खराब बानी छाड्ने ६ तरिका

कुलतले जीवनमा धेरै नकारात्मक प्रभाव पारिराखेको हुन्छ। कुलत मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यका हिसाबले खराब त हुन्छ नै, यसले व्यक्तिको समय र उर्जा नष्ट गरिरहेको हुन्छ।

खराब बानीको स्थानमा असल बानी सिक्न उपयुक्त हुन्छ

कुलत छाडेर असल बानीको विकास कसरी गर्ने त? यो प्रश्नको जवाफ त्यतिबेला मात्रै दिन सकिन्छ, जब हामीलाई थाहा हुन्छ– खराब बानी बस्छ कसरी?

खराब आदत कसरी सुरु हुन्छ?

मुख्यतः मानिसलाई खराब आदतमा दुई कारणले लैजान्छः एक तनावले, दुई झिँझ्याटले। धेरैजसो खराब बानी तनाव र झिँझ्याट व्यवस्थापन गर्ने कुरासँग जोडिएको हुन्छ।

नङ टोक्नेदेखि लिएर रातभरि अश्लील भिडियो हेर्ने, कफी पसलमा बसेर साँझबिहान चुरोट तान्नेदेखि लिएर हप्तैपिच्छे गोडा लर्बरिने गरी रक्सी पिउने जस्ता काम मानिस प्रायः चिन्ता, एक्लोपन, दिक्दारी आदिबाट बच्नका लागि गर्दछ।

तर तनावलाई यसैगरी छल्नुपर्छ भन्ने केही छैन। तपाईं आफूलाई यस्ता कुलतको सट्टा केही राम्रा बानी सिकाउन सक्नुहुन्छ, जसले गर्दा तपाईंको स्वास्थ्य र जिन्दगीमाथि खराब असर पर्दैन। कहिलेकाहीँ तनाव र झिँझ्याट सतहमा देखिएजस्तै साधारण कारणले मात्रै लागेको नहुन सक्छ। यद्यपि गम्भीर रूपमा यसबारे सोच्ने हो भने र आफैँप्रति इमानदार बन्ने हो भन्ने त्यस्तो परिवर्तन त्यति कठिन नहुन सक्छ, जति हामी सोच्दछौँ।

के खराब बानीका पछाडि केही कारण र विश्वास हुन्छन्? वा कुनै घटना, डर? जे भए पनि यस्तो बानीको कारण पत्ता लगाउनु नै त्यसको निवारणका लागि महत्वपूर्ण हुन्छ।
भनिन्छ– कुलत छोड्ने होइन, विस्थापन गर्ने हो।

खराब बानी छोड्न सहयोगी हुने केही रचनात्मक उपायः

१.आफ्नो खराब बानीका लागि विकल्प छनोट गर्नुहोस्।
जब तपाईं खराब बानी छोड्नुहुन्छ, त्यसले तपाईंलाई तनाव दिने गर्छ। सो तनावलाई कसरी झेल्ने भन्ने योजना तपाईंसँग हुन आवश्यक छ। उदाहरणका लागि चुरोट छोडिसकेपछि चुरोटको खपिनसक्नु तलतल लाग्यो भने तपाईं के गर्नुहुन्छ? स्वासप्रश्वाससम्बन्धी अभ्यास? वा ल्वाङ, सुकमेल वा मरिच खानुहुन्छ? त्यस्तै फेसबुक चलाउन मन लागे के गर्नुहुन्छ? आफूले गर्दै गरेको कामबारे एक अनुच्छेद लेख्न सकिन्छ। तपाईं जुनसुकै बानीका लागि जुनसुकै उपाय अपनाउनुहोस्, तपार्इंसँग स्पष्ट योजना हुन जरुरी छ।

२. सम्भव भएसम्मका खराब बानीका कारणहरू घटाउनुहोस्।
तपाईं रक्सी पिउँदा चुरोट तान्नुहुन्छ भने रक्सी खान कम गर्नुहोस्। घरमा कुकिज् भएको बेला खाइरहने बानी छ भने आइन्दा कुकिज किनेर नल्याउनुहोस्। कौचमा बस्नेबित्तिकै तपार्इंको हातमा रिमोटमा पुग्छ भने रिमोटलाई कौचको नजिकै नराख्नुहोस्। खराब बानीलाई छोड्नका लागि त्यसका कारणहरूलाई न्यूनीकरण गरेर आफैँलाई सहज बनाउनुहोस्। आफू बाँचिरहेको वातावरणले खराब बानीलाई सहज र असल बानी अँगाल्न गाह्रो पारिरहेको छ भने त्यो परिस्थिति फेर्नुहोस्। त्यसको नतिजा पनि अवश्य परिवर्तन हुनेछ।

३. आफ्नो अभियानमा अरुलाई पनि सहभागी बनाउनुहोस्।
तपाईं आफैँले मात्रै डाइटिङ सुरु गर्ने वा चुरोट छोड्ने प्रतिज्ञा कतिपटक गर्नुभएको छ? तर तपाईं यो कुरा कसैलाई भन्नुहुन्न, किनभने तपाईं असफल भएको कुरा कसैले थाहा पाउने छैन। खराब बानीलाई बदल्ने विषयमा यो गलत तरिका हो। यसको सट्टा तपाईं आफ्नो अभियानमा कोही त्यस्तो व्यक्तिलाई संलग्न गराउनुहोस्, जो तपाईंजस्तै समस्याबाट पीडित छ। त्यसो गर्दा एकअर्कालाई ‘चेक’ गर्ने सुविधा प्राप्त हुन्छ, त्यस्तै अरु कसैले तपाईंको सफलताको कामना गर्दछ भन्ने भावना मात्रै पनि एउटा गतिलो प्रेरणाको स्रोत बन्न सक्छ।

