सुजन घिमिरे
कर्पोरेट बिजनेस हेड
सिई कन्स्ट्रक्सन प्रालि
जीवनभर दुःख गरेर बचत गरेको रकम खर्च गरी आफ्नै घरमा बस्ने चाहना अधिकांशको हुन्छ । यो चाहना पूरा गर्न केहीले आफैँ घर निर्माण गर्छन् भने केहीले पुरानै घर खरिद गर्नु सजिलो मान्छन् । समयको बचत हुने तथा झन्झट पनि व्यहोर्नु नपर्ने हुँदा पुरानो घर खरिद गर्दा सजिलो हुन्छ । कतिपय पुराना घर त ऐतिहासिक दृष्टिकोणले पनि महत्वपूर्ण हुन्छन् । तर, यस्ता घर खरिद गर्नुअघि केही महत्वपूर्ण कुरामा भने ध्यान दिनु आवश्यक छ । अन्यथा, पुरानो घर मर्मत गर्न र सिँगार्न धेरै खर्च लाग्न सक्छ । यो खरिदकर्ताका लागि तनावको विषय बन्न पुग्छ । पुरानो घर खरिद गर्दा जगलाई विशेष ध्यान दिनुपर्छ । किनकि, पुरानो घरको जग पुनः हाल्नुपरेमा अति खर्चिलो हुन्छ । घरमा जग नै सबैभन्दा महत्वपूर्ण पक्ष हो ।त्यसैले, पुरानो घर खरिद गर्दै हुनुहुन्छ भने यी कुरामा ध्यान दिनुहोस् :
१. शयन कक्ष वा बैठक कक्षलाई सुरुमै बढी प्राथमिकता नदिनुहोस् । जग बलियो छ वा कमजोर, त्यसलाई परीक्षण गर्नुहोस् । जगको परीक्षण एक्स–रे मेसिनको प्रयोग गर्न सकिन्छ ।
२ . जगपछि घर निर्माणमा प्रयोग भएको पिलरलाई महत्व दिनुपर्छ । यदि ९ बाइ ९ को पिलर भएको घर छ भने अहिलेको इन्जिनियरिङ तथा भूकम्पीय दृष्टिकोणले त्यति राम्रो मानिदैन ।
३ . घरको आर्किटेक्चरल र स्ट्रक्चरल डिजाइन सम्बन्धित प्रँविधिकलाई देखाउनुपर्छ । भूकम्पपछि धेरै घर बाहिर मात्रै पेन्ट गरेर आकर्षक बनाइएका पनि छन् । यस्तोमा नयाँ मानिस झुक्किन सक्ने सम्भावना हुन्छ ।
४ . नेपालका परम्परागत वाल सिस्टम भएको घरको बैंकिङ मूल्यांकन हु“दैन । त्यसैले यस्तो घर खरिद गर्दा जमिनको मात्रै मूल्यलाई प्राथमिकता दिनु राम्रो हुन्छ ।
५ . आफूले खरिद गर्न लागेको घरको प्रत्येक फ्लोरको उचाइमा पनि ध्यानु दिनुपर्छ । न्यूनतम ९ फिटको उचाइ नभएको फ्लोर भएमा पछि आफूले बिक्री गर्दा पनि समस्या आउन सक्छ ।
६ . अहिले नेपाल सरकारले घर निर्माण गर्न २० फिटको बाटो अनिवार्य भनेको छ । यस्तोमा २० फिटको बाटो नभएको घरलाई पछि बैंकिङ कारोबार गर्न अप्ठ्यारो पर्नसक्छ ।
७ . पूरै जमिनको ७० प्रतिशत क्षेत्रमा घर र ३० प्रतिशत क्षेत्र खुला हुनुपर्छ । यसो नभएमा पनि पछि सरकारी तथा निजी क्षेत्रबाट पाइने विभिन्न सुविधामा समस्या आउन सक्छ ।
८ . घरको नक्साअनुसार सही तरिकाले निर्माण भएको छ-छैन हेर्नुपर्छ । कतिपय घरको नक्सा दुई तलाको स्वीकृति भएर निर्माण भने सोभन्दा बढी पनि भएको हुुुन्छ । यस्तो घर सकेसम्म खरिद नगर्नु नै राम्रो हुन्छ ।
९ . सम्पूर्ण मापदण्डअनुसार निर्माण गरिएको घरलाई निर्माण सम्पन्न प्रमाणपत्र दिइएको हुन्छ । घर खरिद गर्नुअगावै यस्तो प्रमाणपत्र पाएको छ÷छैन यकिन गर्नुपर्छ ।
१० . पुरानो घरको एमइपी (मेकानिकल, इलेक्ट्रिकल, प्लम्बिङ) परीक्षण गर्नुपर्छ । यस्तो परीक्षण सम्बन्धित विज्ञको सल्लाहअनुसार गर्दा राम्रो हुन्छ ।
११ . घर खरिद गर्दा जमिन तथा घरको वास्तु हेर्ने प्रचलन छ । वास्तुशास्त्रीलाई देखाएर सल्लाह लिँदा पनि राम्रै हुन्छ । त्यस्तै, झ्यालको मोहोडा, घरमा उज्यालो, घाम, पानीको सुविधाजस्ता विषयमा पनि ध्यान दिनुपर्छ ।
१२ . घरको ढल व्यवस्थालाई पनि विशेष ध्यान दिनुपर्छ । अन्यथा, यसले पछि धेरै समस्या दिन्छ ।- नयाँ पत्रिकाबाट
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks