घरायसी कुखुरा पालन एक जानकारी

कुल प्रसाद सुवेदी
गाउँघरमा आफ्नो घरवरिपरी रहेको थोरै क्षेत्रफलमा स्थानीय स्तरमा उपलब्ध स्रोत साधनको प्रयोग गरेर घरमै अण्डा र अण्डा तथा मासु उपभोगको लागि सानो स्तरमा कुखुरा पाल्नुलाई घरायसी कुखुरापालन भनिन्छ । ग्रामीण परिवेशमा करेसाबारीमा थोरै तरकारी र २/४ वटा लोकल कुखुरा पाल्ने चलन हुन्छ तर यसप्रकारको परम्परागत प्रणालीमा उत्पादन भने निकै थोरै हुन्छ । साथै तरकारी खेती र कुखुरा पालन संगसंगै लैजान सक्ने अवस्था पनि रहदैन । तरकारी खेतीको लागि आवश्यक मल तथा पोषण कुखुरा पालनबाट उपलब्ध हुने भएतापनि छाडा छोडिएको अवस्थामा कुखुराले तरकारी बालीलाई नोक्सानी पुर्याएको हुन्छ ।
त्यसैले घरायसी स्तरमा कुखुरा पालनलाई खुला नछोडिकन अर्ध बन्देज रुपमा व्यवस्थापन गर्नुपर्ने हुन्छ । सुआहारा कार्यक्रमले विशेषतः सानो स्तरमा कुखुरा पालन र पोषण युक्त तरकारीको उत्पादनमा वृद्धि ल्याउन घरायसी खाद्यान्न उत्पादनको व्यवस्थापन पक्षहरुलाई जोड दिएको छ । यस कार्यक्रमले अण्डा तथा मासुको (पशुजन्य पोषणको श्रोत) उत्पादन र उपयोगमा वृद्घि गराउनको लागि उन्नत जातका कुखुरालाई व्यवस्थित तरिकाले अर्ध बन्देज खोरमा पाल्ने प्रणालीलाई प्रवर्धन गर्दै आइरहेको छ । यसको लागि लक्षित ग्रामीण नमुना कृषक घरधुरीलाई उन्नत जातका कुखुरा वितरण तथा प्राविधिक सहयोग कार्यक्रम कार्यान्वयन भइरहेको छ । सुआहारा कार्यक्रमले सञ्चालित कार्यक्रमको दिगोपनामा पनि विषेश जोड दिएको छ । लक्षित परिवारले आफ्नो घर वरिपरी रहेको सानो टुक्रा जग्गामा स्थानीय हावापानी अनुसार लगाउन सकिने पोशिलो तरकारी उत्पादन तथा घरायसी कुखुरा पालन गरी अण्डाको उपभोग गर्ने तथा आफ्नो घर वरपरको वातावरण सरसफाई एवं स्वच्छ जीवाणु रहित पानी पिउने जस्ता आनिवानी अवलम्बन गरी विवेकशील, समृद्ध परिवारको विकास गर्नु महत्वपूर्ण पक्ष हो । यस प्रकारको घरायसी खाद्यान्न उत्पादनले (HFP) महिला र बच्चाको लागि पोषण युक्त खानेकुरा (हरिया साग सब्जी, तरकारी, अण्डा र मासु जुन कुपोषणको एक कारक तत्वको रुपमा लिइन्छ, ती तत्वहरुको पहुँच र उपलब्धतामा वृद्धि गराउछ । नेपालको ग्रामीण परिस्थितिलाई नियाल्दा पारीवारिक पोषणका लागि घरायसी कुखुरा पालन अति महत्वपूर्ण मानिन्छ । किनकी यो सानो स्तरको घरायसी कुखुरापालन कार्य हरेक साना, कम आयस्तर र कम जमिन भएका घरपरिवारले पनि सजिलै अगाल्न सक्छन् । अण्डा प्रोटिनको महत्वपूर्ण श्रोत हुनुको साथै भिटामिन ए लगायत अन्य पौष्टिक तत्वहरु पनि प्रचुर मात्रामा पाइने भएकाले पारिवारिक पोषणमा घरायसी कुखुरापालनको महत्व अझै बढेको छ । परिवारमा भएका गर्भवति र ६ महिना भन्दा माथिका बालबालिकाले घरायसी