४. त्यस्ता मान्छेको सङ्गतमा हुनुहोस्, जो तपाईंजस्तै बाँचिरहेका छन्।
आफूले बाँचेको जीवनको तौरतरिका एकखालको हुने तर सङ्गतमा भएका मान्छेको जिन्दगी अर्कै खालको हुने भयो भने पनि मान्छे तनावमा पर्छ। यस्तो तनावबाट मुक्ति पाउनका लागि आफूले जस्तै जीवन बाँचिरहेका साथीहरूसँग सङ्गत बढाउनुपर्छ। यसका लागि तपाईंले पुराना साथीसँग मित्रता तोड्नै पर्छ भन्ने छैन। तर नयाँ साथी बनाउँदा यो ख्याल गर्नुहोस् कि उनीहरूको जीवनको तरिकाले तपाईंको जीवनको तरिकालाई सकारात्मक प्रभाव पारोस्।

५. आफू सफल भएको कल्पना गर्नुहोस्।
जीवनमा मान्छे सधैँभरि सफल त हुँदैन तर सफल भएको कल्पनाले मान्छेलाई त्यतातिर उन्मुख गराउँछ। आफूलाई चुरोट वा रक्सी छाडेपछिको एक बिहान मर्निङ वाक गर्दै गरेको कल्पना गर्नुहोस्। तपाईं आफूलाई पक्कै पनि स्वस्थ र स्फूर्त व्यक्तिको रूपमा पाउनु हुनेछ। यसले तपाईंमा उर्जा थप्न अवश्य पनि केही भूमिका खेल्नेछ।

६. याद राख्नुहोस्, खराब आदत छाड्न नयाँ व्यक्ति बन्नुपर्दैन, मात्रै पुरानो व्यक्ति बन्नुपर्ने हुन्छ।

हामी धेरैजसो सोच्छौँ, खराब बानी छोड्दा हामीले बिल्कुल नौलो व्यक्ति बन्नुपर्ने हुन्छ। तर कुरा त्यसो होइन। कुलत तपाईंको जीवनमा सुरुदेखि त पक्कै थिएन। तपाईंको वास्तविक व्यक्तित्व कुलत सिक्नुअघिको हो। यसर्थ तपाईंले चुरोट छोड्नै पर्दैन, बरु चुरोट नतान्ने व्यक्ति बने पुग्छ।

र अन्त्यमा,

खराब बानी छोड्न समय र श्रम लाग्ने गर्छ। त्योभन्दा पनि मुख्य कुरो यसमा दृढता आवश्यक हुन्छ। खराब बानी छोड्न सफल भएका धेरैजसो मानिसहरू एकभन्दा बढी पटक असफल भएका छन्। तपाईं पनि तुरुन्तै सफल हुन नसक्नुहोला तर यसको अर्थ के होइन भने तपाईं सफल हुनै सक्नुहुन्न।

तपाईंका सबै बानी कुनै न कुनै कारणले या त गलत हुन्छन् या त असल। कुनैकुनै बानीले एक तरिकाले तपार्इंलाई हानी गरे पनि कुनै तरिकाले नाफा दिइरहेको हुन्छ। कहिलेकाहीँ धुम्रपान वा लागू औषधको कुलतले जस्तै तपाईंलाई आनन्द दिन्छ भने कहिलेकाहीँ त्यो फाइदा नहुने सम्बन्धमा रहेजस्तै भावनात्मक पनि हुने गर्छ। कतिपय अवस्थामा तपाईंका खराब बानी तनावलाई कम गर्ने उपाय मात्रै पनि हुन सक्छन्, जस्तो कि कपाल तान्ने, गोडा हल्लाउने, नङ टोक्ने, आदि।

उदाहरणका लागि, कम्प्युटरअगाडि बस्नेबित्तिकै इमेल खोल्नुले तपाईंलाई जोडिएको अनुभूति दिलाउन सक्छ तर त्यसले तपाईंको उत्पादकत्वलाई कम गर्दछ, ध्यान विकेन्द्रित गर्दछ र अझ तनाव बढाउँछ। तर पनि तपाईं इमेल खोल्नुहुन्छ। किनभने यसले तपाईंलाई जोडिएको अनुभूति दिलाउँछ। त्यसैले साधारण रूपमा खराब बानी छोड्ने भनेर मात्रै काम चल्दैन बरु तपाईं त्यसलाई असल बानीसँग विस्थापन गर्न सक्नुहुन्छ, जसले उस्तै नतिजा दिन्छ।

उदाहरणका लागि तपाईं तनाव कम गर्न चुरोट पिउनुहुन्छ भने चुरोट चटक्कै छोड्ने योजना खास प्रभावकारी हुदैँन। बरु तपाईंले तनाव कम गर्न चुरोटको सट्टा केही अन्य चीजको बानी लगाउनुभयो भने चुरोट छोड्न सहज हुनेगर्छ। अर्को शब्दमा खराब बानीले तपाईंको जीवनको केही आवश्यकताहरूलाई सम्बोधन गर्ने गर्दछ। त्यसकारणले तपाईंको खराब बानीको स्थानमा असल बानी सिक्न उपयुक्त हुन्छ।

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks