० स्क्यायर फिटको घर बनाउँदा ४० देखि ५० हजार पिस इट्टा आवश्यक पर्छ।

होलो क्रंक्रिट ब्लक (एचसिबी)


पर्याप्त इट्टा उत्पादन गर्न अनुकुल माटो नभएका क्षेत्रमा यो प्रविधि अपनाएर घर बनाउने चलन छ। परम्पारगत इट्टा नपाउने क्षेत्रमा होलो क्रंक्रिट ब्लक प्रयोग गर्ने चलन बढेको हो।

यो मसिनो रोडा, बालुवा, सिमेन्ट, पानी तथा केमिकलको मिश्रणबाट तयार पारिन्छ। बाहिरी मौसमको तापक्रम चिसो वा तातो भित्र छिर्न दिँदैन। त्यसलै यसले गर्मीको समयमा कोठालाई शितल तथा जाडोमा न्यानो बनाइराख्छ।

यो ब्लक आगो प्रतिरोधात्मक हुन्छ। हलुका हुने भएकाले यसको भार वहन क्षमता पनि बढी हुन्छ। पर्खालमा लगाउन कुनै मेसिनरी औजारको आवश्यक्ता नपर्ने, अर्ध दक्ष जनशक्तिले नै जडान गर्न सक्ने, कम समय लाग्ने भएकाले लागत २० देखि ३० प्रतिशतसम्म कम हुने व्यवसायीको भनाइ छ।

औसतमा यसको मूल्य प्रतिपिस एक सय रुपैयाँ पर्ने गर्छ।

‘लाइट वेट’ इट्टा/ब्लक


यो नयाँ प्रविधि अपनाएर तयार पारिएको इट्टा हो। जापानिज, चाइनिज इट्टा तथा एएसी ब्लक लगायत यसअन्तर्गत पर्छन्। यो निकै हलुका हुने भएकाले भूकम्प पछि ‘लाइट वेट’ इट्टाको प्रयोग बढेको छ। विज्ञहरुका अनुसार घरको भार कम पार्नका लागि यसको प्रयोग उपयुक्त हुन्छ। यो परम्परागत इट्टा भन्दा ३ गुणासम्म कम हलुका हुन्छ।

१४/१५ वटा पिस बराबर एउटा एएसी ब्लक हुने हुँदा यो किफायती तथा लागतको कोणबाट पनि सस्तो पर्न आउने बताउँछन् व्यवसायी गोविन्द केसी।

केसीले भने, ‘एएसीसी ब्लकको विशेषता भनेको यो आगो तथा ध्वनी प्रतिरोधात्मक हुन्छ। यसमा आवश्यक्ता अनुरुप प्लास्टर, वाल पुटिङ गर्न समेत मिल्छ। यसलाई धेरै जना मजदुर नचाहिने तथा छिट्टै जडान गर्न सकिने भएकाले सस्तो पनि हुन्छ।’

यो प्रविधि सय वर्ष पुरानो भएपनि भूकम्पपछि मात्र नेपालमा प्रयोग बढ्न थालेको उनी बताउँछन्। उनका अनुसार १०÷१० फूटको कोठामा २ सय ७० देखि २ सय ८० वटा ब्लक आवश्यक पर्छ।

यी ब्लक ४, ६ तथा ८ इन्चमा उपलब्ध छन् भने मूल्य साइज अनुसार प्रतिपिस १ सय ९० देखि ३ सय ९० सम्म पर्न आउँछ। बजारमा यसको मूल्य १० देखि १२ हजार प्रतिघनमिटर पर्छ।

कम्प्रेस्ड इट्टा


यो इट्टा बलौटे माटो, थोरै सिमेन्ट र केमिकलको मिश्रणलाई कम्पे्रस्ड गरी तयार पारिन्छ। यसलाई स्थानीय रुपमै उत्पादन गर्न सकिने भएकाले भूकम्प पश्चातको पुर्ननिर्माणमा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुले मेसिन उपलब्ध गराएर उत्पादन भइरहेको छ।

सामान्यतया प्रति स्क्यार मिटरको पर्खाल बनाउँदा ५ सय ३० पिस कम्प्रेस्ड इट्टा आवश्यक पर्ने बताउँछन् सुपर इको ब्रिक इनोभेसन प्रालिका प्रबन्ध निर्देशक सुनिल लोहिया।

लोहियाले भने, ‘यो हलुका हुन्छ र सिमेन्टसँग सजिलै जडान हुन्छ। टुट्ने फुट्ने सम्भावना पनि न्युन हुन्छ। परम्परागत इट्टा भन्दा सस्तो तथा सुरक्षित हुनुका साथै यो तयार पार्न कुनै इन्धन नचाहिने भएकाले वातावरणमैत्री छ।’

यो विभिन्न रङ्गमा समेत उपलब्ध हुने भएकाले रङ्ग लगाइरहनुपर्ने आवश्यक्ता समेत नपर्ने उनले बताए।हाल बजारमा यसको मूल्य प्रति पिस १० देखि २५ रुपैयाँसम्म पर्छ।

setopati