कुखुरा पालनका माध्यमबाट दैनिक रुपमा स्वस्थ र ताजा अण्डा उपभोग गर्न सक्छन् । अतःनेपाल सरकार तथा सुआहारा कार्यक्रमले पनि घरायसी कुखुरापालन कार्यलाई पारिवारीक पोषणमा सुधार ल्याउनको लागि प्रवद्र्धन गरिरहेको अवस्था विद्यमान छ । यस कार्यक्रमले घरायसी कुखुरा पालनमा उचित व्यवस्थापनका पक्षहरुलाई विशेष जोड दिएको छ । धेरैजसो गाउँ समाजको खुल्ला प्रणालीमा पालिएका स्थानीय जातका कुखुराले अण्डा र मासुको उत्पादन निकै कम र नगन्य हुन्छ जसले महिला र बच्चाको पोषण सुधारमा खासै सहयोग पुर्याउन सक्दैन । त्यसैले सानो स्तरमा उन्नत जातको कुखुरा व्यवस्थित तरिकाले पालेर अण्डा र मासुको उत्पादनमा वृद्धि ल्याउन हरेक घरधुरीले सुधारिएका व्यवस्थित अर्धबन्देज तरीकाको कुखुरा पालनलाई अवलम्बन गनुपर्छ । घरायसी स्तरमा उन्नत र उचित तरिकाले कुखुरा पाल्दा विशेषत ः कुखुराको खोर, पोषिलो दाना, सफा पानी, रोग विरुद्ध आवश्यक खोप, कुखुराको रोग र स्वास्थ्यको हेरचाह आदिमा विषेश ध्यान पुर्याउनु पर्दछ । कुखुरालाई अर्धबन्देज खोरमा राखेर मात्र पाल्नुपर्दछ जसबाट तरकारीमा हुने नोक्सानी, स्याल, मलसाप्रो, न्याउरीमुसा, अन्य जनवार तथा चोरीशिकारी आदिबाट हुने नोक्सानीबाट जोगाउनुको साथै सुली जन्य फोहरको उचित व्यवस्थापन गर्न सजिलो हुन्छ ।
त्यसैले कुखुरा प्राप्त गर्ने ग्रामीण नमुना कृषकले व्यवस्थित खोर अनिवार्य रुपमा बनाउनु पर्दछ । कुखुराको खोर बनाउन चाहिने आवश्यक प्राविधिक सीप ५ दिने ग्रामीण नमुना कृषकको तालिममा पनि व्यवहारीक रुपमा सिकाउने कार्य भएको र अन्य आवश्यक सर–सल्लाह जिल्ला पशुसेवा कार्यालय तथा पशुसेवा केन्द्रका प्राविधिक तथा जिल्ला सुआहार कार्यक्रमका कृषि प्राविधिक मार्फत उपलब्ध भइरहको छ । कतिपय अवस्थामा सरकारी तथा गैह सरकारी निकायहरु बीचको आपसी समन्वयबाट पनि सहयोग जोहो गर्न सकिन्छ । यस जिल्लामा सुआहारा कार्यक्रमले जिल्ला पशुसेवा कार्यालयसंग समन्वय गरी जिल्लाको पशुसेवा प्रसार निक्षेपित कार्यक्रमको माध्यमबाट घरायसी खाद्यान्न उत्पादन कार्यक्रम लागु भएका १२ गा.वि.स.का १२ वटा ग्रामीण नमुना कृषकहरुलाई नमुना खोर निर्माणको लागि जनही रु.५०००।– अनुदान सहयोग उपलब्ध गराउनको लागि जिल्ला पशुसेवा कार्यालय, जिल्ला सुआहारा कार्यक्रम तथा सुआहारा कार्यक्रम संचालन गर्ने सहयोगी संस्था मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रको बीचमा त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ । जिल्ला पशुसेवा कार्यालयको यसप्रकार सेवा टेवाबाट अति दुर्गम गा.वि.स.