गृह निर्माणको लागी वैदिक वास्तुशास्त्र

वास्तुशास्त्र प्राचिनकालदेखि गृह निर्माणको मार्गरेखक बन्दै आएको छ । वास्तुशास्त्रलाई घर गृहस्थीमा शान्ति, सद्भाव, उन्नति, प्रगती र कार्यालयमा शुन्दरता एवं पवित्र कला ल्याउने विज्ञान पनि भनिन्छ । वास्तु केवल पढ्ने–लेख्ने शास्त्रमात्र नभई यथेष्ट प्रमाणित वैज्ञानिक आधार र गृहनिर्माणमा महत्वूर्ण भूमिका राख्ने शास्त्र पनि हो । वास्तुशास्त्रलाई आधारमानी निर्माण शुभारम्भ गरेमा हाम्रो स्वास्थ्य, अधिकतम् क्षमता, कम तनाव, सुख–शान्ति, र आय आम्दानीका साथै पर्यावरणीय सन्तुलन समेत सहीरुपमा कायम रहन्छ ।

वास्तुशास्त्र परिचय

सुखचैनकासाथ स्वस्थ्य र सफल जीवन जीउने प्राथमिक अभिलाषा सबैमा निहित हुन्छ । आजको विश्व भौतिक विकासको चरमविन्दूमा आइसकोको छ र विकासको मेरुदण्ड भनेको निर्माण पनि हो । कुनै पनि निर्माणको ब्रम्हाण्डमा संचार भईरहेको उर्जा अर्थात् कस्मिक इनर्जीसँग विषेश सम्बन्ध हुन्छ र वास्तुशास्त्रमा पनि कस्मिक इनर्जीको महत्व उत्तिकै रहेको छ । वास्तुशास्त्रले कुनै पनि भवन निर्माणको लागि जमीनको सही छनौट, निर्माण कार्य, भित्री सजावट आदि काममा दिशा, पञ्चतत्व पृथ्वि, जल, वायु, अग्निी र आकाश, विद्युतीय तरङ्ग, गुरुत्वाकर्षण, कस्मिक इनर्जी तथा दिशाको डिग्री या अंशको सुनियोजित तवरले प्रयोग गरी निर्माणको आधार तय गर्दछ । वास्तुशास्त्र ज्योतिषको एक अविच्छिन्न हिस्सा हो र यो भवन निर्माणसँग सम्बन्धित छ अर्थात अर्को शब्दमा भन्दा ब्रम्हाण्डमा नित्य उपस्थित रहने कस्मिक इनर्जी तथा पञ्च तत्वको समायोजन वास्तुकलामा जुन विद्याद्वारा गरीन्छ त्यसलाई वास्तुशास्त्र भनिन्छ । धेरैजसो वास्तुकलाका विज्ञ तथा शौखिनहरु दिशाको अन्दाज सूर्योदय र सुर्यास्तको आधारमा, कम्पास विना नै गर्ने गर्छन् तर कम्पास यन्त्रविना वास्तु कार्य गर्नु उचित हुँदैन । दिशाको सूक्ष्म अंशको नजरअन्दाज गर्न सकिँदैन तसर्थ जरुरी पुनः निर्माण या निर्माण कार्य दक्ष वास्तुशास्त्रीको रेखदेखमा गर्नु नै उचित हुन्छ । आमधारणा के छ भने दक्षिण र पश्चिम दिशा अशुभ प्रभाव राख्छन र यसको असर राम्रो हुन्न तर सत्यता अर्कै छ । हरेक दिशामा खास अंश हुन्छन र तिनिहरु राम्रो प्रभाव राख्छन् । जस्तै १३५ देखि १८० अंश दक्षिण दिशामा, २७० देखि ३१० अंश पश्चिममा राम्रो प्रभाव भएका दक्षिणी र पश्चिमी कोणहरु हुन । अतः कुनैपनि दिशाप्रति पूर्वाग्रह नराखी उनको शुभअंशाबाट संभावित लाभ उठाउन जरुरी हुन्छ । वास्तुशास्त्रलाई बुझ्न हामीलाई ज्योतिषशास्त्रको थोरै ज्ञान हुनु आवश्यक छ । हामीलाई थाहा छ कि पृथ्वि पश्चिमबाट पूर्वतर्फ घुम्छ । हामीले कार, हवाइजहाज आदि वस्तुहरु अगाडीको भाग केही होचो र पछाडिको भाग केही उठेको बनाइएको देख्छौँ तर किन भनेर कमैमात्र सोच्छौँ । यस्तो बनावटको वैज्ञानिक कारण तीब्रगतिमा हावाको प्रतिरोध कम गर्नु हो । ठीक यसै सिद्धान्तलाई आधार मानेर वास्तुले गृह निर्माणमा आफ्नो सिद्धान्तलाई पनि अंगालेको छ । भवनको पूर्वी भाग केही होचो र पश्चिमी भाग अग्लो बनाएको खण्डमा भवनले हावाको प्रतिरोधको सामना सजिलै गरी पूर्वोत्तरबाट सकारात्म उर्जा भरिएर आउने पवनले भवनका निवासीहरुलाई शान्ति र समृद्धोन्मुख बनाउँने मान्यता रहेको छ । यसरी विज्ञानका केही सिद्धान्त र ज्योतीषका तथ्यहरु समायोजन गरी वास्तुशास्त्रले काम गरीरहेको हुन्छ । यि कुराहरुलाई ख्यालै नगरी हामीले कुनै निर्माणकार्य गरेमा यसले हामीलाई जीवनभर दुखीत बनाउँछ । उदाहरण स्वरुप कुनै उद्योगधन्दा वा कलकारखाना वा कसैको घर गृहस्थी राम्रो चलेको देखियो र तुलनात्मकरुपमा अरु कसैको चलेन भने आमरुपमा भाग्यलाई दोष दिइन्छ तर वास्तविकता कहिले पनि नियालेर हेरिँदैन । वास्तवमा भवन निर्माण भएको जमिन, भवनको बनावट, भवन निर्माणदेखि त्यहाँ राखिएका मेसीनहरुको स्थान आदि यो कुरामा जिम्मेवार हुन्छन् । यो अपत्यारिलो लाग्न सक्छ तर सत्य हो ।

gargacharya.com