घरैमा सहजै गर्न सकिन्छ बेहुलाको मेकअप

केही वर्षअगाडिसम्म विवाह गर्दा बेहुलाको मेकअपलाई त्यति ध्यान दिइँदैनथ्यो । गर्नैपरे पनि हल्का फाउन्डेसन र आँखामा गाजल मात्र लगाइन्थ्यो । तर, अहिले भने बेहुलाहरू पनि जेन्ट्स पार्लरमा आएर सम्पूर्ण मेकअप गर्ने प्रचलन बढेको छ । जेन्ट्स मेकअप बेहुलीको तुलनामा सजिलो हुनुका साथै छिटो पनि हुन्छ । बेहुलाले ह्याभी मेकअप गर्नु पर्दैन ।

त्यसैले मेकअपसम्बन्धी सामान्य जानकारी भएका व्यक्तिले आफ्नै घरमा बेहुलाको मेकअप सजिलै गर्न सक्छन् ।बेहुला भएको समयमा सकेसम्म अनुहार सफा र चम्किलो बनाउनुपर्ने हुन्छ । त्यसका लागि फेसियल उत्तम उपाय हो । बेहुला या अन्य पुरुषले पनि फेसियल गर्नुभन्दा एक दिनअगाडि सेभिङ गर्नु राम्रो हुन्छ । सेभिङ गर्दा अनुहार काटिने तथा कोतरिने सम्भावना पनि हुन्छ ।

त्यस्तो अनुहारमा फेसियल गर्दा पोल्नेजस्ता समस्या देखापर्न सक्छ । सोही कारण एक दिनअगाडि सेभिङ गर्नु राम्रो हुन्छ । फेसियल गर्दा तुरुन्त असर देखिने गरी दक्ष प्राविधिकहरूबाट इन्स्ट्यान्ट ग्लो फेसियल गर्नुपर्छ । फेसियल गरेको केही घन्टापछि मेकअप गर्नु उत्तम हुन्छ । बेहुलाको मेकअप गर्दा अनुहारको रङअनुसार लाइट कभरेज फाउन्डेसन गर्नुपर्छ ।

मेकअप गर्ने तरिका

अनुहार फेस क्लिन्जर अथवा सादा सफा पानीले पखाल्नुपर्छ ।
अनुहारमा दाद, पिम्पल, ओपन पोर्स भएको खण्डमा मेकअप प्राइमर प्रयोग गरी दाद, पिम्पल छोप्ने कन्सिलर प्रयोग गर्नुपर्छ । यस प्रकारका कन्सिलर स्टिक वा पेन्सिल फर्ममा हुनुपर्छ ।
हल्का फाउन्डेसन प्रयोग गरी त्यसमाथि अनुहारमा छालाको रौँअनुसार ट्रान्सुसेन्ट पाउडर प्रयोग गरी पाउडर बे्रन्डर ब्रसले पोलिस गर्नुपर्छ ।
त्यसपछि ट्रान्सप्यारेन्ट लिप ग्लस ओठमा लगाउनुपर्छ ।
आँखामा गाजल लगाउने पनि प्रचलन छ । त्यस्तोमा देखिने गरी हल्का तरिकाले गाजल लगाउन सकिन्छ ।
पुरुषले बेहुला हुँदा टोपी लाउने प्रचलन छ । त्यसैले कपाललाई खासै धेरै मिहिनेत गर्नु पर्दैन । तर, टोपीबाहिर देखिने भागलाई भने जेन्ट्स पार्लरमा गएर मिलाउनु
राम्रो हुन्छ ।

मेकअप गर्दा ध्यान दिनुपर्ने कुरा
मेकअप गर्नुभन्दा केही घन्टाअगाडि सेभिङ गर्नुपर्छ । अनुहारमा दाह्री–जुँगा देखिएमा मेकअप नदेखिने भएकाले क्लिन सेभ गर्नुपर्छ ।
सेभिङ गर्न नचाहने व्यक्तिले दाह्री–जुँगालाई काटेर मिलाउनुपर्छ ।
सेभिङ गरेको केही घन्टापछि अनुहार सफा पानीले पखाल्नुपर्छ ।
मेकअप गर्नुभन्दा एक दिनअगाडि आइब्रो मिलाउनुपर्छ । तर, आइब्रो भने जेन्ट्स सेपमा मिलाउनुपर्छ ।

टिप्स

बेहुलालाई थिक कभरेजको प्रयोग दिनको समयमा गर्नु हुँदैन । जेन्ट्सलाई नाइट मेकअप गर्दा फाउन्डेसन फुल कभरेज गर्न सकिन्छ ।
क्लिन सेभ अनुहार भएमा वा अनुहार ठूलो भएमा डार्क कलरको पाउडर कन्सिलर प्रयोग गरी फेस कट गर्न सकिन्छ ।