का ग्रामीण नमुना कृषकहरु घरायसी खाद्यान्न उत्पादन तथा घरायसी कुखुरा पालन सम्बन्धी स्रोत केन्द्रको रुपमा स्थापित हुन ठूलो सहयोग मिलेको छ । स्थानीय सुनौलो हजार दिनका महिलाहरुले ग्रामीण नमुना कृषकबाट घरायसी खाद्यान्न उत्पादन तथा कुखुरा पालन सम्बन्धी ज्ञान सीपका कुराहरु सिक्न सक्दछन् । कुखुरा प्राप्त गरेका ग्रामीण नमुना कृषकहरुले प्राप्त गरेका कुखुराहरु के कसरी, के कस्तो खोरमा पालेका छन् । त्यो कुराको एकिन सुआहारा कार्यक्रमले नियमित अनुगमन (समुदायमा कार्यरत परियोजनाका फिल्ड सुपरभाईजर को माध्यमबाट) गर्दै आइरहेको हुन्छ । घरायसी कुखुरा पालन कार्यक्रमको सुधार र प्रवाभकारी कार्यन्वयनको लागि जिल्ला पशु कार्यालय र पशुसेवा केन्द्र वा पशुसेवा उपकेन्द्रबाट सहयोगात्मक निरीक्षण तथा अनुगमनका माध्यमबाट समुदायमा प्राविधिक ज्ञानसीप प्रदान गरी घरायसी कुखुरा उत्पादनलाई प्रभावकारी बनाउने क्रियाकलाप अन्तर्गत साम–हिक फिल्ड अनुगमन गरी वितरण गरेको कुखुराको प्रवन्ध आदिको अवलोकन गरी उत्पादन वृद्धि गराउन आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउनु पर्दछ । फिल्ड सुपरभाईजरहरुले आफ्नो क्षेत्रमा पर्ने कृषि सेवा केन्द्र, पशुसेवा केन्द्र वा उपकेन्द्रमा समन्वय गर्ने र उनीहरुको सम–हमा सहयोगात्मक निरीक्षण तथा अनुगमन गराउने व्यवस्था गर्ने गर्दछन् । ग्रामीण कुखुरा पालनमा ध्यान दिनुपर्ने कुराहरु
– खोर जहिले पनि पारिलो ठाउँमा वा घामपर्ने ठाउँमा बनाउने ।
– खोर : सोत्तरको प्रयोग, सरसफाई, ढोकामा चुकलको प्रयोग गर्न नभुल्ने ।
– अनिवार्य रुपमा मोटो जाली राखेर झ्याल बनाउने ।
– बाÞय शत्रुहरु जस्तै चिल, स्याल, मलसाप्रो आदिबाट जोगाउन खोर बलियो बनाउने ।
– कुखुरालाई छाँडा छोडेर नपाल्ने ।
– खोरको दैनिक सरसफाई गर्ने र खोरलाई न्यानो र ओवानो राख्ने ।
– दानापानी : दाना नियमित उचित मात्रामा प्रयोग भए नभएकोमा ध्यान दिने । दाना पानीको भाँडा दैनिक सफा गर्ने ।
– समय समयमा खोरको मर्मत गरिरहने । सुरक्षा तथा जैविक सुरक्षा : चुनको प्रयोग, अनावश्यक मानिसको आवगमन, अन्य पशु पंक्षिसंगको लसपस, दानापानी दिने भाँडोको लसपस नगर्ने ।
– बाहिरबाट ल्याएको कुखुरालाई २ हप्ता सम्म अलग्गै राख्ने ।
घरायसी स्तरमा पालिएका उन्नत जातको कुखुराहरुलाई समय तथा उमेर अनुसार सन्तुलित आहारा उपलब्धताको लागि आवश्यक व्यवस्था गर्नुपर्दछ । दाना बनाउनको लागि स्थानीय स्तरमा उपलब्ध हुने खाद्यान्न बालीहरु जस्तो मकै, गहँु, जौ, चामल कनिका, भटमास, मुसुरो, चना, चुनढुङ्गा, तोरीको पिना आदिलाई प्रयोगमा ल्याउन सकिन्छ । मुख्य कुरा भनेको कुन कुन अन्नबाली कुन अनुपातमा मिसाने भन्ने हो । यसको लागि खासगरीकन अन्नबाली (कार्वोहाइड्रेड), गेडागुडी (प्रोटिन) र अन्य खनिज (मिनेरल) तत्व उपलब्ध हुनेगरी अनुपात मिलाउनु पर्ने हुन्छ । सबै भन्दा बढी कार्वोहाइड्रेड, त्यसपछि प्रोटिन र खनिज तत्वको मिश्रण मिलाउनु पर्दछ । स्थानीयस्तरमा उपलब्ध स्रोतबाट कुखुराको दाना तयारी गर्दा आवश्यक पर्ने सामग्रीहरु :
– मकै/गहुं/चामल/जौ : ३० मुठी बराबर ३ माना
– भुटेको भटमास/तील/तोरीको पीना/ मुसुरो/चना : ८ मुठी १ मानामा अलि कम
– चुन ढुङ्गा वा नरम ढुङ्गा, अण्डाको खोल : ६ मुठी आधा मानामा अलि कम
– नुन : ३ चिम्टी
– चिनी/मोलासेस/खुदो : १ मुठी
– सागपात स्याना टुक्रा दाना बनाएर पछि मिसाएर दिने
याद गर्नुपर्ने कुराहरु :
– क्याल्सियमको स्रोतको लागि अण्डाको खोल पिसेर खुवाउन सकिन्छ
– कुखुराको दानामा मसिनो गरी काटेको हरियो सागसब्जी, आलुको वा तरकारीको बोक्रा मिलाएर खुवाउँदा उत्पादन राम्रो हुन्छ ।
– एक दिने चल्लालाई ३ चिम्टी दाना खुवाउन सुरू गरी विस्तारै अण्डा दिन थालेपछि २ मुठीसम्म बढाउनुपर्छ ।
– ६ माना दाना (३ के.जी.) एक पटकमा बनाउन सकिन्छ । कुखुराको संख्याको आधारमा दाना तयार गर्नुपर्छ ।
– यसरी तयार गरिएको दाना १ महिना सम्म प्रयोग गर्न सकिन्छ । लामो समय सम्म दाना भण्डार गर्नु हुदैन ।
– कुखुरालाई आधा समय खुला छाड्ने हो भने दानाको खर्च २०/२५ प्रतिशत ले घट्छ । (दिनको २/३ घण्टा)
– घरमा क्लोभर, किग्यु र कक्सफुट जस्ता विभिन्न किसिमका घासँहरू उमार्न सकिन्छ ।
– घुम्ती चरन प्लटले नियमित रूपमा घाँस उत्पादन गर्न मद्दत पुर्याउँछ । चरनबाट कुखुराहरूले किरा र गड्यौला पनि आफै टिपेर खान्छन् । यसरी जनावरबाट प्राप्त हुने प्रोटिन केही हदसम्म उपलब्ध हुन्छ । यो कुरा हामी सबैले बुझ्नु पर्दछ कि कुखुरा एक प्रकारको मेशिन हो । यसले दानालाई अण्डा र मासुमा परिणत गर्दछ ।
– अण्डा पारिरहेको पोथीलाई सन्तुलित दाना र पानीबाट कुनै पनि बेला बञ्चित राख्नु हुँदैन । साथै फुल पारिरहेको कुखुरालाई दाना कम दिनु भनेको फुल उत्पादन घटाउनु हो भन्ने कुरा बुझनु पर्दछ ।
– कुखुराको उमेर अनुसार आवश्यक दानाको मात्रा उमेर (हप्ता) दाना
(ग्राम) ।
कुखुराको उमेर ०–४ हप्तासम्मको लागि प्रति कुखुरा प्रति दिन दाना ३० ग्राम ४/८ हप्ता सम्मको लागि प्रति कुखुराप्रति दिन दाना ६० ग्राम ।
– ८–१२ हप्तासम्मको लागि प्रति कुखुरा प्रति दिन दाना ९० ग्राम ।
– १२–१६ हप्ता सम्मको लागि प्रति कुखुरा प्रति दिन दाना १०० ग्राम ।
–१६ हप्ता भन्दा माथिको लागि प्रति कुखुरा प्रति दिन दाना १२० ग्राम
सन्दर्भ सामग्री :
१.घरायसी खाद्यान्न उत्पादनका लागि जिल्लास्तरीय प्रशिक्षण म्यानुयल
(सहजकर्ताको लागि निर्देशिका २०६९)
२. सुआहारा सम्बन्धी बुलेटिन
(यु.एस.आइ.डि.) समाप्त ।

Nepali typing

shittalpati.com

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks